Kathmandu Press

‘काेही अन्यायमा परेकाे देख्न सक्दिनँ, त्यसैले सामाजिक न्यायलाई प्राथमिकता दिएकी छु’  

राजनीतिमा समयअनुसार विभिन्न तह र तप्कामा रहेर जनताको हितमा काम गर्दै आएकी कन्दकलाले २०७९ को स्थानीय निर्वाचनमा धनगढी उपमहानगरपालिकाको उपप्रमुख पदका लागि एमालेबाट उम्मेदवारी दिइन् र निर्विरोध रूपमा निर्वाचित पनि भइन्। 
‘काेही अन्यायमा परेकाे देख्न सक्दिनँ, त्यसैले सामाजिक न्यायलाई प्राथमिकता दिएकी छु’  
Hardik ivfHardik ivf

काठमाडाैं, फागुन २४ : कन्दकलाकुमारी राना धनगढी उपमहानगरपालिकाकी उपप्रमुख हुन्। उनले सो पदमा रहेर जिम्मेवारी सम्हालेको एक वर्ष हुन लाग्यो। २०७९ वैशाख ३० मा सम्पन्न स्थानीय तहको निर्वाचनबाट उनी उपप्रमुखमा निर्वाचित भएकी हुन्।  

उनी १८ वर्षदेखि राजनीतिमा क्रियाशील छिन्। नेकपा एमालेको महिला संगठन अखिल नेपाल महिला संघ (अनेमसंघ) बाट उनी राजनीतिमा होमिएकी हुन्। राजनीतिक गतिविधिमा नेतृत्वदायी भूमिका निर्वाह गरेकै कारण जनताबाट अनुमोदित भई धनगढी उपमहानगरको उपप्रमुख बन्न सफल भएकोमा उनी खुसी छिन्।

पदमा बसेपछि थप जिम्मेवारी बढेको र कसरी जनताको सेवा गर्न सकिन्छ भनेर अहोरात्र जुटिरहेको उनी सुनाउँछिन्। उपप्रमुखले न्यायिक समितिको जिम्मेवारी सम्हाल्नुपर्ने हुँदा पीडितलाई न्याय दिने मामिलामा अग्रसर हुने अवसर प्राप्त भएको उनको भनाइ छ।  

‘कुनै पदमा नरहँदा पनि गाउँसमाजमा कोही अन्यायमा परेको देख्न सक्दिनथें। अहिले उपमहानगरपालिकाको न्यायिक समितिमा छु। त्यसकारण थप जिम्मेवारीको महसुस भएको छ,’ उनले भनिन्, ‘पीडित महिला, दिदीबहिनी र पिछडिएको वर्गको हितमा काम गर्दै अघि बढ्ने प्रण गरेकी छु। सामाजिक न्यायका लागि जुट्न पाउँदा गाैरव लाग्छ।’

‘बुवाको उदार भावनाले पढ्न पाएँ’  

२०४० सालमा कञ्चनपुरको कृष्णपुर नगरपालिका–४ (साबिकको कृष्णपुर गाविस) को मध्यमवर्गीय कृषक परिवारमा कन्दकलाको जन्म भएको हो।  तीन दाजुभाइ, तीन दिदीबहिनीका बीचमा उनको बाल्यकाल सुखमय ढंगले बित्यो। उनी सानैदेखि विद्रोही स्वभावकी थिइन्। आफूलाई चित्त नबुझेको कुरामा प्रतिवाद गर्ने र सत्यको जितका लागि अनेक तर्कवितर्क अघि सार्ने बानी उनमा थियो। 

कन्दकला सानी छँदा उनी बसेको समाजमा छोरीलाई पढाउनुपर्छ भन्ने चेतनाको विकास भइसकेको थिएन। ‘छोरीमान्छे पराईघर जाने जात हो, उनीहरूलाई पढाइलेखाइभन्दा घरायसी काममा व्यस्त राख्नुपर्छ’ भन्ने मान्यताले समाजलाई गाँजेको थियो। छोरीलाई पूर्वाग्ही दृष्टिले हेर्ने परम्परागत मूल्यमान्यताबाट ग्रसित समाजमा हुर्केकी कन्दकलाले बाबुको उदार भावनाको साथ पाएकी थिइन्।

उनका बुवा बन्धु राना फरक विचारधाराका मानिस थिए। आफूले पढ्न नपाए पनि साक्षर र निरक्षर व्यक्तिबीचको फरक उनी प्रस्टै छुट्याउन सक्थे। त्यसैले उनले छोराछोरीबीच अन्तर नगरेर उज्ज्वल भविष्यका लागि भन्दै सातओटै सन्तानलाई विद्यालय पठाएका थिए।

‘लेखपढ गर्नुपर्छ। पढेलेखेको मान्छेले जहाँ गए पनि दुःख पाउँदैन। पढाइ भए जीवनमा धेरै प्रगति गर्न सकिन्छ’ भन्ने बुवाको भनाइबाट कन्दकला निकै प्रेरित थिइन्। त्यसैले उनले बुवाका कुरालाई मनमस्तिष्कमा मात्र नराखी व्यवहारमा समेत उतारेकी थिइन्। बाल्यकालमा बालबालिकाको समय खेदकुदमै बित्छ तर उनी भने कक्षा ५ मा पढ्दै गर्दा गाउँका निरक्षर आमा दिदीबहिनीलाई भेला गरेर पौढ शिक्षा पढाउने गर्थिन्। 

