Kathmandu Press

हलसम्म किन पुगेनन् नेपाली फिल्म?

भारतीय नयाँ फिल्म आएर दर्शक हलतिर आकर्षित भएपछि मात्रै नेपाली निर्माता–निर्देशकले फिल्म प्रदर्शन गर्ने मनस्थिति बनाएको बुझिन्छ।
हलसम्म किन पुगेनन् नेपाली फिल्म?
Hardik ivfHardik ivf

काठमाडौं, फागुन १० :काठमाडौं कमलपोखरीस्थित बिग सिनेमा २५ डिसेम्बरदेखि खुल्यो, दक्षिण भारतीय फिल्म ‘मास्टर’ प्रदर्शन गरेर। कोभिडका कारण बन्द रहेर भर्खरै खुलेको यस हलले दर्शक पाउन सकेको छैन। पछिल्लो हप्तादेखि यहाँ हलिउड फिल्म ‘मुलान’ चलेको छ। यस हलमा दैनिक चार सो हुन्छ। तर, हरेक सोमा दर्शक १०–१२ जना मात्रै हुन्छन्।

कोभिडको खोप आइसक्यो, देश–दुनियाँ न्यु–नर्मलको अवस्थामा छ। फिल्म हलमा दर्शक किन र कसरी घटे त?

‘सिटी सेन्टर हल’का म्यानेजर उमेशराज गिरी भन्छन्, ‘दर्शकले कुन–कुन फिल्म लागिरहेको छ भनी फोन गरेर सोध्नुहुन्छ, तर हामीसँग फिल्म छैन।’ उनले फिल्म र दर्शक नभए पनि कोराना संक्रमणले थलिएको नेपाली फिल्म उद्योगलाई उठाउनका लागि आफूले हल खोलेको बताए। उनी भन्छन्, ‘तर, घाटा छ। सरकारले फिल्म प्रदर्शन गर्न अनुमति दिएदेखि हलका कर्मचारीलाई दिनुपर्ने मासिक तलब, बत्तीको बिल, हलभाडा आदिले महिनाको १०–१२ लाख खर्च हुन्छ।’ बिस्तारै ठीक हुनेमा आशावादी छन्।

नेपाली फिल्म निर्माताले दर्शक आकर्षित नभएकाले आफूहरूलाई फिल्म दिन नमानेको उनी बताउँछन्। भारतीय नयाँ फिल्म आएर दर्शक हलतिर आकर्षित भएपछि मात्रै नेपाली निर्माता–निर्देशकले फिल्म प्रदर्शन गर्ने मनस्थिति बनाएको उनको भनाइ छ।

त्यसो त प्रदर्शनको तयारीमा रहेका नेपाली फिल्म थुप्रै छन्। सुदर्शन थापा निर्देशित फिल्म ‘म यस्तो गीत गाउँछु २’ गत वर्ष फागुन ३० मा रिलिज हुने तयारी थियो। कोभिड–१९ ले रोकिएको उक्त फिल्म अझै पनि हलमा जान सकेको छैन। निर्देशक थापा भन्छन्, ‘सरकारले अहिलेसम्म हलको शतप्रतिशत ग्यारेन्टी लिन सकेको छैन। गत वर्ष फिल्म प्रचार–प्रसार गर्ने क्रममै छोड्नुपर्यो। अब कहिले फिल्म प्रदर्शन गर्ने भन्नेबारे कुनै सोच बनाएको छैन।’

फूलमान बल निर्देशित फिल्म ‘नीरफूल’को प्रदर्शन मिति दुईपटक सरेको थियो। गत वर्ष फागुन ३० गते यस फिल्मको प्रदर्शन मिति तोकिएको थियो, यो मिति सरेर पुनः चैत ७ गतेदेखि फिल्म प्रदर्शन हुने प्रचार भयो, तर कोरोनाका कारण प्रदर्शनमा आउन सकेन।

यस्तै सन्तोष सेन निर्देशित ‘प्रेमगीत ३’, निकेश खड्का निर्देशित ‘चपली हाइट ३’ पनि प्रदर्शनका लागि तयार छन्, तर कहिले प्रदर्शन गर्ने भन्नेमा फिल्मको टिमले निर्णय गरिसकेको छैन।

फिल्म प्रदर्शन गरेर मात्रै भएन, दर्शकले हेरिदिनुपर्यो। न्यु नर्मलको यो अवस्थामा दर्शक हलतर्फ उति आकर्षित भइसकेका छैन। खासगरी काठमाडौंका हलमा फिल्म हेर्ने माहोल बनाउने हिन्दी फिल्मले हो। यतिबेला हिन्दी फिल्म पनि आएका छैनन्। खुलेका हल सुनसान अवस्थामा छन्।

