Kathmandu Press

उपनिर्वाचन : कांग्रेसलाई सुधारको गतिलो अवसर 

यसकारण पुरानो ऐतिहासिक पार्टी कांग्रेसले परम्परावादी चिन्तनमा बदलाव ल्याउनुपर्ने जरुरत छ। यथास्थितिभन्दा माथि उठ्न नसके निर्वाचनमा वितृष्णा भाव प्रस्फुटन हुनेछ। यसकारण आफूलाई बदल्न कांग्रेस तयार हुनुपर्नेछ। पुरानो पुस्ता मात्र होइन, युवा पुस्ता पनि सच्चिएर आउनैपर्दछ।
उपनिर्वाचन : कांग्रेसलाई सुधारको गतिलो अवसर 
Hardik ivfHardik ivf

उपनिर्वाचनको मतपरिणाम कांग्रेसका लागि अनपेक्षित बनेको छ। तनहुँ १ र चितवन २ मा राष्ट्रिय स्वतन्त्र पार्टीले कांग्रेसलाई धक्का दिएको छ। आम निर्वाचनको मुखमा खुलेको नयाँ पार्टीले जित निकाल्दै भोलीका लागि चुनौती खडा गरेको छ।

यी दुवै निर्वाचन क्षेत्र कांग्रेसका लागि ऐतिहासिक वर्चस्व रहेका ठाउँ हुन्। चितवनमा त झनै ठुलो क्षति बेहोर्नुपरेको स्थिति छ। सिंगो सत्ता गठबन्धनबाट साझा उम्मेदवार हुँदा पनि हार बेहोर्नु भनेको कांग्रेसका लागि अप्रिय अवस्था नै हो। 

एक छिनका लागि मन बुझाउन निर्वाचन प्राविधिक पक्ष हो, एउटाले जित्ने र अरू धेरैले हार्नु स्वाभाविक प्रक्रिया भन्न सकिएला। तर तनहुँ र चितवनको अवस्थाले कांग्रेसलाई ठण्डा दिमागले सोच्नुपर्ने बनाएको छ। यद्यपि चितवन र तनहुँमा कांग्रेसका उम्मेदवारहरु तुलनात्मक रूपमा कमजोर थिएनन्।

भएकामध्ये सबैभन्दा राम्रो विकल्प कांग्रेसले दिएको थियो। तनहुँको अवस्था हेर्दा कांग्रेसले मंसिर ४ को दाँजोमा आफ्ना मत सुरक्षित राख्न सफल भएको भनेर मात्र पुग्दैन। कांग्रेस एक्लैले जितिराखेको ठाउँमा सिंगो सत्ता गठबन्धन लाग्दा पनि हार भयो। स्वतन्त्र र अरु पार्टीका मतदाता आकर्षित गर्न असफल भएकै हो। यस्को फाइदा रास्वपाले उठायो। 

उपनिर्वाचन परिणामले यथास्थिति र परम्परागत ढर्रामा परिवर्तन खोजेको छनक मिल्छ। यस्लाई मतदाताको मौन विद्रोहका रुपमा बुझ्न ढिलाइ गर्नुहुँदैन। अब राणा, पञ्चायत र राजा ज्ञानेन्द्रविरुद्ध लडेको, लोकतन्त्रका लागि जेलनेल र यातना भोगेको भन्ने कुराले मात्र नागरिकको मन जित्न सकिँदैन। उपनिर्वाचनसम्म आइपुग्दा यि कुनै पनि घटनाक्रमलाई नदेखेका र नभोगेका नयाँ पुस्ताको मतमा बाहुल्य छ।

तत्काल को कति योग्य र लोकप्रिय छ भन्ने कुराले अर्थ राख्दछ। ऐतिहासिक विरासतले मात्र अब धान्दैन। नयाँ पुस्ताले आफनो अनुहार उम्मेदवारमा खोज्दछ। देशभित्रै र बाहिरबाट पनि युवाहरूले बलियो हस्तक्षेप देखाएका छन्। यो तथ्यलाई हेक्का राख्दै गंभिर समिक्षा नभए अहिले भन्दा झन् दुरुह अबस्था पनि आउन सक्छ। 

यसरी उपनिर्वाचनको परिणामलाई भावी राजनीतिमा युवा पुस्ताको खोजीका रुपमा बुझ्नु आवश्यक छ। अर्को राजनीति सत्तामुखी नभएर, परिवर्तनमुखी हुनुपर्छ भन्ने सन्देश पनि हो। नागरिकले अहिलेको उकुशमुकुश र विरक्तिबाट मुक्ति खोजेका छन्।

