‘भिजिट भिसा’ अहिलेको मात्र समस्या होइन : अध्यक्ष दाहाल
‘यो २०६४ सालदेखि चल्दै आएको छ भन्ने कुरो तपाईंहरुले पनि थाहा पाउनुभएको छ र हामीले पनि थाहा पाएकै छौं,’ उनले भने।-1750144089.jpg)
चितवन, असार ३ : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले ‘भिजिट भिसा’ अहिलेको मात्र समस्या नभएको बताएका छन्।
प्रेस सेन्टर चितवनले आज दाहाल निवास शिवनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले भिजिट भिसा समस्या २०६४ सालदेखि भएको बताए।
‘यो २०६४ सालदेखि चल्दै आएको छ भन्ने कुरो तपाईंहरुले पनि थाहा पाउनुभएको छ र हामीले पनि थाहा पाएकै छौं,’ उनले भने। यस विषयमा छानबिन र नीतिगत सुधार गर्नुपर्ने उनको भनाइ छ।
याे मुद्दालाई त्यत्तिकै नछाड्ने बताउँदै उनले यसका लागि जरुरी परे संविधान संशोधन, ऐन निर्माण र नीतिगत निर्णय गर्नु परे पनि गरिने उनले बताए। उनले भने, ‘मैले छोडेर पनि यो मुद्दा नेपाली जनताले छाड्ने कुरा हुँदैन।’
अध्यक्ष दाहालले आफूहरु प्रतिपक्षमा भए पनि सत्ता पक्षको जस्तो भूमिका निर्वाह गर्दै आएको बताए। ‘हामीले संविधानका निम्ति, ऐन कानुनका निम्ति, सिस्टमका निम्ति सत्तापक्षको भूमिका खेल्नुपर्ने बाध्यता छ,’ उनले भने।
बजेट पारित गर्नुपर्ने, संघीय निजामती सेवा ऐन र विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने, शान्ति प्रक्रियाका बाँकी काम पूरा गर्नुपर्ने लगायतका जिम्मेवारीबोधका साथ ३० दिनभित्र छानबिन समिति बनाउने सर्तमा संसद्को अवरोध खुलाउन सहमति गरिएको उनले स्पष्ट पारे।