Kathmandu Press

मुस्लिम क्लस्टरबाट अतहर कमालको सहमहामन्त्रीको उम्मेदवारी

२०४१ सालमा नेपाल विद्यार्थी संघमार्फत राजनीतिक यात्रा सुरु गरेका उनले महासमिति सदस्यदेखि केन्द्रीय कार्यसमिति सदस्यसम्मको जिम्मेवारी सम्हालिसकेका छन् ।
मुस्लिम क्लस्टरबाट अतहर कमालको सहमहामन्त्रीको उम्मेदवारी

काठमाडौं, असाेज २१ : नेपाली कांग्रेसका पूर्व केन्द्रीय सदस्य अतहर कमाल मुसलमानले पार्टीको १५औँ महाधिवेशनमा सहमहामन्त्री पदमा उम्मेदवारी दिएका छन् । उनले मुस्लिम क्लस्टरबाट सहमहामन्त्रीका लागि प्रतिस्पर्धा गर्न लागेका हुन् ।

कपिलवस्तुबाट राष्ट्रिय राजनीतिमा स्थापित अतहर कमाल लामो समयदेखि कांग्रेसको संगठन र संसदीय राजनीतिमा सक्रिय रहँदै आएका नेता हुन्।

२०४१ सालमा नेपाल विद्यार्थी संघमार्फत राजनीतिक यात्रा सुरु गरेका उनले महासमिति सदस्यदेखि केन्द्रीय कार्यसमिति सदस्यसम्मको जिम्मेवारी सम्हालिसकेका छन् ।

२०७० सालको दोस्रो संविधानसभा निर्वाचनमा कपिलवस्तु क्षेत्र नम्बर २ बाट स्वतन्त्र उम्मेदवारका रूपमा निर्वाचित हुँदै उनले तत्कालीन कांग्रेसका प्रभावशाली नेता दीपकुमार उपाध्यायलाई पराजित गरेका थिए । त्यसपछि पुनः कांग्रेसको मूलधारमा फर्किएका कमाल २०७४ सालमा समानुपातिकतर्फबाट प्रतिनिधिसभा सदस्य बने ।

संसद्मा रहँदा कानुन, न्याय तथा मानव अधिकार समिति, विधायन समिति, सार्वजनिक लेखा समिति र संसदीय सुनुवाइ विशेष समितिमा काम गरेको अनुभव उनीसँग छ । संविधान निर्माण प्रक्रियामा योगदान गरेबापत उनले ‘संविधानसभा पदक’ समेत प्राप्त गरेका छन् ।

सामाजिक सद्भाव, धार्मिक सहिष्णुता, समावेशिता र कपिलवस्तुको विकासलाई राजनीतिक प्राथमिकता बनाउँदै आएका कमालले अहिले कांग्रेसभित्र मुस्लिम समुदायको प्रतिनिधित्वलाई थप प्रभावकारी बनाउने लक्ष्यसहित सहमहामन्त्रीमा दाबी प्रस्तुत गरेका छन् । उनी नेपाली कांग्रेसको पूर्व केन्द्रीय सदस्य समेत हुन् ।
 

प्रकाशित मिति: १५:०० बजे, बुधबार, असोज २१, २०८३
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्