बढ्दै कोरोना ग्राफ : कति खतरनाक छ ओमिक्रोको नयाँ भेरियन्ट ?
दुई दर्जनभन्दा बढी देशमा पुगिसकेको यो सब भेरियन्टले भारतमा बढी फैलिएको छ। खुला सिमाना रहेको भारतमा नेपाली र भारतीयको आउजाउ व्यापक हुने गरेको छ।
काठमाडाैं, चैत २८ : भारतमा कोरोना भाइरसको एउटा भेरियन्ट ओमिक्रोनको सब भेरियन्ट एक्सबिबी १.१६ तीव्र रूपमा बढिरहेको छ। उक्त सब भेरियन्ट नेपालमा पनि देखिएको छ । एक साताअघि (चैत २० गते) स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रेस विज्ञप्ति निकालेर एक्सबिबी १.१६ देखा परेको भन्दै देशवासीलाई सावधानी अपनाउन आग्रह गरेको थियो।
यसरी ओमिक्रोनको सब भेरियन्ट एक्सबिबी १.१६ पुष्टि भएसँगै नेपालमा कोरोना संक्रमितको संख्या बिस्तारै उकालो लाग्दै गएको छ। आइतबार ५५ जनामा कोरोना सक्रमण देखिँदा सोमबार झन्डै तीनगुना १४५ जनामा संक्रमण देखिएको छ। त्यस्तै शनिबार (चैत २५) पनि ६४ जना नयाँ संक्रमित थपिएका थिए। चैत २४ मा ९९, २३ मा ८५, २२ मा ९८, २१ मा ८० र २० गते ७६ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो।
यसरी ओमिक्रोनको सब भेरियन्टन एक्सबिबी नेपालमा पनि पुष्टि भएपछिको एक सातामा कोरोनाबाट संक्रमित हुनेको संख्या बढिरहेको छ। मत्थर भइसकेको भनिएको कोरोना फेरि देखा पर्दा आज (सोमबार) सम्म सक्रिय संक्रमितको संख्या ४४४ पुगेको छ। मन्त्रालयले सार्वजनिक गरेको चैत ११ सम्मको तथ्यांक नियाल्दा नेपालमा कोरोना संक्रमणको दर शून्यमा थियो।
नयाँ सब भेरियन्ट देखापरेयता मृत्यु कसैको नभए पनि संक्रमण बढ्दै जाँदा पहिलाकै परिस्थिति नआउला भन्न सकिन्न। दुई दर्जनभन्दा बढी देशमा पुगिसकेको यो सब भेरियन्टले भारतमा बढी फैलिएको छ। खुला सिमाना रहेको भारतमा नेपाली र भारतीयको आउजाउ व्यापक हुने गरेको छ। चाडपर्वर खेतीपातीको सिजन आएपछि भारतमा कमाउन गएका नेपाल फर्किन्छन्। जसले गर्दा कोरोनाले भयावह रूप लिन बेरै लाग्दैन। त्यसमाथि भारतमा संक्रमितको संख्या निकै बढिरहेको मात्र छैन, सोमबार एकैदिनमा भारतमा कोरोनाकै कारण १२ जनाले ज्यानसमेत गुमाएका छन्।
कत्तिको घातक छ एक्सबिबी ?
