Kathmandu Press

चुनौतीपूर्ण बन्दै क्यान्सर रोकथाम

डब्लुएचओकाे २०१३ देखि २०२० सम्मको तथ्यांकअनुसार विश्वमा हरेक वर्ष १ करोड ४१ लाख क्यान्सरका नयाँ बिरामी थपिन्छन् भने प्रत्येक वर्ष ८२ लाख मानिसले क्यान्सरकै कारण ज्यान गुमाउने गरेका छन्।
चुनौतीपूर्ण बन्दै क्यान्सर रोकथाम

काठमाडौं, माघ २० : हरेक वर्ष फेब्रुअरी ४ मा विश्व क्यान्सर दिवस मनाइन्छ। क्यान्सर नियन्त्रणका लागि अन्तर्राष्ट्रिय संघ (युआइसिसी) को पहलमा सन् २००० देखि यो दिवस विश्वव्यापी रूपमै मनाउन थालिएको हो।

यो वर्षको क्यान्सरको नारा ‘क्लोज द ग्याप’ राखिएको छ। यो नारा सन् २०२२ देखि २०२४ सम्म लागु हुनेछ। यसअघि सन् २०१९ देखि २०२१ सम्मका लागि नारा ‘म छु र म हुनेछु’ भन्ने थियो।

पछिल्लो समय नसर्ने तथा कडा खालका रोगको प्रकोप दिनप्रतिदिन बढ्दै गएको विश्व स्वास्थ्य संगठनको तथ्यांकले देखाउँछ। विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का अनुसार विश्वमा हरेक वर्ष हृदयाघातबाट १ करोड ७९ लाख, क्यान्सरबाट ९३ लाख, श्वासप्रश्वाससम्बन्धी रोगबाट ४१ लाख र मधुमेहबाट २५ लाख मानिसको मृत्यु हुने गर्छ। अमेरिकन क्यान्सर सोसाइटीको अध्ययनअनुसार सन् २०३० सम्ममा विश्वभरि २३ करोड ६० लाख व्यक्ति क्यान्सरबाट पीडित हुनेछन्। जुन संख्या प्रतितीन व्यक्तिमध्ये एकजना क्यान्सरको बिरामी हुन जान्छ।

Hardik ivf

डब्लुएचओको यसै तथ्यांकलाई मध्यनजर गर्ने हो भने विश्वमा मृत्यु हुने पहिलो कारणमा मुटुसम्बन्धी रोग र दोस्रो कारणमा क्यान्सर रहेको छ। डब्लुएचओकाे २०१३ देखि २०२० सम्मको तथ्यांकअनुसार विश्वमा हरेक वर्ष १ करोड ४१ लाख क्यान्सरका नयाँ बिरामी थपिन्छन् भने प्रत्येक वर्ष ८२ लाख मानिसले क्यान्सरकै कारण ज्यान गुमाउने गरेका छन्।

क्यान्सरका बिरामीको तथ्यांक राख्ने संस्था ग्लोबोक्यानको रिपोर्टअनुसार सन् २०१५ देखि २०२० सम्म नेपालमा ३६ हजार ९०६ जना बिरामी क्यान्सरका थिए। सन् २०२० मा मात्रै क्यान्सरका २० हजार ५०८ बिरामी थपिए भने १३ हजार ६२९ जनाको मृत्यु भयो।

