Kathmandu Press

सज्जाकाे यात्रा : ठमेलको रात्री जीवनदेखि नेपाल आइडलसम्म

आइडल जितेर चर्चित भएपनि संगीत क्षेत्रमा टिकिरहन धेरै गाह्रो हुने सज्जाले बुझेकी छिन्। संगीतमै टिकिरहन कडा मेहनत गर्ने उनको सोच छ।
सज्जाकाे यात्रा : ठमेलको रात्री जीवनदेखि नेपाल आइडलसम्म
Hardik ivfHardik ivf

काठमाडौं, असोज २ : दिनभर घरमा बसेर पुस्तक पढ्ने, बेलुका भएपछि जागिरका लागि ठमेल र दरबारमार्गतर्फ लाग्ने। मध्यरातसँग रेष्टुरेन्ट र बारमा गीत गाएर घर फर्कने। यस्तै, दैनिकी थियो एक वर्षअघिसम्म सज्जा चौलागाईको। एकै खालको जीवन शैलीबाट वाक्क भएकी सज्जाले त्यहीबीचमा विदेश जाने सोच बनाइन्। 

विदेश जानका लागि प्रक्रिया सुरु गरिसकेकी थिइन्। साथीहरुको सुझाव आयो- नेपाल आइडलमा अडिसनमा जाने। उनी अडिसनमा गइन् र छनोट पनि भइन्। त्यसपछि अष्ट्रेलिया उडान छोडेर गलामा निखार ल्याउन मेहनत गरेकी सज्जा अन्तत: यस वर्षको नेपाल आइडलको ताज पहिरिन सफल भइन्।
 
प्रविन बेडवाल र किरण कुमार भुजेललाई पछि पार्दै मोरङकी २३ वर्षीया सज्जा नेपाल आइडल तेस्रो सिजनको विजेता बनिन्। आइडलको ताज मात्रै होइन, पहिलो महिला नेपाल आइडल बन्ने सौभाग्य पनि उनैलाई प्राप्त भयो।
 
कोरोना भाइरसका कारण नेपाल आइडल लगभग एक वर्षसम्म चल्यो, र फिनाले पनि प्रभावित भयो। अघिल्ला सिजन खुला स्थानमा हजारौं दर्शकबीच लाइभ हुने आइडलको फाइनल यो पटक अलि खल्लो भयो। रेकर्डेड फाइनल सज्जाले एपीवानको पर्दामा घरमै बसेर हेरिन्। र, सज्जाले टिभीमार्फत आफू विजेता भएको थाहा पाइन्।
 
सामान्य अवस्था भए उनले हजारौँ दर्शकसामु खुसी साट्न पाउने थिइन्। स्टेजमै पुरस्कार र बधाई थाप्ने थिइन्। तर, सज्जाले त्यो अवसर पाइनन्। टिभीमा नतिजा हेरिन् र सँगै रहेका भाइसँग खुसी साटिन्।
 
एक वर्षअघिको त्यो संघर्ष र यो सफलता

 
‘प्रतीक्षा गर मेरी मायालु...., समयले मानिसलाई कहाँ–कहाँ पुर्‍याउँछ...,’ यो हरफ दीपक खरेलले गाएको चर्चित गीतको हो। सज्जाको जीवन ठ्याक्कै यो हरफसँग मिल्दो छ। एक वर्षअघिसम्म त हो सज्जाले ठेमल, दरबारमार्गका रेस्टुरेन्ट र नाइट क्लब गीत गाएको। 
 
तर, समय सधैँ कहाँ एकनास हुन्छ र? समयले नै उनलाई देश–विदेशमा परिचित बनाइदियो। आजको सफलताको कल्पना सायदै सज्जाले गरेकी थिइन्। बरु उनी निराश थिइन्। त्यही निराशाले त हो झन्डै उनलाई विदेश पुर्‍याइदिएको। संगीत कर्म नै छोडेर विदेश जाने तयारीमा रहेकी उनका लागि नेपाल आइडलको ताज अप्रत्यासित थियो।


