विद्यार्थीमाथि त्रिवि र पनिकाको अत्याचार कहिलेसम्म ?

गत वैशाख अन्तिम सातामा भर्खरै कोरोना प्रसार रोक्न लागू गरिएको लकडाउन खुल्नेबारे बहस चल्दै थियो । लकडाउनका कारण विभिन्न सरकारी काम रोकिएका थिए । यसैबीचमा तनहुँबाट मामाले फोन गरेर भन्नुभयो, ‘भान्जा माइजूको एमबीएसको ‘ट्रान्स्क्रिप्ट’ निकाल्नुपर्‍यो ।’ मामाले यसो भनेर नसक्दै मैले भनेँ, ‘त्रिवि परीक्षा नियन्त्रण कार्यालयमा (पनिका) काम गर्न एकदमै झण्झटिलो छ, ‘थेसिस’ (शोधपत्र) बुझाउनुभयो त ?’ मामाको जवाफ आयो, ‘थेसिस लकडाउनअघि बुझाएको, कलेजले कुरिअर गरेर पठाइसक्यो ।’

राजधानीमा बसेपछि यहीँबाट हुने आफन्तजनका विविध सरकारी कामहरू नगरी सुखै छैन । सरकारी काममध्येको एकदमै झण्झटिलो मध्येको एक हो, त्रिवि पनिकामा हुने काम । यसअघि पनि मैले पनिकामा विविध काममा थुप्रैपटक दुःख पाइसकेको थिएँ । माइजू काठमाडौं आउन सम्भव नभएपछि उहाँको ट्रान्स्क्रिप्टको आवेदनका लागि म परीक्षा नियन्त्रण कार्यालय बल्खु गएँ ।

यसअघि पनि पनिकामा धेरै काम गरिसकेकाले प्रक्रिया बुझेको थिएँ । आवश्यक कागजपत्रसहित ट्रान्स्क्रिप्ट वापतको पाँच सय ५० रुपैयाँ नेपाल बैंकमा बुझाएँ । र, एमबीएस ट्रान्स्क्रिप्टको आवेदन दिनका लागि झ्याल नम्बर ९ मा लाइन लागेँ । आफ्नो पालो आएपछि कागजात दिएँ । भित्रबाट प्रश्न आयो, ‘थेसिसको नम्बर आयो ?’ मैले थेसिस लकडाउनअघि नै आएको जवाफ दिएँ । भित्रबाट त्रिविको वेबसाइट tudoms.org न मा थेसिसको नम्बर आए/नआएको हेर्न भनियो ।

वेबसाइटमा के कसरी हेर्ने भन्ने थाहा नभएपछि भित्रैबाट हेरेर मलाई जवाफ आयो, ‘थेसिसको नम्बर आएको छैन, डिन कार्यालय गएर बुझ्नु ।’ त्यसै दिन बल्खुबाट त्रिवि व्यवस्थापन संकायको डिन कार्यालयमा पुगेँ । डिन कार्यालयमा गएर बुझ्दा त्यहाँ ‘थेसिस’ दर्ता नम्बर नआएको जवाफ पाएँ । त्यसपछि अब के गर्ने भनेर प्रश्न राखेँ । झ्यालभित्रबाट जवाफ आयो, ‘थेसिस नै दर्ता भएको छैन, आएपछि हुन्छ ।’

यसअघि धेरैपटक पनिका पुग्दा अरूले थेसिसको नम्बर आएन भन्दै भौँतारिइरहेको त देखेको थिएँ, त्यो दिन आफैँ भौतारिनुपर्ने भयो । नेपालका सरकारी कार्यालयहरूमा चिनजानको मान्छे नभएसम्म काम नहुने परिपाटी नै बनेको छ । के भएको रहेछ भनेर बुझ्नका लागि ‘सोर्स फोर्स’ नभई केही हुँदैन । त्यसका लागि आफ्नै जिल्लावासी तथा नेविसंघका केन्द्रीय महामन्त्री युवराज पाण्डेलाई सम्झिएँ र उहाँलाई सम्पर्क गरेँ । उहाँले त्रिविका पूर्वस्ववियू सभापति भीम शिरिषलाई सम्पर्क गर्न भन्नुभयो ।

