६० वर्षयता जंगलमाथि मानवीय अतिक्रमण चार गुणा बढ्यो

वनजंगल बालीनाली लगाउने उर्बर भूमि, घाँसे मैदानहरू गौचरमा परिणत। ६० वर्षयता अफ्रिका र युरोपको जमिनमाथि मानवीय अतिक्रमणका उदाहरण हुन् यी।

नेचर कम्युनिकेसनको एक अध्ययनले सन् १९६० यता भएका यस्ता रूपान्तरणको चित्र सामुन्ने ल्याएको छ। त्यसयता करिब चार करोड ३० लाख वर्ग किलोमिटर जमिनमा मानवीय अतिक्रमण बढेको अध्ययनमा देखिएको छ। र, यो हालसम्म गरिएको अनुमानको तुलनामा चार गुणा बढी हो।

‘भूमिको उपयोग जलवायु सन्तुलन, जैविक विविधता र खाद्यान्न उत्पादनका लागि हुन्छ। त्यसैले दिगो भूमि उपयोग रणनीति तयार पार्न यसको गतिशीलता बुझ्नु आवश्यक छ,’ नेदरल्यान्ड्सको वागनिन युनिभर्सिटी एन्ड रिसर्चकी भूगोलशास्त्री करिना विङ्क्लरले भनिन्।

खासगरी ट्रपिकल क्षेत्रको वनमा बोटबिरुवा र माटोले मानव उत्सर्जित कार्बन प्रदूषणको ३० प्रतिशत हिस्सालाई सोस्छ। त्यसैले ठूलो परिमाणमा देखिने परिवर्तनले पेरिस सम्झौताको लक्ष्य प्राप्त गर्न सफलता र असफलता संकेत गर्छ। सन् २०१५ को जलवायु परिवर्तनसम्बन्धी सन्धिले सरकारहरूलाई विश्वव्यापी तापमानलाई दुई डिग्री सेल्सियसभन्दा तल झार्न र र सम्भव भए १.५ सेल्सियस बनाउन दिशानिर्देश गरेको छ।

औद्योगीकरणका कारण यसअघि निर्धारित मापदण्डभन्दा १.२ सेल्सियस तापक्रम वृद्धि भइसकेको छ। यो घातक आँधीबेहरी, समुद्री सतहमा वृद्धिलगायत असर उत्पन्न गर्न पर्याप्त छ। सन् १९६० यता पृथ्वीको कुल वनक्षेत्र करिब १० लाख वर्ग किलोमिटरमा संकुचित भएको छ। बालीनाली उत्पादन क्षेत्र र गौचरन बढ्दो छ। तथाफि विश्वव्यापी आँकडाले अझै पनि क्षेत्रीय असमानताहरू पहिल्याउन सकेको छैन।

युरोप, रुस, पूर्वी एसिया र उत्तर अमेरिका समेटिएको विश्वको उत्तरी भागमा विगत ६० वर्षमा वनक्षेत्र बढेको छ। पृथ्वीको दक्षिण भागका विकासोन्मुख मुलुकमा भने वनक्षेत्रमा मानवीय अतिक्रमण उच्च रहेको अध्ययनले देखाएको छ। त्यसविपरीत बालीनालीयोग्य जमिन विश्वको उत्तरी भागमा घटेको देखिन्छ। खासगरी, धनी मुलुकको खाद्य आवश्यकता पूरा दक्षिणी क्षेत्रमा बालीनालीयोग्य जमिन बढ्दो छ।

माग अत्यावश्यक वस्तुको

‘ब्राजिलको अमेजन क्षेत्रमा गोरुको मासु, उखु र सोयाबिन, दक्षिणपूर्वी एसियामा पाम आयल अनि नाइजेरिया र क्यामरुनमा कोकोको उत्पादनका लागि ट्रपिकल वनक्षेत्र व्यापक फँडानी भएको छ,’ विङ्क्लरले भनिन्। सन् २००८ मा कच्चा तेलको मूल्य प्रतिब्यारेल करिब एक सय ४५ अमेरिकी डलर पुगेसँगै तेलको मूल्य उच्च हुँदै गयो, जसले वनलाई जैविक ऊर्जा बाली लगाउने क्षेत्रमा रूपान्तरण गर्न प्रेरित ग¥यो।

अनुसन्धानले सन् १९६०–७० बीचको ग्रिन रिभोलुसन र त्यसपछि सन् २००५ सम्म विश्वव्यापी बजार विस्तारले जमिनको तीव्र प्रयोग भएको देखाएको छ। तर, विश्वव्यापी बजारमा आएको उतारचढावपछि भूमि पुनर्निर्माणको गतिमा केही कमि आएको छ।

‘२००८ को आर्थिक मन्दी अन्त्यसँगै भएको आर्थिक वृद्धिसँगै दैनिक उपभोग्य वस्तुको विश्वव्यापी माग घट्यो,’ अध्ययन रिपोर्टमा उल्लेख छ। विङ्क्लरका अनुसार २० औँ शताब्दीको मध्यदेखि भूमि उपयोगमा परिवर्तन धेरै कारणले कम भएको देखिन्छ।

यो आँकडालाई अन्तरिक्ष र समय गरी दुई भागमा वर्गीकरण गरिएको थियो। र, यो ठोस मापन मापदण्ड अपनाइएको थियो। उपग्रहबाट प्राप्त आँकडा अपरिष्कृत थियो। र, केवल दुई या तीन प्रकारका भूमिमा मात्र विभक्त थियो।

अध्ययनमा खाद्य तथा कृषि संगठन (एफएओ) द्वारा संकलित दीर्घकालीन जमिन उपयोगसम्बन्धी आँकडालाई अध्ययनमा जोडियो। त्यसबाट सहरी क्षेत्र, खेतीयोग्य जमिन, वन, घाँसे मैदान र कुनै वनस्पति नभएका क्षेत्रहरू पहिचान गरियो। यसमा एक वर्ग किलोमिटर समेट्ने उच्च रिजोलुसन भएको उपग्रहको तस्बिरलाई समावेश गरियो।

सन् १९६० यता पृथ्वीको सतहको लगभग १७ प्रतिशत जमिन कम्तिमा एकपटक परिवर्तन भएको अध्ययनले देखाएको छ। तर, कहिलेकाहीँ घरजग्गाको समान टुक्रा एकपटकभन्दा बढी परिवर्तन भएको देखिएको छ। यदि सबै त्यस्ता रूपान्तरण गणना गर्ने हो भने मानवीय अतिक्रममा परेको जमिन करिब ३२ प्रतिशत रहेको आकलन शोधकर्ताको छ।

पृथ्वीको सतह ५१ करोड वर्ग किलोमिटरमा फैलिएको छ। यसको करिब ७० प्रतिशत अर्थात् ३६ करोड १० लाख वर्ग किलोमिटर पानीले ढाकेको छ। बाँकी १४ करोड ९० लाख वर्ग किलोमिटरमध्ये करिब एक करोड ५० लाख वर्ग किलोमिटर स्थायी रूपमा बरफले ढाकिएको छ। र, १३ करोड ४० वर्ग किलोमिटर मात्र उपयोगयुक्त जमिन छ।

(एएफपीबाट)
 

 Published Date: Sunday, 16th May 2021 6:50:00 am