स्वस्थानी व्रत किन बस्नुहुन्छ ?
विशेषगरी नेपालका हिन्दू नारीले धार्मिक अनुष्ठानका रूपमा व्रत बसेर मनाउने पर्व हो, स्वस्थानी । स्वस्थानी कथामा सालीनदीको प्रसंग आएको छ, त्यसैले सालीनदीमा माघ महिनाभर व्रतालुको भीड लाग्ने गर्छ ।काठमाडाैं, फागुन ४ : ‘आज मन्दिरभित्र जुत्ता लगाएर प्रवेश गरिरहेका छन् त ?’ सालीनदी मन्दिर प्रवेश गेटमा उभिएका युवायुवती गफ गर्दै थिए।
उभिएकामध्ये कोही जुत्ता राख्ने ठाउँ हेरिरहेका थिए, कोही भक्तजनको लाइनमा जुत्ता लगाएका छन् कि छैनन् जाँच गर्दै थिए।
साँखुको सालीनदीस्थित मन्दिर प्रवेशको दुई सय मिटर अगाडिदेखि नै गत शुक्रबार मानिसको भीड देखिन्थ्यो । मन्दिर प्रवेश गर्ने सडकको फुटपाथ दुवैतर्फ फूलपाती, कपडा, भाँडाकुडा, खानेकुरा, हस्तकलाका साम्रगीले भरिएको थियो।
उनीहरूमध्ये कोही ‘फूलपाती लिएर जानुस्, १० रुपैयाँ मात्र’ भनेर चिच्याउँदै थिए । होटल चलाएकाहरु ग्राहकलाई बोलाउँदै थिए, ‘खाना–खाजा सस्तोमा, यहाँ ट्वाइलेट पनि छ।’
प्रवेशको बायाँतर्फ फूलपाती पसल राखेका ५१ वर्षीय उपेन्द्रमान सिंह ठूलो आवाजमा भन्दै थिए, ‘पुरानो फूलपाती पसल यही हो, सदावहार रहिरहने।’
‘तपाईंले यहाँ व्यापार गर्न थालेको कहिलेदेखि हो ?’
उनले हाँस्दै भने, ‘१०–१५ वर्ष भयो । म माघ महिनामा मात्र होइन, बाह्रै महिना यहीँ बस्छु । धेरैले मेरो पसलबाटै फूलपाती किन्छन् ।’
उनले पूजा गरेर फर्कंदै गरेको पुरुषको समूहलाई देखाउँदै भने, ‘ऊ हेर्नुस्, उनीहरुले पनि मेरो पसलबाट पूजाका सामान किनेर लगेका हुन्।’
तीन–चारजना पुरुष पूजाको थाली बोकेर मन्दिरबाट निस्कँदै थिए । तीमध्ये ५१ वर्षीय पदम न्यौपाने भन्छन्, ‘म स्वस्थानी व्रत बस्दै आएको छु ।’ उनले बिहान नुहाएर र साँझ हातमुख धोएर स्वस्थानी कथा पढ्छन् । उनी भन्छन्, ‘यो एक महिना माछा–मासु खान्नँ । अन्य साधारण खाना खाएर व्रत बस्छु।’
‘व्रत किन बस्नुहुन्छ ?’
