‘उतिबेला प्रेम–विवाह गरी भागेको उजुरी धेरै आउँथ्यो’
‘कांग्रेसका नेताहरूले महिलालाई खेल खेलाउने भनेर लगेका थिए । तर, चार महिनापछि तत्कालीन प्रहरी प्रमुख नर शमशेर जबराले तालिम सकियो, अब प्रहरीको जागिर खानुपर्छ भनेपछि मात्र प्रहरीका लागि तालिम दिएको थाहा पायौँ ।’काठमाडाैं, माघ १० : चैत्यमाया डंगोल, पहिलो ब्याचकी प्रहरी महिला । उनीसँगै पहिलोपटक २५ जना महिलाले नेपाल प्रहरीको जागिर सुरु गरेका थिए । उनले देशमा प्रजातन्त्र आएसँगै १८ वर्षको उमेर (२००८ साल) मा प्रहरी सेवामा प्रवेश गरेर ०३९ मा राजीनामा दिइन् । उनी कसरी प्रहरी सेवामा प्रवेश गरिन् ? उनको समय र अनुभव कस्तो रह्यो ? यिनै विषयमा कुरा गर्न हामीले डंगोलसँग समय लिएका थियौँ ।
बुधबार उनी चावहिलस्थित आफ्नो घरमा घाम ताप्दै थिइन् । हामीलाई देख्नेबित्तिकै ८७ वर्षीया उनको मुहारका मुजाहरू फूलजस्तै फक्रिए, ‘तपाईंहरू आउनुहुन्छभनेर चाँडै खाना खाएर बसिरहेको ।’
नीलो धोती र रातो चौबन्दी चोलीमा सजिएकी उनको बोली र आँखामा कुनै जमानाको जागिरे जोस अर्थात् प्रहरीपन जिउँदो देखिन्थ्यो ।
१९९० जेठमा जन्मेकी डंगोलले १६ वर्षको उमेरमा केदार श्रेष्ठसँग प्रेमविवाह गरेकी हुन् ।
- के चैत्यमायाले प्रेम–विवाह गर्दा कसैले उजुरी हालेन ? त्यस्तो भएन । किनभने उनले लगभग परिवारकै सहमतिमा प्रेमविवाह गरेकी थिइन् । चैत्यमाया भन्छिन्, ‘पछि साधारण टीकाटालो गरी विवाह सम्पन्न गरियो ।’
‘प्रेम–विवाह !’आफैँ रोमाञ्चक शब्द । परम्परागत समाजमा प्रेम–विवाह एक प्रकारको विद्रोह, अर्को प्रकारको अपराध पनि । आखिर उनले प्रहरीमा जागिर खान थाल्ने ताकाको सामाजिक चेतना नै साँगुरो थियो । उनी भन्छिन्, ‘मैले जागिर खाएको सुरु सुरुमा प्रेम–विवाह गरी भागेको उजुरी धेरै आउँथ्यो । चोरी, ज्यान केस, डकैती र ठगीको उजुरी भने निकै कम आउने गर्दथ्यो । त्यो बेला अहिले जस्तो अनेक खालका अपराध हुँदैनथ्यो । अहिले त कतिपय केस मतलबै नगर्ने पनि हुन्छ । ऊ बेला जनता प्रहरीसँग डराउँथे ।’
के चैत्यमायाले प्रेम–विवाह गर्दा कसैले उजुरी हालेन ? त्यस्तो भएन । किनभने उनले लगभग परिवारकै सहमतिमा प्रेम–विवाह गरेकी थिइन् । चैत्यमाया भन्छिन्, ‘पछि साधारण टीकाटालो गरी विवाह सम्पन्न गरियो ।’
चैत्यमायाका आमाबुबा खेतीपाती गर्थे, केदारको परिवारले व्यापार गर्थ्याे । बुवाको निधन भइसकेकाले केदार घरमै रहेको किराना पसल चलाउँथे । केदार र चैत्यमायाको घर धेरै टाढा थिएन । केदारको चावहिलको गणेशस्थानमा, चैत्यमायाको बहालभित्र । घरनजिकै भएकाले उनीहरू बच्चाबेला सँगै खेलेर हुर्किए । बालपनदेखि झांगिएको प्रेम पछि विवाहमा परिणत भयो ।
