Kathmandu Press

पूर्वोत्तर भारतमा ज्युँदा भानु 

नेपाली राष्ट्रिय पोसाकमा सजिएर भानु जयन्ती मनाउन निस्कने दार्जिलिङेहरू वरिष्ठ साहित्यकार लिलबहादुर क्षेत्रीले १९५५ ताका नै भारतमा भानु जयन्ती मनाउन सुरुवात गरेपछि दार्जिलिङ, सिक्किम मात्रै नभई पूर्वोत्तर भारतमा यस दिनले निकै प्रभाव पाउन थालेको पाइन्छ। 
पूर्वोत्तर भारतमा ज्युँदा भानु 

पछिल्लतिर माहाँकाल बाबा (महाँकाल बाबाको मन्दिर) विराजमान छन्। अघिल्तिर भानु (भानुभक्त आचार्यको पूर्णकदको सालिक) उभिएका छन्। भानुअगाडि भानुकै शिष्यहरू छन्। असारे झरीले चौरस्ता भिजेको छ। चौरस्ता ओसिलो भएको छ। दौरा–सुरुवाल, ढाकाटोपी अनि चौबन्दी चोली र फरियाले नरनारीलाई सिँगारेको छ। लाग्छ, कुनै महान् चाड हो अर्थात् बडादसैं नै हो।

असार २९ को विहानीमा दार्जिलिङको चौरस्तामा उभिएर कल्पना गरौं, यहाँ यस्तै हुन्छ। कोही विशिष्ट व्यक्तिको आगमनमा भब्य समारोह हुँदैछ। बिहानीको झिसमिसेदेखि नै पहाडकी रानीलाई भुइँ कोहिरोले गमक्कै छोप्दा सिमसिमे पानीले लुथु्रकै भिज्नेछन्। टहटह घाम लागे चौरस्ता घमाइलो हुनेछ। साहित्यप्रेमीहरू भानु जयन्तीको दिन चोकमा खचाखच भरिन्छन्। तामझामका साथ आयोजकहरू तयारीमा तल्लीन हुनेछन्। 

भानुको सालिकलाई बेहुली झैं सिगारिनेछ। सयौें संख्यामा भेला हुने नेपालीभाषी भानु जयन्ती मनाउन बेफुर्सदिला हुनेछन्। कुनै उल्लासमय चाड वा उत्सवजस्तो हुनेछ असार २९। नेपाली भाषा साहित्य, संगीत र संस्कृति भनेपछि मरिमेट्ने दार्जिलिङेहरूले नेपालको एउटा कुनामा जन्मेका भानुभक्तको जन्म जयन्ती यत्रो उल्लासमयका साथ मनाइउँछन्। चुँदी रम्घामा मात्र होइन राजधानी काठमाडौंमा पनि भानुलाई स्मरण भव्य समारोह कमै हुन्छन्।

Hardik ivf

तर चौरस्तालाई पानीझरी, हावाहुरी, घाम बतासले छेक्ने छैन। हुस्सुले कञ्चनजंगालाई छोपेपनि कञ्चनजंगा हाँस्नेछ। नेपाली भाषा, साहित्यका पहरेदार दार्जिलिङेहरूको मन चंगाझै उड्नेछ। रामायणको श्लोकलाई भाका हालेर गाउँदै पाकाहरू हौसिरहेका हुनेछन्। खंैजडी र अन्य बाजागाजामा चौरस्ता साँच्चै गुन्जायस हुनेछ। 

सायद माथिको सन्दर्भ जोड्नु यात्रा स्मरण गर्न खोजिएको मात्र होइन। यो त गोर्खाली अर्थात् नेपालीभाषीले देखाएको गौरवमय उपस्थितिको प्रसंग हो। नेपाली जाति, साहित्य संस्कृतिमा एकताको प्रतीक मानिँदै आएका भानुभक्तको जन्मजयन्तीलाई लामो समयदेखि भारतीय नेपालीहरूले एकसूत्रमा बाँधि नै राखेका छन्।

