धिनाचोको टुप्पोमा योमरीको स्वाद

उँदो पूर्णिमाका दिन ‘धिनाचो’ हाइकिङ जाऊँ ।’
‘यो भनेको कहाँ हो ?’

आउँदो पूर्णिमा, अर्थात् धान्यपूर्णिमाका दिन कहीँकतै जाऊँ न भन्ने आग्रहमा धिनाचो जाऊँ भन्ने मेरो सुझाव हो । अनि धिनाचो भनेको के हो, कहाँ पर्छ भन्ने जान्न चाहनु स्वाभाविकै हो । ‘योमरीपुन्हि’ अर्थात् धान्य पूर्णिमाका दिन काठमाडौं उपत्यकामा बेग्लै प्रकारको माहोल बन्छ, विशेषगरी नेवार समाजमा । नेवार समाजको उपस्थिति रहेका अन्यत्र गाउँ–ठाउँमा पनि त्यही माहोल हुन्छ ।

विशेषगरी योमरी बनाउने, त्यसको पूजा गर्ने तथा खाने र खुवाउने । ठीक यही दिन धिनाचो पहाड चढ्नुपर्छ भनेर चढ्नेहरू पनि हुन्छन् । यस दिन त्यहाँ सानोतिनो मेला नै लाग्छ । यो धिनाचो भन्ने ठाउँ कहाँ हो ? धेरैलाई अचम्म लाग्ला तर यहाँका आदिवासी नेवारहरूले हजारौँ वर्षअघिदेखि धिनाचो भन्दै आएको यो डाँडोलाई अचेल चम्पादेवी नामकरण गरिएको छ । काठमाडौं उपत्यकाको दक्षिणतिर उभिएका डाँडाहरूमा सबैभन्दा अग्लो अर्थात् करिब दुई हजार दुई सय मिटरको डाँडो नै धिनाचो हो ।

उपत्यकाका चार दिशामा चारवटा थुम्का जामाचो, सिपूचो, फूचो र धिनाचोले स्थानीय नेवार समाजमा सांस्कृतिक हिसाबमा ठूलो स्थान राख्छन् । ‘चो’ शब्दले थुम्को भन्ने अर्थ दिन्छ । आजभोलि ‘धिनाचो’को न्वारान चम्पादेवीजस्तै जामाचोको नागार्जुन पर्वत, सिपूचाको शिवपुरी, फूचोको फुल्चोकी गरिएको छ । नाम बदलिएपछि त्यसको औचित्य पुष्टि गर्न अनेक मिथक तथा कथावस्तुहरूको सिर्जना गरिने पनि भइहाल्यो ।

इतिहास र संस्कृति विषयकै अध्येता भएका कारण पुराना कुरामै ध्यान दिनु, ऐतिहासिक–सांस्कृतिक पक्ष खोतल्नु र त्यसको संरक्षणमा मन लाग्नु आफ्नो धर्म भइहाल्यो । काठमाडौं उपत्यकामा मानव बसोबासको विकाससँग यी ‘चो’हरूको गहिरो सम्बन्ध छ । र,वर्षका निश्चित दिनहरूमा यहाँ पुगेर नातासम्बन्ध ताजा राख्ने स्थानीय परम्परा रहेको मेरो ठम्याइ छ ।

सोहीअनुसार चैत्र पूर्णिमाका दिन जामाचो, वैशाख संक्रान्तिमा सिपूचो, फूचो र धिनाचोमा पुग्ने चलन छ । तथापि, ती दिनबाहेक पनि पहाड उक्लेर रमाइलो गर्ने चलन छ । आफ्नो परिवेश वा पृष्ठभूमि कीर्तिपुर भएका कारण हामी धिनाचोसँग सम्बन्धित छौँ । यहाँ वैशाख संक्रान्तिबाहेक योमरी पुन्हिका बेला पनि मेला लाग्ने गर्छ र यो दिन विशेषगरी कीर्तिपुरनजिकको पाँगा भन्ने ठाउँका नेवारहरू पुग्ने गर्छन् ।

