Kathmandu Press

‘सुरुमै पहिचान भए ८५ प्रतिशत बाल क्यान्सर निको हुन्छ’

‘क्यान्सर निको हुने रोग होइन र खर्च मात्र हुन्छ’ भन्ने भ्रम समाजमा अझै व्याप्त छ। त्यसकारण हल्लाको पछाडि नलाग्न आग्रह गर्छु।
‘सुरुमै पहिचान भए ८५ प्रतिशत बाल क्यान्सर निको हुन्छ’

विश्वमा क्यान्सरको अवस्था दिनप्रतिदिन भयावह बन्दै गएको छ। क्यान्सरका कारण विश्वमा लाखौं मानिसको मृत्यु हुने गरेको छ। विश्व स्वास्थ्य संगठनका अनुसार विश्वमा हरेक वर्ष क्यान्सरका कारण ९३ लाख मानिसको मृत्यु हुने गर्छ भने १ करोड ४१ लाख नयाँ बिरामी थपिन्छन्। 

यसरी क्यान्सरको स्तर हरेक वर्ष बढिरहेकै अवस्थामा बालबालिकामा हुने क्यान्सर पनि बढ्दै गएको तथ्यांकले देखाउँछ। हरेक ३ मिनेटमा एक बालक/बालिकाको क्यान्सरका कारण ज्यान जाने गरेको डब्लुएचओको तथ्यांकमा छ।त्यस्तै प्रत्येक वर्ष २ लाख ८० हजार बालबालि बाल क्यान्सरबाट पीडित हुने गरेका छन् भने हरेक वर्ष अनुमानित ४० हजार बालबालिकाको मृत्यु क्यान्सरका कारण हुने गर्छ।

यसरी क्यान्सरबाट पीडित बालबालिकामध्ये विकसित देशमा ८० प्रतिशतलाई बचाउन सकिने र निम्न आय भएका देशमा केवल ३० प्रतिशतलाई मात्र बचाउन सकिने अध्ययनले देखाएको छ। नेपालमा पनि बालबाालिकामा विभिन्न किसिमका क्यान्सर देखिने गरेको छ। नेपालमा  प्रत्येक वर्ष १५ सयदेखि २ हजार बालिबालिका क्यान्सरबाट पीडित हुने गरेका छन्।

Hardik ivf

प्रस्तुत छ, बालबालिकामा हुने क्यान्सरबारे कान्ति बाल अस्पतालका क्यान्सर रोग विशेषज्ञ डा. सुधीर सापकोटासँग काठमाडौं प्रेसकर्मी शलिना कुँवरले गरेको कुराकानीको सारसंक्षेपः

बाल क्यान्सर भनेको के हो ? 

बाल क्यान्सर भनेको १९ वर्षमुनि जुनसुकै उमेरका बालबालिकामा देखिने क्यान्सर हो। बालबालिकामा यही नै कारणले क्यान्सर हुन सक्छ भन्न नसकिए पनि बच्चा भ्रूणावस्थामा रहँदा कुनै समस्या देखिए बाल क्यान्सर हुन सक्ने वैज्ञानिकहरूकाे आकलन छ।

अहिले विश्वमा नै बालबालिकामा क्यान्सर बढ्दै गएको छ। नेपालमा पनि प्रत्येक वर्ष १५ सयदेखि २ हजार बालिबालिका क्यान्सरबाट पीडित हुने गरेका छन्। नेपालमा करिब २५ प्रतिशत क्यान्सर बिरामी मात्र उपचारको दायरामा आउने गरेका छन् भने दक्ष जनशक्तिको अभावमा उपचारमा ढिलाइ हुने गरेको पनि पाइन्छ। 

बालबालिकामा कस्ता क्यान्सर बढी देखिन्छ ? 

बालबालिकामा देखिने क्यान्सरका किसिममध्ये ५० प्रतिशतभन्दा बढी रगतको क्यान्सर (ब्लड क्यान्सर) रहेको छ। यो विश्वको तथ्यांक हो भने नेपालमा पनि करिब ५० प्रतिशत बालबालिकामा रगतको क्यान्सर देखिने गरेको छ। यसका अतिरिक्त आँखाको क्यान्सर, मिर्गौलाको क्यान्सर, स्नायु तन्तुको क्यान्सर, ब्रेन ट्युमर, हड्डीको क्यान्सर, मांसपेसीको क्यान्सर देखिने गर्छ। 

कान्ति बाल अस्पतालमा उपचारका लागि आएका बाल क्यान्सर बिरामीमध्ये सबैभन्दा बढी ब्लड क्यान्सरबाट पीडित रहेका छन्। रगतको क्यान्सरपछि न्युरोब्लास्टोमा, रेटिनोब्लास्टोमा र विल्म ट्युमर (नेफ्रो ब्लास्टोमा) हो। 

बालबालिकामा देखिने क्यान्सर निको हुने सम्भावना कति छ, फेरि बल्झिने सम्भावना पनि रहन्छ कि? 

