मंगलबार, मंसिर ९, २०७७

‘प्राधिकरणमा कुलमानको निरन्तरता हुनैपर्छ भन्ने छैन’

२०४६ सालमा प्रजातन्त्रको पुनःस्थापनापछि भएको पहिलो आमनिर्वाचनमा आफ्नी श्रीमती मंगलादेवी सिंहले चुनावमा हारेपछि कांग्रेसका सर्वोच्च नेता स्वर्गीय गणेशमान सिंहले भनेका थिए- ‘नेपाली जनता भेडा हुन्।’ सिंहको यो भनाइ नेपाली समाजमा बेला–बेलामा चरितार्थ भइरहन्छ। 

सन्दर्भ हो, नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको सकिन लागेको कार्यकाल। अहिले जराविना उम्रिएका सामाजिक सञ्जाल घिसिङकै सेरोफेरोमा घुमेका छन्। घिसिङको चार वर्षे कार्यकाल सकिन अब केही दिनमात्र बाँकी छ। उनको चार वर्षे कार्यकालमा प्राधिकरणको कायापलट नै भयो। दैनिक १८ घण्टासम्म लोडसेडिङको मार भोगिरहेका नेपाली जनताले अँध्यारोबाट मुक्ति पाए। 

अझ भनांै तत्कालीन उर्जा मन्त्री जनार्दशन शर्माले यसको श्रेय त पाए नै। सँगै लोडसेडिङ हटाउन नेतृत्व गरेका कुलमानले झन् ठूलो उपमा पाए ‘उज्यालोका नायक’। उनले जीवनमा यसअघि पनि धेरै योगदान गरे होलान्। तर, उनले गरेको लोडसेडिङको अन्त्य एक ऐतिहासिक र अकल्पनीय कार्य थियो। लोडसेडिङ अन्त्यपछि पाएको उपमा पनि उनको जीवनका लागि ऐतिहासिक बनेको छ। उनको विशिष्ट परिचय बनेको छ। यो उनको सफलताको मानक समेत हो।

२०५१ सालदेखि निजामती सेवामा प्रवेश गरेका घिसिङ बहुप्रतिभाशाली, निस्वार्थ, कमर्ठ र इमान्दार राष्ट्रसेवक हुन्। जागिरे जीवनको सुरुवात नै रोचक छ। रोचक मात्र होइन, त्यसले कुलमानको क्षमतालाई प्रमाणित पनि गर्छ। जागिरका लागि २०५१ सालको एकै समयमा तीन ठाउँ (हवाई, लोकसेवा आयोग र प्राधिकरण) मा अधिकृतस्तरको परीक्षामा सहभागी भई उनले नाम निकालेका थिए। 

तर, विषय मिल्ने भएकाले उनले प्राधिकरण रोजे। झण्डै तीन दशक लामो निजामती सेवामा सक्रिय कुलमानलाई क्षमतावान र सफल मान्न सकियो। तर उनको काम, कर्तव्य र व्यवहारमा विवादरहित भने हुन सकेन। उनले आफूलाई निर्दोष सावित गर्न झुण्डिन तयार रहेको समेत बताए।

सामाजिक सञ्जाल त्यो बेला पनि कुलमानको सहानुभूतिमा ठूलो भिड उपस्थित भयो। यद्यपि यी घटना ओझेलमा परे। तर, घटनाले एकपटक जो कसैलाई अवश्य सोच्न बाध्य पार्छ। मानवीय स्वभाव नै हो कि हरेक व्यक्तिमा राम्रा र नराम्रा पक्ष हुन्छन्। काम गर्दै जाँदा गल्ती, कमीकमजोरी पनि हुन्छन्। तर, ती गल्ती स्वीकार्नु महानता हो। देवत्वकरण गरेर रातोलाई पनि हरियो भन्ने प्रवृत्तिबाट हामी थोरै टाढा बस्नै पर्छ।  

उनको कौशलता आज हरेक नेपालीको मनमा बसेको छ। त्यसैले कार्यकाल सकिन लाग्दा उनले निरन्तरता पाउनुपर्छ भन्ने धेरैको शुभेच्छा छ। माया र सद्भावले सम्बन्ध जसरी चल्छ, तर संगठन चल्दैन। कुलमान जस्ता क्षमतावान व्यक्तिको नेतृत्व यो देशलाई खाँचो छ। देशका थुप्रै संस्थाको अवस्था चार वर्षअघिको नेपाल विद्युत प्राधिकरणको भन्दा पनि भयावह छ।

विद्युत प्राधिकरणमा उल्लेख्य सुधार भइसकेको छ। केही बाँकी होलान्, तर गर्न बाँकी कामको खाका पक्कै तयार भइसकेको छ। अब यी बाँकी कामका लागि कुलमानका अरु चार वर्ष खर्चिन दिने कि अनुभव भएका दोस्रो व्यक्तिलाई त्यो जिम्मेवारी सुम्पिएर कुलमानको क्षमता अर्को ठाउँमा प्रयोग गर्ने। यी दुई विकल्पमध्ये कुन उचित होला? यो सरकार र सामाजिक सञ्जाल प्रयोगकर्ताका लागि सोचनीय विषय हो। 

कुलमानको पुनःनियुक्ति हुनुपर्ने मागले सीमा पार गरिसेकेको छ। त्यो शुभेच्छामा मात्र सीमित रहेन। गत मंगलबार सञ्जाल प्रयोगकर्ताले प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङ पुनः नियुक्त भएको हल्ला भुसको आगो सरी सल्काइदिए। सामाजिक सञ्जाल केही समय झुटोे बधाईले रंगीन बन्यो। अझ घिनलाग्दो कुरा केहीले त्यसमा राजनीतिक श्रेय लिने चेष्टा समेत गरे। केहीले लेखे– ‘सुप्रिम कमाण्डर प्रचण्डको दबाबपछि कुलमान पुनः नियुक्त !’ 