यही दिन पारेर केही वर्षअघि एक समूह लिएर धिनाचो पुग्दा मेला भन्न लायकको उपस्थिति देखिएन । यसलाई सांस्कृतिक जीवनमा आएको विचलन भनेर बुझेको थिएँ । त्यहीबेला अर्को योजना बनाएको थिएँ, फेरि योमरीपुन्हिकै दिन पारेर आउने र सांस्कृतिक विचलनको यो क्रमलाई नजिकबाट नियाल्ने । ‘कहीँ हाइकिङ जाऊँ’ भनेर गरिएको आग्रहलाई धिनाचो पुग्ने र आफ्नो काम पनि सक्ने अर्थात् ‘एक पन्थ दो काज’ गर्ने निधो गरियो ।

‘धिनाचो हाइकिङ जाऊँ’भनेपछि धेरैको प्रश्न रह्यो, यो भनेको कहाँ हो ? नेवार समुदायभन्दा बाहिरकालाई धिनाचोकाबारेमा थोरै मात्र के भन्न भ्याउँथेँ, उत्साहित भइहाल्थे । यहाँ जाने अनेक बाटा छन् । मच्छेगाउँस्थित पुष्पलाल स्मृतिपार्कबाट ठाडै उकालो लागेर पुग्ने एउटा बाटो छ भने अर्को बाटो पाँगापछि आउने लनगोलबाट उकालो लागेर बोसन पुग्ने र त्यहाँबाट पुनः अगाडि बढेर जाने ।

यस्तै, टौदहभन्दा अलि अगाडि बढेपछि खहरे भन्ने ठाउँबाट दायाँतर्फ मोडिएर बोसन पुग्ने र पुनः त्यहाँबाट माथि चढ्न पनि सकिन्छ । यसरी नै फर्पिङबाट आउने बाटो पनि छ । त्यसबाहेक हात्तीवन र त्यहाँ बनेको रिसोर्टलाई दायाँ परेर सीधै पश्चिम लाग्ने बाटो पनि छ । यसपालि हात्तीवनबाटै धिनाचो लाग्ने निधो गरियो । किनभने, यसअघि यो बाटो हिँडेको थिइनँ र नौलो अनुभव पनि लिनु थियो ।

कालिमाटीमा बिहान सात बजे भेला हुने र बस चढेर हात्तीवन पुगी हाइकिङ सुरु गर्ने मेरो योजना थियो । तर, यो र त्यो भन्दाभन्दै १० बजेमात्रै कालिमाटी पुग्ने टुंगो लाग्यो । सोहीअनुसार समय निर्धारण गरिए पनि सबै आइपुग्दा सवा ११ बजिसकेको थियो । बसबाट झरेर हिँड्न थाल्दा १२ बज्यो । मोटर गुड्ने बाटो नै रहेछ, त्यसलाई पछ्याएर हामी हिँड्यौँ ।

हाम्रो समूहमा यसअघि थुप्रै यात्रा गरिसकेका मात्रै होइन, जिन्दगीमा पहिलोपल्ट हाइकिङमा निस्केकाहरू पनि थिए । कोरोना प्रसार रोक्न लागू लकडाउनका कारण लामो समयपछि यसरी निस्केका थियौँ हामी । वनको बाटो, स्वच्छ सफा र हरियालीले सबैलाई तुरुन्तै उत्साहित बनाइहाल्यो ।

घुम्दै गएको बाटोमा अलिकति मात्रै के हिँडेका थियौँ, प्राकृतिक वातावरणले सबैलाई उद्वेलित पार्‍याे र तस्बिर खिच्ने क्रम सुरु भइहाल्यो । अलिकति सुस्तायौँ पनि र साथमा बोकेको सुन्तला छोडाउन थाल्यौँ । अलि माथि पुगेपछि हात्तीवन रिसोर्ट आइपुग्यो । त्यहाँबाट अलि अगाडि के बढेका थियाँ, दोबाटो आइपुग्यो । कुन बाटो लिने ? कुनै संकेतपाटी पनि थिएन । दायाँको बाटो लियौँ र हिड्यौँ, हिँड्दै गयौँ । जति पनि बाटो फाट्छ, दायाँको मात्रै लिनुको कारण हो, धिनाचो पहाडको उत्तरतर्फ नै पर्छ । यो बाटोबाट दायाँ चोभार, कीर्तिपुरलगायत भूदृष्यहरू छर्लंग देखिन्छन् पनि ।

