Kathmandu Press

आजदेखि लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान

प्रत्येक वर्ष नोभेम्बर २५ देखि डिसेम्बर १० अर्थात् यो वर्ष मंसिर ९ देखि २५ सम्म मनाइँदै छ। नेपालमा यो अभियान २०५४ सालदेखि देशव्यापीरुपमा सञ्चालन हुँदै आएको हो।
आजदेखि लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान

काठमाडौं, मंसिर ९ : आजदेखि लैगिंक हिंसाविरुद्धको १६ दिने अभियान सुरु भएको छ।

यो वर्षको अभियानको नारा ‘लैंगिक हिंसा अन्त्यको सुनिश्चितता : महिला र बालबालिकामा लगानीको ऐक्यबद्धता’ रहेको छ।

सन् १९९१ देखि सुरु भएको लैंगिक हिंसाविरुद्ध विश्वव्यापी अभियान प्रत्येक वर्ष नोभेम्बर २५ देखि डिसेम्बर १० अर्थात् यो वर्ष मंसिर ९ देखि २५ सम्म मनाइँदै छ। नेपालमा यो अभियान २०५४ सालदेखि देशव्यापीरुपमा सञ्चालन हुँदै आएको हो।

सन् १९६० को नोभेम्बर २५ मा डोमिनिकन गणतन्त्रका मिरावेल परिवारका तीन जना दिदी बहिनी पेट्रिया, मिनर्भा र मारियाको तत्कालीन त्रुजिलो तानाशाही सरकारले निर्ममतापूर्वक हत्या गरेको थियो।

उक्त हत्यालाई लिंगका आधारमा हुने राजनीतिक हिंसाको रूपमा लिँदै उनीहरूको सम्मान र सम्झनामा १६ दिने अभियान मनाउन थालिएको हो।

दिवस बर्सेनि मनाउने गरिए पनि लैंगिक हिंसाका घटना भने कम भएका छैनन् । अभियानले चेतना वृद्धिको काम भने गरेको छ।

प्रविधिको विकाससँगै लैंगिक हिंसाका घटनाका स्वरुपहरु परिवर्तन भइरहँदा सुरक्षा निकायलाई छानबिन र पीडितलाई न्याय दिलाउने काममा चुनौती थपिएको छ।

अभियान अवधिमा संघीय सरकारको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयसँगै प्रदेशस्तरमा सम्बद्ध मन्त्रालयहरुले तालिका बनाएर विभिन्न कार्यक्रम गर्दै आएका छन्।

विभिन्न संघसंगठनहरुले १६ दिने अभियानलाई कर्मकान्डी बनाउनुको साटो सबै प्रकारका हिंसाविरुद्ध चेतना बढाउने कार्यक्रम वर्षैभरि हुनुपर्ने जनाउँदै आएका छन्।

प्रकाशित मिति: ०८:४७ बजे, शनिबार, मंसिर ९, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्