‘मन शान्त होस् र जीवन सुखमय होस् भनेर ।’
अर्का २२ वर्षीय नवराज तिमल्सिना आफू पहिलोपल्ट स्वस्थानीको व्रत बसेको बताउँछन् । ‘पौष शुक्ल पूर्णिमाको दिनमा नुहाएर, हातगोडाको नंङ काटेर, एक छाक नुन खाएर व्रत बसिन्छ ।’ घरमा आमा सधैँ व्रत बसेको देखेर यसपालि आफू पनि व्रत बसेको उनी बताउँछन् । भक्तपुर थिमिका उनी स्वस्थानी पूजा गर्न र नुहाउनका लागि बिहानमा सालीनदी आउने गर्छन्।
‘आफ्नो स्वास्थ्य होस् र आगामी दिनमा करिअर राम्रो होस् भनेर व्रत बसेको हुँ,’ उनी भन्छन्, ‘व्रत बसे चाहेको कुरा पूरा हुन्छ रे । पूजा गरे पुण्य मिल्छ।’
भर्खरै सालीनदीमा भर्खर कपालको पानी तर्काउँदै बसेकी थिइन्, गोकर्णेश्वर नगरपालिका सुन्ताखानकी ३५ वर्षीया कल्पना श्रेष्ठ ।
उनले पहिलोपल्ट सालीनदीमा नुहाएकी हुन् । सालीनदीमा नुहाए रोग लाग्दैन भन्ने उनले सुनेकी छन्, त्यही विश्वासमा आफू नुहाउन आएको उनी बताउँछिन । उनलाई विवाह अघिसम्म धार्मिक कुराप्रति त्यति विश्वास लाग्दैनथ्यो । विवाहपछि भने धर्मकर्मप्रति विश्वास बढेको उनी बताउँछिन् । उनको विवाह १५ वर्षअघि भएको हो । ‘जन्मदिने बुबाआमा दुई वर्षअगाडि बितिसक्नुभयो । जिउँदो हुँदा केही गर्न सकिनँ,’ उनले भनिन्, ‘त्यसैले बुबाआमाको नाममा बत्ती बाल्न पनि आएकी हुँ।’
नदीवरिपरि टीका लगाइदिने पुजारी हातमा थाली लिएर बसेका थिए, नुहाएर टीका लगाउनेको पनि भीड देखिन्थ्यो । टीका लगाइदिँदै ठूलो आवाजमा आशीर्वाद वा मन्त्र फलाक्दै थिए, ५६ वर्षीय रामजी पौडेल । आफू चार–पाँच वर्षदेखि सालीनदीमा टीका लगाइदिन आउने गरेका छन् । ‘सुरुसुरुमा मेलामा टीका लगाइदिन आउँदा बस्ने ठाउँको पैसा तिर्नुपर्दैनथ्यो,’ उनले भने, ‘गत वर्षदेखि एक महिना बसेको सात हजार रुपैयाँ तिर्नुपर्छ।’
टीका लगाउने पुजारीको संख्या धेरै भएकाले संख्या घटाउन समितिले रकम लिएको उनले बताए । उनको पुर्ख्याैली थलो दोलखा हो, तर एक दशकयता उनी काँडाघारीमा बस्दै आएका छन् । ‘मेरा बुवा–हजुरबुवाले पनि पण्डित बनेर नै जीविका चलाएका थिए,’ उनी भन्छन्, ‘पुर्ख्याैली पेसा अँगाल्दै म पनि पण्डित बनेँ।’
टीका लगाइदिने लगायत पण्डितले गर्ने काम गरेर आफ्ना दुई छोरी र एक छोरालाई निजी विद्यालयबाट उच्च शिक्षा हासिल गराएको उनी बताउँछन्।
स्वस्थानी कथा र सालीनदी
विभिन्न लेख–रचना, पुस्तकका अनुसार, विशेषगरी नेपालका हिन्दू नारीले धार्मिक अनुष्ठानका रूपमा व्रत बसेर मनाउने पर्व हो, स्वस्थानी । पौषशुक्ल पूर्णिमादेखि माघशुक्ल पूर्णिमासम्म स्वस्थानी कथा पढेर व्रत बसिन्छ । स्वस्थानी शब्द स्व र स्थान शब्दबाट बनेको मानिन्छ । यसर्थ, यसलाई आफ्नै ठाउँको देवीको कथाको रुपमा बुझिन्छ । स्वस्थानी कथामा सालीनदीको प्रसंग आएको छ, त्यसैले सालीनदीमा माघ महिनाभर व्रतालुको भीड लाग्ने गर्छ।
