Kathmandu Press

शकुनीले दुईपटक पासा फ्याँकेजस्तो फेरि संसद् विघटनतिर नजाऔँ

चुनावै गर्नुपर्छ भने पनि त्यसअघि राष्ट्रिय सहमतिको सरकारको बनाउन तयार हौँ। होइन भने जुन हिसाबले चुनाव गराउन पाउने प्रधानमन्त्रीको अधिकारलाई संविधानमा निरस्त गरेका थियौँ, त्यसलाई ध्यानमा राख्दै संसदलाई पूरा कार्यकाल चल्न दिऔँ।
शकुनीले दुईपटक पासा फ्याँकेजस्तो फेरि संसद् विघटनतिर नजाऔँ

विगत महिनामा के कस्ता घटना भए, ती घटनाले के कसरी प्रभावित गरे र संसदको पुनःस्थापनापछि के कस्ता कठिनाइ संसद्भित्र र बाहिरसमेत आइरहेको छ भन्नेबारे हामी सबै विज्ञ छौँ। सभामुख महोदयको आफ्नै पीडा होला।

व्यवस्था एउटा कुरा हुन्छ, व्यक्ति एउटा कुरा हुन्छ। व्यवस्थागत त्रुटिहरूलाई व्यक्तिले आफ्नो क्षमताबाट त्यागका साथ परिष्कार र परिमार्जन गर्दै लैजान सक्छ। कुनै पनि मुलुकमा लेखिएको संविधान परिवर्तन नै नभई, संशोधन नै नभई कहिल्यै चिरञ्जीवी हुन सक्दैन। जुन संविधानले आफूलाई अपरिवर्तनीय स्वीकार गर्‍यो, त्यो संविधानको अन्त्य हुन्छ। त्यसको उदाहरण नेपालमा छ। अपरिवर्तनीय केही पनि कुरा हुँदैन।

त्यस्तो परिवर्तन गर्नुपर्ने, परिवर्तन नहुन सक्ने या परिष्कार गर्नुपर्ने र परिमार्जन गर्नुपर्ने कुराहरूलाई पनि ड्यांङ संसद् भंग गर्ने निर्णय भयो। त्यसपछि संसद् पुनःस्थापना भयो। पुनःस्थापना गर्ने निकाय, त्यसका निम्ति सडकमा आउनुभएका जनतालाई, त्यसका लागि भूमिका वहन गर्ने राजनीतिक नेताहरूलाई धन्यवाद र बधाइ दिन चाहन्छु।

अगाडि के त ? म कठिनाइको व्याख्यामा जान चाहन्नँ। अगाडिका कठिनाइ र सकारात्मक पक्षलाई मैले दोहोर्‍याउनुपर्दैन।

केही महिनाअघि मैले यहाँ सरकारका क्रियाकलापका बारेमा कुरा गर्दा इंग्ल्यान्डको इतिहासबाट पैंचो लिएर ‘इनफ इज इनफ प्रधानमन्त्री महोदय’ भनेर त्यहाँका विद्रोही नेता अझ उनकै पार्टीका नेता चर्चिलले चेतावनी दिएका थिए। त्यसपछि तत्काल त प्रधानमन्त्रीले राजिनामा दिएनन्। तर, चर्चिलको त्यही प्रस्तावका आधारमा प्रधानमन्त्रीको राजिनामा आयो। र, त्यो सुखद् राजिनामा थियो।

मेरो त्यो बेलाको ‘इनफ इज इनफ’को बडो चोटिलो, गहकिलो र मलाई परास्त गर्ने खालको उत्तर प्रधानमन्त्रीले दिनुभएको थियो। उत्तर दिनमा उहाँको कुनै जोडा छैन। नेपालमा मात्र होइन, मेरो विचारमा हारे मोदीसँग हार्नु होला, अरूसँग एसियामै उहाँ हार्नु हुन्न।

यस समयमा अहिले सबैभन्दा ठूलो प्रश्न एकछिनअघि शून्य समयका वक्ताले भन्नुभयो, ‘यो चुच्चे नक्सा कता हरायो ?’ चुच्चे नक्साको भ्रुण हत्या भएको हो, बाल हत्या भएको हो यो त्यो राष्ट्रिय राजनीतिको सानो मोहर मात्र थियो ? सतरन्जको खेलको प्याधा मात्र थियो त्यो ?

