चिया खेतीबाट गाउँ बदल्ने धूनमा लाहुरे
फिक्कल, इलाम, २ फागुन ः अक्सर फर्किंदैनन्, फर्केपनि गाउँमा विरलै बस्छन् लाहुरेहरु । जितपुर गाउँका लाहुरे दाइ भने एक दशक अघिदेखि चिया सुम्सुम्याए....
फिक्कल, इलाम, २ फागुन ः अक्सर फर्किंदैनन्, फर्केपनि गाउँमा विरलै बस्छन् लाहुरेहरु । जितपुर गाउँका लाहुरे दाइ भने एक दशक अघिदेखि चिया सुम्सुम्याएर बसिरहेको मात्र छैन चिया किसानलाई उद्यमको पाठ पनि सिकाइरहेका छन् ।
कुरा देउमाई नगरपालिका जितपुरका सुरेश लिम्बूको हो । उनी लक्का जवानीमा ब्रिटिश आर्मीमा भर्ना भए । बीस वर्षको उमेरमा आर्मीमा भर्ना भएका उनले करीब छ वर्ष मात्र त्यहाँ काम गरे । छुट्टीको समयमा घर आउँदा जितपुरमा चियाको सम्भावनाका विषयमा बहस चल्दै थियो । उसबेला ब्रिटिस आर्मीको जागीर कमाइ र इज्जतका दृष्टिले आकर्षकै मानिन्थ्यो । नेपालमा नै केही काम गर्ने सोच बनाएपछि उनले जागीर छोडेर चिया उमार्ने निर्णय गरे ।
दार्जिलिङको अध्ययनपछि सोझै आर्मीमा भर्ती भएका उनले छ वर्ष जागीर खाएर छोडे । अनि जन्मथलो जितपुरमा आएर चिया रोप्न थाले । एक सय रोपनीभन्दा बढी क्षेत्रफलमा चिया रोपेका उनले हरियो चिया पत्तीबाट राम्रै आम्दानी लिन थालेका थिए ।
हरियो पत्तीभन्दा पनि चिया नै प्रशोधन गरेर बेच्दा राम्रो कमाइ हुने थाहा पाएपछि उनले जितपुरमै चिया कारखाना खोल्ने सोच बनाए । कृषि विकास बैंकबाट कर्जा लिएर करीब दुई करोडको लगानीमा विसं २०५७ मा उनले चिया कारखाना शुरु गरे । गाउँलेले पनि उनकै सिको गर्देै चिया लगाउन शुरु गरे । मिष्ट भ्याली चिया कारखाना खोलेका उनी तीन वर्षमा कारखानामै चिया प्रशोधन गर्न सफल भए । विसं २०६१ वैशाखदेखि नयाँ कारखानामा नयाँ यामको चिया प्रशोधन गर्न थाले ।
शुरुमा नेपालका विभिन्न बजारमा आफ्नो उत्पादन बेचेका उनले पछि भारतीय बजारमा पनि आफ्नो उत्पादन पुर्याउन थाले । ग्रामीण भेगमा कारखाना सञ्चालन गर्दा धेरै आरोह र अवरोध भोगेका लिम्बूले राम्रै गरी कारखाना सञ्चालन गर्न पनि थाले ।
शुरुमा चिया प्रशोधन गर्न कारखानाको क्षमता पनि कम थियो । धेरै प्रकारका चिया पनि उत्पादन हुँदैनथ्यो । बिजुली गइरहने समस्या उत्तिकै थियो । कारखानालाई थप मजबुत बनाउने सोच भइरहेका बेला करीब पाँच वर्ष अघि उन्नति समावेशी वृद्धि कार्यक्रमले चिया उद्यमीलाई सहयोग गर्ने खबर आइपुग्यो । उन्नतिमा प्रस्ताव पेश गरिएका लिम्बूको प्रस्ताव स्वीकृत भयो । उन्नतिले उहाँको चाहना र काम गर्ने जा“गर बुझेपछि साझेदारीमा चिया कारखानालाई थप मजबुत बनाउन काम अगाडि बढायो ।
हार्डवेयर र सफ्टवेयरको कामका लागि संयुक्त कार्यक्रम २ करोड ५९ लाख रुपैया“ लागतमा काम शुरु गरियो । कार्यक्रमअन्तर्गत भवन निर्माण र आवश्यक अत्याधुनिक उपकरण खरिद गरे । सफ्वेयरअन्तर्गत किसानलाई तालीम दिने, गोठ सुधार गर्ने लगायतका कार्यक्रम थियो ।
