Kathmandu Press

कांग्रेस, पात्र र प्रवृत्ति : नेतृत्वको खुट्टा काटेर अग्लो देखिने भ्रम

कांग्रेसको आन्तरिक सन्तुलनकै कुरा गर्ने हो भने १४औं महाधिवेशनमा दुई महामन्त्री निर्वाचित हुने सुनिश्चितता सभापति देउवाकै लचकताको परिणाम थियो । तर यही लचकतालाई कमजोरीका रूपमा अपव्याख्या गर्ने काम भइरहेको छ।
कांग्रेस, पात्र र प्रवृत्ति : नेतृत्वको खुट्टा काटेर अग्लो देखिने भ्रम

कांग्रेस महामन्त्री गगन थापाले पछिल्लोपल्ट संस्थापन इतरका नाममा पार्टीका समानान्तर अभियान चलाउँदै आएको एउटा समूहलाई कार्यक्रममै पुगेर फेरि एकपल्ट ढाडस दिए। बरु त्यो कार्यक्रममा नेता डा. शेखर कोइरालाले जान अस्वीकार गर्दै सुझबुझ अपनाए। अन्तर्यमा समानान्तर अभियानको त्यो ‘प्लेटफर्म’लाई विधानले चिन्दैन। सारमा त्यो कांग्रेसका नाममा गरिएको समानान्तर गतिविधि नै हो।

एउटा अवैधानिक संस्थामा पुगेर महामन्त्री थापाले फेरि पनि आफ्नै पार्टी र सरकारमाथि औंला ठड्याए। कांग्रेसभित्र विधि, विधान र पद्धतिको भाषण गरेर नथाक्ने थापा पार्टीमा  महामन्त्रीको पदीय जिम्मेवारी बिर्सेर त्यहाँ पुगेको प्रकरणले यतिबेला नैतिकतामाथि गम्भीर प्रश्न खडा गरिदिएको छ। त्यो कार्यक्रममा अझै एक कदम अघि बढेर उनले कांग्रेसका सबै मन्त्री फिर्ता बोलाएर दुई अढाइ वर्ष समाजवादी मोर्चालाई सरकार चलाउन दिनुपर्ने कुरा राखेको समाचारहरू सञ्चारमाध्यममार्फत बाहिरिएका छन्।

यति मात्र नभई कांग्रेसको टिकट वितरण गर्ने संसदीय बोर्डसमेत खारेज गर्नुपर्ने माग पनि गरेको सुन्नमा आएको छ। कांग्रेस नेतृत्वको नियमित आलोचना त महामन्त्री थापाको नियमित ‘रुटिन’ नै भइहाल्यो। कांग्रेस महामन्त्री थापाका पछिल्ला सम्बोधनहरू सरकार मात्र नभई कांग्रेस नेतृत्वप्रति झन्झन् उग्र हुँदै गएको देखिन्छ। अझै आश्चर्यपूर्ण त यो छ, बाहिर आफ्न नेतृत्वविरुद्ध भाषण फुकेर बदख्याइँमा जत्ति उत्रेको देखिन्छ, त्यसको एक अंश पनि विरोधी पार्टीको आलोचना गरेको सुनिँदैन।

Hardik ivf

संसदीय लोतकन्त्रिक प्रणालीमा विरोध र आलोचना गर्न नपाइने होइन, पाइन्छ तर एउटा जिम्मेवार नेतासँग पार्टीको अनुशासन र मर्यादा अपेक्षित हुन्छ। घरभित्र गर्नुपर्ने कुरा बाहिरबाहिर गीत गाएर हिँड्दा त्यसले क्षणिक रोमाञ्च त देला तर पार्टीको दीर्घकालीन हित गर्दैन। त्यो केवल सस्तो ‘हिरोइजम’मा सीमिति हुन्छ।

अहिलेको कुरा होइन, जब मंसिर ४ को आम निर्वाचनमा कांग्रेस ठुलो पार्टी भएर गठबन्धन सरकार बन्ने परिस्थिति निर्माण हुँदै थियो, थापाको एक सूत्रीय रटान अर्कै थियो, ३२ सिटेलाई प्रधानमन्त्री दिनुहुँदैन। अर्थात्, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई सरकारको नेतृत्व छाड्न नहुने दबाब हुने गथ्र्याे। ठुलो दलको हैसियतमा पार्टी सभापतिको नाताले सरकारको नेतृत्वका लागि दाबी गर्दैगर्दा बीचमा गठबन्धन टुट्न पुग्यो। गठबन्धन भत्किनुमा खासगरी एमाले अध्यक्ष केपी ओलीको द्वैध चरित्र र धुत्र्याइँ नै प्रमुख कारण रहेको तथ्य घामजत्तिकै छर्लङ्ग छ।