‘इनफ इज इनफ’ भन्दाखेरी त भ्रष्टाचारको कुरा थिए, राज्यशक्तिको अनुपस्थितिको कुरा थियो। एकपछि अर्को बलात्कार भइरहेका घटनाको कुरा थियो। असंख्य उदाहरण त्यसदिन हामीले यहाँ पेश गरेका थियौँ।

संसद् विघटन र पुनःस्थापनापछि त त्योभन्दा पनि धेरै गम्भीर कुरा उठाएका छन्। भ्रष्टाचार मात्र भनेर पुग्दैन। विकासको गतिमा जुन जडता आएको छ, त्यो मात्रै सम्झाएर भएको छैन। हामी त राष्ट्रकै नियतिका किनारामा पुगेजस्तो छ।

म एउटा सानो घटनाबाट सकारात्मक ढंगले प्रधानमन्त्रीका, पार्टी सभापतिहरूका, राष्ट्रपतिका, सभामुखका सबैको ध्यानाकर्षण गर्न चाहन्छु। ०४७ सालमा हामीले संविधान बनायौँ। कांग्रेस र सन्त नेता कृष्णप्रसाद भट्टराईको नेतृत्वमा त्यो सम्भव भएको थियो। उहाँका धेरै शिष्य अहिले यस संसदमा बसिरहेका छौँ। संविधान बनाएपछि उहाँले घोषणा गर्नुभयो, ‘यस्तो सुन्दर संविधान विश्वमा कहीँ छैन।’ हामीले पनि पत्यायौँ।

हामीले पनि ताली बजायौँ। सन्त नेताले भनेको, विद्वान नेताले भनेको, संसदीय व्यवस्थाका सबैभन्दा जानकार व्यक्तित्वले भनेको भनेर हामीले पत्यायौँ। आखिर त्यो संविधानको परिणति के भयो त ?

त्यसलाई परिणत गराउनुमा, जोगाउन नसक्नुमा र त्यसलाई सिध्याउन उद्यत हुनुमा हामी सबै जिम्मेवार छौँ। म कुनै विरोधी पक्षधर होइन।

०७२ को संविधानालई त त्यस किसिमको सुखद् स्वागत पनि भएको थिएन। याद राखौँ, ठूलो विवाद र विभाजनका बीच एकातिर दीपावली हुँदै थियो, अर्कातिर कालोरात्रि घोषणा भएको थियो। अरू पनि थुप्रै कुरा थिए। स्पष्ट छ, कांग्रेसले कांग्रेस प्रजातान्त्रिकका माध्यमबाट, अन्य माध्यमबाट दलित, महिला, जनजाति, मधेशी, कर्णालीका नाममा कांग्रेसभित्र र बाहिर प्रचलित रहेको ‘कदमजम’ पदावलीका साथ यस संविधानमा समेट्ने प्रयास गरेको थियो।

जनजाति यो संविधानसँग घोर असन्तुष्ट थिए। मधेशका बासिन्दा त विद्रोहका लागि उठेका थिए। यो संविधानलाई सुश्रुषा गर्ने कि नगर्ने ? यसलाई मलजल गर्ने कि नगर्ने ? मलजल गर्नुको साटो भरखर रोपिएको बिरुवालाई उखेलेर यसको जरो लागेको छ कि छैन भनेर हेर्ने ?

बिरुवा लगाउनेले त्यसलाई धैर्यपूर्वक मलजल गर्नुको साटो त्यसैलाई उखेलेर जरा हेर्ने प्रवृत्ति हामीले विगत महिनामा देख्यौँ। अब जरा हेर्न खोज्ने र हेर्न नदिनेले एउटा नयाँ दायित्व पूरा गर्नुपर्छ। संविधानको रक्षा हामी गर्छौँ कि गर्दैनौँ ? रक्षा गर्दा यही रूपमा गर्छौँ कि यथोचित परिमार्जनका साथ गर्छौँ ?

त्यो परिमार्जन टालटुले हुन्छ या मुलुकका सबै समूह, जाति र पहिचानलाई यथोचित ठाउँ दिइन्छ ? यो काम एक्लै कसैले गर्न सक्दैन। चाहेर पनि प्रधानमन्त्रीले गर्न सक्दैनन्, प्रतिपक्षका नेता र दलले पनि चाहेर केही गर्न सक्दैनन्। संविधानको परिभाषा भनेकै संविधान मुलतः सहमतिको दस्तावेज हो। यी मेरा शब्द होइनन्। विश्वको इतिहासमा सबैभन्दा लोकप्रिय रहेको, सबैभन्दा चिरञ्जीवी रहेको अमेरिकी संविधानका मस्यौदाकारले लेखे, ‘यहाँ मलाई चित्त नबुझेका कुरा धेरै छन्। तर, मेरो चित्त बर्सेनि बदलिरहन्छ। कुनै समय राजतन्त्रको समर्थक थिएँ। आज राजतन्त्रको विरोधी छु। भोलि मेरो पनि विचार बदलिएला। तर, पासचाहीँ आजको सहमतिका आधारमा गर्छु। राज्य र अधिकारको कुरा, राष्ट्रपतिको सापेक्ष अधिकारको कुरामा यस संविधानमा लेखिएअनुसार गर्छु।’

संविधानका सबैभन्दा प्रमुख मस्यौदाकार बेन्जामिन फ्र्यांकलिनले बोलेको कुरा हो यो। आज म यस सदनका माध्यमबाट राष्ट्रिय सहमतिका लागि आह्वान गर्न चाहन्छु। बाहिर अनेक कुरा आइरहेका छन्। खासगरी, को प्रधानमन्त्री बन्ने भन्ने सवालमा। मानौँ प्रधानमन्त्री सडकले छान्ने हो।