 
‘नेपाल आइडल हुनसक्छु भन्ने चाहिँ थियो, तर हुन्छु नै भन्ने थिएन्। यो मेरा लागि अप्रत्यासित नै थियो,’ सज्जाले काठमाडौं प्रेससँग भनिन्, ‘प्रविण र किरण दाइ एकदमै राम्रो हुनुहुथ्यो। त्यसैले मलाई उपाधि नै जित्छु जस्तो लागेको थिएन।’
 
अप्रत्यासित सफलताले उनलाई असीमित खुसी मात्रै दिएको छैन, परिचय र मान सम्मानका साथै थप जिम्मेवारी पनि दिलाएको छ। ‘आइडलको ताज जितेपछि खुसीसँगै एउटा ठूलो जिम्मेवारी थपिएको महसुस गरेको छु। त्यो जिम्मेवारी पूरा गर्न थप मेहनत गर्नु पर्नेछ, गर्नेछु,’ उनले भनिन्।
 
‘आइडलले रोक्यो विदेशीने सोच’
 
सज्जा आफ्नै रहर, इच्छा र चाहानाले आइडलमा भाग लिएकी होइनन्। आइडलको सफलतामा उनका साथीहरुको ठूलो योगदान छ। साथीहरुको करकापले नै हो उनले आइडलमा अडिसन दिएकी। अडिसन दिनुभन्दा अघि उनलाई के थाहा निराशाका बादल फाट्दैछन्, जीवनमा अँध्यारो रात सकिएर उज्यालो दिनको अध्याय सुरु हुँदैछ। जब उनले सविन राईको ‘तिमै नै हौ...’ गीत गाएर अडिसन दिइन्। जजको तारिफ बटुलिन्। न्ह्यु बज्राचार्य, कालिप्रसाद बाँस्कोटा र इन्दिरा जोशीले स्टेजमै आएर सज्जालाई अंकमाल गरे, र प्रमाणपत्र थमाए।

जजको त्यो प्रशंसा र मायाले त हो सज्जामा केही गर्न सकिन्छ भन्ने सकारात्मक सोच पलाएको। आइडलमा निरन्तर पाएको सफलताले उनले विदेशीने सोच त्यागिन् र यहीँ संघर्ष गर्ने निर्णय लिइन्। नेपाल आइडलको अडिसन नदिएको भए सायद सज्जा अहिले अष्ट्रेलियामा हुने थिइन्।
 
नेपाल आइडलमा आउनुअघि नै उनले अष्ट्रेलिया जान प्रक्रिया सुरु गरिसकेकी थिइन्। रेस्टुरेन्टहरुमा गीत गाएर भाइ र आफूलाई पाल्न गाह्रो हुने सोचेर उनले अष्ट्रेलियाका लागि प्रक्रिया थालेकी थिइन्। ‘आइडलको अडिसन दिन्छु पास भएँ भने यतै केही गर्छु, भइनँ भने केही वर्ष बाहिर जान्छु भन्ने थियो,’ उनले सुनाइन्।  
 
विदेशिए पनि संगीतलाई भने निरन्तरता दिने उनको सोच थियो। ‘केही वर्ष विदेश बस्ने, विदेशबाट आएर पनि संगीतमै केही गर्छु भन्ने थियो,’ सज्जाले भनिन्। आइडलको त्यो अडिसनले एउटा प्रतिभाशाली कलाकारलाई विदेश पलायान हुनबाट रोक्यो।
 
आइडलमा आउँदा कुनै अपेक्षा थिएन
 
आइडलमा आउनुअघि पनि सज्जा सांगीतिक क्षेत्रमै थिइन्। ठेमल–दरबारमार्गका केही रेस्टुरेन्ट र डान्स बारमा सीमित थिइन्। उनलाई चिन्नेहरुको जमात पनि सानै थियो। चार वर्ष सीमित ठाउँ र मान्छेबीच बिताएकी सज्जालाई यहीँ रहेर संगीतमा केही गर्न सकिँदैन, यहाँबाट निस्कनुपर्छ भन्ने लागिरहेको थियो।
 