प्रत्येक वर्ष चौरस्ता चोकमा भरिएका सयौं विद्यार्थी तथा साहित्य र भाषाप्रेमीहरूको भिडभाडपूर्ण जनमानसले नेपाली साहित्यलाई जगेर्ना गर्न नेपाल भन्दा पूर्वोत्तर भारत नै नेपालीहरूका लागि गन्तव्य बन्ने गरेको छ। त्यति मात्र नभएर सिक्किम, आसाम, मणिपुर, नागाल्यान्ड, सिलिगुढी पनि नेपाली भाषा साहित्यका क्षेत्रमा त्यति नै गणनामा आउँछन्।

नेपाली राष्ट्रिय पोसाकमा सजिएर भानु जयन्ती मनाउन निस्कने दार्जिलिङेहरू वरिष्ठ साहित्यकार लिलबहादुर क्षेत्रीले १९५५ ताका नै भारतमा भानु जयन्ती मनाउन शुरुवात गरेपछि दार्जिलिङ, सिक्किम मात्रै नभइ पूर्वोत्तर भारतमा यस दिनले निकै प्रभाव पाउन थालेको पाइन्छ। 

आठ दशक अघिदेखि नै मनाउन थालिएको भानु जयन्ती हालसम्म आइपुग्दा नेपाली साहित्यले पूर्वोत्तर भारतमा ठुलो फड्को नै मारिसकेको छ। हिजोआज साहित्यिक कार्यक्रम साथै नेपाली उपन्यास, कविता, निबन्धसंग्रहहरू दार्जिलिङ–सिक्किमतिर नै बढी प्रकाशित भइरहेका छन्।  साहित्यिक पत्रपत्रिका त अनगिन्ति नै छन्। गोर्खाल्याण्ड आन्दोलनमा नेपाली भाषाका लागि उठाइएका सशक्त आवाजहरू सन् १९९२ मा भारतीय संविधानमा नेपाली भाषाले स्थान पाउनु पनि भानु जयन्तीवाट प्रस्फुटित भएको प्रेरणा नै मान्छन् दार्जिलिङेहरू।  

संसारको जुनसुकै कुनामा पुगे पनि नेपाली भाषा र जातिको पहिचानका निम्ति दार्जिलिङेहरू मरिमेट्छन्। नेपाली भाषा,  साहित्य, संगीत, संस्कृतिले दार्जिलिङले ठुलो छलाङ नै मारिसकेको छ। दार्जिलिङ सहर भित्र बसेर लिला लेखनमा सक्रिय वरिष्ठ साहित्यकार दिवगंत इन्द्रबहादुर राई यहाँको साहित्यलाई डोहोर्‍याउने एक सहयात्री नै हुनुहुन्छ। राईको साहित्यिक योगदान युवा पुस्ताका लागि मार्गदर्शन छ। तर इन्द्रबहादुर मात्र हैन डा. लक्कीदेवी सुन्दास, मार्टिन माइकल, विष्णुकुमारी बाइवा (पारिजात), लैनसिंह वाङदेल, अगमसिंह गिरी, राजनारायण प्रधान साथै हायमानदास राई, बिन्दिया सुब्बालगायत पनि दार्जिलिङको साहित्यलाई विश्वमा स्थापित गराउने नाम हुन्। त्यसबाहेक दार्जिलिङ र नेपाललाई कर्मथलो बनाउनेहरूले नेपाली साहित्य संगीतलाई थप उत्प्रेरणा दिइरहनुभएको छ।

