Kathmandu Press

ओलीका ‘तमासे वकिल बाजे’ले आफ्नै घरका तमसुक च्यातेका थिए

२००९ सालमा तमसुक च्यात्ने आन्दोलन भयो । जमिनदार बाबुका छोरा उनले आफ्नै घरको अढाइ लाख रुपैयाँबराबरको तमसुक च्याते, जतिबेला आज उनलाई ‘तमासे’ भन्ने प्रधानमन्त्री ओली भर्खर जन्मिएका थिए।
ओलीका ‘तमासे वकिल बाजे’ले आफ्नै घरका तमसुक च्यातेका थिए

काठमाडौं, माघ १७ :‘एकजना बाजे वकिललाई पनि लिएर गएछन् त्यहाँ तमासा देखाउन’ भन्ने प्रधानमन्त्री केपी शर्मा वलीकोे अभिव्यक्ति सामान्य विवादमा मात्रै परेन, अदालतसम्म पुगेको छ । यसले अदालतको अवहेलना गरेको भन्दै रिट दर्ता गरेका छन्, वरिष्ठ अधिवक्ता डा. कुमार शर्मा र कञ्चनकृष्ण न्यौपानेले ।

रिटमाथि सुनुवाइ गर्दै सर्वोच्च अदालतले सात दिनभित्र ओलीलाई जवाफसहित उपस्थित हुन बिहीबार आदेश दिएको छ।

प्रधानमन्त्री ओलीले सिफारिसमा ५ पुसमा प्रतिनिधिसभा विघटन भएपछि त्यसविरुद्धका रिटमाथि सर्वोच्च अदालतको संवैधानिक इजलासमा बहसका क्रममा छन् । बहसमा कानूनका विद्यार्थी २५ वर्षीय समृत खरेलदेखि ९४ वर्षीय वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीसम्म सहभागी छन्।

Hardik ivf

यसपालि काठमाडौं प्रेसको ‘उहिलेको नेपाल; शृंखलामा उनै अधिवक्ता भण्डारीको सोच, संघर्ष र सम्झनालाई प्रस्तुत गरेका छौँ।

प्रधानन्यायाधीश हुने राजाको प्रस्ताव अस्वीकार

राजा महेन्द्रले प्रधानमन्त्री तुलसी गिरिलाई भनेका रहेछन्, ‘यो (कृष्णप्रसाद भण्डारी) मान्छे निडर छ, विद्वान् छ, यसले प्रधानन्यायाधीश नै मागे पनि दिनू।’

कम्युनिस्ट विचारमा अडिग भण्डारीले प्रधानन्यायाधीश पद मात्रै अस्वीकार गरेनन्, बरु सरकारलाई चुनौती खडा गरिरहेका बीपी कोइरालालगायत नेताको राज्यद्रोहसम्बन्धी मुद्दामा बहस गरे।

बीपीलगायत नेता निर्वासनबाट स्वदेश फर्कने तयारीमा थिए । भारतमा बीपीलाई नेपाल नजान धेरैले सुझाएका रहेछन् । तर, बीपीले भनेछन्, ‘मेरो पक्षमा काम गर्ने नेपालमा भण्डारीहरू छन् ।’ भण्डारी भन्छन्, ‘यो कुरा पटनाका एक पत्रकारले मलाई भेटेरै भनेका थिए।’

पञ्चायती सरकारले बीपीविरुद्ध राज्य विप्लवको मुद्दा दायर गरेको थियो । भण्डारीले कानूनी छिद्र पहिल्याएर अदालतमा मुद्दा हालेका थिए । व्यक्तिगत स्वतन्त्रता ऐन, २००४ अन्तर्गत ०१८ सालमा उनले बीपी कोइराला र भरत शमशेरको रिट दायर गरे । त्यसबेला पञ्चायती व्यवस्थाले अदालतका ढोका बन्द गरेको थियो । संविधान, कानून र नागरिकका सारा अधिकार पञ्चायती सरकारले खोसे पनि यो ऐन खारेज गरेको थिएन । उनी भन्छन्, ‘हामी पुरानाबाहेक कसैलाई पनि यस ऐनबारे थाहा थिएन । नयाँलाई थाहा हुने कुरै भएन।’