यस्तैमा नेपालको आइडलको तेस्रो सिजनको चर्चा चलिहेको थियो। ‘साथीहरुले राम्रो गाउने मान्छे आइडलमा जाउ भनेर कर गर्नुभयो, मलाई पनि रेस्टुरेन्टमा गाएर मात्रै संगीतमा केही गर्न सकिँदैन भन्ने लागिरहेको थियो,’ उनले भनिन्, ‘यही क्षेत्रमा भविष्य खोज्ने हो भने फ्रन्टलाइनमा आउनु पर्छ भन्ने लाग्यो र अडिसन दिएँ।’


 
अडिसनमा जाँदा उनमा कुनै महत्वकांक्षा थिएन। थोरबहुत एक्सपोजर पाइने आशा उनमा थियो। ‘अडिसनमा जाँदा कुनै अपेक्षा राखेको थिइनँ। जहाँ पुग्छु पुग्छु भन्ने थियो, केही कुरा सिकिन्छ भन्ने चाहिँ थियो,’ उनले भनिन्।  
 
अडिसनबाट छानिएपछि गाला राउण्डसम्म सजिलै पुग्ने सज्जाको अमनुमान थियो। त्यसपछि भोटिङ सुरु हुने भएकाले त्यहाँभन्दा अगाडि बढ्न सक्ने उनको अड्कल थियो। यसअघिका आइडलमा लेडिजलाई कमै मात्र भोट आइरहेकाले सज्जाले आफू पनि गाला राउण्डबाट अगाडि बढ्न नसक्ने उनले निर्क्योल निकालेकी थिइन्।

तर, जब उनको यात्रा अघि बढ्दै गयो आफ्नै अड्कल र निर्क्योल गलत सावित हुँदै गए। ‘सुरुमा चाँडै आउट हुन्छ जस्तो लागेको थियो। तर, आफ्नै सोच गलत सावित भयो,’ सज्जाले भनिन् । फाइनल नपुग्दासम्म सज्जाले उपाधिबारे सोचेकै थिइनन्। तर, सैयौं प्रतिस्पर्धीलाई उछिन्दै फाइलन पुगेपछि भने उनलाई अब उपाधि जित्न सकिन्छ भन्ने लाग्यो।

‘फाइनल नपुग्दासम्म उपाधि जित्छु जस्तो लागेको थिएन। तर, फाइनल पुगेपछि भने उपाधिबारे सोच्न थालेँ,’ उनी भन्छिन्, ‘टप फाइभमा पुगेको एकमात्र महिला प्रतिस्पर्धी, फाइनल पुगेपछि जसरी पनि जित्नु पर्छ भन्ने लागेको थियो। त्यसले सकारात्मक उर्जा दिएको थियो।’

आइडलमा आउँदा सबैमाझ चिनिने र सांगीतिक यात्रा केही सहज हुने उनको अपेक्षा थियो। ‘आइडल जस्तो ठूलो मञ्चमा आएपछि सबैले चिन्छन् र आगामी यात्राका लागि सहज हुन्छ भन्ने अपेक्षा हुँदो रहेछ, त्यसैले आइडलको ताजसम्म डोर्‍यायो,’ उनले भनिन्।
 
अहिलेसम्म उनले संगीतको औपचारिक शिक्षा लिएकी छैनन्। बल्ल उनले संगीतको औपचारिक शिक्षा लिने सोच बनाएकी छन्। संगीतको औपचारिक शिक्षा नलिए पनि मेहनत र लगाबकै कारण यो सफलता हात पारेको उनले ठानेकी छिन्। सँगै भाग्यले समेत साथ दिएको उनको विश्वास छ।
 
