बिहिबार, असोज १५, २०७७

‘सरकारले उपत्यकाका नाकामा कडाइ नगर्दाको मूल्य अहिले चुकाउनु परेको छ’

केही समय यता उपत्यकामा कोरोना संक्रमण तीव्ररुपमा बढेको छ। त्यसप्रति हामी सचेत छौं। ललितपुरमा हामीले कन्ट्याक्ट ट्रेसिङका लागि पाँच वटा समूह बनाएका छौं। एक समूहमा तीन जना हुनुहुन्छ। आजै मात्रै वडा नम्बर १६ काे १२ जनामा संक्रमण देखिएपछि कन्ट्याक्ट ट्रेसिङ गरेर ४८ जनाको पीसीआर परीक्षण गराएका छौं। हामी कन्ट्याक्ट ट्रेसिङलाई निरन्तरता दिने छौं। 

हालसम्म मेरो जानकारीमा आएअनुसार ललितपुर महानगरपालिका क्षेत्रका ३ सय ८८ जनामा संक्रमण पुष्टि भएको छ। जसमध्ये २ सय ६३ जना निको भए घर फर्किनुभएको छ। अहिले सक्रिय संक्रमित १२ सय ४५ जना छन्। होम आइसोलेसनमा ८२ जना हुनुहुन्छ भने अस्पतालमा ४१ जना हुनुहुन्छ। यस्तै होटल आइसोलेनमा २ जना हुनुहुन्छ।

हामीले पीसीआरको दायरा फराकिलो बनाइरहेका छौं। यसकाे निरन्तरता जारी नै राख्छौं। हामीले सम्भावित संक्रमितको पीसीआर परीक्षण गर्ने नीति लिएका छौं। सायद अबको दुई दिनसम्ममा यो काम सकिन्छ। एकजनाले १२ जनासम्मलाई सार्न सक्छ भन्ने मान्यताका आधारमा हामीले सम्भावित करिब चार हजार जनाको पीसीआर परीक्षण गराउने नीति लिएका छौं। 

हामीले पहिला तीन वटा क्वारेन्टाइन स्थल निर्माण गरेका थियौं। अहिले त्यसलाई आइसोलेसन सेन्टरमा परिणत गर्ने काम भइरहेको छ। सातदोबाटोको एन्फा भवनमा ४५ बेड क्षमताको आइसोलेसन वार्ड बन्नेछ। सुनाकोठीस्थित नेपाल युथ फाउन्डेसनमा २८ बेडको र ज्यापु समाजको हलमा २६ बेड क्षमताको आइसोलेसन छ। त्यतिले पुगेन भने एन्फाको ८८ र ज्यापु समाजको आइसोलेसनलाई १ सय १० बेडसम्म बिस्तार गर्ने योजना छ। क्षमता बिस्तारपछि पनि आइसोलेसन बेडको अभाव भएमा महानगर क्षेत्रभित्र रहेका बोर्डिङ स्कुललाई आइसोलेसन बनाउनेबारे सोचेका छौं तर निर्णय चाहिँ भइसकेको छैन। 

हामीले सचेतना अभिवृद्धिको काम पनि निरन्तर गरिरहेका छौं। दिनहुँ सचेतनाका लागि सन्देश प्रवाह गर्न झ्याली पिटाइरहेका छौं। स्वास्थ्यको प्रोटोकल पालना नगर्नेहरुलाई कारबाही गर्ने नीति लिएका छौं, सम्झाएका छौं। मास्क लगाउने, स्यानिटाइज गर्ने र दुरी कायम गर्ने कुरालाई पालना गराउन हामी लगिपरेका छाैं। महामारीबाट जोगिने सन्दर्भमा महानगरवासीको सहयोग प्राप्त भएको छ। 

हामीले मुख्यतया कोभिड बिरामीका लागि २ वटा सुविधा सम्पन्न एम्बुलेन्सको व्यवस्था गरेका छौं। ती एम्बुलेन्सले ललितपुर जिल्लाभरी नै सेवा दिन्छन्। नन कोभिडका बिरामीका लागिसमेत एम्बुलेन्सको व्यवस्था गरिएको छ। १०२ मा फोन गर्दा पनि एम्बुलेन्स उपलब्ध हुन्छ। र अन्य संघ संस्थाका एम्बुलेन्सलेसमेत सेवा दिइरहेका छन्। 