#उहिलेकाे_नेपाल शृङ्खला

उहिलेको काठमाडौं १: ‘पाँच मोहोरमा एक भारी दाउरा बेच्थें’

उहिलेको काठमाडौं २ : ‘मान्छेले गाडी बोकेर ल्याएको हेर्न जान्थेँ’

उहिलेकाे नेपाल - ३ : ‘डोकोमा चढेर काठमाडौं आएको हुँ’

त्यतिबेला भण्डारी, कुसुम श्रेष्ठ र गणेश आचार्यले बीपीको पक्षमा बहस गरे । ‘कुसुम र गणेशले मलाई साँचोसाँचो मात्रै बोल भनेका थिए । मैले ‘नो’ भनेँ । त्यतिबेला गिरिजाप्रसाद कोइराला, शैलजा आचार्य, हेमबहादुर थापालगायतले युद्ध (पञ्चायती व्यवस्थाविरुद्ध सशस्त्र विद्रोह) सञ्चालन गर्थे,’ भण्डारी भन्छन्, ‘त्यसैले त्यस युद्धमा बीपीको कुनै संलग्नता छैन भनेर अदालतमा बहस गरेको थिएँ । कांग्रेसले गरेको त्यस युद्धको जिम्मेवारी बीपीले लिनुपर्छ तर युद्धमा उनको संलग्नता छैन भनेर बहस गरिएको थियो।’

पछि बीपीले पनि आफ्नो बहस जायज भनेको उनी सुनाउँछन् । ०४६ को जनआन्दोलनपछि बीपीको मुद्दा सरकारले फिर्ता लिएको थियो, जतिबेला उनको निधन भएको करिब आठ वर्ष बितिसकेको थियो।

पहिले बीपीको सामुन्ने शैलजा आचार्य र गणेशमानपत्नी मंगलादेवी सिंहबाहेक कोही पनि छेउ नपर्ने उनी बताउँछन् । भन्छन्, ‘अहिले बीपी यस्तो र उस्तो थिए भनेर धाक देखाउँछन्, तर त्यतिबेला बीपीको अगाडि कोही पर्दैनथे।’

‘आफ्नै घरको तमसुक च्यातेर काठमाडौं आएँ’

भण्डारी रौतहटको गौरमा जन्मिएका हुन्, १९८४ जेठ २६ मा, जमिनदार परिवारमा । निरंकुश जहानियाँ राणाशासनको उत्तरार्ध भएकाले त्यसबेला नेपालमा स्कुल थिएनन् । उनको शिक्षा बनारसको गुजरात पाठशालाबाट भयो । त्यतिबेला भारत अंग्रेज उपनिवेशविरुद्ध आन्दोलनमा थियो । तर, बनारस महात्मा गान्धीको ठाउँ थियो । त्यहाँ न्यायको प्रत्याभूत हुन्थ्यो । ‘बाटाघाटामा कसैले झगडा गरे ठाउँको ठाउँ कारबाही हुन्थ्यो,’ भण्डारी भन्छन्, ‘गान्धीको समयमा त्यस्तो न्याय हुन्थ्यो, अहिले कसैले झगडा गरे मतलब हुन छाड्यो । यसले न्याय मर्दै गएको आभास दिलाउँछ ।’ उनी गान्धीबाट प्रभावित थिए। 