 सज्जालाई संगीतमा डोर्‍याउने त्यो गायन प्रतियोतिगा
 
सज्जाको घर मोरङ हो, तर उनी कठमाडौंमै हुर्किइन्। उनको स्कुले जीवन नारायणटारस्थित नेमोनिक मोडर्न एकेडेमीमा बित्यो। सानैदेखि उनलाई गीत-संगीत खुबै मन पर्थ्यो। मौका मिल्नासाथ गुनगुनाइहाल्थिन्।
 
सज्जा कक्षा ८ मा पढ्दै थिइन्, उनकै स्कुलले अन्तरस्कुल गायन प्रतियोतिगा आयोजना गर्‍यो। गायनमा रुचि भएकी सज्जाले प्रतियोगितामा भाग लिइन्। थुप्रै प्रतिस्पर्धीलाई पछि पार्दै प्रथम भइन्।

 
सज्जा अहिले पनि सम्झिन्छिन्, संगीतबाट पाएको जीवनकै पहिलो सफलता र उपाधि। त्यही सफलताले उनलाई संगीतमा लाग्न प्रेरित गर्‍यो। ‘सायद त्यतिबेला १४ वर्षको थिएँ होला, पहिलो पटक कुनै गायन प्रतियोगितामा भाग लिइरहेको थिएँ। राम्रो भयो, प्रथम भएँ,’ उनले सुनाइन्, ‘ठ्याक्कै यति वर्षको उमेरदेखि गाउन थालेँ भन्ने चाहिँ याद छैन, तर सानैदेखि गाउन थालेको हो। संगीतमै भविष्य खोज्छु भनेर गाउन थालेको चाहिँ ७ वर्ष भयो।’
 
सज्जाको परिवारमा ममी, बाबा र भाइ छन्। उनका बाबा गाउँमै बस्छन्। ममी उनी १० क्लासमा पढ्दा साइप्रस गएकी छन्। अहिले पनि उनी साइप्रसमै छिन्। ममी विदेशिएपछि नै सज्जाले भाइको जिम्मेवारी बहन गरेकी छन्। गायनमा लाग्न उनले घर पारिवारको साथ पाइन्।

‘कहिल्यै केही कुराको रोक–तोक भएन। तैले यो गर्नु हुन्न त्यो गर्नु हन्न कहिल्यै भन्नु भएन,’ उनले सुनाइन्। परिवारका सदस्यलाई संगीतमा त्यतिधेरै चासो नभएकाले केही प्रतिक्रिया नदिए पनि साथीहरुको हौसला उनी अहिले पनि सम्झिन्छिन्। साथीहरुको त्यही सकारात्मक प्रतिक्रियाले सज्जालाई अहिले पनि उत्तिकै उर्जा दिन्छ। उनले ठानेकी छिन्, त्यही उर्जाले प्राप्त भएको हो, अहिलेको सफलता।
 
द लोडिङ ब्यान्ड

विगत पाँच वर्षदेखि ५ जना (४ पुरुष र एक महिला)को एउटा समूह ठमेल र दरबारमार्गका रेस्टुरेन्टमा गाइरहेको भेटिन्छ। त्यो हो, सज्जाको आफ्नै ब्यान्ड ‘द लोडिङ’। चार जना साथीहरु मिलेर ५ वर्षअघि द लोडिङ ब्यान्ड स्थापना भयो। ब्यान्डमा सज्जा (भोकलिस्ट) सुशान्त सापकोटा (किबोर्डिस्ट), अविनाश अछामी (गीतार) र पेम्बा छिरिङ तामाङ (क्याजन) छन्।
 
कसरी बन्यो त ‘द लोडिङ’ ब्यान्ड? एसएलसी दिएपछिको खाली समयमा सहपाठी पेम्बाले ब्यान्डमा लाग्न सज्जालाई हौसाए। ‘तँ राम्रो गाउँछस्, अरु मेरा साथीहरु पनि छन्, हामी सबै मिलेर एउटा ब्यान्ड गरौं न त भन्नुभयो, त्यसपछि ब्यान्ड सुरु भयो,’ सज्जाले सुनाइन्।
 