तारानाथ शर्मा, अम्बर गुरुङ, गोपाल योञ्जन, अरुणा लामा, ईश्वर वल्लभ, रञ्जित गजमेरको नाम दार्जिलिङ पहाडले सधैं स्मरण गरिरहनेछ। शान्ति ठटाल, सुवास घिसिङ, कुन्ती मोक्तान, शिला मोक्तान तुलसी घिमिरे, श्रवण घिमिरे, शम्भु प्रधान, सुभद्रा सुब्बा दाहाल, इन्दिरा प्रसाई, दिव्य खालिङ, शरण प्रधान, जितेन्द्र बर्देवा, कर्म योञ्जन, उदय–मनिता सोताङ, निरुता सिंहदेखि प्रशान्त तामाङले नेपाली साहित्य, संगीत र चलचित्रमार्फत दार्जिलिङ पहाडको शिर उच्चो राख्न सक्नुभएको छ। उहाँहरूले देखाएको बाटो नयाँ पुस्तालाई प्रेरणा मिलेको छ। 

हुन त साहित्य सेवा गर्छु भन्नेलाई पूर्वोत्तर भारतका स्थानीय सरकारले खुला हृदयले सहयोग गरिरहेको तथा प्रतिभाहरूको प्रोत्साहित गरिरहेको छ। त्यसैले पनि यहाँको साहित्यप्रति मोह बढेको छ। दार्जिलिङ पहाडका सार्वजनिक भवन, बाटो, पाटी पौवाको नामकरण पनि प्रायः नेपाली साहित्यकारहरूकै नाम उल्लेख गरिएको पाइन्छ। यसले पनि साहित्यलाई माथि उठाएको छ। साहित्यकारकै नामबाट खोलिएका संघसंस्थाले नेपालीपन थप फराकिलो बनाइरहेको छ। तर यता भानुभक्तलाई चाहिँ नेपाली भाषा, साहित्य र जातिको पथप्रर्दशक नै मानिँदै आएको छ। 

प्रत्येक वर्ष भानु जयन्तीको दिन चौरस्ता चोकमा भानुभक्तको सालिक अगाडि देखिएको सक्रिय साहित्यकार तथा विद्यार्थीहरूको उल्लासमय भिड साथै दौरासुरुवाल र चौबन्दी चोलीमा सजिएकाहरूको स्वरबाट कविता तथा रामायण वाचनले अझ दार्जिलिङको साहित्यप्रतिको लगनशीलता र निरन्तरता हटेको रहेनछ भन्ने प्रस्ट देखिन्छ।

त्यसैले पनि भन्न सकिन्छ दार्जिलिङमा अझै भानु जीवित छन्। भानुले १८९८ मा रामायणको ‘बाल काण्ड’ लेख्न सुरु गरी १९१० सालमा तयार भएको कृति यतिबेला खण्ड–खण्ड भारतीय नेपालीभाषीले वाचन गरिरहेका छन्। श्रवण गरिरहेका छन्। श्लोक गाएर गोर्खाली हुनुमा गर्व गरिरहेछन्। 

दार्जिलिङेहरू अहिले पनि भन्छन्– अस्तित्वका लागि लडिएको गोर्खाल्यान्ड आन्दोलन त्यही नेपालीपनको रक्षाका लागि हो। अनि उनै भानुको योगदानलाई चिरस्थायी राख्नलाई हो। त्यसैले हरेक वर्ष गोर्खाल्यान्डको अस्तित्वका लागि र जातीय एकताका लागि रामायणको श्लोकसँगै चौरस्तामा गाइनेछ।

कालेम्बुङ चोकबजारमा भानुको जिवित इतिहास स्मरण गरिने छ। आसाम, सिलगुढी र सिक्किममा भानु टोपी पहिरिएर नेपालीपन झल्काइनेछ। प्रवासमा साहित्यले खुटकिलाहरू पार गर्दै जानु भाषा साहित्यको श्रीवृद्धिमा नेपाली शब्दकोश र साहित्यको प्रचार तथा भाषाको विकासमा योगदान पुर्‍याउनेलाई सम्मान तथा पुरस्कार राशि प्रदान गर्नु पनि एक हो। जसमा भारत सरकारले हाल पनि जगदब्बा पुरस्कार, अगमसिंह गिरी पुरस्कार, भानुभक्त पुरस्कार, साहित्य अकादमी पुरस्कारलाई निरन्तरता दिनु पनि दार्जिलिङको साहित्य फस्टाउँदै जानु मान्न सकिन्छ। पूर्वोत्तर भारतमा विकास हुदैं गएको नेपाली साहित्य नेपालसँग तुलना गर्न सकिँदैन।