बालबालिकामा देखिने क्यान्सर सुरुकै अवस्थामा पहिचान हुन सके र समयमै उपचार भए ८५ देखि ९० प्रतिशत निको हुने गर्छ। यसरी बालबालिकामा एकपटक निको भइसकेपछि उपचार सकिएको पाँच वर्षसम्म अन्य कुनै समस्या भएन भने या बल्झिएन भने क्यान्सर पूर्ण रूपमा निको भयो भनेर बुझ्नुपर्छ। पूर्ण रूपमा क्यान्सर निको भइसकेको बच्चालाई फेरि अन्य क्यान्सर देखिने सम्भावना भने रहिरहन्छ। 

विश्वको आँकडा हेर्दा विकसित राष्ट्रमा ८० प्रतिशत क्यान्सरपीडित बालबालिका निको हुने गरेका छन् भने विकासोन्मुख राष्ट्रमा करिब ३० प्रतिशत मात्र निको हुने गर्छन्। तर कान्ति बाल अस्पतालमा उपचारका लागि आएका ६५ देखि ७० प्रतिशत बालबालिका क्यान्सर जित्न सफल भएका छन्।  

क्यान्सर निको हुने रोग हो तर पहिचान भने समयमै हुनु जरुरी छ। यदि ५ या १० वर्षको बालकलाई क्यान्सर देखिए र समयमै स्वास्थ्य संस्था ल्याई रोग पहिचान भए उपचारपछि पूर्ण रूपमा निको भए त्यस्ता बालबालिकालाई ७० वर्षसम्म बचाउन सकिन्छ। ‘क्यान्सर निको हुने रोग होइन र खर्च मात्र हुन्छ’ भन्ने भ्रम समाजमा अझै व्याप्त छ। त्यसकारण हल्लाको पछाडि नलाग्न आग्रह गर्छु।

क्यान्सरका लक्षण देखिए तुरुन्तै स्वास्थ्य संस्था जानुपर्छ। स्वास्थ्य संस्था जाँदा स्वास्थ्यकर्मीको सल्लाहअनुसार क्यान्सर रोग विशेषज्ञसँग परामर्श लिई समयमै रोग पहिचान भए निको हुने सम्भावना पनि उच्च रहन्छ।

बालबालिकामा क्यान्सर भएको कसरी थाहा पाउने?

बालबालिकामा क्यान्सर भएको थाहा पाउन अभिभावकले निकै सतर्कता अपनाउनुपर्छ। बालबालिकालाई क्यान्सर हुँदा केकस्ता लक्षण देखिन्छन् भनेर अभिभावकलाई ज्ञात हुनु आवश्यक छ।

बालबालिकालाई क्यान्सर हुँदा लामो समयदेखि ज्वरो आउने, खोकी लाग्ने, तौल घट्दै जाने, जीउमा नीलडाम देखिने, गिर्खा देखिने, जिउको कुनै पनि भागबाट रगत बग्नेजस्ता लक्षण देखा पर्छन्।

यस्ता लक्षण देखिए उपचारका क्रममा छातीको एक्सरे गर्दा गिर्खा देखिने, रगत जाँच गर्दा रगतमा खराबी देखिने गर्छ। क्यान्सर अस्पतालहरूमा बिरामीको जाँच भए क्यान्सर पुष्टि हुन्छ।    

उपचार पद्धतिमा समस्या छ कि? 

कान्ति बाल अस्पताल सरकारी अस्पताल भएकाले अन्य क्यान्सर अस्पतालको तुलनामा सस्तो र सुलभ रूपमा क्यान्सर उपचार हुन्छ। त्यसकारण देशैभरिका जिल्लाबाट क्यान्सरपीडित बालबालिका उपचारका लागि कान्ति बाल अस्पताल आउने गरेका छन्।

क्यान्सरपीडित बालबालिकाका लागि अस्पतालमा २० बेडको जनरल वार्ड, पाँच बेडको एचडी हाइट डिपेन्डेन्सी युनिट रहेको छ। यो युनिटमा सिकिस्त बिरामीलाई पनि आइसियुको जरुरत पर्दैन तर जनरल बेडभन्दा अलि बढी मोनिटरिङको आवश्यकता पर्छ। ओपिडीमा आएर औषधि लगाएर जाने बिरामीको सुविधाका लागी आठ बेडको (डे केयर) पनि रहेको छ। 

यसरी ३३ बेडमार्फत क्यान्सरका बिरामीको कान्ति बाल अस्पतालमा उपचार हुँदै आइरहे पनि बिरामी संख्या बढ्दै गएकाले उपचारका लागि आवश्यक डाक्टर, नर्स र अन्य सहयोेगी स्वास्थ्यकर्मीको अभाव हुन थालेको छ।  

क्यान्सरपीडित सबै बालबालिकाको पहुँच स्वास्थ्य सस्थामा हुन सकेको छ या छैन? 