उहाँले भनेबमोजिम शिरिषसँग सम्पर्क गरेँ, उहाँले समस्या सुनेपछि व्यवस्थापन संकायका सहायक डिन दिनेश घिमिरेसँग सम्पर्क गर्न आग्रह गर्नुभयो र सम्पर्क नम्बर दिनुभयो । घिमिरेसँग सम्पर्क गरेर नाम र रजिस्ट्रेसन नम्बर म्यासेज गरेँ । भोलिपल्ट घिमिरेसँग कुरा गर्दा थेसिस दर्ता नभएको थाहा भयो । र, माइजू अध्ययनरत पृथ्वीनारायण क्याम्पसमा बुझ्न उहाँले सुझाउनुभयो ।

कलेजमा सम्पर्क गर्दा लकडाउनअघि (माघ) नै कुरिअर पठाएको जवाफ आयो र कलेजकै प्रकाश सरबाट कुरिअरको सम्पर्क नम्बरसमेत प्राप्त भयो । म आफैँले कुरिअरलाई सम्पर्क गर्दा कुरिअरले दर्ता नभएको बतायो । मेरो विचारमा त्यसरी कुरिअरलाई सम्पर्क गरेर आफ्नो थेसिसको विषयमा बुझ्ने काम विद्यार्थीको नभई क्याम्पसको हुनुपथ्र्यो । तर, ट्रान्स्क्रिप्ट अत्यावश्यक भएकाले पटक–पटक कुरिअरलाई फोन गरेर ‘फलोअप’ गरिरहेँ ।

पटक–पटक फलोअप गर्दा पनि कुरिअरले महिनौँसम्म थेसिस दर्ता गर्ने कुनै चासो नदेखाएकाले अलिकति रुखो भाषामा दर्ता गरिदिनु भन्न बाध्य भएँ । कुरिअरले तपाईंको थेसिस हामी दिन्छौँ, आफैँ लगेर दर्ता गराउनोस् भन्ने जवाफ दियो । तर, त्यसरी आफ्नो मात्रै ल्याउँदा कलेजले पठाएको सिलबन्दीको विश्वसनीयता नहुने हो कि भन्ने सहायक डिन सरको जवाफपछि पर्खनुको विकल्प रहेन ।

केही महिनापछि कुरिअरले पृथ्वीनारायण क्याम्पसका सबै थेसिस पठाएको जानकारी प्राप्त भयो । त्यसपछि फेरि दिनेश सरसँग सम्पर्क गरेँ, अझै पनि थेसिस दर्ता भएको रहेनछ । यसबीचमा सरसँग धेरैपटक सम्पर्क भइसकेको थियो । फेरि एकपटक डिन कार्यालयमा कुरिअरले दर्ता गरेको प्रमाणसहित पुनः डिन कार्यालय पुगेँ ।

त्यसबेलामा डिन कार्यालय जाँदा भने कर्मचारीहरू ‘सम्झना भट्टराई’ नामसँग परिचित भइसकेका रहेछन् । किनकि, दिनेश सरले आफैँ पनि लागेर र उहाँहरूलाई भनेर धेरैपटक थेसिस खोज्न लगाउनुभएको रहेछ । अलिकति भए पनि खुशी लाग्यो, जे होस् फोनबाटै गरेको फलोअपमा सरले मेरो समस्यामा चासो दिनुभएको रहेछ । त्यसै दिन सहायक डिन दिनेश सरलाई भेटेरै के गर्ने भनेर सल्लाह गर्छु भनेर उहाँको कार्यालय पुगेँ । तर, कोरोना महामारीको बहाना गर्दै गेटमा बस्ने ‘सेक्युरेटी’ले भेट्न नमिल्ने भन्दै हप्काए ।

थेसिसका विषयमा बुझ्दा क्याम्पस भन्छ, ‘कुरिअरले थेसिस दर्ता गरिसक्यो ।’ डिन कार्यालय भन्छ, ‘यहाँ कुरिअरले दर्ता गरेको छैन ।’ डिन कार्यालय र पृथ्वीनारायण क्याम्पस प्रशासनको लापरवाही थिएन भने त्यो थेसिस कहाँ हरायो ? यो कहाँसम्मको लापरवाही हो ? थेसिस बुझाएको महिनौँ बित्दासम्म पनि डिन कार्यालयमा पुग्दैन भने यो बेथिति र लापरवाही नभएर के हो ?

