Kathmandu Press

कोरोना खोप खरिद, सीमा समस्या र आर्थिक साझेदारीको मुद्दा प्राथमिकतामा

परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली कोरोना खोप खरिद, सीमा समस्या र आर्थिक साझेदारीको मुद्दा लिएर आगामी माघ १ र २ गते भारतको राजधानी नयाँदिल्लीमा हुने नेपाल–भारत संयुक्त आयोगको छैटौं बैठकमा सहभागी हुने भएका छन् । 
कोरोना खोप खरिद, सीमा समस्या र आर्थिक साझेदारीको मुद्दा प्राथमिकतामा

काठमाडौं– परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली कोरोना खोप खरिद, सीमा समस्या र आर्थिक साझेदारीको मुद्दा लिएर आगामी माघ १ र २ गते भारतको राजधानी नयाँदिल्लीमा हुने नेपाल–भारत संयुक्त आयोगको छैटौं बैठकमा सहभागी हुने भएका छन् । 

ज्ञवालीले  भ्रमणका क्रममा कोभिड–१९ विरुद्धको खोप खरिद, सीमा समस्या समाधानको प्रयास तथा द्विपक्षीय आर्थिक साझेदारीलाई सुदृढ तुल्याउन विशेष पहल गर्ने बताइएको छ ।     

सुगौली सन्धिअनुसार लिम्पियाधुरा, लिपुलेक र कालापानीसहितको आफ्नो भू–भागलाई समेटेर नेपालले नयाँ राजनीतिक एवं प्रशासनिक नक्सा प्रकाशन गरेपछि केही चिसिएको नेपाल–भारत सम्बन्धलाई पुनः हार्दिक बनाउन परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीको यो भ्रमण सफल हुने अपेक्षा  गरिएको हो ।
 
यसअघि भारतको बाह्य गुप्तचर संस्थाका प्रमुख, सेनाध्यक्ष र विदेश सचिवबाट भएको भ्रमणले पनि द्विपक्षीय सम्बन्धलाई सुमधुर बनाउन भूमिका निर्वाह गरेको थियो । करिब १७ महिनाअघि भारतका विदेशमन्त्रीको नेपाल भ्रमणपछि उच्च कूटनीतिक तहमा पहिलोपटक नयाँदिल्ली जाने तयारीमा रहेका  मन्त्री ज्ञवालीले शान्ति, मैत्री, भ्रातृत्व, सहकार्य र साझेदारीमा आधारित नेपाल–भारत सम्बन्धलाई थप सहयोगात्मक बनाउँदै त्यसलाई दुवै देशका जनताको बृहत्तर हितका निम्ति उपयोग गर्ने अपेक्षा गरिएको छ ।     

बैठकमा अन्तर्राष्ट्रिय, क्षेत्रीय र उपक्षेत्रीय मञ्चहरुमा दुई देशबीच सहयोग आदान–प्रदान गर्ने विषयमा मात्र नभई नेपाल र भारतबीचको सामरिक महत्त्वको सीमा नदी महाकालीमा निर्माण हुने भनिएको बहुचर्चित पञ्चेश्वर बहुउद्देश्यीय परियोजनाका काम अघि बढाउनेबारे पनि नेपालले भारतको ध्यानाकर्षण गर्नेछ ।     
 
बैठकमा नेपाल–भारत सम्बन्धका सबै विषयका साथै व्यापार, पारवहन, ऊर्जा, सिमाना, कोभिड–१९ सहयोग, भौतिक पूर्वाधार, सम्पर्क सञ्जाल, लगानी, कृषि, पर्यटन एवं संस्कृतिबारे छलफल हुनेछ । नयाँदिल्लीमा रहँदा मन्त्री ज्ञवालीले भारत सरकारका उच्च अधिकारीहरुसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।     

परराष्ट्र मन्त्रालयका अनुसार मन्त्री ज्ञवाली नेपाल–भारत संयुक्त आयोगको छैटौं बैठकमा भाग लिन आगामी माघ १ देखि ३ गतेसम्म भारतको भ्रमणमा रहनेछन् ।

बैठकमा भारतका लागि नेपाली राजदूत नीलाम्बर आचार्य, परराष्ट्र मन्त्रालयका सचिव भरतराज पौड्याल, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव लक्ष्मी अर्याल, परराष्ट्र मन्त्रालयको भारत महाशाखा प्रमुख यज्ञबहादुर हमालका साथै अर्थ, ऊर्जा, सिँचाइ तथा जलस्रोत, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका उच्च अधिकारी सहभागी हुनेछन् । मन्त्री ज्ञवाली माघ ३ गते स्वदेश फर्कने कार्यक्रम छ ।  

प्रकाशित मिति: १८:१९ बजे, मंगलबार, पुस २८, २०७७
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्