Kathmandu Press

श्रवण मुकारुङको दशैं : साझा संस्कृतिदेखि बाल्यकालको दक्षिणासम्म

‘दशैंले हामीलाई जोड्ने काम गर्छ। आफ्नो परिवारमा त जोड्छ नै, त्यसका अलवा समुदाय, जातजाति साथै आम नेपालीलाई एउटा सूत्रमा बाँध्न महत्त्वपूर्ण भूमिका खेल्छ,’ नेपाल न्यूज बैंकसँगको कुराकानीमा मुकारुङले भने ।
श्रवण मुकारुङको दशैं : साझा संस्कृतिदेखि बाल्यकालको दक्षिणासम्म

काठमाडौं, कात्तिक ३ : साहित्यकार तथा गीतकार श्रवण मुकारुङ दशैँलाई परिवारसँगै समुदाय र नेपाली समाजलाई भावनात्मक तथा सांस्कृतिक रूपमा जोड्ने पर्वका रूपमा व्याख्या गर्छन्। पितापुर्खादेखि मनाउँदै आएको दशैँ नेपाली समाजको साझा पर्वका रूपमा स्थापित भएको उनको बुझाइ छ ।

‘दशैंले हामीलाई जोड्ने काम गर्छ। आफ्नो परिवारमा त जोड्छ नै, त्यसका अलवा समुदाय, जातजाति साथै आम नेपालीलाई एउटा सूत्रमा बाँध्न महत्त्वपूर्ण भूमिका खेल्छ,’ नेपाल न्यूज बैंकसँगको कुराकानीमा मुकारुङले भने ।

यद्यपि, यस वर्ष परिवारमा परेको अशुभ घटनाका कारण मुकारुङले टीका लगाउने छैनन् । सामान्य रूपमा दशैँ मनाउने योजनामा छन् । टीका नलगाए पनि आफन्तसँग भेटघाट गर्ने र खुसी साटासाट गर्नेक्रम भने जारी रहने उनी बताउँछन्।

मुकारुङको बाल्यकालको दशैँ रङ्गीन उत्सवजस्तै थियो। बाल्यकालमा धार्मिक, सामाजिक र सांस्कृतिक महत्त्वभन्दा पनि मीठो खान पाइने, नयाँ लुगा लगाउन पाइने, मामाघर जान पाइने र ठूलाबडाबाट आशीर्वाद लिन पाइने कुराले आकर्षित गर्ने गरेको उनी सम्झन्छन्।

पिङ र खटखटे खेल्ने चलन पनि थियो। खटखटेमा झन्डी, मुकुट, पाना, चिंडी र बोटेजस्ता चिह्न प्रयोग गरेर पैसा राखी खेलिने गरेको उनी बताउँछन्।

उनको बाल्यकालमा दशैँको सबैभन्दा रमाइलो पक्ष मामाघर जानु थियो। तर मूलघरमा मनाइने दशैँ भने अझ भव्य हुन्थ्यो। मुकारुङका हजुरबुवा गाउँका प्रमुख अर्थात् राई पदवी पाएका व्यक्ति थिए।

त्यसैले आसपासका पाँच–छवटा गाउँबाट मानिसहरू कोसेली लिएर उनको घरमा दशैँ मान्न आउने गर्थे। कसैले दही, कसैले केरा, कसैले रोटी त कसैले अन्य परिकार ल्याउँथे। गाउँका मानिस भेला हुने र हजुरबुवाले टीका लगाइदिने परम्परा थियो।

‘हजुरबुवाले निधारभरि टीका लगाइदिनुहुन्थ्यो। सबैसँग भेटघाट हुने, खान पाइने, आशीर्वाद लिन पाइने त्यो एउटा रमाइलो हुन्थ्यो,’ उनी सम्झन्छन्।

बाल्यकालमा आफू राम्रो नाच्ने भएकाले चाडपर्वका अवसरमा बूढापाका र आफन्तले नाच्न लगाउने गरेको उनको अर्को रोचक सम्झना छ । नाचेको देखेर मानिसहरूले पैसा दिन्थे । त्यतिबेला एक रुपैयाँ ठूलो रकम मानिन्थ्यो। नाचेर कमाएको पैसा लिएर घर फर्कंदा बाटोमा हराएको र घर पुगेपछि पैसा नभएको थाहा पाउँदा निकै दुःखी भएको घटना उनी अहिले पनि सम्झन्छन्। त्यो पैसा टीका लगाएर पाएको दक्षिणाभन्दा पनि बढी खुसीसाथ जम्मा गरेको रकम थियो।

मुकारुङले पहिले आफूले रातो टीका लगाएर दशैँ मनाएको भए पनि पछिल्लो समय समुदायका कतिपयले सेतो दही र अक्षताको टीका लगाउने अभ्यास सुरु गरेका छन्।

दशैँ जनजाति समुदायमाथि लादिएको पर्व हो भन्ने बहस पनि चलिरहेको छ। तर कुनै समुदाय वा व्यक्तिले पर्व कसरी मनाउने भन्ने विषय व्यक्तिगत स्वतन्त्रता र सामुदायिक छनोटसँग जोडिएको उनको धारणा छ।

बलिप्रथाबारे पनि मुकारुङ सन्तुलित दृष्टिकोण राख्छन्। अत्यधिक पशुबलिले हिंसाको अनुभूति गराउन सक्ने भए पनि मानिसलगायत जीवित प्राणीको अस्तित्व प्रकृतिको खाद्यचक्रसँग जोडिएको उनको तर्क छ । त्यसैले बलिको सङ्ख्या घटाउनु राम्रो भए पनि चाडपर्वमा आफ्नो क्षमताअनुसार मासु खाने परम्परालाई पूर्णतः अस्वीकार गर्नुपर्ने पक्षमा उनी छैनन्।

साहित्यमा चाडपर्वको स्थानबारे मुकारुङ भन्छन्, ‘संस्कृति मानिसको जीवनशैली र सभ्यताको विकासक्रमसँग जोडिएको हुन्छ । मानिसका कथा लेख्ने साहित्यले मानिसले निर्माण गरेका सांस्कृतिक अभ्यास र उत्सवलाई पनि समेट्छ। ’

चाडपर्वको समयमा पुस्तक प्रकाशन र बिक्री बढ्ने सम्भावना पनि रहेको उनी बताउँछन्। दशैँअघि गाउँ फर्कनेहरूले यात्रामा पढ्न, आफन्तलाई उपहार दिन वा गाउँमा छाडेर अरूलाई पढाउन पुस्तक किन्ने भएकाले प्रकाशकहरूले चाडपर्वको समयलाई ध्यानमा राखेर पुस्तक बजारमा ल्याउने गरेको उनको अनुभव छ।

आफ्नो संस्कृति नबिर्सन, चाडपर्वसँग जोडिएका मिथक र प्रतीकको गहिरो अध्ययन गर्न तथा दशैँसँग सम्बन्धित साहित्य पढ्ने अभ्यास बढाउन पनि उनी आग्रह गर्छन्।

प्रकाशित मिति: ११:४६ बजे, मंगलबार, कात्तिक ३, २०८३
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्