भारतमा अंग्रेजविरुद्ध ‘भारत छोडो’ आन्दोलन चर्कंदै गयो । रेललगायत सबैतिर बन्द–हडताल हुन थाल्यो । त्यसपछि भण्डारी सन् १९४२ (वि.सं १९९८) मा रौतहटकै गौर फर्किए । १९९६ सालमा स्थापना भएको गौरको श्री ३ जुद्धविहार हाई स्कुलमा दुई वर्ष पढेर मेट्रिक गरे । त्यसपछि स्नातक अध्ययन बनारस विश्वविद्यालयबाट पूरा गरे । मेट्रिक पास गरेपछि उनी आफैँ धर्म संकटमा परेका थिए– गान्धीको पछि लागेकाले दर्शनशास्त्र पढ्ने कि राजनीतिशास्त्र पढ्ने भनेर । देश बनाउन राजनीति गर्नुपर्छ भन्ने अहं भावनाबाट पे्ररित भएपछि उनले दर्शनशास्त्र छाडेर राजनीतिशास्त्र पढेका थिए।

त्यतिबेला रौतहटको समाज दुई भागमा विभक्त थियो– सामन्ती र भूमिहीन सुकुमबासी । सामन्ती वर्गका मानिस जमिनदार मात्रै होइन, लगानीकर्ता पनि थिए । अधिकांश भूमिहीन सुकुमबासी थिए, जो अरूकहाँ ज्याला मजदुरी गरेर जीवीका चलाउँथे । उनीहरू आर्थिक रूपमा विपन्नका साथै शोषण र दमनमा पनि उत्तिकै परेका थिए।

उनी बीए पास गरेपछि पूर्ण रूपमा कम्युनिस्ट पार्टीको राजनीतिमा लागे । २००९ सालमा ‘तमसुक फट्टा’ (तमसुक च्यात्ने) आन्दोलन भएको थियो । जतिबेला आज उनलाई तमासे भन्ने प्रधानमन्त्री ओली भर्खर जन्मिएका थिए।

त्यतिबेला कर्जामा विशेषगरी अन्नपात दिने प्रचलन थियो । विवाह गर्दा मात्रै मानिसले नगद कर्जामा लिन्थे । कर्जा चुक्ता गर्न नसके जोसँग कर्जा लिएको हो, उसैकहाँ गएर बँधुवा–मजदुरले जसरी काम गर्नुपथ्र्यो । तर, कर्जाको तमसुकमा ब्याजको स्याज बढिरहन्थ्यो । पुस्तौँ पुस्तासम्म जनताले कर्जा चुक्ता गर्न सक्दैनथे । मधेसमा यही तमसुक च्यात्ने आन्दोलन जरुरी थियो।

#उहिलेकाे_नेपाल शृङ्खला

उहिलेकाे नेपाल - ४ :‘एसएलसी दिन १३ दिन हिँडेर काठमाडौं आएँ’

उहिलेकाे नेपाल - ५ : युवराज वीरेन्द्रलाई भनेँ, ‘हजुरले फेरि भात खुवाएजस्तो गर्नुपर्‍यो’

उहिलेकाे नेपाल  ६ : राजकुमारी श्रुति फूल किन्न आइन् र भनिन्- ‘सरकार होइन, छोरी भन्नुस्, आमा’

सुरुवाती चरणमा तमसुक फट्टा आन्दोलनको मुख्य नेतृत्वकर्ता तुलसीलाल अमात्य थिए । गणेशमान सिंहको पनि महत्त्वपूर्ण योगदान रहेको उनी बताउँछन् । उनीहरू दुवै नेताको क्षेत्र रौतहट र पूर्वी बारा थियो । अमात्य त्यति सक्रिय भएनन् । बरु त्यतिबेला रत्नमान मास्के सक्रियतापूर्वक लागेका थिए । पछि आफूसमेतको अगुवाइमा आन्दोलनलाई चरम उत्कर्षमा पु¥याएको भण्डारी बताउँछन् । त्यतिबेला सिंगो रौतहट, बारा र सर्लाहीका आधा क्षेत्रका जमिनदारको तमसुक च्यातियो।

भण्डारीका बुवा जमिनदार मात्रै थिएनन्, कर्जा पनि लगाउँथे । तमसुक फट्टा आन्दोलनबारे भण्डारीको फरक विचार थियो– आफ्नै घरका तमसुक नच्यातेसम्म आन्दोलन अगाडि बढ्दैन, किसानमा यसको प्रभाव पर्दैन।

