Kathmandu Press

महिला आयोगकाे हटलाइन नम्बरमा दैनिक सयभन्दा बढी कल

‘दैनिक सय भन्दा धेरै फोन आउँछन्। त्यसमा सबैभन्दा धेरै महिला हिंसा र घरेलु हिंसाका हुन्छन्,’ आयोगकी प्रवक्ता चमिला भट्टराई भन्छिन्। 
महिला आयोगकाे हटलाइन नम्बरमा दैनिक सयभन्दा बढी कल
Hardik ivfHardik ivf

काठमाडौं, चैत १५ : आफू हिंसामा परेको भन्दै दैनिक सयभन्दा बढी महिलाले ११४५ नम्बरमा फोन गर्ने गरेका छन्। राष्ट्रिय महिला आयोगले निःशुल्क रूपमा उपलब्ध गराएको नम्बर हो यो। आफूमाथि हुने हिंसाबारे उजुरी दिन सहज होस् भनेर पीडित महिलाका लागि आयोगले यो हटलाइन नम्बरको व्यवस्था गरिदिएको हो, जुन चौबिसै घन्टा खुला हुन्छ। 

आइतबार (चैत १२) सोही फोन नम्बर प्रयोग गरेर १०९ जनाले फोन गरेर आफूमाथि हिंसा भएको बताए। अघिल्लो दिन शनिबार १३५, त्यसभन्दा उता शुक्रबार १६४, बिहीबार १२९ र बुधबार १३० जनाले फोन गरेर आफ्नो पीडा सुनाए। यसरी पाँच दिनमा ६६७ जनाले फोन गरेर आफूमाथि भइरहेको हिंसाबारे जानकारी  गराएको राष्ट्रिय महिला आयोगको तथ्यांकमा उल्लेख छ। ‘दैनिक सय भन्दा धेरै फोन आउँछन्। त्यसमा सबैभन्दा धेरै महिला हिंसा र घरेलु हिंसाका हुन्छन्,’ आयोगकी प्रवक्ता चमिला भट्टराई भन्छिन्। 

आयोगमा हिंसामा परेको भन्दै फोन गरेपछि महिलालाई उजुरी दिन लगाइन्छ र त्यसको प्रक्रिया अगाडि बढ्छ। आयोगले सन् २०१८ देखि हेल्पलाइन सेवा देशभर खुला गरेको थियो। त्यसपछि धेरै महिलाले हिंसामा परेको भन्दै आयोगमा उजुरी दिने गरेका छन्। आयोगले हटलाइन नम्बरमा चौबिसै घन्टा फोन गर्न सकिने व्यवस्था गरेको उनी सुनाउँछिन्। यसले जोखिममा परेका महिला तथा बालबालिकाहरुलाई विशेष राहत पु¥याएको महसुस आयोगले गरेको उनको भनाइ छ। 

प्रवक्ता भट्टराईका अनुसार आयोगले गम्भीर प्रकृतिका महिला हिंसाका घटनामा आवश्यकताअनुसार स्थलगत अनुगमन गरी पीडितलाई न्याय दिलाउन तथा दोषीलाई कानुनी कारबाहीको दायरामा ल्याउन आफ्नो सक्रियता विस्तार गर्ने गर्छ।

नेपाल स्वास्थ्य जनसांख्यिक सर्वेक्षण २०१६ अनुसार नेपालमा १५ देखि ४९ वर्षका २२ प्रतिशत महिलाहरुले १५ वर्षको उमेरदेखि शारीरिक हिंसा र ७ प्रतिशतले यौनिक हिंसा भोगेका हुन्छन्। कतिपय समाज, परिवार र इज्जतका डरले आफूमाथि हुने हिंसाबारे आवाज नउठाउने प्रवक्ता भट्टराई बताउँछिन्।

‘अहिले पनि कतिपयले फोन गरेर चुपचाप छाडिदिनुहुन्छ, आँट गरेर आफ्ना समस्या सुनाउनै सक्नुहुन्न,’ उनले भनिन्, ‘साथीको घटना भन्दै कानुनी कारबाहीबारे बुझ्नेहरू पनि छन्। कतिपयले फोन गरेर जानकारी लिए पनि उजुरी भने दिँदैनन्।’ कानुनी प्रक्रिया अगाडि बढाउने अठोट लिएर बसेका महिलाले मात्र फोन गरेर उजुरी दिने गरेको उनको अनुभव छ। 

६ वर्षमा ६ हजार ६१३ महिला हिंसाका उजुरी 

६ वर्षमा राष्ट्रिय महिला आयोगमा हिंसामा परेका भन्दै ६ हजार ६१३ महिलाले उजुरी दिएका छन्। उजुरी दिएपछि हिंसाका प्रकारअनुसार आयोगले सम्बन्धित निकायमा पठाउँछ र कानुनी कारबाही अगाडि बढाउँछ। 

आयोगको तथ्यांकअनुसार आर्थिक वर्ष २०७४/७५ मा ८८३ उजुरी परेका थिए। तीमध्ये घरेलुहिंसाका ७४६ र महिलाहिंसा विरुद्धका १३७ उजुरी थिए। त्यस्तै आव २०७५/७६ मा घरेलु हिंसाका १ हजार ३०३ थिए भने महिला हिंसाका १५८ गरी १ हजार ४६१ उजुरी परे। ‘प्रत्येक वर्ष एक हजारभन्दा धेरै महिलाका फोन आउँछन्,’ प्रवक्ता भट्टराई भन्छिन्, ‘अन्यायमा परेका तथा प्रहरीले उजुरी नलिएका महिलाको फोन बढी आउँछ।’  

आर्थिक वर्ष २०७६÷७७ मा राष्ट्रिय महिला आयोगमा परेका उजुरी १ हजार १०३ छन्। जसमध्ये ९६९ घरेलु हिंसा हुन् भने १४० वटा महिला हिंसाका घटना हुन्। त्यस्तै आव २०७७/७८ मा आएका १ हजार ५७७  उजुरीमध्ये १ हजार ३५५ घरेलु हिंसा र २२० महिला हिंसाका छन्। गत आव २०७८÷७९ मा १ हजार ४६४ उजुरी परे। तीमध्ये घरेलु हिंसाका १ हजार ३१८ र महिला हिंसाका १४६ हुन्। आयोगको तथ्यांक हेर्दा आव २०७९/८० फागुनसम्म ३४७ उजुरी परेका छन्। तीमध्ये घरेलु हिंसाका ३१६ छन् भने महिला हिंसाका ३१ छन्।

आयोगमा आएका उजुरी सम्बन्धित निकायलाई प्रक्रिया अगाडि बढाउन आग्रह र पहल गर्ने काम गरिन्छ। कतिपय घटनामा दुई पक्षीय कुरा सुनेपछि कारबाहीका लागि आयोगले माग राख्ने गरेको प्रवक्ता भट्टराई बताउँछिन्। ‘आयोगले महिलालाई कुनै हिंसा भोग्न बाध्य नहोस् भनेर पटकपटक सचेतनामूलक कार्यक्रम गर्दै आइरहेको छ,’ उनी भन्छिन्।

प्रकाशित मिति: १५:१५ बजे, बुधबार, चैत १५, २०७९
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्