राष्ट्रपति संस्था यस्तो होस्
संविधानको संरक्षकको भूमिका निर्वाह गर्ने भन्नुको अर्थ न त अर्कोले अह्राएको काम गर्ने हो, न अधिकारको दुरुपयोग। कल्पनाशीलताबाट चल्ने पनि होइन। संविधान, कानुन, तत्कालीन परिस्थितिलाई विचार गरेर विवेक र निष्टाका साथ चल्ने हो। जुन कार्य बृहत् हितमा होस्। राष्ट्रपतिको विगत अभ्यासमा धेरै अविश्वास देखिएका प्रसंगबाट शिक्षा लिएर अघि बढ्नुपर्ने अवस्था छ।काठमाडौं, फागुन चैत १ : नवनियुक्त राष्ट्रपतिका रुपमा सादगी व्यक्तित्व रामचन्द्र पौडेलको पद बहाली भइसकेको छ। निकट विगतको तितो अनुभवले आगामी दिनमा मुलुकप्रति राष्ट्रपतिको भूमिका कस्तो रहला भन्ने आम जिज्ञासाको विषय बनेको छ।
संविधानको संरक्षक र अभिभावकको भूमिकामा राष्ट्रपतिको भूमिका अहम् छ। यसकारण राष्ट्रपतिबाट संवैधानिक दायित्व कसरी पूरा होला भनेर चासो बढ्नु स्वाभाविकै हो। अझै संविधानभन्दा माथि राष्ट्रपति पद नैतिकता र मूल्यमा अडेको हुन्छ। जिम्मेवारीको भारी गह्रौं रहेका कारण देश, जनता र संविधानप्रतिको आफ्नो कर्तव्य पालना गर्न सक्ने सामर्थ्य बटुल्न सक्नुपर्छ। संविधानले पनि निष्पक्ष भएर भूमिका निर्वाह गर्ने पदका रुपमा राष्ट्रपतिलाई स्थान दिएको छ। संवैधानिक राष्ट्रपतिको अर्को ठुलो शक्ति भनेकै निष्पक्षता हो। त्यो व्यवहारबाटै देखिने हुनुपर्छ।
राष्ट्रकाे अभिभावकीय भूमिका भएका कारण विगतमा आफू कुनै पार्टीको थिएँ भन्ने भावनाबाट राष्ट्रपति मुक्त हुनुपर्नेछ। राष्ट्र प्रमुख बनेपछि राजनीतिको कहीँ कतै गन्ध आउनुहुँदैन। तब मात्रै शिशु अवस्थामा रहेको संघिय लोकतान्त्रिक प्रणाली बलियो हुनेछ। राष्ट्रपति एउटा संस्था मात्र नभै गणतन्त्रको धरोहर र प्रतीक पनि हो। यसकारण मर्यादा र सम्मान गर्नुपर्ने पहिलो दायित्व स्वयम्को हो। निष्पक्षतामाथि प्रश्न उठेमा पदको गरिमा नै निस्तेज बन्न पुग्दछ। विगतमा राष्ट्रपतिले पार्टी विशेषको विषयमा आफूलाई संलग्न गराइएका र निर्देशति भएका भन्ने गुनासाहरू अझै सेलाएका छैनन्।
राष्ट्रिय स्वार्थका विषयमा राष्ट्रपतिले चासो राख्नै नमिल्ने भन्ने कुरा होइन। तर यही कारण देखाएर अनावश्यक सक्रियता देखाउनुपर्ने आवश्यकता पनि छैन। राष्ट्रपतिले गर्ने कामहरू बृहत् राष्ट्रिय हितका दृष्टिकोणबाट हुनुपर्छ। दल विशेष वा नेता विशेषको स्वार्थमा राष्ट्रपतिबाट कामहरू हुने अवस्थ आए अभिभावकीय भूमिकाको आशा र भरोसा टुट्न पुग्छ।
यसतर्फ बेलैमा आवश्यक सजगता चाहिन्छ। हामी अझै संक्रमणकालकै चरणमा छौं। लोकतन्त्र भर्खरै संस्थागत हुन लागेको स्थिति छ। राष्ट्र प्रमुखका रूपमा सदैव संवैधानिक मार्गमा अग्रसर भइरहने राष्ट्रपति मुलुकलाई चाहिएको छ।
मुलुकका पछिल्ला परिदृश्यबाट प्रतिस्पर्धात्मक बहुदलीय लोकतान्त्रिक शासन व्यवस्था, नागरिक स्वतन्त्रता, प्रेस स्वतन्त्रता, स्वतन्त्र न्यायपालिका तथा कानुनी राज्यको अवधारणा जस्ता लोकतान्त्रिक मूल्य र मान्यताको जगेर्नामा दह्रो संरक्षकको अनुभूति हुँदैछ।
