Kathmandu Press

मिटरब्याजपीडित भन्छन्– न्याय नपाए मर्नेबाहेक कुनै उपाय छैन

नवलपरासीकी सुमित्रा हरिजनले जग्गा धितो राखेर सहकारीबाट ५० हजार ऋण लिइन्, २ वर्षभित्र तिरसक्नुपर्ने भाका थियो। उनले भाकामै ३ लाख तिरिन्, ऋण चुक्ता भएन। जग्गा लिलामीमा पर्‍यो तर अझै ५ लाख तिर्न बाँकी छ।
मिटरब्याजपीडित भन्छन्– न्याय नपाए मर्नेबाहेक कुनै उपाय छैन

काठमाडौं, चैत २६ : मिटरब्याजका कारण पीडामा परेका केही व्यक्ति महोत्तरीको बर्दिबासमा जम्मा भए। त्यहाँबाट चैत २ गते पैदलयात्रा गरी ११औं दिनमा अर्थात् चैत १२ गते काठमाडौं आइपुगे। उनीहरूले सरकारसँग न्यायको याचना गर्दै माइतीघर मण्डलामा धर्ना दिए।

संघर्ष समिति नै बनाएर उनीहरूले तमसुक व्यवस्था खारेज गर्नुपर्ने, मिटरब्याजीलाई कारबाही गर्नुपर्ने, मिटरब्याजीद्वारा कब्जा गरिएको सम्पत्ति फिर्ता हुनुपर्ने, आफूहरूमाथि लगाइएका झुटा मुद्दा खारेज हुनुपर्नेलगाय माग राखेर प्रदर्शन गरे।

मिटरब्याज विषय राष्ट्रिय बहसको विषय बन्यो। उनीहरूका बारेमा सदनमा कुरा उठ्यो। सरकारले पनि चासो दियो। त्यसपछि सरकार–मिटरब्याजपीडितबीच पाँचबुँदे सहमतिपत्रमा हस्ताक्षर भयो।

Hardik ivf

केही वर्षयता पेचिलो बनेर रहेको मिटरब्याजलाई लिएर गत भदौमा पनि पीडितहरूले प्रदर्शन गरेका थिए। त्यतिबेला सरकारले मिटरब्याजलाई आर्थिक अपराध भनी परिभाषित गरेर मिटरब्याज अपराध नियन्त्रण सिफारिस कार्यदल बनाएर सुझाव लिएको थियो।

यसपालि भदौ २७ गते बुझाएको प्रतिवेदन शीघ्र र प्रभावकारी ढंगले कार्यान्वयन गर्ने, समस्या समाधानका लागि जाँचबुझ आयोग बनाउने, मिटरब्याजपीडितका उजुरीरगुनासो सम्बोधन गर्न जिल्लास्तरीय समन्वय र सहजीकरण समिति गठन गर्ने, मिटरब्याजलाई कसुर कायम गर्ने कानुन शीघ्र बनाउने समझदारीपछि मात्र मिटरब्याजविरुद्ध संघर्ष समितिले आन्दोलनका कार्यक्रम फिर्ता लियो ।

चैत १८ गते सम्झौता भएपछि ती मिटरब्याजपीडित १९ गते घर फर्किए। तर चैत २० मा फेरि तराईबाट अरू मिटरब्याजपीडित काठमाडौं आए। १८ गते भएको सम्झौताले आफूहरूको माग सम्बोधन हुन नसक्ने भन्दै उनीहरूले आन्दोलन गरिरहेका छन्। शान्तिवाटिकामा बस्दै आएका उनीहरूले घरी भद्रकालीमा घरी माइतीघर मण्डलामा पुगेर धर्ना दिँदै आएका छन्।

बिहीबार गृह मन्त्रालयका केही अधिकारी पुगेर सरकारले मिटरब्याजपीडितको न्यायका लागि काम थालिसकेको बताए पनि गृहमन्त्रीसँग मात्र वार्ता गर्ने अडान उनीहरूले राखे। शुक्रबार सिंहदरबारको मूल गेटअगाडि प्रदर्शनको तयारी गरिरहेका एक दर्जन बढी पीडित पक्राउ पनि परे। यसपटक भने अघिल्लोपटकजस्तो गहिरो चासो सरकारले दिएको देखिन्न। तथापि सरकारले आन्दोलनरत मिटरब्याजपीडितसँग वार्ता गर्न शुक्रबार समिति गठन गरेको छ।