केदार र चैत्यमायाको परिवारबीच चिनजान भएकाले विवाहपछि चैत्यमायाले खासै अप्ठेरो भोग्नुपरेन ।
जागिरका कारण घर छाडेँ
केही मानिसले भने, 'महिलालाई टुँडिखेलमा खेल खेलाउँछ,अनि पैसा पनि दिन्छ ।' यो कुरा सुनेको भरमा १८ वर्षीया चैत्यमायासहित २५ महिला टुँडिखेलमा जान्थे । चैत्यमाया भन्छिन्, ‘सुरुमा व्यायाम गराउने, परेड गर्ने, पिटी सिकाउनेलगायत तालिम दिइएको थियो ।’
तालिम दिएको चार महिनापछि एक दिन उनीहरूलाई सिंहदरबारमा लगियो । त्यहाँ पुगेपछि मात्र उनीहरूलाई चार महिनासम्म प्रहरीको तालिम दिइएको थाहा भयो । उनी भन्छिन्, ‘कांग्रेसका नेताहरूले महिलालाई खेल खेलाउने भनेर लगेका थिए । तर, चार महिनापछि तत्कालीन प्रहरी प्रमुख नर शमशेर जबराले तालिम सकियो, अब प्रहरीको जागिर खानुपर्छ भनेपछि मात्र प्रहरीका लागि तालिम दिएको थाहा पायौँ । २५ जना महिलाको दरबन्दी भएका कारण हामीलाई तालिम दिइएको थियो ।’
- भर्ना हुनेबित्तिकै चार महिना तालिम लिएबापत प्रतिमहिना ३० रुपैयाँको दरले उनलाई तलब दिइयो । जब कि त्यो समयमा पुरुष प्रहरीको तलब जम्मा तीन मोहर थियो ।
सुरुमा चैत्यमायासँगै केहीले प्रहरीको जागिर नखाने भनेका थिए । ‘तर हाकिमले कि तालिमको पैसातिर कि त जेल जाऊ भनेपछि डराएर प्रहरीमा भर्ना भएँ,’ उनी भन्छिन्, ‘सुरुमा हाम्रो दरबन्दी कालभैरव अगाडि थियो ।’
आफू प्रहरीमा भर्ना भएको कुरा घरमा कसरी सुनाउने भन्ने कुराले उनलाई निकै सताएको थियो । किनभने परिवारले प्रहरीमा जागिर खानदिन्छ कि दिँदैन भन्नेमा उनलाई शंका थियो । घर पुग्नेबित्तिकै उनले आफ्ना श्रीमान्लाई सुनाइन् । ‘उहाँ खुब रिसाउनुभयो,’ उनी भन्छिन्, ‘फकाउँदा पनि नमानेपछि मेरो पालो घर छाड्ने निर्णय गरेँ ।’
- ‘कांग्रेसका नेताहरूले महिलालाई खेल खेलाउने भनेर लगेका थिए । तर, चार महिनापछि तत्कालीन प्रहरी प्रमुख नर शमशेर जबराले तालिम सकियो, अब प्रहरीको जागिर खानुपर्छ भनेपछि मात्र प्रहरीका लागि तालिम दिएको थाहा पायौँ ।’
प्रहरीमा भर्ना भएपछि उनी चार महिनासम्म घर नगई माइतीमा बसिन् । पछि श्रीमान्ले आफैँ लिन आएपछि मात्र घर गएको उनी बताउँछिन् ।
भर्ना हुनेबित्तिकै चार महिना तालिम लिएबापत प्रतिमहिना ३० रुपैयाँको दरले उनलाई तलब दिइयो । जब कि त्यो समयमा पुरुष प्रहरीको तलब जम्मा तीन मोहर थियो । उनी भन्छिन्, ‘तीन मोहरले खान बस्न पुग्थ्यो भने हामीलाई ३० रुपैयाँ दिनु ठूलो कुरा थियो ।’
३० रुपैयाँ ?