उन्नतिसंगको सहकार्यपछि उनले हरियो चियापत्ती सुकाउन इन्जाइमर, लिफ्ट कन्भर्टर, आरनट पक्का सटर, टि ब्रेकर, टि ब्याक प्याकेजिङ, डिप प्युरिङ मेसिन, चिया सङ्कलनका लागि ट्रक, १२५ केभिए र ४० केभिए का दुईवटा जेनेरेटर लगायतका १८ प्रकारका सामग्री खरिद गरे ।
ग्रीन टि निर्माण गर्न आवश्यक एउटा नयाँ भवनसमेत उन्नतिकै सहयोगमा निर्माण गरिएको उनले बताए । चियालाई आइएसओ मापदण्ड अनुसारको सरसफाइको व्यवस्था समेत गरिएको छ । कारखानाको भुइँमा टायलसमेत बिच्छ्याइएको छ । महिला र पुरुष शौचालय निर्माण गरिएको छ । यी सामग्रीसँगै किसानहरुसँग गोठ सुधार कार्यक्रम समेत सञ्चालन गरिएको छ ।
चिया उत्पादन भए पनि गाउँका भित्री सडकमा सवारी पुग्न नसक्दा चिया सङ्कलनमा समस्या थियो तर उन्नति समावेसी परियोजनाले बनाएको गाग्रे भन्ज्याङ–जितपुर–सोयाक–चिसापानी सडकले थप टेवा पुगेको छ । हाल चियाको याममा हरियो पत्ती र तयारी चिया खरिद गरेको ट्रक मार्फत नै सङ्कलन र बिक्री भइरहेको उनले बताए । कारखानामा आवद्ध रहेका जितपुरभित्र रहेका चार वटा सहकारीका किसानहरुको चिया उत्पादन गरिरहेको उनले बताए । किसानको उत्पादनको अर्ग्यानिक प्रमाणीकरण गर्ने काम पनि अघि बढेको उनले बताए । अर्ग्यानिक प्रमाणीकरण भएपछि चियाको बजार मूुल्य बढ्ने र माग समेत उच्च हुने आशा गरिएको छ ।
गोठ सुधार कार्यक्रमअन्तर्गत ४३ किसानले पशुको मलमूत्र व्यवस्थापनमा सहयोग पाइरहेका छन् । उनीहरुले कार्यक्रमअन्तर्गत प्रतिगोठ १० हजार रुपैयाँ पाएका छन् । सञ्चालक सुरेशले भने – “उहाँहरु आफैँले प्रतिगोठ १० हजार थपेर गाईभैँसीको गोठ सुधार गर्नुभएको छ ।”
यो कार्यक्रम शुरु भएसँगै गाइभैँसीको गोठमा किसानले सिमेन्ट लगाएर थलो निर्माण गरेका छन् । वस्तुको पिसाब बग्ने गरी गोठ निर्माण गरिसकेपछि जम्मा भएको पिसाब चियाबारीमा प्रयोग गर्ने गरेको बताइएको छ । उन्नति कार्यक्रमसँगको सहकार्यमा मिस्ट भ्याली चिया कारखानाले ५० प्रतिशत अनुदानमा किसानहरुको गोठ सुधार कार्यक्रम सञ्चालन गरेको हो । कार्यक्रम सञ्चालन भएपछि प्रत्येक किसानले १० हजार रुपैयाँ पाएका थिए । किसानहरुले गोठ सुधार कार्यक्रमबाट आफूहरुलाई राम्रै फाइदा पुगेको बताएका छन् ।
गोठ सुधार कार्यक्रमले आफूहरुलाई अर्ग्यानिक खेतीको बाटोमा हिँड्नसमेत सहयोग पुगेको किसानहरुले बताएका छन् । कुल ३५३ जना किसानले हाल लिम्बूले सञ्चालन गरेको कारखानामा चिया बिक्री गर्छन् । तीमध्ये हाल १०० किसानले उत्पादन गरेको चियाले अर्ग्यानिक प्रमाणपत्र प्राप्त गरिसकेका छन् । कारखानाले ६ वटा किसान समूहबाट समेत चिया खरिद गर्ने गरेको छ ।