फिल्म वितरक गोपाल कायस्थ नेपाली फिल्मले मात्र हलमा दर्शक तान्न सक्ने अवस्था नरहेको बताउँछन्। यो अवस्थामा सरकारले केही छुट दिनुपर्ने उनको भनाइ छ। चलचित्र संघ, निर्माता संघ र फिल्म वितरकले केही समयअघि सरकारसमक्ष दुई वर्षसम्म कर छुट, हलको बत्तीको पैसामा छुट लगायत माग राखेका थिए। त्यसमा सुनुवाइ नहुँदा पनि नेपाली फिल्म चल्न नसकेको उनको भनाइ छ।

निर्देशक नवल नेपाल सरकारले हलवालालाई अनुदान दिनुपर्ने बताउँछन्। ‘नेपाली चलचित्रलाई सुचारु गर्न चलचित्र संघ, निर्माता संघ, सूचना तथा सञ्चार मन्त्रालय, चलचित्र विकास बोर्डले पहल गर्न आवश्यक छ,’ उनले भने, ‘एक–दुई करोड लगानीमा बनेको फिल्म चारजना दर्शकका लागि प्रदर्शन गर्न पनि भएन।’

चलचित्र बोर्डको भूमिका

चलचित्र विकासबोर्डका अध्यक्ष दयाराम दाहाल अहिले नेपाली चलचित्र उद्योगलाई चलायमान बनाउन बोर्डले नीतिगत रुपमा पहल गरेको बताउँछन्। ‘अहिलेको अवस्थामा नेपाली फिल्मलाई कसरी हलसम्म ल्याउने भन्ने निर्माता संघ, चलचित्र संघ र वितरकबीचको कुरा हो,’ उनी भन्छन्, ‘यी तीन पक्षले कुनै निर्णय लिएर बोर्डमा आए बोर्ड सहजीकरणमा २४सै घन्टा तत्पर छ।’

कोभिडले प्रभावित पारेको अवस्थामा सरकारी तहबाट चलचित्र निर्देशक, निर्माता र हलवालाले राहत पाउनुपर्ने र त्यसमा आफूहरू लागिरहेको उनी बताउँछन्। नेपाली फिल्मलाई हलसम्म ल्याउन बोर्डले गरेको प्रयासबारे उनी भन्छन्, ‘सिनेमा इनक्लुडिङमा लाग्ने चार्ज, टेलिभिजनमा नेपाली फिल्मको प्रचार गर्दा लाग्ने खर्चमा ५० देखि ६० प्रतिशत बोर्डले व्यहोर्ने भएको छ। बोर्डको आर्थिक स्रोत विदेशी चलचित्र प्रदर्शन भएबापत प्राप्त हुने चलचित्र विकास शुल्क हो। अहिले बोर्डको आम्दानी शून्य छ। हलमा फिल्म प्रदर्शनका लागि स्वास्थ्य सामग्री  पन्जा, माक्स, थर्मगन र स्यानिटाइजर लगायत बोर्डले उपलब्ध गराउने व्यवस्था गरेको छ।’

यो वर्ष सामाजिक दूरी कायम गरी फिल्म छायांकन गर्नुपर्ने भएकाले प्रोजेक्ट बिमामा पनि बोर्डले सहयोग गर्ने उनले बताए। यसअन्तर्गत कुनै पनि फिल्म डेढ करोड रुपैयाँ बजेटमा बन्न लागेको छ भने एक प्रतिशतको दरले डेढ लाख रुपैयाँ बोर्डले व्यहोर्ने उनको भनाइ छ। ‘सरकारको मौद्रिक नीतिमा नेपाली फिल्म निर्मातालाई सहयोग गर्ने कुरा आएको थियो,’ उनी भन्छन्, ‘जसमा सबै निर्मातालाई समेट्न सकिएन। त्यसमा पनि पहल गरेका छौं।’

बैंकिङ ब्याजमा सहुलियतसँगै यस वर्ष प्रदर्शनमा आउने १५ देखि २० वटा फिल्मलाई सरकारको तर्फबाट राहतको प्याकेजका लागि पहल गर्न लागेको पनि उनले बताए।

प्रकाशित मिति: १८:३९ बजे, सोमबार, फागुन १०, २०७७
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्