काठमाडौं उपत्यकामा कसरी यो अवस्था आइपुग्यो त भन्ने सन्दर्भमा उपत्यकाका सबै मेयरहरुले केन्द्रीय सरकारलाई निरन्तर नाकामा कडाई गर्न भनिरह्यौं। तर, कडाइ हुन सकेन। उपत्यकामा संक्रमण फैलनुको मुख्य कारण यही नै हो। अहिले जसरी नाकामा कडाइ गरिएको छ, यो जारी नै रहनुपर्छ। नाकामा भएको कमजोरीको मूल्य अहिले हामीले चुकाइरहेका छौं। 

जेठ २४ गते नेपाल सरकारले ४४ किसिमको व्यापार व्यवसाय संचालन गर्न दिने, एक तिहाइ कर्मचारीलाई काम गर्न दिने र एक चौथाई गाडी चलाउन दिने निर्णय गर्‍यो। सरकारको त्यो निर्णय संक्रमण नियन्त्रणको हिसाबले हानिकारक बन्न पुग्यो। त्यहीबीचमा गृहमन्त्रालयको पास बोकेर आएका तीन जनामा संक्रमण पुष्टि भयो। आसार १ गते गृहमन्त्रालयमा बसेको बैठकमा मैले र काठमाडौं महानगरपालिकाका मेयरले यो कुरा उठायौं। घनिभूतरुपमा छलफल भयो। हामीले नाकामा कन्ट्रोल गर्नुस्, बाँकी काम हामी गर्छौं भनेर भनेका थियौं। त्यसपछि नाकामा केही कडाई गरियो। तर कमजोरीकाे कारण संक्रमण फैलियो। 

केन्द्र र प्रदेश सरकारसँगको समन्वयको कुरा गर्ने हो भने त्यति उपलब्धि मूलक छैन। एक हिसाबले भन्ने हो भने प्रदेश सरकारसँग केन्द्र सरकारकाे बोलचाल नै छैन। हामीले तिमीहरुको योजना के छ? के गरिरहेका छौं? कसरी काम गर्ने ? भनेर सोधपुछ पनि गरेका छैनौं। यद्यपी हामीले नमागिकन पनि प्रदेश सरकारले २० लाख रुपैयाँ सहयोग गर्नुभयो। तर, त्यसबाहेक न छलफल भयाे न त समन्वय नै। 

केन्द्र सरकारले भने २ रुपैयाँ पनि दिएको छैन भन्दा हुन्छ। आइसोलेसन खडा गर्दा स्थानीय सरकारले आइसोलेसन बनाउने र केन्द्र सरकारले स्रोत भर्ना दिने भन्ने परिपत्र भयो। हामीले तीन ठाँउमा आइसोलेसन बनायाैं। र स्रोत भर्नाका लागि बिल पठाएका थियौं। तर, स्रोत भर्ना पाउन कडै मेहनत गर्नुपर्यो। सिसिएमसीको बैठकमा म पदेन सदस्य छु।

मैले त्यहाँ कुरा उठाएँ। पैसा नपाउने हो भने पाइँदैन भन्नुस्, सकेको गर्छु। क्षमताले भ्याउनजेल गर्छु, नसकेको दिन हात उठाउँछुसम्म भने। वडा अध्यक्षहरुले मलाई अप्ठ्यारोमा पारेका छन्, मैले पनि उनीहरुलाई जवाफ दिनुपर्छ भनेपछि बल्ल–बल्ल ९ लाख रुपैयाँ स्रोत भर्ना भयो। केन्द्र सरकारले यो गर्ने, त्यो गर्ने भनेर परिपत्र गर्छ। काम गर्ने जिम्मेवारी स्थानीय तहलाई दिन्छ, तर काम गर्नका लागि पैसा चाहिँ दिँदैन। 

लकडाउन हुँदा हामीले समस्यामा परेका मानिसहरुलाई राम्रै सहयोग गर्‍यौं। निषेधाज्ञाका बेला चाहिँ राहत बाँड्ने योजना बनाउन सकिएको छैन। मलाई लाग्छ, उपत्यकाका कुनै पनि स्थानीय तहले यसबारे सोचेका छैनन्। स्रोतको अभाव पनि छ। तर, सामाजिक संघ संस्थाले सहयोग गर्न चाहे भने त्यो भने खुला गरेका छौं। 