सरकारले गृह मन्त्रालयका सहसचिव प्रदीपकुमार कोइरालाको संयोजकत्वम वार्ता समिति गठन गरेको हो। मिटरब्याजपीडिले पनि सरकारसँग वार्ता गर्न आइतबार १९ सदस्यीय समिति गठन गरेको छ।

आन्दोलनका लागि काठमाडौं आएका मिटरब्याजपीडितकै हुलमा कृष्णदेवी भर, मोबारक मजित र सुमित्रा हरिजन पनि भेटिए। उनीहरूले काठमाडौं प्रेसमार्फत आआफ्ना गुनासा राखेका छन्।  

न्याय नपाए मर्नेबाहेक कुनै उपाय छैन : कृष्णदेवी भर

कृष्णदेवी भर नवलपरासी (बर्दघाट सुस्ता–पश्चिम) को बर्दघाट नगरपालिका–५ की स्थायी बासिन्दा हुन्। लामो समयदेखि सुकुम्बासी परिवारमा बस्दै आएकी ४१ वर्षीया उनी लेबरको काम (मजदुरी) गर्छिन् भने उनका पति घर बनाउने मिस्त्री हुन्। पति मिस्त्री र आफू लेबर काम गरेर सुकुम्बासी बसी घर चलाउँदै आएका छन्। उनीहरूका एक छोरी छन्।

केही वर्षअघिसम्म सुखमय रूपमा नै दिनचर्या बितिरहेको थियो। तर साहुको ऋण र मिटरब्याजका कारण उनीहरूको दैनिकी खज्मजिएको छ। मिटरब्याजको पीडाले न भोक न निद्राको अवस्था सिर्जना भएको छ।

सात वर्षअघि कृष्णदेवीले गाउँकै एक दलालमार्फत थोरै ब्याजदरमा जिल्लाकै रामग्राम नगरपालिका–४ का जनार्दन ठाकुरले ऋण दिने कुरा सुनिन्। सुकुम्बासीमा जीविकोपार्जन गर्दै आएकी कृष्णदेवीको मनमा निकै थोरै ब्याजदरमा ऋण पाइने भएपछि अलिकति घडेरी जोड्ने इच्छा जाग्यो र उनले यसबारे घरसल्लाह गरिन्।

krisnha devi var1681023153.jpg

केही दिनपछि उनी त्यही दलाललाई लिएर जनार्दन ठाकुरकहाँ गइन् र तमसुक बनाएर पाँच वर्षभित्र तिरिसक्ने भाका राखी १० लाख ऋण लिइन्। एक लाख त उनले दलाललाई नै तिर्नुपर्‍यो। बाँकी नौ लाख रकमले उनले आफू बस्ने सुकुम्बासी टोलनजिकै १० धुर घडेरी लिइन्।

मासिक सयकडा ३ का दरले जनार्दनबाट १० लाख रुपैयाँ लिएकी कृष्णदेवीले दुई वर्षभित्र ५ लाख तिरिन्। यसैबीच पति दुर्घटनामा पर्दा र छोरीलाई टाउकोसम्बन्धी रोग लाग्दा उनले साहूले भनेकै भाकामा ऋण चुक्ता गर्न सकिनन्।

भाकामा ऋण चुक्ता गर्न नसकेको भन्दै जिल्ला अदालतमा उनीविरुद्ध मुद्दा हालेर उनको जग्गा साहू जनार्दनले लिलाम गरे। जुन घडेरीका लागि कृष्णदेवीले ऋण लिएकी थिइन्, आज त्यो उनीसँग छैन। उनको घर त्यही घडेरीमा छ, जुन लिलाम भइसकेको छ। बारम्बार घर खाली गर्नुपर्‍यो भनि धम्की आउने गरेको उनले सुनाइन्।

‘मैले तिरेको पाँच लाख रकमको पनि कुनै कागज बनाइएको छैन। मलाई मिटरब्याजबारे मलाई केही थाहा थिएन,’ उनी भन्छिन्, ‘पछि बुझ्दै जाँदा मजस्तै मिटरबयाजमा फसेकाहरू धेरै रहेछन्। म पनि न्याय पाइने आशामा उनीहरूसँग जोडिँदै गए र आइतबार काठमाडौँसम्म आइपुगें।’