त्यस्तै नेपाल हेल्थ रिसर्च काउन्सिलले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सहयोगमा नेपालमा क्यान्सरको अवस्था र त्यससम्बन्धी तथ्यांक संकलन गर्दै आएको छ। नेपालमा ७७ जिल्ला भए पनि काउन्सिलले सन् २०१८ यता नेपालका नौ जिल्ला काठमाडौं, ललितपुर, भक्तपुर, सिरहा, सप्तरी, धनुषा, महोत्तरी, पुर्वी रुकुम र पश्चिम रुकुममा क्यान्सरको अनुसन्धान गरी तथ्यांक संकलन गर्ने गरेको छ।

cancer-metastasis-cancerwise1675487992.jpg

कान्सिलले सन् २०१९ मा नौ जिल्लामा अनुसन्धान गर्दा ३ हजार २९५ क्यान्सरका बिरामी रहेको तथ्यांक छ। नौ जिल्लामा लिइएको तथ्यांकअनुसार सबैभन्दा बढी क्यान्सरका बिरामी काठमाडौं उपत्यकाका तीन जिल्ला काठमाडौं, भक्तपुर र ललितपुरमा छन्। यी तीन जिल्लामा २ हजार १९ क्यान्सर रोगी भेटिएका थिए भने ८४७ जनाको मृत्यु भएको थियो। यसरी सन् २०१९ मा नौ जिल्लामा क्यान्सरकै कारण मृत्यु हुनेको संख्या १ हजार ४२७ रहेको काउन्सिलको तथ्यांकमा उल्लेख छ।

यसरी विश्वव्यापी रूपमा कडा खालको रोगको प्रकोप बढ्दै गर्दा नेपाल सरकारले आर्थिक अभावका कारण कुनै पनि नागरिकले अकालमै ज्यान गुमाउनुनपरोस् भन्ने आशयले आठ प्रकारका कडा रोग क्यान्सर, मुटु, मिर्गाैला, पार्किन्सन्स, अल्जाइमर्स, हेड इन्जुरी, स्पाइनल इन्जुरी र सिकलसेल एनिमियामा ‘विपन्न नागरिक औषधि उपचार कोष निर्देशिका २०७५’ बनाई विपन्न नागरिकलाई उपचारमा सहुलियत दिन थालेको छ।

तीन वर्षमा ७२ हजार बिरामीले लिए सहुलियत

कडा खालका आठ रोगको उपचारमा विपन्न नागरिकलाई उपचार सेवामा सरकारले सहुलियत दिन थालेपछि विपन्न नागरिक उपचार कोषबाट उपचार गराउने बिरामीको संख्या बढ्दै गएको छ। विगत तीन वर्षमा देशभर सबैभन्दा बढी उपचारमा सहुलियत लिने बिरामी क्यान्सरका रहेको स्वास्थ्य विभागको नर्सिङ तथा सामाजिक सुरक्षा महाशाखाकी सूचना अधिकारी वन्दना भट्टले बताइन्। ‘विपन्न नागरिक औषधि उपचार कोष निर्देशिका २०७५ अनुसार क्यान्सरको उपचार सेवाका लागि विपन्न नागरिकले १ लाख सम्मको सहुलियत पाउने व्यवस्था रहेको छ,’ उनले भनिन्।

भट्टका अनुसार आर्थिक वर्ष २०७६/७७ मा नेपालभरिबाट ३४ हजार ६६७ क्यान्सरका बिरामीले उपचारमा सहुलियत लिएका थिए। त्यस्तै आर्थिक वर्ष २०७७/७८ मा १५ हजार १८७ जना र २०७८ चैतसम्म १८ हजार ३६२ नागरिकले सेवा लिएका थिए।

२०७९ वैशाखदेखि भने उक्त कार्यक्रम स्वास्थ्य बिमा बोर्डले सञ्चालन गर्दै आएको छ। २०७९ वैशाखदेखि असोज मसान्तसम्मको तथ्यांक हेर्दा ३ हजार ८४७ क्यान्सरका बिरामीले उपचारमा सहुलियत सेवा लिएको स्वास्थ्य बिमा बोर्डका प्रवक्ता शम्भुप्रसाद ज्ञवालीले बताए। यसरी तीन आर्थिक वर्षमा नेपालमा विपन्न नागरिक औषधि उपचार कोषमार्फत सेवा लिने क्यान्सरका बिरामीको संख्या ७२ हजार ६३ रहेको छ।