एक ठाउँमा आएपछि भने टक्क अडिनु पर्‍यो । कारण– दायाँको बाटो चल्तीको जस्तो लागेन । बायाँको बाटो ढुंगा ओछ्याएर बनाइएको त हो तर ओरालो ओरालो लाग्ने । पहिला आफू गएर हेर्छु भनेर दायाँ बाटोबाट अलि पर पुगेपछि ८–१० जना मानिसले अड्डा जमाइरहेको पाएँ । सुव्यवस्थित रूपमा घुम्न आएका उनीहरू त्यहाँ खानपिन र सांगीतिक माहोलमा रमाइलो गरिरहेका थिए । उनीहरूले नै भनेर थाहा भयो, त्यहाँभन्दा अगाडि पहाड सकिन्छ, अघि बढ्ने बाटो पनि छैन । अघि ओरालो ओरालो लाग्ने बाटो नै धिनाचो पुग्ने मार्ग हो भन्ने थाहा भयो ।

ढुंगाको बाटो भएर अलि पर गएपछि भन्ज्याङमा बोसनबाट उक्लिएर आउने चिर–परिचित बाटो जोडिन आइपुग्यो । सबैलाई यही बाटोदेखाएर भनेँ– ‘हामी फर्कँदा यही बाटो भएर जाने हो है ।’

फेरि विस्तारै उकालो सुरु भयो । ‘अब कति जानु पर्छ ?’ सहयात्रीहरू सोध्छन् । म जवाफ दिन्छु– ‘हिँड्दै जाऊँ पुगिन्छ ।’

वास्तवमा अरू फर्कने बेलामा हामी उकालो लाग्दै थियौँ । फर्कनेहरूसँग सोध्दै गयौँ– कतिबेरमा टुप्पोमा पुगिन्छ ? तर, कसैले एक घण्टा, कसैले आधा घण्टा, कसैले १५–२० मिनेट भन्दै थिए । हामी अक्क न बक्क पर्‍याैँ । १५–२० मिनेटमै पुगिन्छ भन्नेहरूले हामीलाई आत्तिन नदिन कम समय बताएको बुझ्न गाह्रो थिएन ।

धिनाचो पुगेर फर्किरहेका यात्रीमध्ये अधिकांश पाँगाका नेवारहरू नै बढी थिए । लनगोल बस्ने भिनाजुसँग पनि त्यहीँ जम्काभेट भयो । अगाडि बढ्दै गयौँ । सामान्य दिनमा हाइकिङ आएजस्तै आउनेहरू पनि भेटियो, जसलाई त्यस दिन सांस्कृतिक कारणले धिनाचो पुग्ने प्रचलनबारे सायद जानकारी थिएन ।

थोरै मध्यम खालको उकालो आयो । त्यो कटेपछि ठाडो उकालो सुरु भयो । ढुंगाको सिँढी भएर धेरै सजिलो भएको हो, नत्र कम्ति गाह्रोमा हिँडेका थियौँ र उहिले ! सम्झँदा पनि अत्यास लाग्छ । घुम्ती घुम्ती भएर उकालिने यो उकालो बाटोबाट उत्तरमा पर हिमशृंखला छर्लंग देखिन्छ भने काठमाडौंको सहरी दृष्यलाई झ्यालबाट तल चियाएर हेरेजस्तो । प्रसिद्ध टौदहलाई पनि मज्जाले देख्न पाइने । दक्षिणमा हरियो कार्पेट ओछ्याएको जस्तो पहाडका थुम्काहरूलाई माथिबाट हेर्न पाइने ।

फर्किरहेका दुई महिलामध्ये एकले एउटा लौरो टेक्दै र दुुईवटा बोक्दै झरिरहेका थिए । हाम्रो समूहका एक सदस्यले सोधे, तपाईंसँग तीनवटा लौरा छन्, एउटा दिन मिल्दैन ?’ उनले जवाफ दिइन्– ‘अगाडि हाम्रो मान्छे छ, उसलाई चाहिन्छ ।’

म केही पाइला पछाडि थिएँ, र आफ्नै भाषामा सोधेँ– ‘तपाईंहरू कहाँबाट आउनुभएको ?’
जवाफ– ‘पाँगा’
म– ‘पाँगामा कहाँ ?’
जवाफ– ‘स्कुलसँगै’

पाँगामा अचेल स्कुल थुप्रै छन् तर म बुझ्छु, स्कुल भनेर जनसेवा माविलाई भनिएको हो । उतिबेला यही एउटा मात्र स्कुल थियो । त्यतिबेलाको संकेतले अहिलेसम्म पनि काम गरिरहेको छ । उनैले सोधिन्– ‘तिम्रो घर कहाँ हो नि ?’