उनीहरु सबैलाई संगीतप्रतिको लगाब थियो, त्यतिकै बस्नु भन्दा ब्यान्डमा आबद्ध भयो भने कमाइ हुने र अगाडि बढाउन पनि सहज हुन्छ भन्ने सोचले नै ‘द लोडिङ’ जन्मियो। ‘द लोडिङ’मार्फत रेस्टुरेन्टहरुमा सज्जाले थुप्रै कार्यक्रम गरिन् । ब्यान्डमा लागेपछि संगीतमा सज्जाको झुकाब झन् बढ्यो।
 
नाइट लाइफको तितो अनुभव
 
सज्जाले ब्यान्डसँगै चार वर्ष नाइट क्लब, रेस्टुरेन्टमा गाइन्। ‘द लोडिङ’ले हप्ताको पाँच दिन ठमेल दरबारमार्गका पाँच फरक-फरक नाइट क्लब, रेस्टुरेन्टमा कार्यक्रम गर्थ्यो। ग्राहकका च्वाइसमा सज्जालले ब्यान्डसँगै थुप्रै गीत गाइन्।
 
साँझ ७ बजे सुरु हुने सज्जाको रात्रिकालीन जीवन लगभग १२ः३० मा सकिन्थ्यो। चार वर्षसम्म चलेको यो रुटिङ उनी नेपाल आइडलमा सहभागी भएपछि टुट्यो। यो चार वर्षको रात्रिकालीन जीवनमा उनले थुप्रै तिता क्षणको सामना गर्नु पर्‍यो। ‘नाइट लाइफ’मा छिर्नु भनेको नै अप्ठ्यारो हो, त्यसमाथि छोरी मान्छेलाई अझ कठिन हो,’ उनले भनिन्। यसबीचमा सज्जाले धेरै पटक दुर्व्यवहार पनि  खेप्नु पर्‍यो। जसका कारण उनमा संगीतबाट टाढा रहने सोच पलाएको थियो।
 
‘त्यहाँ अनेक थरिका मान्छे भेटिन्छन्, उनीहरुले अनेकथरि व्यवहार गर्छन् । कति पटक दुर्व्यवहार पनि भयो,’ सज्जाले विगत सम्झिइन्, ‘पटक–पटकको त्यस्तो व्यवहारले निराशा पैदा भयो, त्यसैले संगीत छोड्ने सोच पलाएको थियो। तर, ब्यान्डका साथीहरुले दिनु भएन।’
 
उनको सांगीतिक जीवनको निरन्तरतामा ब्यान्डका साथीहरुको भूमिका अहम छ। ‘उहाँहरुले एउटा परिवारजस्तो व्यवहार गर्नुभयो र गाइडेन्स पनि गर्नुभयो,’ सज्जा भन्छिन्, ‘त्यही कारण अहिले यो अवस्थामा छु। साथीहरुबाट त्यस्तो सहयोग नभएको भए म संगीतबाट उहिल्यै टाढिसक्थेँ।’
 
ब्यान्डकै कमाइले भाइको सम्पूर्ण खर्च र घर चलाउनु पर्दा एकदमै कठिन थियो, सज्जालाई। आर्थिक अभाव भन्दा समाजले गर्ने व्यवहारले उनलाई दिक्का बनाउथ्यो। ‘आर्थिक रुपमा अप्ठ्यारो त थियो नै। त्यहीमाथि नाइट लफाइमा छिरेकाले समाजले भन्ने कुरा, गर्ने व्यहवारले निकै गाह्रो भएको थियो,’ उनी भन्छिन्, ‘एउटा भाइ मात्र थियो, उसलाई जसरी भएपनि राम्रो गरौं भन्ने थियो, त्यसैले सबै सहेर मेहनत गरेँ।’
 
‘ट्रेन्डिङको पछि नलागौं’
 