यतिबेलासम्म ट्रान्स्क्रिप्ट नभएकै कारण माइजूलाई धेरै ठाउँमा दरखास्त दिन छुटिसकेको थियो । माइजूसँग पृथ्वीनारायण क्याम्पसका थेसिस विभागका कर्मचारी प्रकाश सरसँग नम्बर मागेर म आफैँले उहाँलाई  सम्पर्क गर्दा थेसिस दर्ता भइसकेको ढिपी गर्न छाडेनन् । महिनौँसम्म सहायक डिन सरसँग अपडेटमा रहेकोले मैले पनि अलिकति अमिलो भाषामा भनेँ, ‘थेसिस दर्ता भएको छैन, यो तपाईंहरूको कस्तो लापरवाही हो ?’

पछि तिनै प्रकाश सरमार्फत थाहा भयो, थेसिस हराएछ डिन कार्यालय पुगेन । अब नयाँ दर्ता गरेर पठाउनुपर्‍यो । नयाँ थेसिसका लागि डिन कार्यालयबाट थेसिस हराएको पत्र चाहिन्छ भनेपछि पुनः डिन कार्यालय पुगेँ । डिन कार्यालयले पत्र दिन नमिल्ने थेसिस लिएर आएमा दर्ता गरेर तुरुन्तै नम्बर पनिका पठाउने जवाफ दियो ।  फेरि नयाँ थेसिस ‘प्रिन्ट’ नगरी सुख भएन, नयाँ थेसिसमा सबै प्रक्रिया पुर्‍याएर पृथ्वीनारायण क्याम्पसका प्रकाश सरले पठाएको थेसिस बोकेर ०७७ माघ अन्तिममा डिन कार्यालय पुगेँ ।

डिन कार्यालयकी विमला मिसलाई थेसिस बुझाएँ । त्यतिबेला बल्ल थाहा भयो, अन्य १५/२० जनाको पठाएको सिलबन्दी पनि हराएर मलाई नै बोकाएर पठाइएको रहेछ, जुन काम मेरो नभएर क्याम्पस प्रशासनको थियो । डिन कार्यालयको झ्यालबाट पृथ्वीनारायण क्याम्पसको पछिल्लो समय थेसिसमा धेरै लापरवाही भएको भन्ने सुनेँ । त्रिविका विभिन्न कार्यालयमा प्रशासनको कमजोरीले विद्यार्थीलाई झण्झट मात्र होइन, प्रशासनको कमजोरीमा पनि विद्यार्थीलाई नै जरिवाना तिराइन्छ ।

थेसिस बुझाउँदासम्म त्रिवि पनिकामा ट्रान्स्क्रिप्टको फारम भरेर पैसा बुझाएको ६ महिना नाघिसकेकाले फिर्ता लिनुपर्नेभयो । पाँच सय ५० रुपैयाँ फिर्ता लिनकै लागि म तीन पटकसम्म पनिकाको लेखा शाखामा पुगेँ । कहिले के डकुमेन्ट नपुग्ने, कहिले मञ्जुरीनामा चाहियो भन्ने, कहिले लेखा प्रमुख हुनुहुन्न भनेर झुलाइयो । पाँच सय ५० रुपैयाँ फिर्ता लिन कम्तीमा पनि दुई हजार रुपैयाँभन्दा बढीको मिहिनेत गर्नुपर्‍यो ।