मैले आफ्नो घर के बताएँ, ‘उसको माइती कीर्तिपुर हो नि’ भनेर अगाडि केही पाइला बढिसकेकी आफ्नी साथीलाई देखाइन् । न चिनेको अनुहार, न देखेको नै । दुई–चारवटा के प्रश्नोत्तर भयो, लाजले भुतुक्कै हुन पुुगेँ र जिब्रो टोकेँ । मामाघरबाट नाता पर्ने रहेछ । तर, न उसले मलाई कहिल्यै देखेको, न त मैले नै । दुई वर्षअघि मात्रै मामा बित्नुभएको, संस्कारका दिनहरूमा उनी पनि आएकी तर होसै भएन । छुट्टिनेबेला साथीले माग्दा पनि नदिएको त्यो लौरो पर्दैन भैगो भन्दाभन्दै पनि दिएर गए ।

जति हिँडेपनि नपुग्नेजस्तो गन्तव्य । कतिलाई त अत्यास पनि लाग्न थाल्यो । यत्तिकैमा घण्टी बनाएको आवाज आयो । आवाजले जनाउ दियो, केही पाइला मात्रै बाँकी हो, गन्तव्य आइपुग्यो । हामीमध्ये अघि पुग्ने कसैले घण्टा बजाएको हो वा अरू नै कसैले, जसले भएपनि गन्तव्यमा आइपुगेको जनाउले अगाडि बढ्ने हौसला दियो ।

हौसलाकै कुरा गर्ने हो भने, यो यात्रा एक प्रकारले मेरो परीक्षण पनि थियो । कोरोना संक्रमित भई थला परेपछि शरीरलाई निकै गलाउँदो रहेछ । आइसोलेसनमा बसेर निको भई घर फर्केको निकै दिनपछि स्वयम्भू चैत्यको दर्शन गर्न जाँदा सिँढी चढ्न नसकेर तीनपल्ट विश्राम गर्नुपरेको थियो, बल्लतल्ल माथि पुग्न सकेको थिएँ । धिनाचोमा पनि कथंकदाचित पुग्न सकिनँ भने अरूलाई पठाएर आफू त्यहीँ कतै पर्खेर बस्ने अव्यक्त सोच थियो ।

बिनाव्यवधान हाँसीखुसी माथिसम्म चढ्न सक्नु मेरो लागि ठूलै उपलब्धी भयो र भविष्यमा अन्य यात्रा गर्न पनि सकिने आँट पलायो । यो मेरो लागि ठूलै कुरा थियो, हो । आफूले आफैँलाई बधाइ दिएँ । कोरोना संक्रमित अर्को साथीपनि थियो हाम्रो समूहमा । उनलाई पनि बधाई दिएँ ।

धिनाचोको टुप्पोमा प्रत्येकपल्ट आउँदा परिवर्तन देख्छु । कुनै बेला यहाँ एउटा ढुंगोमा मात्रै पूजा हुन्थ्यो भने विस्तारै अरू ढुंगा र मूर्तिहरू थपिन थाले । साथै, त्रिशुल चढाउनेहरू पनि बढे । यस पूजास्थललाई हामी धिनाचोमाजु भन्छौँ तर नाम परिवर्तन गर्ने क्रममा यसैलाई चम्पादेवी भन्न थालियो ।

पहिला थोरै पर्खाल उठाएर पूजास्थल बनाएको थियो भने अब सिमेन्ट लगाएर ढुंगाको पर्खाल उठाउनुका साथै आडमा अलि अग्लो र चुच्चो पारेर पर्खाललाई बुट्टेदार पनि बनाइसकेछन् । यसको ठीक सामुन्ने चारैतिर ढुंगा ओछ्याएर पार्कको रूप दिन लागिएको रहेछ र हामी पुग्दा कामदारहरू त्यसैमा व्यस्त थिए । ओखलढुंगाका यी कामदार बस्न त्यहीँ एउटा सानो अस्थायी झुपडी बनाइएको रहेछ ।