रास जोशीका अनुसार, काठमाडौंका नेवार बीचबाट थालनी भएको स्वस्थानी जातीय रूपमा सीमित नरही नेपाल र भारतलगायत विभिन्न समुदायमा पुगेको छ । व्रतालु मात्रै होइन, यसको कथामा पनि विस्तार भएको जोशी बताउँछन् । उनी भन्छन्, ‘सीमित पत्रबाट प्रारम्भ भएको स्वस्थानी ३१ अध्यायसम्म पुगेको छ।’
सालीनदीमा स्वस्थानी मन्दिर, गणेश मन्दिर, कुमार मन्दिर, विष्णु मन्दिर, मच्छेनारायण मन्दिर, भीमसेन पाटी, बासुकी नाग, एक सय ८ महादेव, माधवनारायण, कैलाश आश्रम, नवर्देश्वर मन्दिर लगायत रहेका छन्।
यहाँका ३८ वर्षीय पुजारी मधुसुदन उपाध्यायका अनुसार, स्वस्थानीको व्रत बसेमा आफ्नो इच्छा पूरा हुने स्वस्थानीमा लेखिएको छ । पुजारी मधुसुदन उपाध्याय आफ्नो दुःख कष्ट भुलाई मलाई शान्ति बनाउन व्रत बस्ने गरेको बताउँछन् । उनी भन्छन्, ‘चन्द्रावती व्रत बस्नाले पूर्णवती भएको, उमाले व्रत बस्नाले नवराज जस्तो पुत्र प्राप्त गरेको, पार्वती माताले व्रत बस्नाले महादेवजस्तो स्वामी पाउनुभएको कथा छ। त्यस्तै, व्रत बस्नाले अज्ञानीलाई ज्ञान प्राप्त हुने, धनसम्पत्ति नहुनेलाई धन प्राप्त हुने, सन्तान नहुनेलाई सन्तान हुने पनि विश्वास गरिन्छ।’
उनी ०४८ सालदेखि सालीनदीको नवर्देश्वर मन्दिरमा पुजारी थिए । ०६० सालदेखि भने उनी स्वस्थानी मन्दिरमा पुजारी छन् ।
श्री जनक जानकी सिद्धार्थ धर्म कर्म सेवा संघका अध्यक्ष शंकर मल्ल ठकुरीका अनुसार, स्वस्थानी सुरु भएदेखि सालीनदीमा नुहाउने प्रचलन रहेको हुन सक्छ । यहाँ भक्तजन तथा व्रतालुले बालुवा तथा ढुंगामा स्वस्थानीको मूर्ति बनाएर पूजा गर्न थालेपछि स्वस्थानीको मन्दिर निर्माण गरिएको उनी बताउँछन् । उनका अनुसार, मन्दिर निर्माणका लागि ०५६ सालमा उपत्यका लगायत छिमेकी जिल्ला, नुवाकोट, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोकमा घरघर डुलेर सहयोग संकलन गरिएको थियो । ‘०५६ सालदेखि स्वस्थानी मन्दिर बनाउन सुरु गरेका थियौं, ०६६ सालमा पूरुा भयो,’ उनी भन्छन्, ‘लगभग एक करोड ५० लाख रुपैयाँभन्दा बढी खर्च लाग्यो।’
मन्दिर निर्माण सम्पन्न भएपछि विभिन्न सञ्चारमाध्यममा समाचार आउन थाल्यो, त्यसपछि भक्तजनको भीड बढ्न थालेको हो । स्वस्थानी व्रत कथामा भनिए अनुसारको मूर्ति तयार पारेर मन्दिर बनाइएको अध्यक्ष ठकुरी बताउँछन्।
यहाँ हरेक वर्ष एक महिना स्वस्थानी कथा पढ्ने गरिन्छ । महिनाभरि नै सालीनदीमा मेला लाग्ने गर्छ।
यसपालि कोभिड–१९ कारण यहाँ स्वस्थानी व्रत कथा गराउने योजना थिएन । ठकुरी भन्छन्, ‘कोभिडलाई ध्यानमा राखेर पूजापाठ मात्र गर्ने योजना थियो । तर मन्दिर खुला भएपछि भक्तजनको भीड बढ्न थाल्यो । भक्तजनलाई नआउनु भन्न सकिएन।’
