वीर गोर्खालीसँग भाइरस पनि डराउँदो रहेछ! 

भाेजपुर : एका तिर कोरोना कहरका कारण सिर्जित विषम परिस्थिती, अर्को तर्फ नजिकिँदो दसैं। काठमाडौंलाई कर्म थलो बनाएका कसलाई पो वर्ष दिनको चाड मान्न घर जाने रहर नहुँदो हो। 

आखिर दसैं नै त्यो चाड हो, जसले बाल्यकालको सम्झना ताजा गराउँछ। दुर्गममा जन्मिएका हामीहरूको दसैंका आफ्नै सम्झना छन्। सुगमका अनुभव कस्ता हुन्छन्, त्यो मलाई थाहा भएन। तर बाल्यकालका ती दसैं सम्झना दसैंको मुख तिर दिमागरुपी मेसिन भित्र सिनेमाको रिल झैं घुम्न थाल्छन्। अनि भन्न थाल्छन्– ओइ! बिर्सिस्, केटाकेटी हुँदाको दसैं? अनि पुगिन्छ बाल्यकाल।  

दसैं आउने बेला गाँउ घरमा रात, दिन एकतमासले बज्ने ढिकीको आवाज। चिउराको मिठो बास्ना। कमेरो (सेतो माटो) र रातो माटोले घर छ्याप्ने चटारो। बर्खाभरी झार लेउले घेरिएका बाटा सफा गर्न भेला भएका गाउँले। लिंगे पिङ्ग हाल्न भेला भएका युवा। चिउरा खान दसैं नै कुर्नुपर्ने त्यो समय। अझ छाकै पिच्छे मासु खान पाउने वेतमासको खुसी। नयाँ लुगा र मामला जान पाउने खुसीले छाउने उन्माद अर्थात दसैं। 

दसैं बारेमा यीनै मिठा सम्झनाले हरेक वर्ष घर जान कुत्कुत्याउँछ। र त, जति नै अप्ठ्यारो परिस्थिती किन नहोस्, दसैंमा मानिस घर फर्कन्छ।  

उपत्यकामा कोरोना बढेको बढ्यै थियो। दसैं मुखमै आइसकेको थियो। एक मनले घर नजाने सोच बनाएको थिएँ। तर, घर नपुगेको एक वर्ष भइसकेको थियो। वर्षमा एकपटक घर नजाँदा कताकता न्यास्रो लाग्ने रहेछ। र त घर जाने सोच बनाइयो। 
कतिपय लकडाउनका बीचमै घर फर्किएका थिए, कोही खुलेपछि। दसैंमा कति घर फर्किए, कति फर्किएनन्। तर, जति मानिस उपत्यकाबाट दसैं मान्न घर फर्किए, उनीहरुको अनूभूती फरक रह्यो। कोही जहाज चढेर फर्किए होलान्, कोही बसमा। जोखिमका हिसाबले बस भन्दा जहाज नै सुरक्षित हुने ठानेर काठमाडौं–भोजपुरको टिकट नखोजेको कहाँ हो र? तर दसैंको बेला काठमाडौंबाट भोजपुर फर्कन जहाजको टिकट पाउनु सजिलो पनि त छैन। एक हिसाबले भन्ने हो भने चुनावका बेला नेताले टिकट पाउन जति चर्को छ, त्यती नै दसैंको समयमा नेपाल वायु सेवा निगमको टुइनअटर जहाजको टिकट पाउन मुस्किल छ। 

निजी वायु सेवाले उडान नभर्दा र निगमको कमजोर व्यवस्थापनको मार दुर्गम जिल्लामा दसैं मनाउन फर्कनेहरुले खेप्नुपर्छ। बसको टिकट अनलाइनमा बुक गर्न मिल्ने जमनामा निगमको आन्तरिक उडानको टिकट खरिद गर्न सुन्धारास्थित कार्यालयमा पुग्नु पर्छ। 

असोज २८ गते कात्तिक ४ गतेको टिकट बुझ्न सुन्धरा पुग्दा निगमका कर्मचारी काउन्टरमा थिएनन्। गेटमा सुरक्षा गार्डलाई सोधी हेरेँ। गार्ड दाइले टर्रो जवाफ फकाउँदै भने– दिँउसो १ देखि २ बजेसम्म खाजा खाने समय हो। आधा घण्टापछि आउनुस्। 