डिन कार्यालयमा थेसिस बुझाएपछि सहायक डिन दिनेश सरलाई ट्रान्स्क्रिप्ट चाहिएकोले अलि छिट्टै नम्बर पठाइदिन आग्रह गरे पनि दुई सातापछि डिन कार्यालयको थेसिस दर्ता शाखाकी कर्मचारी विमला मिसलाई फोन गरेर नम्बर गए–नगएको बुझेँ । उताबाट नम्बर कसले दिएको भन्ने प्रश्न आयो । लाग्छ, उहाँको नम्बरमा फोन गरेर मैले ठूलै गल्ती गरेँ । मलाई उहाँको नम्बर पृथ्वीनारायण क्याम्पसकै प्रकाश सरमार्फत प्राप्त भएको थियो ।

यसबेलासम्म ९ नम्बर झ्यालमा हुने काम १९ नम्बर झ्यालमा सरेको रहेछ । १९ नम्बर झ्यालबाट एमबीएसको गोप्य शाखामा बुझ्न पठाइयो । गोप्य शाखाले tudoms.org  हेर्न भन्यो । वेबसाइटमा नम्बर पठाएको ‘कम्प्लिटेट’ भन्ने स्ट्याटससहित रिफरेन्स नम्बर पनि देखायो । तर, गोप्य शाखाका एक कर्मचारीले झर्किँदै भन्नुभयो, ‘नम्बर आएको छैन, आए पनि कम्तीमा एक हप्ता लाग्छ ।’ नम्बर पठाइसकेको जवाफपछि पनिका पुग्दा अझैसम्म पनि नम्बर पनिका पुगेको रहेनछ ।

त्रिवि पनिकाका कर्मचारीको बोली सुन्दा लाग्छ, हामी उनीहरूका दासजस्तै हौँ । हामी आफूले अध्ययनपछि उत्तीर्ण भएको प्रमाणपत्र लिन पनि दस्तुर तिरेर प्रक्रिया पुर्‍याउँदासमेत उनीहरू किन यसरी हप्काउँछन् ? डिन कार्यालयकी मिसलाई सम्पर्क गर्दा उहाँले भोलि बल्ल नम्बर जाने बताउनुभयो । 

त्यहाँबाट निस्कनै खोज्दा नेविसंघका महामन्त्री दीपक भट्टराई भेटिनुभयो । उहाँलाई देखेपछि केही सहयोग हुने आशा जाग्यो । तर, उहाँबाट आशा गरेजस्तो सहयोग पनि पाउन सकिनँ ।

त्यसको करिब एक सातापछि पुनः पनिकाको गोप्य शाखामा पुगेँ । फेरि तिनै अघिल्लोपटक झर्केका कर्मचारीले एमबीएस द्वितीय वर्षको ‘ब्याक’को मार्कसिटमा थेसिस उल्लेख भएकोले त्यसलाई हटाउन एक सय रुपैयाँको बैंक भौचर सच्याइपाउँ भन्ने निवदेनसहित आउन भने । भने बमोजिम फेरि पाँच सय ५० को भौचरसहित सोही शाखामा गएर पुनः ट्रान्स्क्रिप्टका लागि निवेदन दिएँ । उनले एक साता वा दश दिनमा ९ नम्बर झ्यालबाट ट्रान्स्क्रिप्ट लिन आदेश दिनुभयो । 

ट्रान्स्क्रिप्ट एकदमै छिटो चाहिएको भनेर अनुनय गरौँ भने पनि कसैले सुन्दैन भन्ने थाहा थियो । जब कि, ट्रान्स्क्रिप्टका लागि निवेदन दिने फारममा पाँच दिनभित्र ट्रान्स्क्रिप्ट आउने उल्लेख थियो । तर, ट्रान्स्क्रिप्ट आउन महिनौँ लाग्छ, त्रिविमा । फेरि अर्को नयाँ ठाउँमा पनि ट्रान्स्क्रिप्ट आवश्यक परिरहेको थियो । त्यसपछि छिटो होला कि भन्ने सोचेर ‘सोर्स’ खोजेँ । फेरि एकपटक नेविसंघ महामन्त्री पाण्डेलाई सम्झिएँ ।

