Kathmandu Press

एमनेस्टी इन्टरनेसनलले भन्यो- कोभिडसँग जुध्न सबैलाई समान व्यवहार गर्दै गम्भीर कदम चाल

‘भारत र नेपालमा जुन खालको मानवीय विपत्ती देखापरिरहेको छ, यसले यस क्षेत्रका अन्य देशलाई संकटकालीन प्रतिकार्यका उपायहरूका लागि ठूलो लगानी गर्न चेतावनीको काम गरेको छ । काेराेना भाइरसले यस क्षेत्रका सबैभन्दा सीमान्तकृत जनसंख्यामाथि सबैभन्दा बढी कठोर रूपमा आक्रमण जारी राख्नेछ।’
एमनेस्टी इन्टरनेसनलले भन्यो- कोभिडसँग जुध्न सबैलाई समान व्यवहार गर्दै गम्भीर कदम चाल

काठमाडौं, वैशाख ३१ : अन्तर्राष्ट्रिय मानवअधिकारवादी संगठन एमनेस्टी इन्टरनेसनलले दक्षिण एसियाका सरकारहरूले कोभिड संक्रमण रोक्न स्वास्थ्य सेवासम्बन्धी अभावलाई तत्काल सम्बोधन गर्न अनुरोध गरेको छ। कोभिड संक्रमणविरुद्ध प्रतिकार्यका लागि अति शीघ्र स्वास्थ्य प्रणालीहरूलाई सुदृढ पारिनुपर्ने एमनेस्टीले बताएको छ।

भारत र नेपालको स्वास्थ्य प्रणाली टुट्ने विन्दुमा पुगेको अवस्था दर्साउँदै एमनेस्टीले दक्षिण एसियाका अन्य देशमा भाइरसको पछिल्लो र घातक फैलावटको सामना गर्ने तयारीको अभावप्रति चिन्ता जनाइएको छ। दक्षिण एसियामा विद्यमान अत्यन्तै न्यून खोपको दरले पनि यस क्षेत्रलाई अत्यन्तै जोखिममा पुर्‍याएको निष्कर्ष एमनेस्टीको छ। एमनेस्टीले बुधबार विज्ञप्ति जारी गर्दै यस्तो चिन्ता जनाएको छ। खोपमा समान पहुँच सुनिश्चित गर्नका लागि विश्वव्यापी रूपमा दबाबमूलक कार्यहरूको खाँचो औँल्याइएको छ।

‘भारत र नेपालमा जुन खालको मानवीय विपत्ती देखापरिरहेको छ, यसले यस क्षेत्रका अन्य देशलाई संकटकालीन प्रतिकार्यका उपायहरूका लागि ठूलो लगानी गर्न चेतावनीको काम गरेको छ,’ एमनेस्टी इन्टरनेसनलका एसिया–प्यासिफिक निर्देशक यमिनी मिश्रको भनाइ छ, ‘भाइरस डरलाग्दो गतिमा फैलिँदै सिमानाहरू पार गरिरहेको छ र यसले यस क्षेत्रका सबैभन्दा सीमान्तकृत जनसंख्यामाथि सबैभन्दा बढी कठोर रूपमा आक्रमण जारी राख्नेछ।’

एमनेस्टीले कोभिडको अवस्था गम्भीर रहेको दर्साउँदै यस क्षेत्रका १० मा एकजनाभन्दा कम मात्रले खोप लगाएको पनि जनाएको छ। ‘आगामी दिन र साताहरूमा दक्षिण एसिया र विश्वका अन्य मुलुकका सरकारहरूले लिने निर्णयहरू कोभिड संक्रमणमा भएको यो पछिल्लो वृद्धिबाट हुने मानवीय क्षति न्यूनीकरणका लागि महत्त्वपूर्ण हुनेछन्,’ विज्ञप्तिमा उल्लेख छ।

विश्व जनसंख्याको एक चौथाइ बसोवास भएको दक्षिण एसिया एकदम छिटो कोभिड–१९ महामारीको नयाँ केन्द्रविन्दु बनिरहेको जनाइएको छ। २३ वैशाखमा भारतमा एकै दिन चार लाखभन्दा बढी नयाँ संक्रमित हुन पुगेको र त्यस समय भारतमा जम्मा संक्रमितको संख्या दुई करोड १५ लाख रहेको तथ्य पनि एमनेस्टीले उल्लेख गरेको छ।

महामारीले भारतलाई तहसनहस पारिरहँदा दक्षिण एसियाका थुप्रै देशमा पनि संक्रमणमा तीव्र वृद्धि भइरहेको छ। भारतसँग खुला सीमा जोडिएको नेपालमा संक्रमण तीव्र वृद्धि हुन सुरू भइसकेको बताउँदै विश्व स्वास्थ्य संगठनको आँकडाअनुसार दैनिक संक्रमित केस ३०३ बाट ३० गुणा बढेर ९,३१७ पुगेको जनाइएको छ। चैत्र ३० देखि वैशाख २९ बीचमा यो २,९७५% को वृद्धि हो। गत मंगलबार मात्र नेपालमा ९,३१७ नयाँ केस फेला परेको र कुल संक्रमितको संख्या ४,१३,१११ पुगेको तथ्य समेत स्मरण गराइएको छ।

‘हामीले अक्सिजन, अस्पतालमा शय्याहरू, मानव संशाधन र अत्यावश्यक औषधिहरूको अभावले कसरी भारतको कम स्रोत साधनमा चलिरहेको स्वास्थ्य सेवाका प्रतिकार्यहरूलाई नाजुक अवस्थामा पु¥याइदिएको छ भन्ने देखिसकेका छौँ। अब नेपालमा यस्तै चिन्ताजनक अवस्था देखापर्दैछ,’ यमिनीको भनाइ छ, ‘नेपालका राजनीतिज्ञहरूले राजनीतिक झगडा र आन्तरिक कलहमा अल्झिने समय होइन यो। यतिखेर देशमा चुलिँदो यो संकटलाई सम्बोधन गर्नका लागि एकता र नेतृत्वको खाँचो छ।’

सञ्चार माध्यममा आएका प्रतिवेनहरूका अनुसार पाकिस्तान, बंगलादेश, श्रीलंका र नेपालका अस्पतालहरूमा सघन उपचार कक्षहरू पूर्ण रूपमा भरिएका कारण क्षमताबाहिर पुग्ने अवस्था विज्ञप्तिमा दर्साइएको छ। विश्व बैंकका अनुसार दक्षिण एसियामा प्रत्येक एक लाखका लागि ०.६ को संख्यामा अस्पताल शय्याहरू रहेको र उच्च आय भएका देशहरूमा प्रत्येक लाखका लागि पाँच शय्या रहेको जनाइएको छ।

उच्च गरिबी दर, कमजोर स्वास्थ्य पूर्वाधार, विपन्न सामाजिक आर्थिक अवस्था, अपर्याप्त सामाजिक सुरक्षा प्रणाली, पानी र सरसफाइ सुविधामा सीमित पहुँच र बसोवासका लागि सीमित ठाउँका कारण यस क्षेत्रका दशौँ लाख मानिसको जीवन भाइरसको नयाँ लहरबाट जोखिममा रहेको एमनेस्टीको भनाइ छ।

 

प्रकाशित मिति: १३:०४ बजे, शुक्रबार, वैशाख ३१, २०७८
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्