एकातिर ३२ सिटेलाई प्रधानमन्त्री दिन हुन्न पनि भन्ने, सरकारको नेतृत्वको दाबी गरेका कारण गठबन्धन भत्किएपछि फेरि ‘गठबन्धन जोगाउन सकेन’ भन्दै पार्टी सभापतिको विरोध गर्ने। यस्तो द्वैध चरित्र देखाप¥यो। बरु गगन थापाहरूले त चुनावअघि गठबन्धन पनि गर्नुहुँदैन भनेका हुन्। यदि देउवाको बलबुतामा गठबन्धन नगरेको भए आज कांग्रेसको स्थिति के हुन्थ्यो ? अनुमानसम्म गर्न सकिन्छ। यति मात्र नभई कांग्रेसकै रणनीतिक चातुर्यताको उपज पछिल्लो समय गठबन्धन पुनः कायम भएपछि पनि पार्टी खत्तम भयो, सकियो भनेर फेरि पनि विरोध। यस्तो प्रवृत्तिले  पार्टीभित्र अलमल र द्विविधाको स्थिति मात्र ल्याउने गरेकोे छ।

कांग्रेस संसदीय दलको निर्वाचनकै सन्दर्भ हेरौं। आफूले संसदीय दलको नेतामा नमिठो हार बेहोरेपछि पनि अझै प्रधानमन्त्री म हुन्छु, मेरो पुस्ता हुनुपर्छ भनेर विरोधाभासपूर्ण कुरा गर्दै हिँडेको अवस्थासमेत देखियो। यति मात्र होइन, थापाजीले देउवालाई विस्थापित गर्दै आफू प्रधानमन्त्री हुने कुरा गर्दा कांग्रेस उपसभापतिलाई समेत नजरअन्दाज गरेको देखिन्छ। जबकि उपसभापतिहरू स्वयं पार्टीभित्र लामो त्याग र योगदान गरेका नेताहरू हुन््। यहाँ कुरा देउवाको मात्र होइन, यी पुस्तालाई अनदेखा र अवमूल्यनसमेत भइरहेको छ।

सरकार सञ्चालनमा एउटा सहमति र समझदारी भई एउटा गतिमा अघि बढिरहेका बेला फेरि बिचैमा हुँडलो मच्चाउँदा त्यस्को फाइदा कांग्रेसलाई हुन्छ कि एमाले वा प्रतिगामी शक्तिलाई? यस्ता विषयमा पार्टीभित्र गम्भीर छलफल गर्न कसले रोकेको छ? बाहिरबाहिर कुर्लेर हिँड्दा ठोस निष्कर्ष दिँदैन। एउटा जिम्मेवार नेताको जगहँसाइ मात्र हुन्छ। पार्टीको आन्तरिक विषयमा मात्र होइन, फेरि सरकार सञ्चालनको विषयमा पनि पार्टी नेतृत्वलाई नै दोष। एकपटक होइन, दुईपटक होइन पटकपटक। अब दुईवटा विकल्पमध्ये एउटा विकल्प रोज्नुपर्ने भएको छ। कांग्रेसको बोली गगनले बोल्ने कि गगनका कुरा कांग्रेसले बोक्ने भन्ने अहं सवाल खडा भएको छ।

सबैलाई थाहा छ, कथित समानान्तर अभियान कांग्रेसलाई केवल व्यक्तिगत महत्वकांक्षा पूरा गर्ने साधन बनाउन उद्यत भएको एउटा झुन्डबाहेक केही होइन। त्यसको कामै पार्टी नेतृत्वलाई कमजोर बनाउने र विरोधका शृंखला चलाउने एक सूत्रीय रणनीति मात्र हो। त्यही टुकडीमा पुगेर महामन्त्री साक्षी बसिदिने कर्म भएको छ। यसले के कांग्रेसलाई फाइदा हुन्छ? त्यो झुन्डको अर्जुनदृष्टि भनेकै कांग्रेसमा देउवा सफल भए भने हाम्रो औचित्य सकिन्छ भन्ने दृष्टिकोण नै हो। यथार्थमा यो टुकडी सभापति देउवा र कांग्रेसको असफलतामा आफ्नो भविष्य सुनिश्चित देख्छ।

