शनिबार, कात्तिक १५, २०७७

‘कोरोना संक्रमणभन्दा समाजको डर बढी लाग्न थालेको छ’

नेपालमा सुरुमा कोरोना संक्रमित भेटिँदा स्वास्थ्यकर्मी कोरोनासँग डराउँथे। अस्पताल जान निकै डर लाग्थ्यो। बिरामी जाँच्दा पनि कोरोना सर्ने पो हो कि? भन्ने डर हुन्थ्यो। तर, अहिले कोरोनासँग डर कम लाग्न थालेपनि बढी डर समाजको लाग्न थालेको छ।

नेपालमा कोरोना संक्रमित भेटिन थालेपछि सुरूवाती चरणमा सरकारले चिकित्सकहरुका लागि क्वारेन्टाइनको व्यवस्था गरेको थियो। तर, अहिले त्यो व्यवस्था छैन। काम सकेपछि घर जानुपर्छ। बिरामी जाँच्ने क्रममा मास्क र पीपीईको प्रयोग गरेपनि केही प्रतिशत किटाणु शरीरमा रहिरहन सक्ने सम्भावना हुन्छ। जसका कारण एउटै कोठामा धेरै जना बस्नुपर्ने, भाडामा बस्ने र परिवारमा बच्चा र वृद्ध भएकाहरुलाई अझ बढी समस्या परेको छ।

अहिले स्वास्थ्यकर्मीहरुमा समेत कोरोना संक्रमण देखिएको छ। तर, संक्रमितहरुको निको हुने दर बढेकोले विगतमा जस्तो डर भने छैन। तर, स्वास्थ्यकर्मीमाथि समाजले गर्ने व्यवहारका कारणले चाहिँ मनोबल घटाएको छ। सुरुवाती दिनमा भाडामा बस्नेलाई घरबेटीले कोरोना रिपोर्ट नलिई घरमा पस्न नदिने गरेका घटना सार्वजनिक भएका थिए। समाजमा चेतनाको अभाव देखिँदा यस्ता समस्या देखिएका हुन्। कतिपय मानिसले आफ्नो टोलको एक व्यक्तिमा कोरोना संक्रमण पुष्टि हुने बित्तिकै सबैमा सर्छ भन्ने सोच पालेर बसेका छन्। जुन दु:खद् छ। सजगता अपनाउँदा संक्रमित हुने जोखिम कम हुन्छ। टोलमा कसैमा संक्रमण पुष्टि भयो भने उसलाई दुर्व्यवहार गरिनु जायज होइन।
 
हालै सिभिल अस्पताललले चिकित्सक, कर्मचारीहरुलाई राख्न क्वारेन्टाइन अथवा आइसोलेसनको व्यवस्था गरेको थियो। अस्पतालले लिएको भवनमा स्वास्थ्यकर्मी बस्दा स्थानीयले विरोध गरे। यस्ता प्रवृत्तिले चिकित्सकहरुको मनोबल घटेको छ। यो मात्रै होइन, देशभर नै यस्तो प्रवृत्ति देखिएको छ। 

नागरिकको स्वास्थ्यका लागि स्वास्थ्यकर्मीहरुले आफ्नो ज्यान जोखिममा राखेका छन्। रातदिन नभनेर सेवामा खटेका छन्। तर, समाजले दुर्व्यवहार गर्न थालेपछि निर्धक्क भएर अस्पतालबाट घर फर्कन सक्ने अवस्था छैन। साथै अस्पताल आफैँले स्वास्थ्यकर्मीको सुविधाका लागि क्वारेन्टाइनको व्यवस्था गरेपनि समाजले यसलाई सकारात्मक रुपमा  लिएको छैन। महामारीको समयमा एकअर्कालाई सघाएर अगाडि बढ्नुपर्ने हो। सबै सचेत, सजग र एक हुँदामात्रै भाइरसविरुद्धको लडाइमा सफलता प्राप्त हुन्छ।