साथी प्रकाश धौलाकोटीसँग आधा घण्टा सुन्धरामा टहलेपछि निगमको टिकट काउन्टरमा पुगेर कात्तिक ४ गतेको टिकट बुझियो। हेर्दा उर्जावान देखिने निगमका एक युवा कर्मचारीले अल्छीलाग्दो पारामा जवाफ दिए– ४ गतेको टिकट बुक भइसक्यो, अर्को साताका लागि भोलि बिहान लाइन बस्न आउनुस्। अरु रातको एक बजे आउँछन्, तपाई १२ बजे आइपुग्नु होला। ९ जना भित्र सूचीमा आफ्नो नाम समावेश गराउन सक्नुभयो भने मात्र टिकट पाउनु हुन्छ। 

उपत्यकामा कोरोनाको बढ्दो जोखिम, त्यसमाथि रातभर सुन्धरामा टिकटका लागि लाइन बस्नुपर्ने भएपछि जहाज चढेर भोजपुर पुग्ने आशा क्षिण बन्दै थियो। टिकट लिन गरिएका अन्य प्रयाससमेत बिफल बनिरहेका थिए। 

१८ सिट क्षमताको विमानमा लाइन राखेर ९ जनालाई टिकट बेच्ने, चार सिट आरक्षणका लागि राख्ने, अन्य सिट पावरवालाई बेच्ने पावरवाला नआए खाली उडाउने निगमको पुरानै रोग भएको चर्चा यदाकदा सुन्न पाइन्छ। दसैंमा काठमाडौंबाट यात्रु लिएर आउने र भोजपुरबाट यात्रु कम हुँदा पाइलटले आफन्तलाई खसीको मासु ओसार्ने गरेको चर्चा पनि कहाँ नसुनिने हो र!
खैर यी चर्चा आफ्नै ठाँउमा छन्। तर, ताजुब चाहिँ तालुकदार मन्त्रालयको नेतृत्व देखेर लाग्छ। उर्जावान ठानिएका युवा नेता योगेश भट्टराईले नेतृत्व गरेका छन्। पर्यटन मन्त्रालयको जिम्मेवारी सम्हाल्दा सबै मन्त्रीले गर्ने जस्तै बाचा उनको पनि छ– निगमको सुधार! 

तर, निगमको सुधार भनेको के रहेछ अहिलेसम्म बुझ्न सकिएको छैन। उनै भट्टराई र मन्त्रालयले बुझेका होलान्। उनीहरुले पनि बुझेका छैनन् भने पक्कै भगवानलाई त थाहा होला नै। 

त्यसैले त निगम सुधार गर्ने मन्त्रीको बाचा सुन्न छोडिएको छ। अनियमितताका खबर एकपछि अर्को गर्दै आइरहन्छन्। निजी वायु सेवा कम्पनीले झैं निगमको आन्तरिकतर्फको टिकट अनलाइनमा बिक्री गर्ने प्रणाली स्थापित गर्दा निगम सुधारको सिद्धान्त विपरित त पक्कै हुन्थेन होला। निगमको कायापलट गर्ने थुप्रै योजना मन्त्री, तालुकदार मन्त्रालय र निगमसँग होलान्। तर, यो सानो प्रणाली स्थापित गरिँदिदा न मध्यरातमा सेवाग्राही लाइनमा बस्नुपर्ने नै थियो, न त लौन टिकट चाहियो, मिलाइदिनुप¥यो हजुर! भनेर विन्ती बिसाउनु नै पर्ने थियो। तर, विडम्बना! यस्ता झिना मसिना कुरामा अल्झिने फुर्सद न मन्त्रालयसँग छ न त निगमसँग नै। त्यही पनि यो कुरा यती पोस्ने र चार्टर्ड फ्लाइटमा कमाउने विषयसँग सम्बन्धित पनि त छैन। 
खैर जहाज चढेर घर फर्कने सम्भावना त ट¥यो नै। बसमा चढेर घर जानुको विकल्प थिएन। कात्तिक ४ गते कोटेश्वरबाट सुरु भयो भोजपुरको यात्रा। सम्भावित जोखिमलाई ध्यानमा राखेर मास्क र फेस सिल्ड लगाएर स्यानिटाइजरको प्रयोग गरेर बस चढेको म भक्तपुर नपुग्दै अचम्ममा परेँ। कारण के भने कोरोना प्रति बसमा चढेका यात्रुहरुले गरेको वेवस्ता।  

न मुखमा मास्क, न त अन्य कुनै सावधानी। बसका कर्मचारीको पनि हाल उही। मानौं कि मुलुकमा महामारी अन्त्य भइसकेको छ। भाइरस भन्ने जिनिस वीर नेपालीलाई देखेर कुलेलाम ठोकिसकेको छ।  कता–कता मनमा चिसो पस्यो। कतै संक्रमित पो भइने हो कि! अझ ठूलो डर त आफू संक्रमित हुने भन्दा पनि परिवारलाई संक्रमण सार्ने सक्ने खतराका कारण थियो।  