उनले दोहोर्याएर भनिन्, ‘हो ३० रुपैयाँ ।’
२०३२ सालमा असई (सहायक प्रहरी निरीक्षक) पदमा बढुवा भएकी उनले २०३९ सालमा राजीनामा दिइन् । अहिले उनले पेन्सनस्वरूप २२ हजार रुपैयाँ पाउने गरेकी छिन् ।
‘ए पुलिस्नी भनेर जिस्क्याउँथे’
चैत्यमायाका अनुसार उनी प्रहरीमा भर्ना भएको बेला नेपालभर लगभग १० हजार मात्र प्रहरी थिए, त्यसमध्ये २५ जना महिला । महिला प्रहरी भएकाले आफूहरूले विशेष प्राथमिकता पाउने गरेको उनी सुनाउँछिन् । ‘जहाँ जाँदा पनि प्रहरीको गाडीले नै लिन र छोड्न जाने गर्थ्याे,’ उनी भन्छिन्, ‘गाह्रो काम नअह्राउने, पुरुषको तुलनामा तलब पनि धेरै, हामीलाई त प्रहरीको जागिर रमाइलो लागेको थियो ।’
एकपटक बन्दीपुरमा २२ दिन हडताल भएको थियो ।
कहिले, केको हडताल होला ! तर, उनले त्यो बिर्सिन् । ‘त्यतिबेला सुरुमा पुरुष प्रहरी जाँदा हडताल रोक्न मुस्किल परेको थियो । पछि हामी गयौँ । हडताल रोकियो,’ मिति सम्झिन नसक्ने उनी त्यो क्षणलाई सम्झँदाआफैँप्रति गर्व महसुस गर्छिन् ।
उतिबेला महिला प्रहरीलाई समाजले हेर्ने दृष्टिकोण फरक थियो । पुरुष मात्रै प्रहरी हुने समयमा महिला हुनु अनौठो पनि थियो । उनलाई प्रहरी भएकै कारण छरछिमेकका मानिसले जिस्काउँथे । उनी हाँस्दै भन्छिन्, ‘प्रहरी भएपछि मलाई धेरैले ए पुलिस्नी भनेर जिस्काउँथे । मलाई जिस्काउनेलाई छाता र ढुंगाले हानेकी पनि छु ।’
उतिबेला महिला प्रहरीलाई सर्वसाधारणले अलि हेप्ने गरेको चैत्यमायाको अनुभव छ । ‘कतै कतै हामीलाई मानिसहरूले अटेर गर्थे,’ चैत्यमाया भन्छिन्, ‘तर, अफिसका कर्मचारीले कहिल्यै दुर्व्यवहार गरेनन् ।’
महिला प्रहरीलाईअलि हेप्ने भएकैले ड्युटी टाइम पनि बिहान १० बजेदेखि साँझ ५ बजेसम्म तोकिएको थियो । कहिलेकाहीँ कुनै केस परेर नाइट ड्युटी बस्नुपर्दा केही समस्या भएको उनी बताउँछिन् ।
रिसले जागिर छाडेँ
२०३९ सालमा गाउँपञ्चायत र नगर पञ्चायतको निर्वाचन भयो, चार हजार २२ गाउँपञ्चायत र २९ नगर पञ्चायतका लागि । त्यतिबेला चैत्यमाया जनकपुरमा खटिनुपर्याे । तर, सुत्नका लागि भने मुजरिया जानुपरेको उनको गुनासो छ । उनी भन्छिन्, ‘हामी १३ दिन त्यहाँ बस्यौँ तर बसुन्जेल खान बस्नकै समस्या भयो । चुनावका लागि रातारात काठमाडौंबाट जनकपुर गएका थियौँ । १३औँ दिनमा चुनाव सकिएपछि एक रात बसेर भोलिपल्ट बिहानै फर्कन्छौँ भनेका थियौँ, माथिबाट राति नै फर्कन आदेश आयो– यहाँ रमाइलो मेला सुरु भइसक्यो, भोलिदेखि रमाइलो मेलामा खटिनुपर्छ भनेर । त्यसैले रिसले पछि राजीनामा दिएँ ।’
पहिले भृकुटीमण्डपमा रमाइलो मेला लाग्ने गर्थ्याे । ‘राणाहरूको आयोजनामा प्रत्येक वर्ष एक महिना हुने रमाइलो मेलामा जहिले पनि हामीलाई खटाइन्थ्यो,’ उनी भन्छिन्, ‘त्यहाँ एक महिना ड्युटी गरिसके पछि गाह्रो भएर घर नै नगई राजीनामा दिनअफिस पुगेकी थिएँ ।’
उनका अनुसार राणाहरूले आयोजना गरेको रमाइलो मेलामा राज परिवारका सदस्यले विभिन्न पसल राख्थे । सर्वसाधारणले टिकट लिएर त्यहाँ राखिएका विभिन्न स्टलको भ्रमण गर्न पाउँथे ।
साडी लगाएर ड्युटी जान्थेँ
उनी सुरुमा पहेँलो साडी लगाएर ड्युटी जान्थिन् । महिलालाई प्रहरीमा भर्ना गरेको सुरुमा पोसाकको निर्णय भइसकेको थिएन । ‘त्यसैले हामी कहिले पहेँलो साडी, कहिले रातो साडी लगाएर ड्युटीमा जान्थ्यौँ,’ उनी भन्छिन्, ‘पछि हामीलाई खाकी रङको साडी दिइयो ।’
महिलाका लागि कुन पोसाक सुहाउँछ भनी धेरै पोसाक परिवर्तन गरेपछि मात्र खाकी रङको कुर्था–सुरुवाल जस्तो पाइजामा दिइएको उनको भनाइ छ । पाइजामामा असहज भएपछि उनीहरूलाई पछि पछि निलो रङको पाइट र सर्ट दिइयो ।
यी पढ्नुहोस् :
‘राजा त्रिभुवनका लागि राणाशासकले दुई सय जति केटी राखिदिएका थिए’
उहिलेकाे नेपाल ७ : आँखा अगाडि झुन्डिएको शुक्रराज शास्त्रीको शव...
‘स्कुलबाट साँझ घर फर्कंदा बिहे छिनिएको थाहा पाएँ’