बालबालिकाको व्यक्तित्व विकासमा थिएटर मल
६ देखि १४ वर्ष उमेर समूहका २२ बालबालिका ‘लिटिल थिएटर ग्यारेज’ कार्यशालामा सहभागी छन्। चैत २२ मा सुरु भएको कार्यशाला वैशाख ५ सम्म चल्नेछ । बालबालिकामा नाट्य प्रतिभा मात्र नभई अन्य विविध क्षमता उजागर गर्ने उद्देश्य कार्यशालाले लिएको छ ।काठमाडाैं, वैशाख २ : एक व्यक्ति बालबालिकालाई गोलो घेरामा उभिन लगाउँदै थिए। उनले आफूले ताली बजाउँदै–रोक्दै सुल्टोउल्टोबाट बालबालिकालाई अंक गन्ती गर्न लगाए। यो क्रम करिब १० मिनेट चलिरह्यो। त्यसपछि उभिएकै स्थानमा उनीहरूलाई बस्न लगाई जानेसुनेको कथा पालैपालो भन्न लगाइयो।
कथा भन्नेमा काठमाडौंको मैतीदेवी बस्ने १४ वर्षीय अर्वेन खड्का पनि थिए। उनले आफूले सुनेको ‘अल्छी केटी र मेहनेती केटी’को कथा सुनाए। त्यसपछि काठमाडौं शंखमूल बस्ने ६ वर्षीय श्याम केसीले पनि आफूले जानेको कथा भने। त्यसपछि अरू चारजनाले आफ्नै पाराले कथा सुनाए।
कथा सुनाउने क्रम रोकेर ती व्यक्तिले ‘सिन्ड्रेलाकोे कथा’ सुनेको छ कि छैन भनी सोधे। धेरैले सुनेको बताए। कतिपयले कथा नसुनेको प्रतिक्रिया जनाए। सुनेका र नसुनेकालाई मिसाएर ६/६ जनाको समूह बनाई सिन्ड्रेलाको कथाबारे आपसमा छलफल गर्न लगाइयो। केहीबेरपछि पात्र चयन गरेर अभिनय गर्नुपर्ने जानकारीसमेत उनीहरूलाई दिइयो। त्यसपछि सबैजना सामूहिक छलफलमा केन्द्रित भए।
केही दिनअघि थिएटर मल र्कीर्तिपुर रंगमञ्चमा दिउँसो २ बजेतिर पुग्दा देखिएको दृश्य हो यो। बालबालिकालाई विभिन्न निर्देशन दिइरहेका व्यक्ति हुन् सोही थिएटरका संस्थापक एवं कला निर्देशक केदार श्रेष्ठ। सो थिएटरमा यतिखेर बालबालिकाका लागि कार्यशाला सञ्चालन भइरहेको छ। ६ देखि १४ वर्ष उमेर समूहका २२ जना बालबालिका त्यहाँ नाटक सिकिरहेका छन्। ‘लिटिल थिएटर ग्यारेज’ नाम दिइएको कार्यशाला गत चैत २२ गते सुरु भएको थियो। कार्यशाला यही वैशाख ५ गतेसम्म चल्नेछ।
बालबालिकालाई नाटक सिकाउनुको उद्देश्य
बालबालिकामा रहेका नाट्य प्रतिभाका साथै अन्य विभिन्न क्षमतालाई उजागर गर्ने उद्देश्यले थिएटर कार्यशाला भइरहेको कला निर्देशक श्रेष्ठले बताए। कार्यशालाले विभिन्न कलालाई अगाडि बढाउन सहयोग गर्ने उनले सुनाए। ‘थिएटर वर्कसपमा बालबालिकालाई अभिनय मात्र सिकाइन्न, कथा वाचन, संगीत, नृत्य, खेल, पेन्टिङलगायत सीप पनि सिकाइन्छ।’
नयाँ कुरा सिक्न भन्दै थिएटर मलमा भर्ना भएका २२ जनालाइ दुई साताभित्र अभिनयमा पोख्त बनाउन नसकिए पनि सो अवधिमा सिकेका कुराले उनीहरूको व्यक्तित्व विकासमा सहयोग पुग्ने उनले बताए । उनका अनुसार सबै बालबालिका एकै प्रकृतिका हुँदैनन्।
बालबालिका कोही लजालु, कोही चकचके, कोही कम बोल्ने खालका हुन्छन्। जसरी हरेक व्यक्तिअनुसार व्यवहार फरकफर भएजस्तै हरेक व्याक्तिपिच्छे प्रतिभा पनि बेग्लाबेग्लै रहने उनी बताउँछन्। ‘थिएटर वर्कसपबाट बालबालिकालाई नृत्य, खेल, पेन्टिङ, अभिनयजस्ता कुराहरूका माध्यमबाट उनीहरूको प्रतिभा पहिचानमा सहयोग पुग्छ,’ उनले भने।