तर, समाजले फ्रन्टलाइनमा काम गर्ने स्वास्थ्यकर्मीको नै विरोध गरेपछि भाइरसविरुद्धको युद्ध कसरी जितिन्छ? विरोध गर्नेहरुलाई संक्रमण देखिए स्वास्थ्यकर्मीहरुले नै उनीहरुको उपचार गर्नु पर्ने हुन्छ।

विदेशको कुरा गर्ने हो भने स्वास्थ्यकर्मीहरुले महामारीका बेला गरेको कामको उच्च मूल्यांकन गरिएको छ। स्वास्थ्यकर्मीलाई सबैले हौसला दिइरहेका छन्। तर, नेपालको अवस्था ठ्याक्कै उल्टो छ। यहाँ प्रोत्साहन गर्नुको साटो निरुत्सहित गर्नेहरु धेरै छन्। दिनरात, घरपरिवार, आफ्नो स्वास्थ्यको प्रवाह नगरी अस्पतालमा खटिएकाहरुले निर्धक्क आराम गर्न पाउने अवस्था छैन। 

आराम गर्न घर पुग्दा समाजले भन्छ, ‘यो ठाउँमा आउन पाउँदैनस्!’ यस्ता व्यवहारले स्वास्थ्यकर्मीमा नकारात्मक असर पार्छ। म विगत सात वर्षदेखि यो पेशामा संलग्न छु। हरेक मानिसलाई आफू संलग्न पेशा र त्यसका राम्रा र नराम्रा पक्षबारेमा ज्ञान हुन्छ। यसरी जोखिम मोलेर काम गर्दा पनि समाजबाट हुने दुर्व्यवहारले निरुत्साहित भइन्छ,  निराशा जाग्छ।

हामीसँगै पढेका साथीहरु विदेशमा कार्यरत छन्। उनीहरुले हामीलाई प्रश्न गर्छन्, ‘तिमीहरु नेपालमा बसेर के पायौं? न पैसा छ, न सम्मान छ? ‘बेलैमा यतै आएको भए जीवन सजिलोसँग बिताउन सकिन्थ्यो। यहाँ पनि बिरामी नै हेर्ने हो, त्यहाँ पनि बिरामी नै हेर्ने हो।’ उनीहरुलाई  दिन हामीसँग जवाफ हुँदैन। बेला-बेला साथीभाइका यस्ता कुराहरु सुन्दा मन खिन्न हुन्छ।

तर, जे जस्तो भएपनि मैले जति पनि बिरामीलाई जाँचेको छु, उहाँहरुले निको भएर घर फर्कँदा धन्यवाद भनेर जानुहुन्छ। यो नै मेरो सबैभन्दा ठूलो सम्पति हो। आफ्नै देशको मानिसको सेवा गर्न पाएको छु, मलाई यही कुरामा सन्तुष्टि छ। मलाई आफूले रोजेको पेशाप्रति कत्ति पनि गुनासो छैन। तर, अहिले स्थापित भएका नकारात्मक सोच भने परिवर्तन गर्न आवश्यक छ।  

हामीले अस्पतालमा भोग्नु परेको समस्या एकातिर छँदैछ। घरपरिवारको समस्या अर्कोतिर छ। हजुरआमा बिरामी भएको बेलासमेत उहाँको उपचारका लागि जान सकिरहेको छैन। किनभने म अस्पतालमा दिनहुँ संक्रमितहरुसँगको सम्पर्कमा आइरहेको हुन्छु। अरुको उपचार गरिरहेको छु। तर, आफ्नै परिवारको सदस्यको उपचार गर्न नपाउँदाको पीडा कस्तो हुन्छ, त्यो भोग्नेलाई मात्रै थाहा छ।

(कोभिड–१९ व्यवस्थापन समितिका सदस्य समेत रहेका डा. थपलियासँग गरिएको कुराकानीमा आधारित)

 Published Date: Monday, 24th August 2020 8:33:55 am