स्थानीय बौद्ध किंवदन्तीअनुसार काठमाडौं उपत्यका सुदूर अतीतमा ठूलो तलाउ थियो । त्यो तलाउको बीचमा स्वयम्भू ज्योति उत्पन्न भयो र पवित्रस्थल बन्यो । तर, तलाउको बीचमा ज्योति भएका कारण दर्शन गर्न आउनेहरूलाई समस्या पर्‍यो । यस्तैमा बोधिसत्व मञ्जुश्री पनि स्वयम्भू ज्योतिको दर्शन गर्न आएका थिए । कतैबाट निकासा बनाएर यहाँको पानीलाई निष्कासन गर्न पाए ज्योतिको सहज दर्शन हुने मात्र नभई मानव बस्ती पनि बसाल्न सकिने विचार गरी चोभार डाँडो काट्ने बन्दोबस्त गरे । र, त्यहाँ गल्छी बनाएर पानी निस्कने बाटो बनाए ।

मञ्जुश्रीका साथमा दुई शक्ति वरदा र मोक्षदा पनि आएका थिए । पानी निकास त्यो दृष्य हेर्न वरदालाई फूचोमा राखियो भने मोक्षदालाई धिनाचोमा । तलाउको पानी निष्कासनको दृष्यपान मोक्षदाले धिनाचो थुम्कोबाट गरेको हुनाले कालान्तरमा यो बौद्ध धर्मावलम्बीहरूका लागि आस्था र विश्वासको स्थल बन्यो । त्यसैको स्मरणमा अवसरविशेषमा मान्छेहरूश्रद्धा व्यक्त गर्न आउने हुन् ।

धिनाचोलगायत डाँडाहरू तथा काठमाडौं उपत्यकामा मानव बसोबासकै सम्बन्धमा आफैँले लेखेको एउटा लेखमा तलाउ भनेर पूरै उपत्यका पानीले नभरिएको र कीर्तिपुरलगायत कतिपय ठाउँमा बाहिरबाट मान्छे आउजाउ गर्न सकिने कुरा मैले कीर्तिपुरको अमूर्त संस्कृतिसम्बन्धी एउटा लेखमा उल्लेख गरेको छु । त्यसमा धिनाचोसँग यस क्षेत्रका बासिन्दाको पुरानो सम्बन्ध रहेको र बसाइँसराइ भएपनि आफ्नो सम्बन्धलाई कायमै राख्न अवसर विशेषमा मात्रै भएपनि पुग्ने संस्कृति र परम्परा उल्लेख गरेको छु ।

अहिले ‘धिनाचो माजुु’ भनिने यो पूजास्थल सम्भवतः कुनैबेला बौद्ध वा हिन्दू धर्मसँग सम्बन्धित थिएन । तर, कालान्तरमा बौद्धधर्मसँग सम्बन्धित हुनपुग्यो र लामो समयपछि अब हिन्दू धर्मसँग पनि सम्बन्धित भएर पहिचान बन्दैछ । परिवर्तन वा विकासका क्रममा रमाइलो कुरा त के हो भने, पूजारी भनेर कोही व्यक्तिको बन्दोबस्त पनि भइसक्यो । परम्परादेखि पूजारीको काम गर्दै आएको भन्ने व्यक्तिको नालिबेली केलाउने हो भने ऊ केही पुस्ताअघिमात्रै यो ठाउँमा आएको हुनुपर्छ । वैशाख संक्रान्तिका दिन लाग्ने ठूलो मेलामा बाहेक कहिल्यै पनि यहाँ पूजारी देख्न पाएको छैन ।

‘धिनाचोमाजु’को पूजास्थलको दायाँबाट तल झर्ने सानो बाटो पाइन्छ । त्यसैबाट अगाडि बढ्यौँ । त्यहाँ त्यति छाँटकाँट नमिलेकोसानो बौद्ध स्तुप बनाइएको छ । स्तुपको प्रदक्षिणा गर्‍यौँ । हेर्दै आँखा शीतल हुने, विभिन्न बाँन्कीका अनेकौँ स्तुप देखिरहेका आँखालाई यहाँको यो स्तुप अस्वाभाविक र भद्दा लाग्यो । यस्तो पनि स्तुप ?मनमा यस्तै प्रश्न खेलि।हेका आँखाहरूले मलाई झम्टिन आए ।