सवाल सरकारको नेतृत्व कसले गर्छ भन्ने कुरा होइन। पहिलो प्रश्न यो संविधानलाई बचाएर यसैमा टेकेर हामी अगाडि बढ्ने हो। नत्र, यसलाई ०४७ सालको संविधानजस्तै बिजोग बनाउने हो। अथवा चुच्चे नक्साको जस्तै बिजोग बनाउने हो।

दोस्रो- अब हामीले संविधान लेख्दा कसरी लेख्छौँ ? चुनाव लोकतन्त्रको अत्यन्तै सार्थक र विश्वसनीय कसौटी हो भन्नेमा कुनै शंका छैन। चुनावमा जाऊँ तर कसरी जाऊँ ? सबै मिलेर जाऊँ। यही सरकारको नेतृत्वमा चुनावमा जान तयार हुन्छौँ कि ? कुनै व्यक्ति या शक्तिले बाहिर बसेर विद्रोह गर्छ कि ?

याद राख्नोस्- चुनाव पनि सहमतिमा जाने कुरा हो। सम्माननीय सभामुखसहित धेरै क्रान्तिकारीहरू संलग्न भएका बेलामा ०४७ सालको संविधान मान्दैनौँ भनेर मुठ्ठिभर व्यक्तिले मात्र भनेका थिए। ती व्यक्ति मुस्किलले १२-१३ जना मात्र थिए। त्यही सानो समूहले तत्कालीन संविधानले नमानेको हुनाले ०४७ सालको संविधानको विनाशको बिजरोपण त्यहीँ भएको थियो।

त्यस्तो समय आज पनि आएको छ। त्यसैले म कसैलाई विष बमन गर्न चाहन्नँ। प्रताडना गर्न चाहन्नँ। प्रधानमन्त्रीको प्रताडना सदनबाट, बाहिरबाट गरिसकेका छौँ। एकपटक म उहाँलाई भन्न चाहन्छु, आफूभन्दा, आफ्नो अहम्भन्दा माथि उठ्नोस्।

हिजो त उहाँले विपक्षी दलको नेतासमेतलाई आफ्नो इरादा बताउनुभएको थिएन। सभामुखसमेतलाई विश्वासमा लिनुभएको थिएन। संकट एक दिनमा आएको होइन, संकट क्रमशः आएका छन्। म विनम्रतापूर्वक भन्न चाहन्छु- मुख्यतः प्रधानमन्त्रीका कारणले आएका छन्।

प्रधानमन्त्रीलाई तिमीले छोड भनेर मात्र भएको छैन, समाधान पनि दिनुपरेको छ। यसमा जसपालाई, कांग्रेसलाई र कम्युनिस्टलाई पनि फरक परिरहेको छ। दिन प्रतिदिनको विवाद, दिन प्रतिदिनको भ्रष्टाचारको कथा हाम्रो संसदको भनाभन र जुहारीबाट हुँदैन। हामी जुहारीमा व्यस्त छौँ। आम जनता, कर्मचारी, महिला, दलित र महँगीको दुःखमा पनि फरक परिरहेको छ।

मुलुकलाई यो अवस्थामा पुर्‍याउनका लागि ५५ वर्षको राजनीतिक जीवन काटिसकेको म दोषी छु, यो संसद्मा हामी सबै दोषी छौँ। त्यसैले ठण्डा दिमागले संसद्लाई जुहारी गर्ने थलो नबनाइकन एकपटक किन हामी यहाँ आइपुग्यौँ, किन ०४७ सालको संविधान असफल भयो, अब हामी अर्को बाटो जान चाहन्छौँ भने को जिम्मेवार छ ?

कोही भन्छन् चीनले यसो गर्‍यो, कोही भन्छन् भारतले यसो गर्‍यो। होइन, हामी सहभागी र संयोजक नहुन्जेल कसैले केही गर्न सक्दैन। त्यसैले आफूले आफैँलाई चिहाऔँ। र, यस संकटको घडीमा सबै एक भइकन कसरी राष्ट्रिय सहमति गर्न सक्छौँ ? चुनावै गर्नुपर्छ भने पनि त्यसअघि राष्ट्रिय सहमतिको सरकारको बनाउन तयार हौँ। होइन भने जुन हिसाबले चुनाव गराउन पाउने प्रधानमन्त्रीको अधिकारलाई संविधानमा निरस्त गरेका थियौँ, त्यसलाई ध्यानमा राख्दै संसदलाई पूरा कार्यकाल चल्न दिऔँ। मेरो गोरुको बाह्रै टक्का भनेर शकुनीले दुईपटक पासा फ्याँकेजस्तो दोस्रोपटक संसद विघटन गर्नेतिर नगइदिनोस्। 

(कांग्रेस नेता गिरिले सोमबार प्रतिनिधसभामा दिएको मन्तव्यको सम्पादित अंश)
 

प्रकाशित मिति: १५:२१ बजे, सोमबार, चैत ३०, २०७७
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्