दलितभित्र सद्भावका प्रतीक स्वर्गीय प्रकाश चित्रकार

मान्छे यो लोकमा आएपछि जानुपर्छ, यो एउटा अकाट्य सत्य हो, तर यो आउने–जाने क्रममा मान्छेले आफ्ना वरिपरिको समाज, राष्ट्र वा विश्वलाई जेजस्तो योगदान पुर्‍याउँछ, त्यसका आधारमा उसको मूल्यांकन हुन्छ । त्यही अनुरूप ऊ युगपर्यन्त बाँचिरहन्छ । यसरी बाँचिरहने एउटा व्यक्तित्व हुन प्रकाश चित्रकार । जन्मका हिसाबले उनी र म गाउँले हौँ, अर्थात् हाम्रो दुवैको जन्मथलो पाल्पाको तानसेन हो, तर मैले उनलाई काठमाडौं आएपछि मात्रै चिनेको हुँ । हामीले पञ्चायत कालरात्रि लगभग ३० वर्ष भोग्यौँ, त्यति वेला दलित अधिकारका निम्ति लड्ने नेता औँलामा गन्न सकिने खालका थिए, किनभने अहिले त चाहे एनजिओमार्फत् होस्, वा राजनीति अधिकारको आन्दोलन पनि पेसाजस्तै भएको छ । त्यति वेला त्यस्तो थिएन । दलित अधिकारको कुरा आफ्नै घरको मानो खाएर खल्तीबाट पैसा खर्च गरेर गर्नुपर्दथ्यो । त्यस्तो अवस्थाका एक जुझारु नेता हुन प्रकाश चित्रकार । उनको जन्मभूमि पाल्पा भए पनि कर्मभूमि भैरहवा थियो । राजनीति गर्ने व्यक्तिका लागि काठमाडौं त अर्को कर्मभूमि भइहाल्यो, मैले जाने अनुसार काठमाडौंमा उनको स्थायी बसोबास कहिल्यै भएन । 

पञ्चायत कालमा बोल्ने, लेख्ने तथा संगठित हुने अधिकार प्रतिबन्धित थियो । दलितहरूले आफ्ना कुरा सरकारलाई सुनाउनुपर्‍यो भने दुइटा उपाय हुन्थ्यो । एउटा, राजासँग हुने दर्शन भेटमा पहिले व्यक्तिगत अनि सामाजिक समस्या राख्ने । अर्को, वर्षको एकचोटि आउने भाद्र १ गतेको मुक्ति दिवस, जुन दिन राजा महेन्द्रले पुरानो जंगबहादुरको मुलुकी ऐनलाई खारेज गरेर नयाँ मुलुकी ऐन लागू गरेका थिए, त्यसले दलितलाई कानुनी समानता दिएको थियो, मलाई अझै पनि सम्झना छ, भाद्र १ गतेको मुलुकी ऐन दिवस दलितहरूले २/३ ठाउँमा मनाइरहेका थिए, त्यसमध्ये एउटा ठाउँ वागबजारस्थित पद्मकन्या कलेज थियो । सो दिनलाई धेरैजसो दलित नेताले दरबारको चाकरी बजाउने अवसरको रूपमा लिएर राजाको स्तुति गानमा धेरै समय खर्चिन्थे, चित्रकार भने फरक थिए । उनको भाषण गर्ने शैली दमदार थियो । त्यति वेला उनले भनेका थिए, कामीहरूले बन्दुक बनाउँछन्, त्यही बन्दुक विद्रोहका लागि बनाए भने के हुन्छ ? तत्कालीन समयमा त्यस्तो भाषण गर्नु निकै चुनौतीपूर्ण मानिन्थ्यो, किनभने त्यस्ता सबै सार्वजनिक कार्यक्रमको अनुगमन दरबारले गथ्र्यो र उसलाई अप्रिय लाग्ने कुरा गर्ने व्यक्तिलाई विभिन्न किसिमको कारबाही गथ्र्यो । 