चर्चित कलाकार दीपकराज गिरीले गिरीले व्यङ्ग्यात्मक शैलीमा लेखेको स्ट्याटस पूरै पढ्ने चेष्टा न सामाजिक सञ्जाल प्रयोगकर्ताले गरे, न समचार लेख्ने सञ्चार माध्यमले नै। अघिल्लो दुई लाइनकै भरमा समाचार तयार भए। मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले गरेको भनेर स्रोतको हवला दिँदै समाचार आएपछि कुलमानलाई बधाईको ओहिरो नै आयो। सामाजिक सञ्चालमा बधाईको बाढी आइरहँदा मन्त्रिपरिषद्को बैठक आरम्भ समेत भएको थिएन। यो आवेग र जनताको उच्च आकंक्षाले केही हदसम्म अर्थ राख्ला, त्यसलाई सम्मान पनि गर्नु पर्छ। तर, म कुलमानलाई दोहोर्‍याउनै पर्छ भन्ने पक्षमा छैन। 

सामाजिक सञ्जालमा कुलमानलाई देवत्वकरण गर्न खोजिएको छ। कुनै व्यक्तिले राम्रो काम गर्छ भने त्यसले नै उसको मानक स्थापित हुन्छ। उसलाई कसैको उपमा र अलाङ्कारको आवश्यकता पर्दैन। कुलमान पनि आम नेपालीको मनमा बसेका व्यक्ति हुन्, त्यसैले उनको देवत्वकरण गरिरहनुपर्ने अवाश्यकता देखिँदैन।

आफ्नो नियुक्तिबारे बजार हल्ला चलेपछि कुलमान आफैँले भनेका छन्– ‘मेरा केही सपनाहरु बाँकी छन्।’ त्यसैले हामी यति धेरै भावुक हुन जरुरी छैन। धैर्य गरौं कि कुलमानको सपना अबको चार वर्षमा पूरा होउन्। इच्छा, आकंक्षा र सपनाको बाटो कहिल्यै बन्द नहोस्। कुलमानको क्षमता देशलाई आवश्यक छ। 

उनको क्षमतालाई प्राधिकरणभन्दा पनि प्राधिकरणलाई हेर्ने मन्त्रालयतिर उचित ठाउँमा सजाइयोस्। त्यसको फाइदा हुने हामीलाई नै हो। तर, कुलमानका अघि सबै अक्षम हुन् भन्ने मानसिकता हामीले त्याग्नै पर्छ। कुनै व्यक्तिलाई कुनै क्षमता विना कार्यकारी निर्देशकको ‘लाइन’मा पक्कै उभ्याइँदैन। नयाँ व्यक्तिमा पनि नयाँ योजना र त्यसलाई कार्यान्वयन गर्ने योजना आवश्यक हुन्छ। त्यसले पनि प्राधिकरणलाई नयाँ उचाइ दिन सक्छ।

कुलमानले देखाएको बाटोमा नयाँ नेतृत्व हिँड्छ कि हिँड्दैन? उसलाई कुलमानकै दर्जामा राखेर हामीले पुरस्कृत गर्ने कि दण्डित गर्ने त्यो फैसला समयले गर्नेछ। कुलमानको ‘क्लिन’ अनुहार हेरेर हामीले अर्को पात्रको अनुहारमा दागैदाग देख्नु वा देखाइनु कदापी न्यायोचित हुन सक्दैन। 

उसोभए प्राधिकरणको नयाँ कार्यकारी निर्देशक को त? ठूलो समूहले जवाफ दोर्‍याउने छन् कुलमान........।  तर, भिडले कुुलमान भनेर चिच्याउँदैमा सरकारले भिडकै निर्णयलाई सदर गर्दैन। भिडको हल्लालाई सदर गर्ने सरकारको काम होइन। कुलमान प्राधिकरणका लागि अब के कति आवश्यक भन्ने कुरा जानकारहरुले पनि पक्कै मूल्यांकन गर्लान्।

तर, यसरी भिडको पछि लागेर निर्णय गरियो भने त्यसले गलत नजिर स्थापित गर्नेछ। अहिले सामाजिक सञ्जालमा कुलामानको पक्षमा लेखिएका तर्क हेर्दा प्रश्न उठ्छ– पाँच कक्षामा फस्ट भएको विद्यार्थीलाई राम्रो छ भनेर पाँचमै दोहोर्‍याउन दबाब दिनु कति उचित हो? 
 

 Published Date: Saturday, 29th August 2020 12:06:00 pm