नेपालको परिप्रेक्षमा केही वर्षअघिसम्म बाल क्यान्सर समयमै पहिचान हुन नसक्दा अवस्था नाजुक थियो। अहिले जनमानसमा केही हदसम्म सचेतना आइसकेकाले क्यान्सरको शंका भए समयमै सम्बन्धित निकायमा आउने गरेका छन् तर अझै पनि करिब ६५ प्रतिशत बाल क्यान्सरका बिरामीको पहुँच स्वास्थ्य संस्थामा हुन सकेको छैन। 

सञ्चारमाध्ययमा क्यान्सर रोगबारे सूचना प्रसारण गर्दा अहिले धेरै हदसम्म क्यान्सरबारे मानिस सचेत भइसकेको पाइए पनि अझै शतप्रतिशत बिरामीको पहुँच स्वास्थ्य संस्थामा हुन सकेको छैन। यसको  पहिलो कारण रोगको पहिचान नहुनु हो। अर्काे कारण हो, क्यान्सर भन्नेबित्तिकै निको नहुने जटिल रोग हो, खर्च मात्र हुन्छ भन्ने गलत धारणा रहनु।

उपचार पद्धति केकस्तो हुन्छ? 

कान्ति बाल अस्पतालमा हरेक वर्ष दुई सयदेखि अढाइ सयको हाराहारीमा बाल क्यान्सरका बिरामी थपिने गरेका छन्। बालबालिकामा हुने क्यान्सरको उपचार पद्धितमा सबैभन्दा बढी प्रयोग गरिने भनेको केमोथेरापी हो। केमोथेरापी नसाबाट छालामुनि मांसपेसीमा दिने गरिन्छ। कुनैकुनै किमोथेरापी भने मुखबाट नै खाने पनि हुन्छ।

त्यस्तै दोस्रो उपचार पद्धति भनेको सर्जरी हो। पहिलो अवस्थामा रहेको ट्युमरहरूलाई शल्यक्रिया मात्रै गरेर पनि निको पार्न सकिन्छ या शल्यक्रियापछि किमोथेरापी दिने गरिन्छ। यसबाहेक तेस्रो स्टेजमा रहेका बिरामीका लागि रेडियोथेरापी गरिन्छ। 

ब्लड क्यान्सर छ भने ५ देखि ६ महिना कडा उपचार चलाउनुपर्ने हुन्छ। यस्तो अवस्थामा एक सातादेखि १० दिनसम्म अस्पतालमै राखेर उपचार गरिन्छ भने पछि तीन-चार दिनको फरकमा बोलाएर उपचार गर्ने गरिन्छ।

अरू क्यान्सरका लागि तीनदेखि चार साताका बीचमा औषधि चलाउनुपर्ने हुन्छ भने तीनदेखि पाँच दिनसम्म अस्पतालमा भर्ना गर्नुपर्छ। प्रत्येक तीनदेखि चार सातासम्म यो क्रम दोहोरिन्छ। यो उपचार रोगको प्रकृतिअनुसार फरक हुने गर्छ। 

क्यान्सर उपचारमा कति समय लाग्छ? 

क्यान्सरका बिरामीहरूअनुसार उपचार अवधि पनि फरक हुन्छ। ब्लड क्यान्सरको कुरा गर्ने हो भने सुरुमा ५ देखि ६ महिना उपचार हुन्छ। त्यसपछि दोस्रो चरणमा छोरी मान्छेमा दुई वर्ष र छोरा मान्छेमा तीन वर्ष किमोथेरापी दिनुपर्ने हुन्छ। ब्लड क्यान्सरबाहेकमा ६ महिनादेखि एक वर्ष उपचारमा गर्नुपर्छ। 

बाल क्यान्सरका लागि कान्ति बाल अस्पताल नै किन ? 

क्यान्सरबाट पीडित जोकोही बालबालिका उपचारका लागि कान्ति बाल अस्पतालमा आई रोग पहिचान भए त्यसका लागि बस्ने बेड निःशुल्क हुनुका साथै, बिरामीको चेकजाँच पनि निःशुल्क हुँदै आएको छ। यसका अतिरिक्त क्यान्सर रोगीका लागि सरकारबाट १ लाख सहुलियत सेवा छ भने लुम्बिनी प्रदेश र वाग्मती प्रदेशले पनि क्यान्सर छुट्टै रकम तोकेर उपचारबापत विपन्न नागरिकलाई सहुलियत दिने गरेको छ। 

यसका साथै बिरामीलाई आवश्यक औषधि पनि प्रायः अस्पतालबाट निःशुल्क वितरण हुँदै आएको छ। यावत् कारणले कान्ति बाल अस्पतालमा हरेक वर्ष बाल क्यान्सर बिरामीको संख्या उकालो लाग्दै गएको छ। समग्रमा उपचार खर्च भने ३ देखि ४ लाख रुपैयाँसम्म लाग्ने गर्छ।
 

प्रकाशित मिति: १८:५४ बजे, बुधबार, फागुन ३, २०७९
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्