यसरी आइन् राजनीतिमा

कन्दकलाको परिवारको आस्था नेपाली कांग्रेसमा थियो। पार्टीमै सक्रिय भएर परिवारका कसैले राजनीति नगरे पनि उनको घरमा पार्टीका सक्रिय रहेकाहरूको आवतजावत भइरहन्थ्यो। उनका घरमा आउनेहरूको कुराकानी सुनेर उनलाई सानैदेखि राजनीतिमा रुचि पलाएको थियो। 

२०६१ सालमा कन्दकलाको विवाह धनगढी उपमहानगरपालिका–८ का वसन्त रानासँग भयो। वसन्त पेसाले कृषक हुन्। कन्दकलाका पतिको परिवार लामो समयदेखि राजनीतिमा संलग्न थियो। पञ्चायतकालमा उनका बाजे ससुरा केदार राना नेपाली कांग्रेसबाट वडाध्यक्षसमेत भएका थिए। राजनीतिमा परिवारको लगाव देखेर कन्दकलामा राजनीतिप्रति माइतीमा हुँदादेखिको रुचि प्रगाढ बन्दै जान थाल्यो। उनको रुचिलाई परिवारको साथसहयोग पनि मिल्यो। 

राजनीतिप्रतिको रुचि विवाह गर्नुअघिबाटै भए पनि त्यसलाई साकार पार्ने अवसर भने विवाहपछि पाइएको उनी बताउँछिन्। त्यसैले परिवारकै सल्लाहबमोजिम २०६१ सालमा प्रमाणपत्र तहमा पढ्दै गर्दा उनले नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुको सदस्यता लिएर राजनीतिमा पाइला टेकिन्। 

अनेरास्ववियुको सदस्यता लिएपछि कन्दकलाको राजनीतिक यात्राले फड्को मार्दै गयो। उनी २०६१ सालमै एमाले संगठित सदस्य पनि भइन्। अहिले उनी पार्टीको जिल्ला कमिटी सदस्य, अनेमासंघको जिल्ला सहसचिव पनि छिन्। यसका अतिरिक्त उनी विभिन्न संघसस्थामा आबद्ध रहेर काम गरिरहेकी छन्। यतिखेर उनी नेपाल–भारत मैत्री संघको जिल्ला सदस्य र नेपाल राना थारू समुदायको केन्द्रीय कोषाध्यक्षको भूमिकामा पनि छिन्। 

तीन कार्यकाल उपभलमान्सा 

राना थारु समुदायमा गाउँको मुखिया (भलमान्सा) छनोट गर्ने प्रथा अझै छ। भलमान्साको अगुवाइमा गाउँका झैझगडादेखि मुद्दा मामिलाको फैसला हुने गर्छ। यसरी परम्परादेखि रहेको भलमान्साको समितिमा पुरुष मात्र सदस्य रहँदा एकतर्फी निर्णय हुँदा न्याय नभएको भान कन्दकलालाई हुने गथ्र्याे। त्यसैले भलमान्साको समितिमा महिलाको सहभागिता हुनुपर्छ भन्ने माग उनले समितिमा राखिन्। 

यसरी राना थारू समुदायमा हुने हरेक निर्णयमा महिलाको सहभागिता पनि आवश्यक छ भन्ने बोध उनले गराएपछि २०६३ सालमा उनी सबै टोलवासीको पहलमा गाउँको पहिलो महिला उपभलमान्सा बनिन्। 

उपभलमान्सा भएपछि गाउँमा हुुने हरेक कामकुरामा उनको विचार र निर्णय पनि लागु हुन थाल्यो। टोलमा कहीँकतै झैझगडा भयो भने उनलाई बोलाइन्थ्यो। त्यसक्रममा उनले पीडितको पक्षमा निर्णय गर्न थालिन्। भलमान्सा र उपभलमान्साको अवधि तीन वर्षको हुन्छ तर आफूले गरेका सही निर्णय र राम्रा कामको उनले तीन कार्यकाल उपभलमान्सा बन्ने अवसर पाइन्। 

उपभलमान्साको जिम्मेवारी वहन गर्दै कन्दकला २०६३ देखि २०६७ सालसम्म चार वर्ष आफ्नै गाउँको श्री नमुना माध्यमिक विद्यालयमा अध्यापनमा समेत सक्रिय रहिन्। 

यसरी कन्दकला राजनीतिक यात्रासँगै समाजसेवामा समेत तल्लीन रहन थालिन्। राजनीतिमा सक्रिय भएर लागिरहँदा सुरुमा घरबाटै निस्कन मुस्किल परेको उनको भनाइ छ। ‘म महिला भएकाले र मैले गरेका निर्णय स्वकिार्न नसकेर पुरुषवादी अहंकारबाट ग्रसित समाजले फलानोको बुहारी बढी बोल्छे, पोथी बासेको सुहाउँदैन, आफू पनि बिग्री र अरूलाई पनि बिगारी भन्नेजस्ता लाञ्छनायुक्त टीकाटिप्पणीसमेत सुन्नुप¥यो,’ उनले भनिन्।