उनको जुझारुपन भाषणमा मात्रै थिएन, व्यवहारमा पनि उत्तिकै थियो । २०२७ सालमा पाल्पाको ताहुँको विद्यालयमा एसएलसीको बिदाइ भोजको कार्यक्रममा सोही विद्यालयमा पढ्ने हुमिनका दलित विद्यार्थीले भान्सा छोइदिएको निहुँमा ठूलो झगडा भयो । त्यसले ताहुँका नेवार र हुमिनका विश्वकर्माहरूबीच साम्प्रदायिक दंगाको स्वरूप धारण गर्‍यो । ताहुँका नेवार, जसमा हेडमास्टर पनि संलग्न थिए, उनीहरूको सत्तामा पहुँच भएकाले त्यसलाई उपयोग गरेर सो घटनामै संलग्न नभएका व्यक्तिलाई समेत मुछेर वारेन्ट जारी गरियो । त्यो काण्डमा न्याय दिलाउन तथा निर्दोषलाई बचाउनमा प्रकाश चित्रकारको अविस्मरणीय भूमिका रह्यो । त्यतिवेलाको उनको राजनीतिक पहुँच तथा पृष्ठभूमि, उनको जुझारुपनले गर्दा त्यो घटनाबाट पीडितले त्राण पाएका थिए । 

२०४७ सालमा बहुदलीय व्यवस्थाको पुनस्र्थापना भएपछि स्थापना भएका शासनमा लामो समयसम्म दलितलाई क्याबिनेट स्तरको मन्त्रीमा प्रतिनिधित्व गराइएन । राजाले प्रत्यक्ष शासन आफ्नो हातमा लिएपछि मात्रै दलितलाई सहायक मन्त्रीका रूपमा लिन थालिएको हो । त्यसै क्रममा उनी आजभन्दा १९ वर्ष अगाडि भूमिसुधार सहायकमन्त्री बने । त्यति वेलै मेरो विभिन्न पत्रपत्रिकाहरूमा प्रकाशित भएका लेखहरूको संग्रहलाई जनउत्थान प्रतिष्ठान तथा दलित सेवा संघले दलित आन्दोलनमा हिरा विश्वकर्माका समसामयिक विचारहरू शीर्षकमा पुस्तक प्रकाशन गर्‍यो । रिपोटर्स क्लबमा पुस्तक विमोचनको कार्यक्रम आयोजना गर्‍यो, त्यो कार्यक्रमका प्रमुख अतिथि उनै प्रकाश चित्रकारलाई बनाइयो । माओवादी जनयुद्ध उत्कर्षका वेला परेको थियो । अतः दरबारको सुरक्षा संयन्त्रले उनलाई सो कार्यक्रममा भाग लिने अनुमति दिएन, अनि सो कार्यक्रमको मुख्य अतिथि डा. कष्णबहादुर भट्टचनलाई बनाइयो र विमोचन सम्पन्न भयो । 

भगत सर्वजित विश्वकर्मालाई नेपालको दलित आन्दोलनले भीष्म पितामह मान्छ, त्यसलाई नेपाल सरकारले समेत स्वीकार गरेर उनको नाउँको हुलाक टिकट र संस्कृति तथा पर्यटन मन्त्रालयले भगत सर्वजित मानव मर्यादा पुरस्कार समेत प्रदान गर्छ । उनको देहावसान २०१२ सालतिर भएको मानिन्छ, त्यतिबेला फोटोग्राफीको केही विकास भइसकेको थियो, तर उनको फोटो कसैले राखेको पाइएन । यस्तोमा उनलाई चिन्ने केही व्यक्तिले वर्णन गरेको भरमा उनै प्रकाश चित्रकारले सर्वजितको तस्बिर बनाइदिए, अहिले त्यही तस्बिरलाई जताततै प्रयोग गरिन्छ । प्रकाश चित्रकार एउटा कुशल कलाकार पनि भएको हुँदा उनले त्यो कलालाई नेपाली दलित आन्दोलनका पितामहलाई चिरस्थायी राख्ने काममा सदुपयोग गरे, यसलाई उनको कहिल्यै गुण तिर्न नसकिने योगदानका रूपमा लिन सकिन्छ । 

