पोखरामा सामुदायिक विद्यालय पढाउने अभिभावकको निःशुल्क स्वास्थ्य बिमा
सरकारी विद्यालयहरु प्रति आकर्षण वृद्धि गर्नका लागि चालु आर्थिक वर्षदेखि कार्यान्वयन हुने गरी सो कार्यक्रम सञ्चालन गरिएको पोखरा महानगरपालिका १२ का वडाध्यक्ष सन्तोष बास्तोलाले बताए।कास्की, मंसिर ७ : पोखरा महानगरपालिका १२ ले सामुदायिक विद्यालयमा छोराछोरी पढाएका सबै अभिभावकको निःशुल्क पारिवारिक स्वास्थ्य बिमा कार्यक्रम सुरु गरेको छ।
सरकारी विद्यालयहरु प्रति आकर्षण वृद्धि गर्नका लागि चालु आर्थिक वर्षदेखि कार्यान्वयन हुने गरी सो कार्यक्रम सञ्चालन गरिएको वडाध्यक्ष सन्तोष बास्तोलाले बताए।
यस कार्यक्रमबाट सामुदायिक विद्यालयमा पढ्ने विद्यार्थीको शिक्षा र स्वास्थ्य दुबै निःशुल्क हुने वडाध्यक्ष सन्तोष बास्तोलाले बताए। उनले भने,–‘सरकारी विद्यालयको शैक्षिक गुणस्तर वृद्धि गरेर विद्यार्थी आकर्षण बढाउने गरी हामीले काम गरिरहेका छौँ। सोही अनुसार वडामा स्थायी बसोबास गर्ने र सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीका परिवारको बिमा गर्ने छौं।’
पोखरा महानगरपालिका वडा नं. १२ मा अमरसिंह माध्यमिक विद्यालय, शितलादेवी सामुदायिक विद्यालय र सरस्वती आधारभूत विद्यालय गरी तीन विद्यालयमा चार हजार तीन सय विद्यार्थी अध्ययन छन्।
पारिवारिक स्वास्थ्य बिमा कार्यक्रमबाट सामुदायिक विद्यालयप्रतिको आकर्षण वृद्धि गर्ने र वडावासीको स्वास्थ्यमा पहुँच समेत बढाउने अपेक्षा गरिएको वडाध्यक्ष वास्तोलाले बताए।
स्वास्थ्य बिमा कार्यक्रमका लागि चालु वर्षमा १० लाख बजेट विनियोजन गरिएको वडाले जनाएको छ।
स्वास्थ्य बिमा कार्यक्रममा वार्षिक तीन हजार पाँच सय प्रिमियम तिरेर परिवारका पाँचजना सदस्यले एक लाख बराबरको स्वास्थ्य उपचार सुविधा पाउने व्यवस्था रहेको छ। आफ्ना छोराछोरी सामुदायिक विद्यालय पढाउने अभिभावकको उक्त बिमा प्रिमियमबापतको रकम वडाले भुक्तानी गर्नेछ।