Kathmandu Press

बेलायतमा नेपाली गोर्खा सैनिकको सम्झनामा स्मृति समारोह

समारोहमा मार्गरेट मुलाने, लिभ बेली, लरेन एडवाड्र्स, जेन क्राफ्ट, म्याट रोडा, लुई फ्रेन्च, मार्क फ्रान्स्वा, लुक मर्फी, एलेक्स ब्रुअर, जोडी गोस्लिङ, अबेना ओपोङ–असारे, ड्यानी बिएल, युआन याङ, टोनी भन, डेभिड च्याडविक र एलेक्स बेकरलगायत बेलायती सांसद उपस्थित थिए।
बेलायतमा नेपाली गोर्खा सैनिकको सम्झनामा स्मृति समारोह

काठमाडौं, कात्तिक २० : बेलायतको संसद्का सदस्यहरूले नेपाली गोर्खा सैनिकहरूको योगदानको स्मरण गर्दै लन्डनस्थित ह्वाइटहलमा स्मृति समारोह आयोजना गरेका छन्।

नोभेम्बर ४ मा बेलायती रक्षा मन्त्रालयको सामुन्ने रहेको गोर्खा सैनिकको प्रतिमामा आयोजित समारोहमा बेलायतका सांसद, नेपाली प्रतिनिधि, गोर्खा भेट्रान तथा विभिन्न क्षेत्रका व्यक्तिहरू सहभागी भएका थिए।

बेलायतको नेपालसम्बन्धी सर्वदलीय संसदीय समूह (एपीपीजी) को आयोजनामा भएको समारोहको नेतृत्व एल्डरसट एन्ड फार्नबरोका सांसद तथा उक्त समूहका अध्यक्ष एलेक्स बेकरले गरेका थिए । समारोहमा बेलायतका रक्षा मन्त्रालयका राज्यमन्त्री लर्ड भर्नन कोकरले बेलायती संसद्का तर्फबाट र नेपाल–बेलायत संसदीय मैत्री समूहका संयोजक मनीष झाले नेपाल सरकारका तर्फबाट पोप्पीको फूलको माल्यार्पण गरेका थिए।

हाउस अफ कमन्सका सभामुखका पादरी भेनेरेबल एन्ड्र्यु हिलियरले प्रार्थनासहित समारोह सञ्चालन गरेका थिए । कार्यक्रममा बेलायतमा रहेका पूर्वगोर्खा सैनिक तथा विभिन्न संसदीय निर्वाचन क्षेत्रबाट आएका गोर्खा भेट्रानहरूले पनि श्रद्धाञ्जली अर्पण गरेका थिए।

समारोहमा बेलायतका लागि नेपाली दूतावासका कार्यवाहक राजदूत विपिन दुवाडीसहित नेपाली प्रतिनिधि सहभागी थिए । गोर्खा सैनिकका योगदान र उनीहरूको बलिदानको सम्मानमा आयोजित कार्यक्रममा गोर्खा भेट्रान तथा विश्व कीर्तिमानी पर्वतारोही हरि बुढामगर र बेलायतको चेल्सी पेन्सनर्समा आबद्ध पहिलो गोर्खा हरकमान गुरुङ पनि सहभागी थिए।

त्यसैगरी रिडिङकी लेबर काउन्सिलर प्रतीक्षा गुरुङ, मेडवेककी पूर्वमेयर तथा बेलायतमा नेपाली मूलकी पहिलो महिला मेयर निना गुरुङ, बेलायत–नेपाल सोसाइटीका अध्यक्ष तथा पूर्वगोर्खा कमान्डिङ अफिसर लेफ्टिनेन्ट कर्णेल (अवकाशप्राप्त) निक हिन्टनलगायत सहभागी थिए।

समारोहमा मार्गरेट मुलाने, लिभ बेली, लरेन एडवाड्र्स, जेन क्राफ्ट, म्याट रोडा, लुई फ्रेन्च, मार्क फ्रान्स्वा, लुक मर्फी, एलेक्स ब्रुअर, जोडी गोस्लिङ, अबेना ओपोङ–असारे, ड्यानी बिएल, युआन याङ, टोनी भन, डेभिड च्याडविक र एलेक्स बेकरलगायत बेलायती सांसद उपस्थित थिए।

स्मृति समारोहपछि नेपाली प्रतिनिधि मनीष झा, कार्यवाहक राजदूत विपिन दुवाडी र अन्य पाहुनालाई बेलायती संसद् भवनमा लगिएको थियो । त्यहाँ उनीहरूले बेलायतका भेट्रान्स मन्त्री क्याल्भिन बेलीलाई भेटेका थिए ।

नोभेम्बर महिना बेलायतमा युद्धमा ज्यान गुमाएका सैनिकहरूको सम्झना गर्ने विशेष समयका रूपमा मनाइन्छ । यस अवधिमा गोर्खा सैनिकसँग सम्बन्धित विभिन्न कार्यक्रम आयोजना हुँदै आएका छन् । समारोहको अघिल्लो दिन क्याटरिकमा नयाँ गोर्खा भर्ती भएका सैनिकहरूको पासिङ परेड आयोजना गरिएको थियो ।                                                                                                                                                    

आगामी आइतबार सेवारत सैनिक तथा भेट्रानहरूले बेलायतका राजा र रानीको उपस्थितिमा आयोजना हुने वार्षिक स्मृति कार्यक्रममा सहभागी हुने कार्यक्रम रहेको आयोजकले जनाएको छ । गोर्खा सैनिकहरूले बेलायती सेनामा पुर्‍याएको योगदानको स्मरण तथा पूर्वसैनिकहरूको सम्मानमा नोभेम्बर ११ सम्म विभिन्न कार्यक्रम आयोजना हुनेछन् ।

प्रकाशित मिति: १४:०७ बजे, शुक्रबार, कात्तिक २०, २०८३