भण्डारी भन्छन्, ‘म, शिव मंगल र विष्णुबहादुर मानन्धर भएर मेरै घरको तमसुक आँगनमा ल्याएर च्यातौँ र जलायौँ । मेरै घरको करिब अढाइ लाख रुपैयाँको तमसुक त्यातियो । त्यस आन्दोलनले जिल्लामै नयाँ लहर ल्यायो । आन्दोलन चर्किएपछि धनीहरू आत्तिन थालेका थिए । कम्युनिस्ट आए, अब कसैको सम्पत्ति रहँदैन भनेर कुप्रचार पनि भयो । तमसुक फट्टा आन्दोलनले एकातिर कुप्रचार भए पनि अर्कोतिर जनजागरणको नयाँ लहर पैदा गरेको थियो।’

यो आन्दोलनले गरिब जनताको मुहारमा उज्यालो भर्ने काम गर्यो । कैयौँ गरिब किसान, निमुखा तथा मजदुरले मुक्ति पाए । भण्डारी यस आन्दोलन आफ्नो जीवनका लागि टर्निङ प्वाइन्ट भएको पनि ठान्छन्।

उनलाई परिवारले १८ वर्षको उमेर (२००२ साल)मा विवाह गरिदिएको थियो, १३ वर्षकी कन्यासँग । त्यो समय र समाज नै त्यस्तै थियो । बिहे भएको ६ महिनासम्म लजाएर बोलचाल नभएको उनी सुनाउँछन्।

तमसुक च्यातेपछि उनको परिवारसँग घर–जग्गाबाहेक पैसाका नाममा केही रहेन । परिवार आर्थिक संकटमा गुज्रँदै थियो, त्यहीबेला २०१० सालमा उनकी आमाको निधन भयो । त्यसपछि उनी रोजगारी खोज्दै भाइलाई लिएर काठमाडौं आए, २०११ कात्तिकमा । अहिले उनका कान्छा भाइ अमेरिका छन्।

त्यतिबेला उनका ससुराबुवा काठमाडौंमै बस्थे । उनी ससुराबुवासँग बसे । त्यतिबेला गाउँ–गाउँबाट न्याय खोज्दै मानिसहरू काठमाडौं आउँथे । उनीहरूलाई न्याय पाउने ठाउँ र प्रक्रिया थाहा हुँदैनथ्यो । उनले काम पाए– उनीहरूलाई वकिलकहाँ पुर्याउने । उनले राजीव उपाध्याय, मुक्तिलाल झालगायत वकिलकहाँ मानिसलाई पुर्‍याउँथे र त्यसबापत दुई–चार पैसा पाउँथे।

अहिलेको दरबार हाईस्कुल भएको ठाउँमा नेपाल ल कलेज स्थापना भयो । उनलाई न्याय सेवाप्रति विशेष चाख थियो । उनी ल कलेजमा भर्ना भए । त्यहाँ पढेर पास भएपछि उनले अधिवक्ता नवौँ नम्बरको लाइसेन्स लिए, ३० वैशाख २०१४ मा।

‘पढेर, लेखेर वकिलको लाइसेन्स लिने तेस्रो नम्बरको हुँ,’ उनी भन्छन्, ‘त्यतिबेला सरकारी कर्मचारी अवकाश पाएपछि वकालत पेसामा आउँथे।’

#उहिलेकाे_नेपाल शृङ्खला

उहिलेकाे नेपाल ७ : आँखा अगाडि झुन्डिएको शुक्रराज शास्त्रीको शव...