बसमासँगै यात्रा गरेका अन्य यात्रीतर्फ ध्यान दिइनँ। आफु भने सतर्क नै रहेँ। मुखबाट मास्क र फेस सिल्ड निकालिनँ। स्यानिटाइजरको प्रयोग त छँदैछ। बाटोमा कतै झरेर खानेकुरा खाइएन। तर मनमा एक प्रकारको डर त थियो नै।

काठमाडौंबाट दिँउसो १ बजे सुरु भएको यात्रा कात्तिक पाँच गते बिहान ९ बजे टुगिंयो।  

सदरमुकाम आइपुगेको एकाध घण्टा रेस्ट गरेपछि साथीहरूको फोन आउन थाल्यो। एकतर्फ रातभरको यात्राको थकान अर्को तर्फ सम्भावित जोखिम। साथीहरुसँग भेट नगर्ने मनोस्थितीमा थिएँ। तर, भोजपुरमा पत्रकारिता गर्दा एउटै साप्ताहिक पत्रिकामा काम गरेको साथीले गरेको भेट्ने प्रस्ताव अस्विकार गर्न सकिनँ। कारण के भने त्यही साथीसँग मिलेर ‘भोजपुर पोस्ट’ नामक पत्रिका प्रकाशन गरेका थियौं। जुन अहिले पनि त्यही साथीले प्रकाशन गर्दै आएको छ। त्यो समयमा सम्पादक, डिजाइनरदेखि हकरसम्मको जिम्मेवारी हामीले नै निर्वाह गरेका थियौं। त्यती नजिकको साथीको आग्रह अस्विकार गर्न सकिनँ।

उसलाई भेट्न उसकै डेरामा पुगेँ। उसँगको कुराकानी पछि बल्ल पो थाहा भयो। जोखिम बसको यात्रा गर्नुमा भन्दा उसँग भेट्नुमा बढी रहेछ। उसको कोठासँगै जोडिएको अर्को कोठामा बस्ने एक पुरुषमा कोरोना पुष्टि भएको रहेछ।  

लक्षणसहितको कोराना देखिएका ती पुरुषलाई उसैले मोटरसाइकलमा हालेर अस्पताल पु¥याएको रहेछ। त्यो साथीको घरबेटीलाई समेत कोरोनाको आशंका गरिएको रहेछ। घरबेटीलाई अस्पताल पु¥याउने पनि उही रहेछ। यद्यपी घरबेटीमा कोरोना संक्रमण देखिएन।

कोरोना संक्रमितलाई अस्पताल पु¥याएको त्यो साथीमा न डर थियो, न कुनै चिन्ता। त्यसैले त म पुग्दा आफ्नो पाँच महिनाको छोरो खेलाउँदै थियो। भन्दै थियो– केही समय अघि रुघा लागेको थियो, ज्वरो आएको थियो। कोरोना लागेर पनि ठिक भइसक्यो होला! 

कोरोना भाइरसको चेन ब्रेक गर्न क्लोज क्ट्याक्टमा रहेका व्यक्तिहरु होम आइसोलेसनमा बस्नुपर्ने हो। भेटघाट त झन गर्ने कुरै भएन। तर, भोजपुरमा मैले भेटेका कसैमा पनि कोरोनासँग डर देखिएन। डर नभएपछि सावधानिका कुरा त तपशिलमै रहने नै भए। भोजपुर कोरोनाकाल अघि जस्तो थियो, उस्तै छ। भेटघाटमा कुनै संकोच छैन, मास्क लगाएर हिँड्नेहरु विरलै भेटिन्छन्। साँझ पख हुने जमघट निरन्तर भएकै देखिन्छन्। फरक यति मात्रै छ– पहिले कोरोना कुरा हुन्थेनन्, अहिले चर्चा यसैको छ।

काठमाडौं–भोजपुरको बसको यत्रा र भोजपुर बसाईका क्रममा देखिएका दृश्य हेर्दा यस्तो लागिरहेको छ– हामी मानव भित्रका पनि भाइरस प्रतिरोधी प्रजातिका मानिस हौं। किनकी हामी न अमेरिकन हौं, न यूरोपियन। न त भारतीय नै। र त भाइरससँग हामीलाई डर लाग्दैन। हामी वीर गोर्खाली हौं, गोर्खालीसँग भाइरस पनि डराउँछ ! 

 Published Date: Monday, 2nd November 2020 5:30:00 pm