उहाँले त्रिविकै दामोदर नेपाल नाम गरेका कर्मचारीलाई सम्पर्क गर्न भन्नुभयो । त्रिविका कर्मचारी न परे, के को रेस्पोन्स दिन्थे । उहाँले रेस्पोन्स नदेखाएपछि अरू कोही हुनुहुन्छ भनेर पुनः पाण्डेलाई सम्पर्क गर्दा यसपटक भने उहाँले पनि रेस्पोन्स गर्नुभएन् । सायद यसपटक उहाँलाई पनि पटक–पटकको मेरो आग्रहले झर्को लाग्यो होला ।

तनहुँबाट आउनुभएका रमेशबाबु भट्टराईलाई पनि एमएडको ट्रान्स्क्रिप्ट लिनुपर्ने रहेछ । मेरो पनि ट्रान्स्क्रिप्टका लागि निवेदन दिएको ६ दिन बितिसकेको थियो । ट्रान्स्क्रिप्ट बन्यो कि भने र हामी दुई बल्खुतिर हान्नियौँ । सरको ट्रान्स्क्रिप्ट बनेको त रहेछ तर आधिकारिक हस्ताक्षर हुन बाँकी रहेछ । एमएड शाखाका एक कर्मचारीले ट्रान्स्क्रिप्ट बनिसकेर टेबलमा रहँदा समेत मार्कसिटमा थेसिस उल्लेख नभएको भनेर ‘जंगिँदै’ नचाहिने कामका लागि एक सय रुपयाँको भौचर काटेर गोप्य शाखामा निवेदन दिन लगाए ।

गोप्य शाखाका एक कर्मचारीले थेसिस उल्लेख नभए पनि फरक नपर्ने बताउँदै त्यहाँका कर्मचारीलाई ‘झापड’ लगाएर ट्रान्स्क्रिप्ट लिएर जान आग्रह गरे र उनी सँगै आएर ट्रान्स्क्रिप्ट निकाल्न सहयोग गरे । त्रिविमा जम्मा गरेको रकम फिर्ता गर्ने काम निकै झण्झटिलो भएकोले यसरी नचाहिँदो काममा पनि बैकमा पैसा तिर्न लगाउने त्रिविका कर्मचारी र प्रशासनको प्रवृत्ति नै बनिसकेको छ ।

म पनि ट्रान्स्क्रिप्टका लागि ९ नम्बर झ्यालमा गएँ । त्यहाँ ट्रान्स्क्रिप्ट नभेटेपछि १९ नम्बरमा पठाइयो, १९ बाट फेरि गोप्य शाखामा । गोप्यमा मसँग पटक–पटक झर्केका कर्मचारीले नम्बर गइसकेको जवाफ दिए । गोप्यबाट पुनः १९ मा जाँदा नम्बर पुगेकै छैन । बारम्बार ओहोरदोहोर गर्दा र करिब एक वर्षसम्म एउटै काममा लागिरहँदा झर्को लाग्नु र रिस उठ्नु स्वाभाविकै थियो ।

फेरि गोप्यमा गएर भनेँ, ‘सर मलाई किन दुःख दिनुभएको, नम्बर गएकै छैन ।’ उनले रुखो स्वरमा भने, ‘नम्बर गएकै छैन भनेको थिएँ त ।’ त्यसपछि पो थाहा भयो, ट्रान्स्क्रिप्ट बन्नु त परै जाओस्, प्रक्रिया पनि सुरु भएको रहेनछ । यदि म ६ दिनमै बल्खु नपुगेको भए मेरो ट्रान्स्क्रिप्टको प्रक्रिया नै सुरु नहुने रहेछ ।