रियलिटीको शोका धेरै विजेता गुमनाम छन्। केहीले मात्रै सफलताको स्वाद चाखेका छन्। नेपालमा मात्र होइन, भारत लगायतका देशहरुको कथा पनि उस्तै छ। फुत्त चर्चाको शिखरमा पुग्छन्, तर शिखरमै टिकिरहन सक्दैनन्। शिखरमा टिकिरहनु सानो चुनौती पनि त होइन। आखिर किन हराउँछन् त रियालिटी शोका विजेता? यसमा सज्जाको धारणा भने अलि फरक छ।


 
रियालिटी शोका विजेता मात्र होइन, अरु कलाकार पनि हराउने–नहराउने कुराको निर्धारण दर्शक स्रोताले गर्ने सज्जाको धारणा छ। ‘अब म आइडल जितेपछि पनि निरन्तर संगीतमै लाग्छु, लागिरहन्छु। मेरा गीत दर्शक स्रोताले हेरिदिनु भयो भने त म सफल हुन्छु नै,’ सज्जा भन्छिन्, ‘अब उहाँहरुले गीतलाई माया गरिदिनु भएन, हेरिदिनु भएन त विजेता मात्र होइन, जो पनि हराइहाल्छन् नि!’
 
रियालिटी शो जित्दैमा सबै हिसाबमा पूर्णता नपाइने सज्जाको धारणा छ। अहिले आफू नै रियालिटी शोको विजता भएपनि संगीतमा धेरै कुरा सिक्न बाँकी रहेको उनी बताउँछिन्। ‘रियालिटी शोबाट आउँदैमा मान्छे ठूलो भइहाल्ने होइन। सबै सिकाइकै चरणमा हुनुहुन्छ, काम गरिरहनु भएको छ। विस्तारै राम्रो हुँदै पनि आइरहेको छ,’ उनले भनिन्।
 
रियालिटी शोका विजेताबाट दर्शकमा ठूलो अपेक्षा भएकाले सो अपेक्षा पूरा नहुँदा हराएजस्तो देखिने उनको तर्क छ। भन्छिन्, ‘अपेक्षा पूरा गर्ने-नगर्ने आफ्नै हातमा हुन्छ। उहाँहरूले कतै न कतै, केही न केही गरिरहनुभएकै छ। त्यो तपाईंहरूले नदेख्नु भएको मात्रै हो।’
 
अहिले सबै ट्रेन्डिङको पछि लागेकाले रियालिटी शोका विजेता हराएको जस्तो देखिएको सज्जाको तर्क छ। ‘गीत ट्रेन्डिङमा पर्‍यो भने मात्र त्यो राम्रो, सफल भयो भन्ने छाप हामीमा परेको छ। त्यो सोच दिमागबाट हटाउन जरुरी छ,’ सज्जा भन्छिन्, ‘राम्रा गीत सबै चल्दैनन्, चलेका सबै गीत राम्रा पनि हुँदैनन्। यो सत्यलाई नजरअन्दाज गरिनु हुँदैन।’ राम्रा गीतहरु सुन्न र स्रष्टाको मेहनत हेरिदन उनले आग्रह गरिन्।
 
उसो भए सज्जाको आगामी यात्रा कस्तो होला त? आइडल जितेर चर्चित भएपनि संगीत क्षेत्रमा टिकिरहन धेरै गाह्रो हुने सज्जाले बुझेकी छिन्। संगीतमै टिकिरहन कडा मेहनत र निरन्तरता दिनु पर्ने उनको भनाइ छ। आइडलको विजेता हुँदा दर्शक स्रोताले लगाएको गुन तिर्ने अपेक्षा उनमा छ। ‘तपाईंहरुले मलाई जस्तो माया गर्नुभयो, गुन लगाउनु भएको छ, त्यो म संगीतबाटै तिर्नेछु,’ सज्जाले आफ्ना दर्शकहरुसँग बाचा गरिन्।

प्रकाशित मिति: १४:५० बजे, शुक्रबार, असोज २, २०७७
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्