त्यसैले अनुमान लगाउन सकिन्छ, असार २९ मा भानुको जन्मजयन्तीमा चौरस्तामा भेला भएका देशी–विदेशी साहित्यकारहरू यस वर्ष उसैगरी जम्नेछन्। रामायणका श्लोकहरूले चौरस्ता गुन्जयामान हुनेछ। हरेकजसो नेपाली साहित्यिक स्रष्टाका जन्मजयन्तीलाई प्रवासीहरूले उत्साहपूर्वक मनाउँदै आएका छन्। 

विभिन्न धर्म, जात, जातिमा विभाजित नेपालीलाई भाषाका माध्यमबाट एकताको सूत्रमा गाँसिन मद्दत गरेको भन्दै दार्जिलिङलगायत पूर्वोत्तर भारतमा भानु ‘नेपाली जातीय कवि’का रूपमा परिचित छन्। पहाडमा मात्र होइन तलतिर सिलिगुडी र डुवर्सतिर भानुको बेग्लै स्तुतिगान गाइन्छ। आसाम मेघालयतिर स्लोक बाचन गरिन्छ।

विभिन्न ठाउँमा स्थापना भएका भानु जनपुस्तकालय र पूर्ण कदको सालिक यसका उदाहरण हुन। व्यक्ति तथा संस्थाको क्रियाशीलताले नेपालीत्व दिनानुदिन फराकिँदै गएको छ। हुन त भानुको सम्मान स्वरुप दार्जिलिङ र कालिम्पोङमा मात्र होइन सिलगढी, सिक्किम, मणिपुर, शिलाङ, गुवाहाटीतिर पनि सालिक निर्माण गरिएको छ। नक्सालवाडी, खर्साङदेखि सिक्किमको नाम्ची, रिनाक, सिङ्ताम, सोरेङ, गेजिङ साथै आसामका आधा दर्जन ठाउँमा भानुका सालिक छन्। त्यहाँ भानु जयन्तीमा नेपाली भाषा, साहित्य र जातीय एकताका लागि वृहत कार्यक्रम पनि हुने गरेका छन्।

ब्रिटिसको नजरमा परेको र ब्रिटिसले कुँदेको दार्जिलिङ, खर्साङ, कालेम्बुङ पहाड जस्तोसुकै परिस्थितिमा पनि नेपाली परम्परा, संस्कृति, भाषा र स्वअस्तित्वको लडाइँमा सधैं अडिग छ। विभिन्न धर्म, जात, जातिमा विभाजित नेपालीलाई भाषाका माध्यमबाट एकताको सूत्रमा गाँसिन मद्दत गर्ने विराटभाव समेटिएको भानुको चिनारी पहाडवासीका लागि आफैंमा गौरव बनिरहेको छ। जसले भारतभर छरिएका नेपालीभाषी गोर्खालीहरू एकताबद्ध बनाएको छ।

त्यसैले स्वगौरव दार्जिलिङ उदाहरणीय वा प्रशंसनीय मात्र होइन, अनुकरणीयसमेत बनेको छ। पुर्खाले भाषा, साहित्य, संगीत र कलामा रोपेको बीउ जगेर्ना गरेर नेपालीपनको झन्डा उचालिरहेको छ दार्जिलिङ। उसैगरी साथ दिइरहेको छ सिंगो भारत।

(गाैतम नेपाल प्रेस युनियनका उपमहासचिव हुन्।)

प्रकाशित मिति: १८:२० बजे, शुक्रबार, असार २९, २०८०
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्