थिएटर मल काठमाडौं मलमा आठ वर्षअघि सञ्चालनमा आएको हो। थिएटर सेन्टर फर चिल्डे«न यसको अभिभावक संस्था हो। थिएटर सेन्टर फर चिल्ड्रेन नेपालमा बाल थिएटर र बालबालिको हितका लागि काम गर्दै आएको संस्था हो।
२०७१ सालमा काठमाडौं मलको हलबाट थिएटर मल सुरु भए पनि तीन वर्षपछि र्कीर्तिपुरमा सारिएको थियो। कोभिडका कारण बीचमा करिब दुई वर्ष थिएटर मल बन्द पर्नुप¥यो। तर कोरोना संक्रमणको दर घट्दै गर्दा फेरि विद्यार्थीको बिदा हुने मौका पारेर चैत २२ देखि वैशाख ५ गतेसम्मको समय तोकेर थिएटर सञ्चालनमा ल्याइएको श्रेष्ठको भनाइ छ।
उनका अनुसार अहिले चलिरहेको लिटिल थिएटर ग्यारेज नवौं संस्करण हो। वर्षमा एकपटक लिटिल थिएटर वर्कसप गर्ने उद्देश्य रहे पनि कहिलेकाहीँ दुईपटक पनि गर्ने गरिएको उनको भनाइ छ।
बिहान १० बजेदेखि दिउँसो साढे ३ बजेसम्म रहने सिकाइ कार्यक्रममा अहिले र्कीतिपुरलगायत ललितपुर, काठमाडौंको जोरपार्टी, बानेश्वर, सामाखुसी, भक्तपुरबाट सिकारु आउने गरेका छन्। कुनै बालबालिकालाई अभिभावकले नै ल्याउनेपु¥याउने गर्छन् भने बाँकी बालबालिकालाई ल्याउने र पु¥याउने व्यवस्था थिएटरले नै गरेको छ।
अहिले थिएटर वर्कसपमा बालबालिकालाई अभिनय, कथा वाचन, भाँडाकुटीको माध्यमबाट नाटक बनाउन सिकाउने, पेन्टिङ, गीत, नृत्यजस्ता प्रस्फुटन गर्न प्रेरित गर्ने कार्यमा केदार श्रेष्ठ, इलिना नकर्मी, सञ्जिता पराजुली, शंकर भण्डारी, सुजन महतलगायतको टिम क्रियाशील छ।
प्रशिक्षक इलिना नकर्मी खेल तथा शिल्प सिकाउँछिन्। उनी भन्छिन्, ‘कोभिडले जनजीवन निकै अस्तव्यस्त बनायो। यसको सबैभन्दा बढी प्रभाव बालबालिकामा प¥यो। अनलाइन माध्यमबाट पढाइ हँुदा बालबालिकाले अतिरिक्त कुरा सिक्नबाट वञ्चित हुनुप¥यो।’ अतिरिक्त कुराले बालबालिकाको विकासमा एकदमै सहयोग हुने हुँदा कोभिड मत्थर बन्दै गएको सन्दर्भमा यो वर्षबाट थिएटर वर्कसप सञ्चालन गरिएको उनको भनाइ छ।
उनका अनुसार एक साताको अन्तरालमा अहिले बालबालिकामा धेरै परिवर्तन आएको छ। कार्यशालाका कारण उनीहरूमा रहेको खास रुचि र प्रतिभा बुझ्न सहज भइरहेको छ । यसका अतिरिक्त अभिभावकले पनि आफ्नो बच्चाको व्यवहारमा परिवर्तन आएकोमा राम्रो प्रतिक्रिया दिने गरेको उनले सुनाइन्।
नकर्मीका अनुसार दिनमा चारवटा कक्षा हुन्छन्। कुन दिन कसको कक्षा र कति समय हुने भनेर सबै टिममा रहेकाहरूले छलफल गरेर टुंगो लगाउने उनको भनाइ छ। ‘पाँच घन्टाको समयमा खाजा खाने, खेल्न समय छुट्याइएको छ,’ उनले भनिन्।
कार्यशालामा सहभागी भएबापत एकजनाले १० हजार रुपैयाँ तिर्नुपर्ने उनी बताउँछिन्। ‘अन्तिम दिनमा बालबालिकालाई प्रमाणपत्रसँगै सामूहिक फोटो खिचेर फोटो दिने र अभिभावक बोलाएर उनीहरुको प्रस्तुति देखाएर बिदा गर्ने योजना छ,’ उनले भनिन्।