अस्पतालका प्रशासक राजाराम तजले ।

२०५१ सालदेखि क्यान्सर रोगको उपचारमा तल्लीन भक्तपुर क्यान्सर अस्पतालले पनि ४ फेब्रुअरीमा क्यान्सर दिवस मनाउने भएको छ। अस्पतालका प्रशासक राजाराम तजलेका अनुसार विगत २७ वर्षदेखि भक्तपुर क्यान्सर अस्पतालले क्यान्सर रोगको उपचार, यससम्बन्धी विभिन्न जनचेतना शिविर पनि सञ्चालन गर्दै आएको छ।

यो वर्ष क्यान्सर दिवस शनिबार परेकाले शुक्रबार भक्तपुर क्यान्सर अस्पतालमा उपचारका लागि आएका बिरामीको ओपिडी टिकटलगायत फलोअप टिकट निःशुल्क गरिएको उनले बताए। ‘यसका साथै शनिबारको दिन भक्तपुरमा रहेका महिलाहरुको लागी पाठेघरको क्यान्सरको परीक्षण पनि निःशुल्क गरिनेछ,’ उनले भने।

भक्तपुर क्यान्सर अस्पतालमा बिरामीको चाप बढ्दो

२०५१ सालमा सामुदायिक अस्पतालका रूपमा स्थापना भएको भक्तपुर क्यान्सर अस्पताल २०७७ सालमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको मातहतमा आइसकेपछि क्यान्सर बिरामीको चाप बढ्दै गएको अस्पतालका प्रशासक तजलेको भनाइ छ।

भक्तपुर क्यान्सर अस्पतालमा अहिले देशभरिका जिल्लाबाट उपचारका लागि क्यान्सरका बिरामी आउने गरेको उनी बताउँछन्। ‘अस्पतालमा क्यान्सरको उपचारका लागि आएका बिरामीलाई बाहिर जानुनपर्ने गरी हामीले सम्पूर्ण उपचार सेवा उपलब्ध गराउँदै आएका छौं,’ उनी भन्छन्, ‘अस्पतालले रेडियोथेरापी, केमोथेरापी र शल्यक्रियाबाट उपचार सेवा दिँदै आएको छ।’

अहिले भक्तपुर क्यान्सर अस्पतालले १२६ बेडबाट उपचार सेवा दिँदै आएको छ। उपचारका लागि आएका क्यान्सर बिरामीमध्ये करिब २० प्रतिशत मात्र निको हुने चरणमा आउने गरेको भक्तपुर क्यान्सर अस्पतालकी सूचना अधिकारी राजमती गोसाईंले बताउँछिन्।

Untitled-11675487829.jpg

‘८० प्रतिशत बिरामी भने जटिलतापछि मात्र आउने गरेकाले उनीहरूलाई बचाउनेभन्दा पनि अलि केही दिन बाँच्न सहजीकरण गर्ने काम गरिन्छ,’ उनले भनिन्। रोग लाग्नुभन्दा रोग नलाग्नु बेस हो भन्ने आशयले नै समयसमयमा भक्तपुर जिल्ला र उपत्यकाबाहिरका नगरपालिकाको अनुरोधमा महिलाको पाठेघरको क्यान्सरको परीक्षणसम्बन्धी शिविर पनि अस्पतालले सञ्चालन गर्दै आएको सूचना अधिकारी गोसाईंले बताइन्।

विगत पाँच वर्षमा भक्तपुर क्यान्सर अस्पतालबाट हजाराैं क्यान्सरका बिरामीले उपचार सेवा लिइसकेका छन्। सन् २०१७ मा भक्तपुर अस्पतालबाट ३ हजार ४५१ क्यान्सरका बिरामीले उपचार लिए। जसमध्ये १ हजार ४८७ पुरुष र १ हजार ९६४ महिला थिए। त्यस्तै २०१८ मा ३ हजार ४१२ बिरामीले उपचार सेवा लिए। तीमध्ये १ हजार ५२४ पुरुष र १ हजार ८८८ महिला थिए।