अघि भर्खरै नम्बर गयो भनेका ती कर्मचारीले ‘नम्बर सिस्टमको कारणले नगएको हो, जहाँ जानु छ गएर भन्’ भन्दै हप्काए । उनीसँग चर्काचर्की नै परेपछि म सँगै गएका रमेश सरले के भएको फेरि एकपटक नम्बर चढाइदिनु भनेपछि बल्ल ती कर्मचारीले नम्बर चढाए । पुनः १९ नम्बर झ्यालमा पुगेँ र सोधेँ नम्बर पुगेछ । थोरै भए पनि आशा पलायो । १९ नम्बर झ्यालमा बस्ने कर्मचारी भने अरूभन्दा अलिक फरक र केही समझदार देखिए । तर, उनले मैले आजै प्रिन्ट गरेर पठाइदिन्छु, ९ नम्बर कोठमा गएर सोध्नु कहिले लिने भनेर भन्ने जवाफ दिए । १९ नम्बर झ्यालका कर्मचारीबाट थाहा भयो, गोप्यका ती झर्किने कर्मचारीले नम्बर चढेन, सिस्टम बिग्रियो भनेपछि उनले नम्बर नै पठाएका रहेनछन् ।

१९ नम्बरबाट ९ नम्बरमा मेरो प्रिन्ट भइसक्यो अब कहिले आउने भनेर सोध्दा १० दिनपछि आउनु रुजु गर्नुपर्छ भन्ने जवाफ पाएँ । अझै १० दिन लाग्ने जवाफपछि फेरि छिटो ट्रान्स्क्रिप्ट हात पार्न त्रिविका विद्यार्थी नेताहरूसँग सहयोग माग्न थालेँ । यसरी कुनै व्यक्तिबाट दिइएका सम्पर्क नम्बरमा कर्मचारीहरूलाई सम्पर्क गर्दासमेत हप्काइबाहेक अरू कुनै सहयोग भएन । हुन त, मैले विभिन्न व्यक्तिलाई लगाएको काम ‘अवैधानिक’ भने थिएन । बल्लतल्ल निवेदन दिएको सातौँ दिनमा झण्डै एक वर्षको दौडधुपपछि बल्लतल्ल ट्रान्स्क्रिप्ट हात प¥यो ।

यसअघि पनि म आफैँ त्रिविमा अर्को एक ट्रान्स्क्रिप्टका लागि पुग्दा रजिस्ट्रेसन कार्डमा नाम छुटेको र मार्कसिटमा जोडिँदा तीनपटकसम्म त्रिवि कार्यालय पुग्नुपरेको थियो । त्रिवि कार्यालयमा विद्यार्थीलाई यति धेरै दुःख दिइन्छ कि सोध्दासमेत पैसा पर्ने गरी हप्काइन्छ । हप्काइ खाँदा यस्तो लाग्छ– उनीहरूलाई हामीले हुँदै नहुने कुनै नियमविपरीतका काम गरिदिनुपर्‍यो भनेजस्तो व्यवहार पाइन्छ । हामीजतिको प्रक्रिया थाहा पाएका व्यक्तिले त त्रिविमा पुग्दा यति धेरै हैरानी, दुःख र झण्झटसहित हप्काइ बेहोर्नु पर्छ भने खासै त्रिविसँग जानकार नभएका विद्यार्थी र तिनका परिवारले कति दुःख भोग्नुपर्ला ? सहजै अनुमान लगाउन सकिन्छ ।

विद्यार्थीको हक, हितका लागि भन्दै विभिन्न विद्यार्थी संगठन पनि नभएका होइनन् तर विद्यार्थीका समस्यामा बाहिर–बाहिर बोलेजस्तो मात्र गर्छन् । त्रिवि प्रशासनको त के कुरा ! कसैलाई केही मतलवै छैन, न सरकारलाई नै विद्यार्थीको समस्याको मतलव छ । हुन त, गोल्डमेडल नै किनबेच हुने, शक्ति र पैसाको भरमा नम्बर सच्याउने गरेका काण्डहरू बाहिरिँदासमेत त्रिवि प्रशासन मौन रहँदै आएको छ । त्रिवि पनिकामा हुने भीडमा गएर सोध्ने हो भने आफूले पढेर उत्तीर्ण भएको कागजात लिन विद्यार्थीहरू मलिनो अनुहार बनाउँदै आँशु झार्न बाध्य छन् । धन्य हो, मुलुकको जेठो विश्वविद्यालय । 
 

 Published Date: Friday, 12th March 2021 9:20:00 am