कर्णालीको विकासका लागि सहकार्य हुनुपर्नेमा मुख्यमन्त्रीको जोड
‘जुम्लाको विकासका निम्ति सबै तहका निकाय र राजनीतिक पक्षधारबीच समन्वय जरुरी छ,’ उनले भने, ‘हरेक योजनामा सहभागी सबै पक्षले सामूहिक जिम्मेवारी लिनुपर्छ।’जुम्ला, मंसिर ८ : कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलले कर्णालीको समग्र विकास र दिगो पूर्वाधार निर्माणका लागि संघ, प्रदेश र स्थानीय तहका कर्मचारी, सबै राजनीतिक दल तथा निर्वाचित जनप्रतिनिधिबीच सहकार्य अपरिहार्य भएको बताएका छन्।
जुम्ला सदरमुकाम खलंगामा भएको सार्वजनिक सेवा प्रवाहसम्बन्धी छलफलमा मुख्यमन्त्री कँडेलले कर्णलीको विकासमा सबै पक्षबीच सहकार्य हुनुपर्ने बताएका हुन्।
कर्णालीका दशवटै जिल्लाको समृद्धिको परिकल्पना पूरा गर्न एकीकृत योजना र सहकार्यको आवश्यकतामा जोड उनले जोड दिए।
‘जुम्लाको विकासका निम्ति सबै तहका निकाय र राजनीतिक पक्षधारबीच समन्वय जरुरी छ,’ उनले भने, ‘हरेक योजनामा सहभागी सबै पक्षले सामूहिक जिम्मेवारी लिनुपर्छ।’
दिगो विकासका लागि समुदायको सक्रिय सहभागिता र सर्वपक्षीय छलफलले मात्र प्रभावकारी परिणाम दिने उनले बताए।
यस्तै, कर्णाली प्रदेशसभा सदस्य देवेन्द्र शाहीले जुम्लाको समृद्धिका लागि राजनीतिक पूर्वाग्रहलाई पन्छाएर सहकार्यमा जुट्नुपर्नेमा जोड दिए। संघीय सरकारका कर्मचारी, स्थानीय जनप्रतिनिधि र राजनीतिक दलका नेताहरूले जुम्लाको स्वास्थ्य, शिक्षा, यातायात र कृषि क्षेत्रलाई प्राथमिकतामा राखेर काम गर्नुपर्ने उनको भनाइ थियो।
बजेट विनियोजनमा समानुपातिकता कायम गर्न र योजनाहरूको कार्यान्वयनमा स्थानीय जनतालाई प्रत्यक्ष रूपमा समेट्ने गरी प्रदेश सरकारले काम गर्न जरुरी भएको सिञ्जा गाउँपालिका अध्यक्ष पूर्णप्रसाद धितालले बताए।
छलफलमा यहाँका आठवटै स्थानीय तहका प्रमुखहरू, प्रदेशसभा सदस्य, संघीय र प्रदेश मातहतका कार्यालय प्रमुख, राजनीतिक दलका प्रतिनिधिहरू र नागरिक समाजका अगुवाहरूको उपस्थिति थियो।