त्यस्तै, विपन्न कोषबाट भक्तपुर क्यान्सर अस्पतालमा उपचार गराउने क्यान्सर बिरामीको संख्यामा पनि वृद्धि हुँदै गएको छ। सरकारबाट क्यान्सर रोगमा १ लाख उपचार सहुलियत दिन थालेपछि विपन्न समुदायका नागरिकले विपन्न नागरिक कोषमार्फत उपचार गराउने क्रम बढ्दै गएको अस्पतालका प्रशासक राजाराम तलजे बताए।

cancer1675489875.jpg

आर्थिक वर्ष २०७६/७७ मा भक्तपुर क्यान्सर अस्पतालबाट १ हजार ७२९ क्यान्सरका बिरामीले अस्पतालको विपन्न नागरिक कोषमार्फत उपचार सेवा लिएको सूचना अधिकारी गोसाईंको भनाइ छ। त्यस्तै आर्थिक वर्ष २०७७/७८ मा १ हजार पाँच र आर्थिक २०७८/७९ मा १ हजार ५५ जना क्यान्सर बिरामीले विपन्न कोषमार्फत सेवा लगेका छन्। यसरी हेर्दा तीन आर्थिक वर्षको तथ्यांक हेर्ने हो भने भक्तपुर क्यान्सर अस्पतालबाट ३ हजार ७८९ क्यान्सरका बिरामीले विपन्न कोषमार्फत उपचार सेवा लिएका छन्।

क्यान्सरका चार स्टेज

क्यान्सरका चार स्टेज छन्। पहिलो स्टेज भनेको अंगको क्यान्सर हो, जुन अंगमा क्यान्सर छ, त्यही अंगमा क्यान्सर सीमित छ भने त्यस्तो क्यान्सर निको हुने सम्भावना ८० प्रतिशत हुन्छ। त्यस्तै स्टेज २ मा भने अंगको क्यान्सर फैलने अवस्थामा पुग्छ। यस्तो अवस्थामा क्यान्सर निको हुने सम्भावना ५० प्रतिशत रहन्छ।

canver1675487912.jpg

त्यस्तै क्यासर स्टेज ३ मा छ भने क्यान्सर फैलिएर केही बढी भागमा पुगेसकेको हुन्छ। त्यस्तो अवस्थामा निको हुने सम्भावना २५ प्रतिशत रहन्छ। अन्तिममा क्यान्सरको ४ स्टेज त्यो अवस्थामा क्यान्सर एक अंगबाट अर्काे अंगमा सरिसक्ने हुँदा निको हुने सम्भावना रहँदैन।

क्यान्सर निकै जटिल रोग हो। रोग जटिल भए पनि समयमै जाँच गराएर रोग पत्ता लागेमा निको हुने सम्भावनमा रहने भएकाले समयमै परिक्षण हुन आवश्यक देखिन्छ।

कसरी लाग्छ क्यान्सर?

५० प्रतिशत क्यान्सर अस्वस्थकर खानाको कारण लाग्ने गरेको चिकित्सकहरु बताउँछन्। ३५ प्रतिशत क्यान्सर चुरोटका कारणले हुने भएकाले पनि चुरोटबाट टाढै बस्नुपर्ने उनीहरुको सुझाव छ।

खाना अपच भए, स्तन वा अन्य ठाउँमा नदुख्ने गिर्खा आए, निको नहुने खोकी लागे, निको नहुने घाउ भए, दिसा वा पिसाबको तालिका फेरिए क्यान्सरको लक्षण हो भनेर बुझ्नुपर्छ। जोकोहीको स्वास्थ्यमा यस्ता लक्षण देखिए स्वास्थ्य परिक्षण गर्नुपर्ने चिकित्सकहरू सुझाउँछन्।

 

प्रकाशित मिति: १०:४८ बजे, शनिबार, माघ २१, २०७९
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्