उहिलेकाे नेपाल ८ :‘दर्शनशास्त्रमा विद्यावारिधि गरेर राजा महेन्द्रसँग जागिर मागेँ’

उहिलेकाे_नेपाल ९ :‘राजा त्रिभुवनका लागि राणाशासकले दुई सय जति केटी राखिदिएका थिए’ 

उहिलेकाे नेपाल १० :राधादेवी जोशी

न्याय नपाएका मानिसलाई वकिलसम्म पुर्याउने काम गर्दै आएका उनी स्वयं वकिल भए । तमसुक फट्टा आन्दोलनका कारण आफ्नो क्षेत्रमा उनको नाम थियो । त्यसैले गाउँबाट न्याय खोज्दै आएका प्रायः उनकै सम्पर्कमा आउँथे।

०१६ सालदेखि उनले ल क्याम्पस पढाउन थाले । त्यतिबेला कानून पढ्ने महिलाको संख्या नगन्य हुन्थ्यो । अंगुरबाबा जोशी र गंगा मानन्धर कानून पढ्ने छात्रा थिए । त्यतिबेला ल क्याम्पस पटना विश्वविद्यालयको सम्बन्धनबाट सञ्चालित थियो । उनीहरूको स्नातकोत्तरको प्रमाणपत्र पनि पटना विश्वविद्यालयकै छ।

भण्डारीले ०१६ देखि ०३२ सालसम्म ल क्याम्पसमा पढाए । ०३२ सालमा पञ्चायती सरकारले राजनीतिक दृष्टिकोण राख्ने उनीसहित सहाना प्रधान, नुतन थपलिया, वासुदेव बीसीलगायत १५/१६ जनालाई बर्खास्त गरेको थियो । ०४६ सालमा प्रजातन्त्र आएपछि बर्खास्तीमा परेका सबैलाई पुनर्बहाली गरियो । तर, भण्डारीले वकालत पेसालाई अँगालिसकेकाले राजीनामा दिएर बसे।

‘बन्दुकधारी कम्युनिस्टमा म मात्रै जीवित’

२००७ को आन्दोलनका बेला विष्णुबहादुर मानन्धरसँगैका सहयोद्धा हुन्, भण्डारी । त्यतिबेलाका बन्दुकधारी कम्युनिस्टमध्ये आफू मात्रै जीवित भएको उनी बताउँछन् । तुलसीलाल र गणेशमान फिल्ड वर्करजस्तै थिए । यस आन्दोलनको बलमा प्रजातन्त्र आएपछि गणेशमान उद्योग तथा व्यापारमन्त्री बने । उनको सम्मानमा ००८ सालमा रौतहटमा ठूलो भेला आयोजना भएको थियो।

भारत ब्रिटिस साम्राज्यबाट मुक्त भइसकेको भए पनि उसको आफ्नै मुद्रा भने प्रचलनमा आएको थिएन । भारतले कपडा उत्पादन गथ्र्यो । आफ्नो देशभित्र कपडाको हाहाकारै भए पनि विदेशी मुद्रा आर्जन गर्न उसले निर्यात गर्ने नियम बनायो र नेपालमा पनि कपडा पठायो । भारत कानपुरका व्यापारीले प्रशस्त कपडा नेपाल निर्यात गरे । त्यसको उद्देश्य अलि फरक थियो– नेपालमा स्टोर गर्ने र भारततर्फ पुनः निर्यात गर्ने।

गणेशमान रौतहट गएका बेला ६ रुपैयाँको धोती १२ रुपैयाँमा बेचेको देखे । त्यो सबैभन्दा ठूलो शोषण थियो । गणेशमानले तत्कालै सारा गोदाम बन्द गर्न निर्देशन दिए । भारतीय व्यापारीको गोदाम विराटनगर, गौर, वीरगन्ज र नेपालगन्जमा थियो । वार्तापछि व्यापारीले सरकारलाई राजस्व बुझाएका थिए । यस घटनाका साक्षाी भण्डारी भन्छन्, ‘कपडाकाण्ड पनि एउटा महसुर काण्ड हो, जसले गणेशमानको योगदानमा निष्कर्षमा पुग्यो।’

‘झगडिया नै तिम्रो गुरु हो’