उनका अनुसार, यसपालि सुरक्षाका लागि नगर प्रहरी ३० र केन्द्रबाट ४० प्रहरी परिचालन गरिएको छ । सामाजिक दूरी, माक्सको प्रयोगमा सचेत गराइएको छ।
व्रतालुको प्रदेश यात्रा
स्वस्थानी व्रत कथा सुरु भएदेखि एक महिनासम्म व्रतालु यहाँको भवनमा बस्छन् । २०४८ सालमा यहाँको रेखदेखका लागि धार्मिक सम्पदाहरूको संरक्षण समिति बनाइएको थियो । समिति तथा सहयोगी संस्थाबाट ‘व्रतालु भवन’ बनाइएको छ । जसमा ७०–८० जना बस्न मिल्छ । भवनबाहेक पनि वरिपरि केही व्रतालु कोठा भाडामा लिएर बसेका छन् । यसपालि कोभिडका कारण ६० जना जति व्रतालु छन्। पहिले चार सयजनासम्म व्रतालु हुने अध्यक्ष ठकुरी बताउँछन्।
यहाँ बस्ने व्रतालुले एक महिनासम्म नुन खाँदैनन् । यहाँ बस्ने व्रतालु परदेश जानुपर्ने प्रचलन छ । सोही अनुसार, व्रतालु विभिन्न तिथि मिलाएर खालि खुट्टा पहिला साँखुको ब्रजयोगिनी मन्दिर, पशुपति मन्दिर, फर्पिङ शेषनारायाण, पनौती मन्दिर हुँदै अन्तिममा चाँगुनारायण मन्दिर जाने गर्छन्।
व्रतालुले माधवनारायण मूर्ती बोकेर तिथि अनुसार हिँडिरहन्छन् । हिँड्ने क्रममा सामान्य बिरामी भए शंखको पानी खाने र घाउचोट भए चन्दन घोटेर लगाउने बाहेक अन्य केही औषधि प्रयोग नगर्ने अध्यक्ष ठकुरीको भनाइ छ।
व्रतालुलाई यसपालि कोरोना भाइरसको पिसिआर रिपोट अनिवार्य गरिएको थियो । व्रतालुहरू एक महिनासम्म मन्दिरमै बस्ने भएकाले पिसिआर रिपोर्ट मागिएको उनी बताउँछन् । भक्तजनलाई पिसिआर रिपोर्ट अनिवार्य गरिएको छैन।
‘शाली धानबाट सालीनदी’
उपत्यकामा धेरै नदी बग्ने गर्छन् । नदीलाई पवित्र गंगाको रूपमा लिइन्छ । पहिले साँखुमा शाली धान प्रशस्त मात्रामा फल्ने गरेको संस्कृतिविद् डा. पुरुषोत्तमलोचन श्रेष्ठ बताउँछन् । सालीनदीको मुख्य पहिचान नै शाली धान भएको र शाली धानको नामबाटै सालीनदी नामकरण भएको उनको भनाइ छ।
उनले स्वस्थानी कथाले मातृसत्तातिर संकेत गर्ने पनि बताउँछन् । ‘लिच्छविकालमा पुरुषलाई देउता मानिन्थ्यो । छैटौं शताब्दीभन्दा पहिले मातृसत्ता रहिआएको मानिन्छ,’ उनी उदाहरण दिँदै भन्छन्, ‘चाँगुनारायण मन्दिरमा दायाँतिर पार्वती र बायाँतिर शिवको मूर्ति बनाइएको छ । यसले मातृ सत्तात्मक समाजलाई संकेत गर्छ।’
उनका अनुसार, दायाँ श्रीमान् र बायाँ श्रीमती हुनु पुरुषप्रधान समाजको परिचय हो । ‘छैटौं शताब्दीपछि पितृ सत्तात्मक शताब्दीको सुरु भएको देखिन्छ,’ उनले भने, ‘त्यस्तै, मध्यकालमा व्रत तथा शक्ति उपासनाको महत्त्व बढ्न थालेको पाइन्छ । त्यही क्रममा स्वस्थानी कथा पर्न गएको हो । स्वस्थानी कथा भन्नेबित्तिकै नारी शक्तिको महत्त्व बुझाउँछ।’