Kathmandu Press

भरतपुर अस्पतालमा उपचाररत दुई संक्रमितको मृत्यु

चितवन, वैशाख २१ : भरतपुर अस्पतालमा उपचाररत दुई कोरोना संक्रमितको मृत्यु भएको छ। मृत्यु हुनेमा माडी नगरपालिकाका वृद्ध र बाराका पुरुष रहेका छन्।अस्पतालका अनुसार...
भरतपुर अस्पतालमा उपचाररत दुई संक्रमितको मृत्यु

चितवन, वैशाख २१ : भरतपुर अस्पतालमा उपचाररत दुई कोरोना संक्रमितको मृत्यु भएको छ। मृत्यु हुनेमा माडी नगरपालिकाका वृद्ध र बाराका पुरुष रहेका छन्।

अस्पतालका अनुसार माडी नगरपालिका–३ का ६९ वर्षीय वृद्धको उपचारका क्रममा सोमबार राति १२ः४५ बजे मृत्यु भएको हो। निमोनिया र श्वासप्रश्वासमा समस्या देखिएर उपचारका लागि अस्पताल आएका उनमा वैशाख १९ गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो। कोरोना सङ्क्रमण पुष्टिपछि कोभिड सघन उपचार कक्षमा उपचारका क्रममा उनको मृत्यु भएको हो।

यस्तै बाराको सिमरा उपमहानगरपालिका–१ बस्ने ३८ वर्षीय पुरुषको कोरोनाका कारण मृत्यु भएको छ। छातीमा समस्या भई वैशाख १२ गते अस्पतालमा भर्ना भएका उनमा १३ गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो। कोरोना सङ्क्रमण पुष्टि भएसँगै कोभिड सघन उपचार कक्षमा उपचारका क्रममा उनको सोमबार साँझ ६ः४५ बजे मृत्यु भएको हो।

क्यान्सर अस्पतालले शुरु गर्‍यो कोभिड वार्ड
 
विपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा कोभिड वार्ड सञ्चालनमा ल्याइएको छ। क्यान्सरको उपचार गर्न आउने बिरामी र काम गर्ने चिकित्सक स्वास्थ्यकर्मीलाई कोरोना भाइरस सङ्क्रमण देखिएमा राख्न मिल्ने गरी वार्ड सञ्चालनमा ल्याइएको हो।

अस्पतालका कार्यकारी निर्देशक डा. देजकुमार गौतमका अनुसार हाललाई १५ शय्या तयार गरिएको छ।  सोही ठाउँमा विस्तार गरेर २० शय्यासम्म पुर्‍याउन सकिने छ। देशैभरिबाट क्यान्सरका बिरामी आउने र उनीहरुमा कोरोना भाइरसको सङ्क्रमणको उच्च जोखिम रहने हुँदा वार्ड तयार गरिएको उनले बताए। अस्पताल आउने बिरामी र कुरुवालाई अनिवार्य पिसिआर परीक्षण गर्नुपर्ने व्यवस्था अस्पततालले गरेको छ ।

अस्पतालका सूचना अधिकारी गिरिनारायण महतोले कामको सिलसिलामा चिकित्सक कर्मचारीलाई सङ्क्रमण भए पनि सोही वार्डमा राखेर उपचार गर्ने व्यवस्थाा गरिएको बताए। हाल अस्पतालमा कार्यरत १४ चिकित्सक कर्मचारीलाई सङ्क्रमण देखिएको छ। उनीहरु अधिकांश होमआइसोलेशनमा रहेका छन्। यससँगै जिल्लाको सरकारी भरतपुर अस्पताल र दुई मेडिकल कलेजमा सङ्क्रमितको उपचार हुँदै आएको छ।
 

प्रकाशित मिति: ११:२२ बजे, मंगलबार, वैशाख २१, २०७८
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्