२०६२-६३ को जन आन्दोलनका साथ विद्रोही शक्तिसँग सम्झौता गरी संविधानसभामार्फत जनताको नासोका रूपमा २०७२ को संविधान प्राप्त भएको तथ्य बिर्सनुहुँदैन। संविधानको संरक्षकको भूमिका निर्वाह गर्ने भन्नुको अर्थ न त अर्कोले अह्राएको काम गर्ने हो, न अधिकारको दुरुपयोग। कल्पनाशीलताबाट चल्ने पनि होइन। संविधान, कानुन, तत्कालीन परिस्थितिलाई विचार गरेर विवेक र निष्टाका साथ चल्ने हो। जुन कार्य बृहत् हितमा होस्। राष्ट्रपतिको विगत अभ्यासमा धेरै अविश्वास देखिएका प्रसंगबाट शिक्षा लिएर अघि बढ्नुपर्ने अवस्था छ।
वास्तवमा राष्ट्रपति आफैमा अत्यन्त संवेदनशील र गह्रुँगो पद हो। यो पद राष्ट्रप्रमुखका रूपमा राष्ट्रका तर्फबाट व्यक्त गरिएको सम्मान र मर्यादाको अभिव्यक्ति पनि हो। यसर्थ राष्ट्राध्यक्षका रूपमा राष्ट्रपतिलाई राष्ट्रको प्रतिनिधित्व गर्ने सिंगो संस्था मानिन्छ। यस्कारण यो संस्थाको प्रतिष्ठामा कहीँकतैबाट आँच आउन नदिन राजनीतिक दलहरू पनि सचेत रहनुपर्ने जरुरी छ। संविधानको मर्म र भावनामाथि सत्ताधारी दल, प्रमुख प्रतिपक्ष र अन्य दलहरू नखेलुन्।
मुलुकमा अन्योल, अस्थिरता र द्विविधाको अवस्था आउन नदिन राष्ट्रपतिमा पूर्वसावधानीको अवश्यकता छ। सानो कमजोरी पनि राष्ट्रपति र प्रधानमन्त्रीविच दूरी बढ्ने कारक बन्न सक्छ। जानअन्जानमा अन्यथा भए मुलुकको राजनीति फेरि गिजोलिने दिशातर्फ जाने अवस्था आउँछ। राष्ट्रपतिका कामकारबाहीमा सरकारको छवि झल्किनुपर्छ। राष्ट्रपतिको भूमिका जति विवादित हुन्छ, त्यति नै प्रधानमन्त्री पनि कमजोर बन्छ।
वास्तवमा राष्ट्रपतिलाई सफल बनाउन प्रधानमन्त्री सबैभन्दा विश्वसनीय अनि सक्षम राजनीतिक सल्लाहकारको भूमिकामा उभिनुपर्छ। राष्ट्रपति संस्थालाई मर्यादित बनाउने पहिलो र प्रमुख जिम्मेवारी प्रधानमन्त्रीकै हुन्छ। राष्ट्रपतिका विचारलाई प्रधानमन्त्रीले नै अभिव्यक्त गर्ने हो। प्रधानमन्त्रीको त्यो भावनामा राष्ट्रपतिले सघाउने पवित्र भावना हुनुपर्छ। दुवै निकायका लागि ‘कम्फर्टेबल’ अनुभूति हुनुपर्छ।
कुरा यतिमा मात्र सीमित छैन। मुलुकको दीर्घकालीन हितका लागि शक्ति सन्तुलन आवश्यक छ। निरङ्कुशताविरुद्ध लोकतन्त्रको लडाइँमा अनेकौं यातना, जेलनेल, दुःख दर्द खेप्दै ६ दशक बिताएका व्यक्ति राष्ट्रपति पदमा आसीन भएका कारण पनि एउटा विश्वास र जनआश्था छ। राष्ट्रपति धैर्यवान् र सहनशील पनि हुनुपर्छ। कुनै विवादलाई वस्तुनिष्ट ढंगले समाधान दिन सक्ने, भय र डरविहीनको मनोविज्ञानले युक्त गुण राष्ट्रपतिमा झल्किनुपर्छ।
सक्रिय दृष्टिकोणका साथमा संविधानप्रति गहिरो र अर्थपूर्ण प्रतिबद्धता भएको व्यक्तिले नै मुलुकलाई न्याय दिन सक्छ। राष्ट्रपति मुलुककै सर्वोच्च पद रहने भएका कारण अब यहाँभन्दा माथि जान कुनै स्थान बाँकी रहँदैन। यसकारण राष्ट्रपति सदैव अन्तिम परीक्षामा रहन्छ। बिपी कोइरालाको आदर्श, गणेशमान सिंहको साहस र कृष्णप्रसाद भट्टराईको त्यागबाट ओतप्रोत अनि स्वतन्त्रताको लडाइँमा १५ वर्ष जेलनेल भोगेका व्यक्तित्व भएका कारण भएका कारण पनि अन्यथा नहुनेमा विश्वस्त होऔं। यही उच्च नैतिक बलले नागरिकको बलिदानबाट प्राप्त उपलब्धिहरूको रक्षा गर्ने सामर्थ्य जुट्नेछ भन्ने विश्वास र भरोसा गरौं।