अन्तर्राष्ट्रिय बजारको मागअनुसार आवश्यक ग्रीन टि निर्माण गर्न र प्याकेजिङ गर्न उन्नत समावेसी परियोजना आफ्ना लागि निकै फलदायी बनेको सुरेशले बताए । उनले भने – “दुई वर्ष पछि गर्ने सोच बनाएको काम एकै वर्षमा पूरा गरियो ।” ग्रीन टि हाल भारत, अस्ट्रेलिया, डेनमार्क लगायतका युरोपेली मुलुकहरुमा जान थालेको छन् ।
गत वर्ष प्रतिकिलो ५२ रुपैयाँमा बिक्री भएको चिया यस वर्ष ६० रुपैयाँ बिक्री भएको किसानहरु बताउँछन् । चियाको प्रतिकिलो ८ रुपैयाँ भाउ बढ्नु पनि ठूलै उपलब्धिका रुपमा लिइएको छ । अग्र्यानिक प्रमाणीकरण, कारखानाको क्षमता विस्तार, मूल्य वृद्धिमा मात्र हैन धेरै प्रकारका चिया उत्पादनमा उन्नतिले गर्दै आएको सहयोग आफ्ना लागि ठूलो अवसर भएको सञ्चालक सुरेश बताउछन ।
कार्यक्रम सञ्चालन भएपछि ब्ल्याक र ग्रिन टि १ लाख ५० हजार किलोग्राम उत्पादन गर्ने क्षमतामा कारखाना रुपान्तरण भएको लिम्बूले बताए । कार्यक्रम सञ्चालन भएपछि गुणस्तर र कामको क्षमतामा ३० प्रतिशतभन्दा बढी वृद्धि भएको छ । उन्नतिले डेनमार्क सरकारको सहयोगमा सातवटा पहाडी तथा हिमाली जिल्लाहरु (संखुवासभा, भोजपूर, तेह्रथुम, धनकुटा, ताप्लेजुङ, पाँचथर र इलाम) मा अर्थोडक्स चिया, अदुवा, डेरी र अलैंचीसमेत ४ वटा कृषि वस्तुको मूल्य शृङ्खलाको व्यवसायीकरणमा मद्दत गरिरहेको छ । सन् २०१४ देखि ५ वर्षका लागि कार्यक्रम सञ्चालन गरेको परियोजनाअन्तर्गत लिम्बूको व्यवसायलाई पनि सहयोग गरेको कृषिविज्ञ केशव सिलवालले जानकारी दिए । उन्नति परियोजना गत डिसेम्बरदेखि सकिए पनि यसको प्रभाव उत्तिकै छ ।
यस कार्यक्रममार्फत जिल्ला र जिल्ला बाहिरका धेरै किसान तथा व्यवसायीहरुले राहत महसुस गरेका छन् । उन्नति परियोजना मार्फत प्रदेश नं १ का सात जिल्लामा छ अर्ब रुपैयाँ खर्च भएको छ ।
गरीबी न्यूनीकरण र जीवन स्तरमा सुधारको लक्ष्यसहित कृषि वस्तुको व्यावसायीकरण तथा ग्रामीण पूर्वाधार स्तरोन्नति गर्दै जाने यो कार्यक्रमबाट अदुवा, अर्थोडक्स चिया, अलैँची र डेरी गरी चारवटा उत्पादनका मूल्य शृङ्खला कायम गर्ने काम गरिएको थियो । उन्नतिको मूल्य श्रृङ्खला कार्यक्रमअन्तर्गतको उन्नति कोषमार्फत ती जिल्लाहरूमा १५९ वटा आयोजना सञ्चालन गरिएको थियो । प्रत्यक्ष सहयोग कार्यक्रमअन्तर्गत १०७ वटा आयोजनाहरू सञ्चालनमा रहे । उन्नति इलामका कर्मचारी केशवप्रसाद सिलवालका अनुसार आयोजनाहरूमध्ये मेची क्लस्टरतर्पm उन्नति कोषमार्पmत इलाममा १०४ वटा, पाँचथरमा १० वटा र ताप्लेजुङमा तीनवटा तथा प्रत्यक्ष सहयोग कार्यक्रमअन्तर्गत इलाममा २० वटा, पाँचथरमा ८ वटा र ताप्लेजुङमा १७ वटा आयोजनाहरू सञ्चालन भएका थिए ।
कुल बजेटमध्येबाट इलाममा सञ्चालन भएका चियासम्बन्धी ५७ वटा, डेरीसम्बन्धी २९ वटा, अलैँचीसम्बन्धी १५ वटा र अदुवासम्बन्धी ३ वटा आयोजना सञ्चालन भए । यसको लागत ४३ करोड ३० लाख रुपैयाँ छ ।