नेपालमा हाल संक्रमण भइरहेकाहरूमा धेरैजसोलाई ओमिक्रोनको सब भेरियन्ट एक्सबिबी १.१६ देखिएको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका वरिष्ठ सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुन बताउँछन्।
‘सन् २०२२ को अन्त्यतिर ओमिक्रोनको १७ ओटा नयाँ सबभेरियन्ट देखापरेका थिए। तीमध्ये अहिले ९ ओटा सब भेरियन्ट सक्रिय छन्,’ डा. पुन भन्छन्, ‘९ ओटा सब भेरियन्टमध्ये पनि अहिले नेपालका धेरैको ध्यान ओमिक्रोनको सब भेरियन्ट एक्सबिबी १.१६ मा केन्द्रित छ।’ किनकि, एक्सबिबी भारतमा व्यापक रुपमा फैलिरहेको उनी बताउँछन्।

यो सब भेरियन्टको कारण भारतमा संक्रमितको दर निकै बढे पनि मानवीय क्षति भने धेरै नगरेको देखिएको डा. पुन बताउँछन्। भारतमा फैलिएकै कारण एक्सबिबीले नेपालमा पनि संक्रमण दर बढाए पनि मानवीय क्षति भने आकलन गर्न सकिन्छ। ‘यसको मतलब मानवीय क्षति शून्यमा नै हुन सक्छ भनेर भन्नचाहिँ मिल्दैन,’ उनले भने, ‘स्वास्थ्य सावधानी भने सबैले अपनाउनु जरुरी छ।’
ओमिक्रोनको सब भेरियन्ट एक्सबिबीले अन्य उमेर समूहमा भन्दा पनि वृद्धवृद्धामा अझ छिटो संक्रमण गर्ने डा. पुनले बताए। ‘विगतका दिनमा कोरोनाको अन्य लहरहरुले जुन भयावह अवस्था सिर्जना गरेको थियो । त्यही अवस्था अहिलेको नयाँ सब भेरियन्टले भने सिर्जना गर्न सक्दैन भनेर भारतको अवस्थालाई हेरेर भन्न सकिन्छ। यो भेरियन्टबाट संक्रमित हुनेहरूले यतिखेर अस्पताल जानेभन्दा पनि घरेलु उपचार गर्दै आएका छन्।’
यसरी दैनिक जीवनमा काम गर्ने क्रममा सावधानी भने अपनाउनुपर्नेमा डा. पुनले जोड दिए। उनका अनुसार नयाँ भेरियन्ट एक्सबिबीले आक्रमण गर्दा रुघा लाग्ने, ज्वरो आउने, घाँटी खसखस हुने, जिउ दुख्ने, खाना नरुच्नेजस्ता लक्षण देखिन्छन् । यस्ता लक्षण देखापरे सावधानी अपनाई निको नहुन्जेल छुट्टै बसे परिवारका सदस्य तथा अन्य नजिकका व्यक्तिलाई सर्नबाट बचाउन सकिने उनले बताए।
ओमिक्रोन आफैंमा छिटो सर्न सक्ने क्षमता भएको भेरियन्ट भएकाले नयाँ सब भेरियन्ट पनि भारतमा तीव्र रूपमा फैलिरहेको भनेर बुझ्नुपर्ने डा. पुनले बताए। ‘तर अझै यसबारे धेरै जानकारी आउन बाँकी छ,’ उनले भने।
टेकु अस्पतालमा यही भेरियन्टले यति बिरामी आए भनी यकिनका साथ भन्न नसकिए पनि कोरोनाको लक्षण देखिएका बिरामी छिटपुट मात्रामा अस्पतालमा भर्ना हुने गरेको डा. पुनले बताए। नयाँ भेरियन्ट हुन नदिन पहिलो र दोस्रो चरणको खोपसँगै बुस्टर डोज लगाउन उनले सुझाए। खोप लागे जटिलता आउनबाट बच्न सकिने उनको भनाइ छ।









![किरातहरूको पुजा घरमा उँधौलीको रौनक [फोटो फिचर]](https://kathmandupress.com/uploads/posts/550X700/cover-1764834780.jpg)
![फ्लडलाइटमा क्रिकेटको मज्जा [फाेटाे फिचर]](https://kathmandupress.com/uploads/posts/550X700/cover-1763383632.jpg)
![मोन्था प्रभावले निथ्रुक काठमाडौं [फोटो फिचर]](https://kathmandupress.com/uploads/posts/550X700/cover-1761809803.jpg)