कोरोनाबाट मुक्ति पाउन त लामै योजना बनाउन पर्ला। न्युजिल्याण्डले मुक्तिको घोषणा गर्‍यो। तर पछि संक्रमण भेटियो। नेपालमा पनि एकै चोटी कोरोना जाला भनेर सोच्न सकिँदैन । लामो समय लाग्न सक्छ। सायद अब खोप पनि बन्छ होला। लामो समय संक्रमण रहँदा सँधैभरी लकडाउन र निषेधाज्ञा लगाउन सकिँदैन। कोरोनासँग वर्षौ लुकेर बस्न पनि नसकिएला। अहिले नै अर्थतन्त्र धरासायी बनिसक्यो। त्यसैले कोरोनासँग लड्दै बाँच्न सिक्नुपर्छ। सामाजिक दुरी कायम गर्ने, मास्क लगाउने, स्यानिटाइज गर्ने लगायतका सावधानीका उपाय अवलम्बन गर्नुपर्छ। 

मानिसहरुको जमघटलाई काम गर्नुपर्छ। सवधानी अपनाएर मुलुकको अर्थतन्त्रलाई जिवन्तता दिनुपर्छ। विकास निर्माणको काममा समेत यसले ठूलो असर गरेको छ। हेल्थ प्रोटोकल फलो गरेर काम अघि बढाउनुको विकल्प छैन। अहिले हाम्रो महानगरका केही ठाँउमा विकास निर्माणका काम भइरहेका छन्। त्यो बाहेक ९० प्रतिशत काम त बन्द नै छ। यस्तो अवस्थालाई सहज बनाउन सजगता अपनाएर कोरोनासँग जुधेर अघि बढ्नुको विकल्प छैन।  

कोरोनाले आर्थिक विकासमा ठूलै असर गरेको छ। महानगरको राजस्व संकलनमा असर गरेको छ। राजस्व संकलनमा असर परेपछि त्यसले विकास निर्माणमा असर पर्ने नै भयो। तर, हामीले कसरी सुधार गर्न सकिन्छ? भनेर गम्भीररुपमा सोचिरहेका छौं। यसको असर यो आर्थिक वर्ष मात्रै होइन, अन्य केही वर्षसम्म देखिन सक्छ। यस्तो अवस्थामा एउटा बलियो योजना बनाउन आवश्यक छ। हामी यसबारेमा सोचिरहेका छौं।

ललितपुर कला नगरी हो, 'फाइन आर्ट्स सिटी' हो। कोर एरियाका ४० प्रतिशत घरमा हस्तकला सम्बन्धी उद्योग छ। कोरोनाका कारण पर्यटकको आगमन ठप्प छ। यो अवस्थामा उत्पादन र उत्पादित सामाग्री बिक्री दुवै ठप्प छ। यसले हस्तकलाकर्मी पलायन होलान्, अन्त जालान् भन्ने हामीलाई ठूलो पीर छ। भन्दा कला नगरी भन्ने  तर हस्तकलाकर्मी नहुने अवस्था सोच्न समेत सकिन्न्। त्यसैले हामीले उनीहरुको व्यवस्थापनका लागि प्याकेज ल्याउने तयारी गरेका छौं। केही दिनमै घोषणा गर्नेछौं।  

कोभिड बाजा बजाएर आएको होइन। हामीलाई न यसको भविष्यबारे थाहा छ, न त यसको औषधि नै छ। छिमेकी मुलुक भारतले काेराेना संक्रमणमा विश्वलाई उछिन्ने खतरा देखिएको छ। हाम्रै मुलुकमा पनि जाडो महिनामा संक्रमण तीव्र रुपमा बढ्छ भनेर विज्ञहरुले भनिरहेका छन्। औषधिसमेत नभएको यो रोगसँग आफैं जोगिनु पर्छ। सतर्क हुन आवश्यक छ। हेल्थ प्रोटोकलको पालना गर्न आवश्यक छ। तसर्थ सावधानी अपनाउन सबैसँग आग्रह गर्दछु। साउथ एसिया मै नेपालको मृत्युदर बढी छ भनेर समाचार आएका छन्। त्यसैले यी सबै कुरालाई मध्यनजर राखेर सावधानी अपनाउन ललितपुर महानगरबासी लगायत सबैलाई म अपिल गर्न चाहान्छु। 

(ललितपुर महानगरपालिकाका मेयर महर्जनसँग गरिएको कुराकानीमा आधारित)

 Published Date: Tuesday, 1st September 2020 4:01:00 am