भण्डारी र कुसुम श्रेष्ठसहितको टिम मिलेर ‘नेपाल ल फर्म’ खोले, जसलाई साझेदारीभन्दा बढी प्रतिष्ठानको रूपमा विकास गरे । यसबाट धेरैले वकालत सिके।

भण्डारीबाट सिकेकाहरू न्यायाधीश, प्रधानन्यायाधीश बनेका छन् । उनले सिकाएकामध्ये प्रकाश वस्ती, मोहन रायमाझी, भरतराज उप्रेतीलगायत थुप्रै न्यायाधीश भए भने केदारप्रसाद उपाध्याय, केदारनाथ उपाध्याय, गोविन्दबहादुर श्रेष्ठ प्रधानन्यायाधीश भए।

भण्डारीको आदर्श छ– कुनै पनि गरिबले न्याय खोज्दै आउँछ भने त्यसलाई इन्कार गर्नु हुँदैन । कानूनी शिक्षा र पेसालाई सहज, सुलभ र स्वतन्त्र बनाउनुपर्ने उनको धारणा छ । यस्ता आदर्श र धारणा विकास हुनुमा उनलाई बाहिरी अध्ययनले पनि मार्गदर्शन गरेको हो । पहिले कुनै पनि वकिलले मिसिलमा उल्लेख भएका कुरा, संविधान–कानून तथा नजिरका कुरा र विद्वानका भनाइबाहेक आफ्ना कुरा बोल्न नपाउने नियम बनाएको थियो । जसले विदेशी किताब पढ्ने बानीको विकास गरेको उनी बताउँछन्।

उनले वकालत सिकाउँदा नयाँलाई पैसा दिएरै बहस गराउँथे । भण्डारीलगायतको टिमको सिकाउने शैली फरक थियो । ‘हामीले १०, २०, ५०, सय रुपैयाँ पनि दिन्थ्यौँ । हामीले जहिल्यै सँगै रहेर सिकाइरहन सक्दैनथ्यौँ । त्यसैले तिम्रो गुरु भनेको नै झगडिया हो भनेर गरिबहरूको मुद्दालाई नयाँ तथा आगन्तुक वकिलको जिम्मा लगाउँथ्यौँ,’ भण्डारी भन्छन्, ‘झगडियाको सम्मान गरेर मिसिल पढेर बहसका लागि तयार हौ भन्थ्यौँ । नयाँ वकिलले बहस गर्दा हामी पनि सँगै हुन्थ्यौँ।’

विभिन्न संकटसँग गुज्रिरहेका केहीलाई उनले न्याय क्षेत्रका अब्बल हस्ती पनि बनाए । त्यसमध्ये पर्छन्– लवदेव भट्ट, लोकेन्द्रबहादुर चन्द, कृष्णबहादुर पन्त, लक्ष्मण अर्याल । उनका अनुसार, लवदेव डोटीमा सुब्बाको जागिरे थिए । जागिर छुटेपछि उनी भौँतारिएका थिए । ‘उनका दाजु जगदेव भट्ट मेरा साथी थिए । जगदेव काठमाडौंमै बस्थे । मैले लवदेवलाई बोलाएँ र म्याद थाम्ने निवेदन लेख्न सिकाएँ,’ उनी भन्छन्, ‘झगडियाले पाँच रुपैयाँ दिन्थे । त्यो पैसाले उनलाई खान पुग्थ्यो । दुईवटा लेख्दा पैसा पनि बच्थ्यो।’

भट्ट पछि ख्यातिप्राप्त वकिल मात्रै भएनन्, उनले लेखेका पुस्तक न्यायिक जगत्मा प्रसिद्ध छन्।

पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्द लखनउबाट पढेर आई जागिरको खोजीमा थिए । उनी भण्डारीको सम्पर्कमा पुगे । ‘उनी त्यतिबेला भूमिसुधारको जागिरे बन्ने वा इन्स्पेक्टर बन्ने योजनामा आएका रहेछन्,’ भण्डारी भन्छन्, ‘मकहाँ आएर चार–पाँच दिन सिकेपछि उनले भने– पाकेको आँप गिरेजस्तै पैसा आउने ठाउँ रहेछ।’