पार्टीमा बहुमतको निर्णय नमान्ने, बैठकका गोप्य कुरा पत्रकारलाई भनेर ‘हिरोइजम’ देखाउने, सिनियरको सम्मान गर्न नजान्ने, पार्टीको कुनै पनि निर्णय प्रक्रिया नपर्खीकन बाह्य प्रभावमा चर्को बोल्नेजस्ता प्रवृत्तिमा झन्झन् बढोत्तरी भइरहेको छ। नेतृत्वकाको विकल्प खोज्न भन्दै विभिन्न ठाउँमा पटकपटक भेला र छलफल गरेको घटनाक्रमले पनि यो तथ्यलाई पुष्टि गर्छ। ती भेला र छलफलमा कहिल्यै विचार नीति र कांग्रेस बलियो बनाउने रणनीति देखिएन। त्यहाँ पार्टी सुदृढीकरणको विषयमा समीक्षा, विमर्श र छलफल भएको हुँदैैन। खाली देउवालाई असफल करार गर्ने हिसाबले नेतृत्व छोड्नुपर्छ भनेर हुँइयाँ पिट्ने काम मात्रै देखिन्छ। एकोहोरो विरोधी स्वर सुन्दासुन्दा अब त कांग्रेस कार्यकर्ताहरू पनि अवाक् हुन थालेछन् क्यारे, सामाजिक सञ्जालमा लेख्न थालिसके, ‘गगनजी ! कहिलेकाहीँ त केपी ओली र प्रचण्डको विरोधमा पनि समय खर्चिनू नि!’

पदीय हैसियत प्राप्त गरेर मात्र हुँदैन, पदीय गरिमा र मर्यादा राख्ने जिम्मा पनि उसैको हो। त्यो धरातल आफैंले निर्माण गर्नु आवश्यक छ। यसका लागि उत्तेजना, भावावेग र आक्रोश होइन, आत्मानुशासनको खाँचो छ। चरम महत्वाकांक्षाको रोगले राजनीतिक यात्रालाई डिलतिर लैजान्छ भन्ने कुरा समयमै बुझ्न ढिलाइ गर्नुहुँदैन। अहिले पार्टीको साख जोगाएर प्रतिष्ठा कायम गर्न सबैबाट रचनात्मक सहयोगको खाँचो छ न कि विरोधका लागि विरोध।   

तथ्यहरू भन्छन्, पार्टीभित्र झन्डै दुई तिहाइ संस्थापन समूहकै रहे पनि हरेक निर्णय पूर्ण सहमतिकै आधारमा हुँदै आएको छ। कांग्रेसको आन्तरिक सन्तुलनकै कुरा गर्ने हो भने १४औं महाधिवेशनमा दुई महामन्त्री निर्वाचित हुने सुनिश्चितता देउवाकै लचकताको परिणाम थियो। तर देउवाको यही लचकतालाई कमजोरीका रूपमा अपव्याख्या गर्ने काम भइरहेको छ।

यो समूहले देउवाबाट पार्टी चलेन त भन्छ तर देउवाको नेतृत्वमा कांग्रेस पार्टी एकढिक्का रहेको यथार्थचाहिँ देख्दैन। स्थानीय, प्रदेश र प्रतिनिधिसभाको निर्वाचनमा कांग्रेस सभापति देउवाकै जोडबलमा गठबन्धन बनेको पनि सत्य हो। यसैको परिणामस्वरूप स्थानीय, प्रदेशदेखि संघसम्मै कांग्रेस दोस्रोबाट पहिलो पार्टी हुन सम्भव भएको छ।

२०७४ मा २३ सिट जितेको कांग्रेस अहिले प्रत्यक्षतर्फ ५६ सिट जित्ने अवस्थामा पुगेको छ। प्रत्यक्ष र समानुपातिकमा ८८ सिट सुरक्षित गर्न सफल छ। स्थानीय तह निर्वाचनमै पनि कांग्रेसले एमालेको किल्ला ढाल्दै सयभन्दा बढी स्थानीय तहमा जितेको छ। के यो जित नेतृत्वको हिसाबले देउवालाई जनताले गरेको अनुमोदन होइन? इतिहासप्रति इमानदार हुन सकिएन भने स्पष्ट गन्तव्य पहिल्याउन सकिँदैन।

कांग्रेसको भूमिका प्रभावकारी भएन भनेर आलोचनामा उत्रँदै गर्दा सभापतिलाई कहिले रचनात्मक सहयोग मिलेको छ भन्नेतर्फ पनि ध्यानदृष्टि दिनु जरुरी छ । अनि महामन्त्रीका रूपमा निर्वाचित भएदेखि आफ्नो तहबाट पार्टीका लागि केकति काम भयो भनेर पनि आत्मसमीक्षा गर्नु आवश्यक छ।

प्रकाशित मिति: ११:४८ बजे, शुक्रबार, असोज १९, २०८०
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्