जापानी बौद्ध संस्था ‘निप्पोनजान म्यो हो जी’का संस्थापक फुजी गुरुजीको विश्वभर सय वटाभन्दा बढी विश्वशान्ति स्तुप निर्माण गर्ने अभियानअन्तर्गत०३२ सालतिर पोखराको फेवातालमाथि अन्दु डाँडामा विशाल स्तुपको निर्माण गर्ने तय भएको थियो । निर्माण कार्य धेरै अगाडि बढेपछि राज्यले अचानक हस्तक्षेप गरी सैनिक शक्ति नै लगाएर भत्काइदिएको थियो । निर्माणमा संलग्न जापानी भिक्षुहरूलाई देश निकाला र अन्य व्यक्तिलाई जेल सजाय दिइएको थियो ।

तत्कालीन शासकसँग प्रश्न मात्रै गर्नु पनि ठूलो बगावतसरह थियो र राज्यको कोपभाजनमा पर्नुपर्थ्याे । ०४७ सालको राजनीतिक परिवर्तनपछि सोही ठाउँमा पुनः स्तुप निर्माण गरिएको हो । राज्यशक्तिले स्तुप भत्काएका बेला नेपाली भिक्षु सुदर्शन महास्थवीरको मनमा प्रश्न उठेको थियो, राज्यको यो रवैयाले बौद्ध धर्ममाथि दमन गर्ने राज्यले नीति नै लिएको हो वा पोखराको अन्दुको घटना बेग्लै हो ? उहाँ त्यतिबेला गणबहालमा बस्नुहुन्थ्यो । पछि कीर्तिपुरमा सिरिकित्ति विहार बनाई बस्नुभयो ।

वैशाख पूर्णिमाका दिन कीर्तिपुर क्षेत्रका मात्रै नभई फर्पिङलगायत क्षेत्रका बासिन्दा धिनाचो पुग्ने परम्परा रहेकोमा केही व्यक्तिसँग कुरा गरेर त्यस स्थलमा एउटा स्तुप निर्माण गर्ने योजना बन्यो । काम गर्ने मुख्य मुख्य मान्छेहरू अघिल्लो दिन नै गएर थुम्कोमा रात बिताएका थिए । भोलिपल्ट उत्तरी भागबाट चढ्नेहरूमध्ये कसैको हातमा बालुवाको सानो पोको त कसैको हातमा इँटा थियो । कतिपयले बीचबाटोमै बालुवा र इँटा फालेछन् । तर, माथि पुर्‍याइएका इँटा र बालुवाले नै यो स्तुप बनेको हो, एकै दिनमा । यो स्तुपको निर्माणसम्बन्धी वृत्तान्त सुनाउँदै भन्तेले जापानी भिक्षुहरूलाई फेरि अर्को स्तुप निर्माणका लागि भन्न सकिन्छ र भयो भने यही स्तुपलाई निदान गरी ठूलो स्तुप बनाउने उहाँको परिकल्पना थियो ।

त्यहाँ बाटो कस्तो छ र आफू पुग्न सक्छु कि सक्दिनँ भन्ने जान्न भन्तेले मलाई पठाउनुभएको थियो । बाटोको स्थिति अवगत गर्ने गरी भन्तेका लागि तस्बिर खिचेर ल्याई देखाएको थिएँ । भन्ते बित्नुभएको केही वर्षपछि विश्वशान्ति स्तुप निर्माण अभियानलाई अगाडि बढाइरहनुभएका जापानी भिक्षु सातोसँग मेरो सम्पर्क भयो ।