त्यसपछि चन्द वकालत पेसामै लागे, त्यही पेसाको बुझाइले उनलाई प्रधानमन्त्रीसम्म बन्न प्रेरित गर्यो।

यस्तै, अंगुरबाबा जोशीका भाइ कृष्णप्रसाद पन्तलाई पनि भण्डारीले वकालत सिकाएका हुन् । उनीहरूको भेट बनारसमै भएको थियो । कृष्णप्रसाद पन्त निकै मेधावी विद्यार्थी थिए, तर घटनाक्रमले उनी अर्धपागलजस्तै बनेर बनारसमै बसेका थिए । ‘अंगुरबाबाले मेरो भाइ बिग्रियो, के गर्ने होला भनिन् । मैले भाइलाई मकहाँ पठाइदिनू भने,’ भण्डारी भन्छन्, ‘मैले वकालतबारे सिकाएँ । अहिले उनी विद्वान् अधिवक्ता भएका छन्।’

अहिलेका अर्का विद्वान् अधिवक्ता लक्ष्मण अर्याल भण्डारीले ल क्याम्पस पढाउँदाका चेला हुन् । त्यतिबेला सेक्सन अफिसरको तलब नै २५० रुपैयाँ थियो । उनले सेक्सन अफिसरलाई ट्युसन पढाउँथे । ‘यताउता पढाउन छाडेर मकहाँ सिक्न आऊ र वकिल बन भने,’ भण्डारी भन्छन्, ‘ऊ एकदम रिसाएर यस्तो फट्याइँ पेसा पनि कसैले गर्छ भन्यो । मैले के मलाई फटाहा भनेको भनेँ । सम्झाएर सिक्न बोलाएँ । हामीले नयाँलाई पनि पैसा दिन्थ्यौँ । ऊ आयो । अहिले ऊ ठूलो जुरिस्ट बन्यो।’

राणा र पञ्चायतकालमा स्वतन्त्रतापूर्वक न्याय दिइन्थ्यो

उनको दृष्टिकोणमा राणाकालमा केही राम्रो थियो भने त्यो विधिको शासन नै हो । पञ्चायतकालमा पनि कानून र कानूनी प्रणाली धेरै राम्रा थिए । ‘नेपालका जंगबहादुर राणाले वि.सं. १९१० मा मुलुकी ऐन बन्यो । त्यो ऐनको प्रस्तावनामै हामी सबै भारदारहरू यसै ऐन–कानून बमोजिम रहँुला भनेर लेखिएको थियो,’ भण्डारी भन्छन्, ‘माथिल्लो तहको हाकिमले गरेको निर्णय तल्लो तहकाले नमाने नालायक ठहरिने पनि व्यवस्था थियो । त्यतिबेला भारदार, महाराजले गरेका फैसलामा मैले कुनै खराबी देखिनँ।’

भण्डारीले त्यतिबेलाका धेरै फैसला संग्रहित गरेर राखेका थिए, ०७२ को भूकम्पले घर भत्किएपछि नष्ट भए।

उनका अनुसार पञ्चायतकालमा राम्रो काम गर्नका लागि वकिलहरूको निकै ठूलो योगदान छ । वकिलहरू निकै त्यागी, मिहिनेती र विद्वान् थिए । उनी भन्छन्, ‘नेपालको न्यायालय २३÷२४ सालपछि स्वर्णिम युगमा प्रवेश गर्‍यो । पञ्चायती व्यवस्थामा राजाले पनि अदालतमा कहिल्यै हस्तक्षेप गरेनन् । त्यतिबेला राजाले दिएको निर्देशन पनि अदालतले बदर गरेको रेकर्ड छ । अहिले राजनीतिक, प्रशासनिक लगायत दबाब देखिन्छन् । न्यायाधीशहरू चाकरीबाज भएका छन्।’
 

प्रकाशित मिति: १५:४० बजे, शनिबार, माघ १७, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्