जीवनस्तरमा सुधार चाहेका छन्। नयाँ पुस्ताले ठूलो विद्रोह वा क्रान्ति केही खोजेको होइन, अहिलकै लोकतान्त्रिक प्रणालीभित्र नयाँपनको आभाष मात्र चाहेको हो। मतदाताले विगतमा सबै पार्टीका युवालाई उल्लेख्य संख्यामा जिताएर पठाउनुले पनि यही कुराको म्यासेज दिन्छ। सचेत मतदाता सुधारात्मक बाटोमा हिंड्न खोजेका छन्। अब कांग्रेस मात्र होइन, जुनसुनै पनि दलको कार्यसम्पादन र एजेण्डाभन्दा पनि उम्मेदवारको अनुहार महत्वपूर्णवाला छ। फेरिएका मतदाताले सशक्त हस्तक्षेप गर्दैछन्। 

यसकारण पुरानो ऐतिहासिक पार्टी कांग्रेसले परम्परावादी चिन्तनमा बदलाव ल्याउनुपर्ने जरुरत छ। यथास्थितिभन्दा माथि उठ्न नसके निर्वाचनमा वितृष्णा भाव प्रस्फुटन हुनेछ। यसकारण आफूलाई बदल्न कांग्रेस तयार हुनुपर्नेछ। पुरानो पुस्ता मात्र होइन, युवा पुस्ता पनि सच्चिएर आउनैपर्दछ।

मिठा चकलेटी कुराले मात्र चल्ने अवस्था अब रहेन। विग्रेको कुरा जति सबै नेतृत्वको टाउकोमा हालेर मात्र पार पाईंदैन। समाधान सहितको विकल्प दिन सक्नुपर्छ। यस्का लागि पहिले त सबैमा त्याग र उदार मनको खाँचो छ। होइन, नबदलिने हो भने मतदाताले मत बदल्नेछन्। सम्हालिएर अघि बढ्न उपनिर्वाचनलाई राम्रो शिक्षाका रुपमा ग्रहण गर्नुपर्ने हुन्छ। उदात्त छातीका साथ बदलिन तयार हुनुपर्दछ। 

उपनिर्वाचनले कांग्रेस मात्र होइन, परम्परावादी सबै पार्टीलाई सम्हालिएर अघि बढ्न यसै पनि दबाब परेको छ। निर्वाचनमा उम्मेदवारका लागि टिकट दलले दिने भए पनि मत त नागरिकबाटै लिनुपर्छ। अबका आम मतदाताले कुनै खास पार्टी पार्टी वा नेतालाई नचिन्ने अवस्था आउँदैछ। उम्मेदवार मन परे मत दिन्छन्, नत्र दिँदैनन्। पार्टीबाट लादिएको जस्तो पनि उम्मेदवारले नागरिकको मन जित्न सक्दैन। विज्ञता र भिजनसहितको उम्मेदवार चुनावी मैदानमा उतार्नुपर्नेछ। 

उपनिर्वाचनको सन्देशलाई घोत्लिएर अहिल्यै मनन गर्न ढिलाइ भएमा भोलि पछुतो मात्र हात लाग्ने निश्चित छ। जनताले के चाहन्छन् ? के मागिरहेका छन् ? किन परिस्थितिमा बदलाब आइरहेको छ ? भनेर समयको स्पन्दनलाई सुन्न सकिएन भने मतदाताले सजाय दिनेछन्। विकल्प भएर अरुले ठाउँ लिनेछन्। रास्वपा वा अर्को कुनै दल वैकल्पिक शक्तिका रूपमा आउँदा सबै भन्दा क्षति ठूलो दल कांग्रेसलाई नै हुनेछ। 

अर्को कुरा गठबन्धनमा भागबन्डा मिलाउने नाममा क्षमतावान् र आसलाग्दा व्यक्ति पाखा परेको अवाज पनि जनस्तरमा उठेको छ। यसैले पनि मतदाताले रास्वपाका उम्मेदरवारलाई विकल्पका रुपमा हेरे। तनहुँ र चितवन मात्र होइन, ठूला शहर काठमाडौँ र ललितपुरले पनि यही अवस्थाको संकेत गर्दछ। अहिले रास्वपाको जित सबैतिरको असन्तुष्टिको संग्रह नै हो। प्रश्न ‘ब्रान्ड’ जोगाइराख्न बुढादेखि युवा नेतासम्म सुधारको मार्गमा जाने कि नजाने भन्ने हो। कार्यशैलीमा सुधार ल्याउन उपनिर्वाचन राम्रो अवसर बन्न सक्छ। 
 

प्रकाशित मिति: १८:२३ बजे, बुधबार, वैशाख १३, २०८०
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्
थप समाचार
‘जब चिनी तीतो हुन्छ’
‘जब चिनी तीतो हुन्छ’