काठमाडौंमा शान्तिस्तुप निर्माणका लागि जग्गा खोजिरहनुभएको उहाँलाई धिनाचोको स्तुप र सुदर्शन भन्तेको परिकल्पनाअवगत गराएँ । यी जापानी भिक्षुहरू सुदर्शन भन्तेलाई अत्यन्तै श्रद्धा गर्छन् । पोखरा र लुम्बिनीमा विश्वशान्ति स्तुप निर्माणमा उहाँ भन्तेको पनि ठूलो योगदान थियो । तर, यति बेलासम्ममा मातातीर्थमाथि जग्गा मिलिहाल्ने स्थिति बनिसकेको थियो र मिल्यो पनि । एक दिन समय मिलाएर सातो भन्ते धिनाचोको यो स्तुप दर्शन गर्न जानुभयो । धिनाचोमा स्तुप निर्माणसम्बन्धमा कुनै अभिलेख वा लिखत पाइँदैन । कतिलाई यो सयौँ वर्ष पुरानो र अन्जान स्तुपजस्तो पनि लाग्न सक्छ । तर,यस दिन आफूसँग माथि थुम्कोमा पुगेकाहरूलाई यसको वृत्तान्त सुनाउँदा अनौठो अनुभव गर्नेहरू पाइयो ।

थुम्काको माथिबाट पहिला भए कीर्तिपुर, पाँगालगायत काठमाडौं उपत्यकाको सहरी क्षेत्रलाई छर्लंगै देख्न पाइन्थ्यो । तर, अहिले थुम्कोमै पनि ठूल्ठूला रुखहरू हुर्केकाले छेकिन्छ । अलि यताउता लाग्ने हो भने अझै पनि देख्न पाइन्छ । उकालो लाग्दै आउँदा खल्खली पसिना झरेको थियो भने सुस्ताउने काम पनि भइसकेको थियो ।

स्तुपछेउमा हुन्जेल हामीलाई चिसो मात्रै नभएर भोकले पनि सताउनुसम्म सतायो ।सहभागी सबैले एकएक थोक खाजा ल्याउने र सगोलमा खाने तय भएको थियो । खानका लागि नजिकै एक ठाउँमा बस्यौँ र सबैले आ–आफ्नो पोको अगाडि बढाए । मेरो पोको जसै खोलियो, बेग्लै माहोल बन्यो । मेरो पोकोमा ‘योमरी’ थियो । विशेष दिन अर्थात् योमरीपुन्हिको दिन धिनाचोमै बसेर योमरी खान पाउँदाकोे रमाइलोअर्कै भयो । अरू खाजा पनि उत्तिकै मिठो ।

फर्कंदा धिनाचोमाजुको पूजास्थलभन्दा केही पश्चिम लागेर उत्तर झरी पुष्पलाल पार्क पुग्ने बाटो समाउने योजना थियो । बाटो ठाडो उकालो, घुमाउरो र अलि साँघुरो भए पनि हाम्रो समूहलाई खासै समस्या पर्दैन भन्ने मेरो अनुमान थियो । तर, हामी ढिलो भइसकेका थियौँ, समयको पनि विचार गरेर पूर्व योजना त्याग्नुपर्‍यो । आएकै उकालोबाट झर्न थाल्यौँ । भञ्ज्याङमा पुगेपछि सानो बाटो हुँदै झरेर बोसन गाउँ पुग्यौँ ।

त्यहाँ पहिले भएका ठूल्ठूला चौर मासेर विकासको नाममा अन्य निर्माण कार्य भइरहेको पाइयो । बोसनबाट लनगोल झर्ने र पाँगा वा कीर्तिपुरसम्म हिँडेर गाडी चढी फर्कने योजनाले पनि काम गरेन । यस अवस्थामा हामीसँग एउटै मात्र विकल्प रह्यो, पूर्वतिर ओरालिएको बाटो । त्यहाँबाट तौदहनजिकैको खहरे भन्ने ठाउँमा पुगिन्छ र त्यहाँबाट कुनै गाडी चढ्ने । झर्दाझर्दै झमक्क अँध्यारो भयो । पक्की र फराकिलो बाटो थियो । हामी हतार–हतार तल झर्दै गर्‍यौँ । पूर्णिमाको चन्द्रमा उदाइसकेको थियो । र, त्यही जून उज्यालोमा हामी हिँडिरहेका थियौँ । निकै तल झरिसकेपछि तर खहरे नपुग्दै एक ठाउँमा दुईवटा ट्याक्सी रोकिराखेको देख्यौँ र तिनै ट्याक्सी चढेर घरतर्फ लाग्यौँ ।

 Published Date: Sunday, 24th January 2021 5:15:00 pm