समाज परिवर्तनका लागि आवाज उठाउँदा नकारात्मक टीकाटिप्पणी उनले मात्र सुन्नुपरेन, कहिलेकाहीँ उनका पतिलाई अनावश्यक पोलसमेत लगाइन्थ्यो। उनी भन्छिन्, ‘राजनीतिक परिवारमा हुर्किनुभएका श्रीमान्बाट सधैं साथ, सहयोग र समर्थन पाएँ।’

राजनीतिमा समयअनुसार विभिन्न तह र तप्कामा रहेर जनताको हितमा काम गर्दै आएकी कन्दकलाले २०७९ को स्थानीय निर्वाचनमा धनगढी उपमहानगरपालिकाको उपप्रमुख पदका लागि एमालेबाट उम्मेदवारी दिइन् र निर्विरोध रूपमा निर्वाचित पनि भइन्। 

‘पालिकाको प्रमुख समस्या अनधिकृत सडक’ 

धनगढीको उपमहानगरपालिकाको प्रमुख समस्या भनेको अव्यवस्थित सडक रहेको उपप्रमुख राना बताउँछिन्। अव्यवस्थित सडकले दुर्घटना निम्त्याउन सक्ने भएकाले धनगढी बजारवरपरका अनधिकृत संरचनालाई हटाउन जरुरी रहेको उनलाई लाग्छ। धनगढी चौराहदेखि क्याक्पस चोकसम्म अनधिकृत संरचनालाई १५ मिटर दायाँबायाँ नापेर भत्काउने योजना बनिरहेको उनी जनाउँछिन्। 

त्यस्तै उपमहानगरपालिकामा डुबानको समस्या पनि त्यत्तिकै छ। अलिकति झरी पर्नेबित्तिकै उपमहानगरपालिकाका धेरै स्थानमा डुबान हुने गरेको छ। ‘पालिकामा शिक्षा र स्वास्थ्यमा जनसाधारणको पहुँच सन्तोषजनक नै छ,’ उनी भन्छिन्, ‘पालिकाभित्र धेरै निजी स्रोतका शिक्षक रहेकाले उनीहरूको समस्या समधान गर्न नगरसभाबाट कार्यविधि बनाएर अगाडि बढ्ने तयारीमा छौं।’ 

‘कृषिको प्रवर्धन गर्न एक वडा एक उत्पादन’

धनगढी उपमहानगरपालिकाको प्रमुख कृषिजन्य उत्पादन धान र गहुँ हुन्। पालिकाभित्र अहिले धेरै कृषकले केरा र तरकारी खेती गरेर मनग्य आम्दानी पनि गर्दैछन्। उपमहानगरपालिकाभित्रको जमिन कृषि उत्पादनका लागि एकदमै उपयोगी भएकाले कृषिलाई प्रवद्र्धन गर्न ‘एक वडा एक उत्पादन’को योजना ल्याइएको उनी बताउँछिन्। उनी भन्छिन्, ‘किसानलाई कृषि मिटर र आवश्यक परेको खण्डमा मागअनुसारको सहयोग पालिकाले गर्नेछ।’ 

‘बालिका बलात्कार र महिला हिंसा उच्च’ 

धनगढीमा महिलाको अवस्था अलिकति नाजुक रहेको उनी बताउँछिन्। केही वर्षयता महिला हिंसामा पर्नुका साथै बालिका बलात्कारका घटना बढ्दो अवस्थामा रहेको उपप्रमुख राना बताउँछिन्। महिलाहरू हिंसा सहेर बस्न बाध्य छन्। बलात्कृत बालिकाहरू परिवार र समाजबाट बहिष्कृत हुने गरेको उनी सुनाउँछिन्। 

उनका अनुसार हिंसामा परेका महिला र बलात्कारपछि बहिष्कृत बालिकाको संरक्षणका लागि नगरपालिकामा सेफ हाउस निर्माण गरिएको छ। हिंसापीडित महिलाका लागि लैंगिक हिंसा निवारण कोषद्वारा उपचार खर्च र गाँस, बाँस, कपासको व्यवस्था गरिँदै आएको पनि छ। 

हिंसामा परेका महिलालगायत अन्य सबै महिलाको सशक्तीकरण गर्न जनचेतनात्मक कार्यक्रम लागु गर्न आवश्यक रहेको उनले बताइन्। थारू समुदायमा भलमान्साबाट परम्परागत शैलीमै मेलमिलाप हुँदै आएको छ। ‘यसरी परम्परागत तरिकालाई मान्यता दिँदै समाजका भलमान्सा र अन्य बुद्धिजीवीसँग अन्तरक्रिया गरेर महिलाको क्षमता अभिवृद्धिका लागि गराउन तालिम सञ्चालन गर्ने योजना छ,’ उनले भनिन्।

प्रकाशित मिति: १४:०७ बजे, बुधबार, फागुन २४, २०७९
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्