काठमाडौंबाट पनि न्याय नपाए मर्नुबाहेक आफूहरूसँग केही उपाय नभएको उनले बताइन्। ‘अहिले ५० लाख तिरेपछि मात्र लालपुर्जा दिन्छु होइन भने दिन्न भन्ने कुरा साहुले गर्दै आएका छन्,’ उनी भन्छिन्।  

सरकारले न्याय देला भन्ने आशा छ : मोबारक मजित  

नवलपरासी (बर्दघाट सुस्ता–पश्चिम) को सरावल गाउँपालिका–६ का ६० वर्षे मोबारक मजित पनि १० कट्ठा जमिन लिलाम हुँदा न्यायको गुहार लगाउँदै काठमाडौँ आएका छन्।

२०७३ सालमा छोरीको बिहेका लागि मोबारकले रौतहट जिल्लाको माधवनारायण नगरपालिका–२ की कृष्णकुमारी शाहसँग १० कट्ठा ३ धुर जमिन धरौटीमा राखेर ६ लाख ऋण लिएका थिए। दृष्टिबन्धक राजीनामा गरेर ऋण लिएका मोबारकले दुई वर्षभित्र ऋण तिरिसक्नुपर्ने म्याद थियो। यसैबीचमा उनले ३ लाख ५० हजार एकपटक र एक लाख अर्काेपटक गरी ४ लाख ५० हजार चुक्दा गरे तर भरपाई भने पाएनन्।

ऋण लगेको दुई वर्ष नाघेपछि शाहले कुनै पनि रकम नपाएको भन्दै ६ लाखको साटो सावाँ मात्र १२ लाख र ब्याज तथा अदालती शुल्क समेतको बिगो रकम भरपाई पाऊँ भनी जिल्ला अदालमा मुद्दा दायर गरिन्। सावाँ, ब्याज र अदालती शुल्क लगाएर रु. १८ लाख ८८ हजार ९० पाउनुपर्ने कागज बन्यो।

६ लाख ऋण लगेका मोबारक करिब १९ लाख रकम चुक्ता गर्ने सक्ने अवस्थामा थिएनन्। उनी मिटर ब्याजको चपेटा फस्दै गए। शाहले उनको १० कट्ठा ३ धुर जमिन लिलाम गरी २५ लाखमा बिक्री गरिन्। भएको सबै जमिन लिलाम भएपछि उनी आफ्नै गाउँका मिटरब्याजमा फसेका १० जनाको हुलमा मिसिएर न्याय पाइने आशामा काठमाडौँ आएका हुन्। ‘मिटरब्याजका कारण घर न घाटको भएको छु,’ उनले भने, ‘सरकारले न्याय देला भन्ने आशा छ।’        
                                       
५० हजार ऋणले पाँच वर्षमा उठीबास गरायो : सुमित्रा हरिजन

सरावल गाउँपालिका–४ की सुमित्रा हरिजन पनि मिटरब्याजले गर्दा लिलामीको फन्दामा परेकी छन्। पाँच वर्षअघि खुट्टा भाँच्चिँदा आइडेस सहकारी बैंकबाट ऋण लगेकी उनी अहिले त्यही ऋणको कारण मर्नु न बाँच्नुको अवस्थामा छिन्।

sss1681023177.jpg

बैंकमा अढाइ कट्ठा जमिनको पुर्जा राखेर ५० हजार ऋण लगेकी सुमित्राले दुई वर्षभित्र ऋण तिरिसक्नुपर्ने भाका थियो। बैंकले भनेको म्यादभित्र ऋण चुक्ता गर्ने क्रममा उनले दुई वर्षभित्र ३ लाख रकम तिर्नुपर्‍यो। त्यति गर्दा पनि उनको ऋण चुक्ता भएन।  त्यसपछि उनको अढाइ कट्ठा जमिन पनि लिलाम भयो।

अझै पाँच लाख तिर्न बाँकी रहेको भन्दै समयसमयमा बैंकका कर्मचारी घर आउँदा उनी निकै समस्यामा छिन्। त्यसकारण उनी पनि न्यायका लागि काठमाडौँ आइपुगेकी हुन्।

‘५० हजार ऋणले पाँच वर्षमा उठीबास गरायो। यो त अत्याचारै भयो। मिटरब्याज नियन्त्रण नगर्ने हो भने धेरैको घरव्यवहार बर्बाद हुन्छ,’ उनले भनिन्।

 

प्रकाशित मिति: १२:३८ बजे, आइतबार, चैत २६, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्