Kathmandu Press

अर्थमन्त्री पौडेलको निर्देशन-राजश्व संकलनको लक्ष्य पूरा गर्ने गरी काम गर्नुस् 

अर्थमन्त्री पौडेलको निर्देशन-राजश्व संकलनको लक्ष्य पूरा गर्ने गरी काम गर्नुस् 
Hardik ivfHardik ivf

काठमाडौं, मंसिर ८ : अर्थमन्त्री विष्णुप्रसाद पौडेलले चालू आर्थिक वर्षको बजेट वक्तव्यमा उल्लेखित राजश्व सङ्कलनको लक्ष्य पूरा गर्ने गरी काम गर्न मन्त्रालय र मातहका कर्मचारीलाई निर्देशन दिएका छन्। 

अर्थ मन्त्रालयका सचिवहरु, आन्तरिक राजश्व विभाग र भन्सार विभागका महानिर्देशक, भन्सार तथा आन्तरिक राजश्व कार्यालयका प्रमुखलगायत सहभागितामा सोमबार आयोजित कार्यक्रममा अर्थमन्त्री पौडेलले कोभिड–१९ ले सिर्जना गरेका चुनौतीको सामना गर्दै राजश्व सङ्कलनको लक्ष्य पूरा गर्न कुनै सम्झौता नगरिने बताए।  

उनले नियतवश त्रुटी, कमजोरी गर्ने र असल मनसायबाट विचलित हुने कर्मचारीलगायत जो कोहीलाई पनि नछोड्ने बताए।  डर, त्रास सिर्जना गरेर कर्मचारीलाई काममा नलगाउने स्पष्ट पार्दै अर्थमन्त्री पौडेलले योग्यता र क्षमताको कदरसहित काम गर्ने अनुकूल परिस्थिति सिर्जना गरेर परिणाम निकाल्ने बताएको अर्थमन्त्रीको सचिवालयले जनाएको छ। 

“कठिनाइ र समस्यालाई समाधान गर्न मन्त्रालयले सहयोग, सहजीकरण र प्रोत्साहन गर्छ । लक्ष्य पूरा भए हामी सम्मान गर्छौँ। पूरा नभए तपाईहरु दण्डित हुनुपर्छ” उनले भने। अर्थमन्त्री पौडेलले कोभिडका कारण ‘ब्याक गेयर’ लगाएर राजश्वको लक्ष्य निर्धारण गरिएको भन्दै चालू आव सकिदा धेरैलाई सम्मान गर्ने वातावरण बनाउन अनुरोध गरे। उनले इमान्दार र सक्रिय भएर लाग्न पनि निर्देशन दिए।

अर्थमन्त्री पौडेलले समस्या र समाधानका बारे कर्मचारीहरु जानकार रहेको बताउँदै आफ्नै तहमा समाधान गर्न र आवश्यकता परे मात्र नेतृत्वलाई भन्न आग्रह गरे। उनले भने,“आफ्नो तहमा समाधान गर्न सक्नु भएन भने नेतृत्वलाई भन्नुहोस्। हामी सहयोग गर्न तयार छौं।”

भर्चुअल माध्यमबाट आयोजना गरिएको कार्यक्रममा अर्थसचिव शिशिरकुमार ढुङ्नाले राम्रो काम गर्नेलाई मन्त्रालयले संरक्षण तथा पुरस्कृत गर्ने र कार्य सम्पादन कमजोर भए मन्त्रालय कठोर बन्ने बताए। उनले राजश्वको लक्ष्य पूरा गर्न र त्यो भन्दा बढी परिणाम निकाल्नका लागि आवश्यकताअनुसार कार्यक्रम संशोधन र रणनीति बनाएर अघि बढ्न निर्देशन दिए।  
 

प्रकाशित मिति: ००:११ बजे, मंगलबार, मंसिर ९, २०७७
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्