मेरो विचारमा नेपाली दलित आन्दोलनको उर्वर भूमि रुपन्देहीको भैरहवा हो । खासगरी पर्वत, म्याग्दी तथा बाग्लुङबाट झरेका विश्वकर्माको ठूलो संख्या त्यहाँ छ । आप्रवासी समुदाय भएर पनि हुन सक्छ, उनीहरू दलित अधिकारमा सचेत मात्रै नभई अत्यन्त क्रियाशील रहेका छन् । २०५० सालमा मुलुकी ऐनलाई संशोधन गर्ने क्रममा परम्परादेखि चलिआएको कुरालाई भेदभाव मानिनेछैन भनी संशोधनलाई वामपन्थी समेत भएको तत्कालीन प्रतिनिधिसभाले पारित गर्दा त्यसलाई स्वर्गीय मनबहादुर विश्वकर्माले सर्वोच्चमा रिट हालेर खारेज गर्न बाध्य पारेका थिए । त्यसमा भैरहवाका दलित अधिकारकर्मीको पहलमा ठूलो आर्थिक संकलन गरेर पठाएका थिए । त्यति मात्र नभईकन भैरहवाले वेला वेलामा काठमाडौंलाई समेत झकझकाउने काम गर्ने गरेको छ । यस्तो जागरुक भैरहवाको विश्वकर्मा समूहले प्रकाश चित्रकार गैरविश्वकर्मा भए पनि नेताको रूपमा स्वीकार मात्र गरेन, उनलाई उच्च सम्मान दियो । मैले जानेबुझे अनुसार दलितभित्र अन्तर्जातीय कुरा बढी उठ्न थालेपछि प्रकाश चित्रकारले आफ्नो नाउँमा परियार पनि जोड्न थालेका थिए, तर उनी दलितभित्रको जातीयताको कुराभन्दा सधैँ माथि रहे । यसो हुनमा सम्भवतः उनले गरेको अन्तर्जातीय विवाहले पनि काम गरेको हुनुपर्छ । 

प्रकाश चित्रकार राजाको शासनकालमा छोटो समयका लागि त्यो पनि सहायकमन्त्री बनेको हुँदा दलितका लागि प्रत्यक्ष रूपमा खासै केही गर्न सकेको देखिएन, तर पञ्चायतकालमा दरबार निकट भएकाले होला, राजालाई पनि दलितको सहानुभूति लिनका लागि एउटा दलित अनुहार चाहिएको थियो । त्यसका लागि उनले प्रकाश चित्रकारलाई रोजे, त्यसले उनलाई बिटुल्यायो कि सम्मान दियो, त्यसको लेखाजोखा गर्ने काम इतिहासलाई छोड्नुपर्ला । 

जुनसुकै धर्म तथा समाजमा जन्म, विवाह तथा मृत्युलाई एउटा उत्सवको रूपमा लिइन्छ, किनभने यी तीनै अवस्थामा समाज तथा वरपरका बन्धुबान्धवको साथ, सहयोग, सद्भाव तथा सहानुभूति खोजिन्छ । तर दुर्भाग्यवश प्रकाश चित्रकारको देहावसान यस्तो वेलामा भयो, जुन वेला चाहेर पनि उनको अन्तिम यात्रामा उनको साथी, सहयोगीका रूपमा संलग्न हुने मौका मिलेन, यसलाई महामारीको क्रूर लीला भन्दा अरु के भन्न सकिएला र ? जे भए पनि प्रकाश चित्रकार नेपालको दलित आन्दोलनका एउटा नक्षत्र हुन् । सजिलो अवस्थामा काम गर्ने त जोकोही पनि हुन्छ तर अत्यन्तै अप्ठेरो अवस्थामा पनि अधिकारका लागि लडिरहन्छ र न्याय दिलाउँछ भने त्यस्ता व्यक्ति अविस्मरणीय रहन्छन् । भावपूर्ण श्रद्धासुमन स्वर्गीय प्रकाश चित्रकारलाई । 
 

 Published Date: Sunday, 9th May 2021 8:10:00 am