के हो हृदयाघात? कसरी बच्ने?
हृदयाघातको जोखिम धूमपान गर्ने व्यक्तिमा अन्य व्यक्तिको तुलनामा दुई गुणा बढी हुने डा. रेग्मी बताउँछन्।काठमाडौं, माघ १७ ः भड्किँलो जीवनशैली र अस्वस्थकर खानपानका कारण विश्वमा नयाँनयाँ रोगको प्रकोप बढ्दै गएको छ। त्यस्ता रोगहरू सर्ने र नसर्ने दुवै खालका छन् । सर्ने खालका रोगबाट मात्र होइन, नसर्ने कडा खालका रोग लागेर मृत्यु हुनेको संख्या प्रत्येक वर्ष उकालो लाग्दै गएको छ। त्यस्ता रोगहरूमध्ये हृदयाघात (हार्ट अट्याक) पनि एक हो।
विश्व स्वास्थ्य संगठनका अनुसार विश्वव्यापी रूपमा बढी मानिस मृत्यु हुने प्रमुख कारणमध्ये हृदयाघातलाई पनि मानिएको छ। विश्व मुटु महासंघका अनुुसार मुटुरोग लागेर हरेक वर्ष विश्वभरि १ करोड ८० लाख मानिसको मृत्यु हुन्छ। तीमध्ये विकासोन्मुख देशको विपन्न वर्गका मात्रै ८० प्रतिशत हुन्छन्।
त्यस्तै अमेरिकन हार्ट एसोसिएसन (एएचए) का अनुसार विश्वव्यापी रूपमा वार्षिक ८ लाख ५ हजार मानिसको मृत्यु हृदयाघातका कारण हुन्छ भने १ लाख ७० हजारको मृत्यु ‘साइलेन्स हार्टअट्याक’ (लक्षण नदेखिएरै हुने हृदयाघात) बाट हुने गर्छन्।
मानिसको उमेर ४० वर्ष कटेपछि विभिन्न रोग लाग्ने सम्भावना बढी हुनुका साथै हृदयाघातको जोखिम पनि उच्च रहन्छ भन्ने मान्यता कुनै बेला निकै प्रचलित थियो। तर अहिले सो कथन गलत भइसकेको छ। अर्थात् हिजोआज ४० वर्षमुनिका युवामा पनि मुटुरोग तथा हृदयाघात धेरैमा हुने गरेको छ।
हृदयाघात हुने संख्यामध्ये १२ प्रतिशत ४० वर्षमुनिका हुने गरेको सहिद गंगालाल हृदय केन्द्रले जनाएको छ। जसमा पुरुष ५५ वर्ष र महिला ६५ वर्ष नाघेपछि उच्च रक्तचाप, चिल्लो खानपान, मधुमेह, कोलेस्टोरल, मोटोपना, हर्माेन, तनावजस्ता कारण हृदयाघातका सिकार हुन्छन्। यो .तथ्यले नेपालमा पनि हृदयाघातको क्रम बढ्दो अवस्थामा रहेको देखाउँछ।
मुटुरोग विशेषज्ञ डा. प्रकाशराज रेग्मीका अनुसार विभिन्न कारणले मुटुको मांशपेसीको मृत्यु हुनुलाई नै हृदयाघात भनिन्छ। हृदयाघात हुनुका कारण, लक्षण, उपचार पद्धतिबारे सबैले जानकारी राख्नुपर्ने आवश्यकता उनी औंल्याउँछन्।
के हो हृदयाघात?
मुटुको मांसपेसीलाई रगतसम्म पु¥याउने काम रक्तनलीले गर्छ । कुनै कारणले रक्तनली बन्द भयो भने मुटुको मांसपेसीमा रगत पुग्दैन। जसको कारण मुटुको मांसपेसीको मृत्यु हुन्छ। त्यसलाई नै हृदयाघात (हार्ट अट्याक) भनिन्छ। डा. रेग्मीका अनुसार हृदयाघात हँुदा छाती बेसरी दुख्ने गर्छ, जसका कारण मुटुका मांसपेसीको मृत्यु हुन पुग्छ। यसरी मुटुका मांसपेसीको मृत्यु हुनुलाई हृदयाघात भएको भनिन्छ।
मुटु मांसपेसीको डल्लो हो। जसमा तीनओटा प्रमुख रक्तनली हुन्छन्। ती रक्तनलीमध्ये कुनै एउटा मात्र बन्द भयो भने पनि मांसपेसीमा रगत पुग्दैन, जसका कारण अक्सिजन, ग्लुकोज, भिटामिनलगायत कुनै खाद्यपदार्थ पुग्दैन। खाद्यपदार्थ नै नपुगेपछि करिब दुई घन्टापछि मांसपेसीको मृत्यु हुन थाल्छ र मांसपेसीमा रहेका कोषिकाहरू बिस्तारै मर्दै जान्छन्, जसकारण हृदयाघात हुने गर्छ।
हृदयाघातका कति प्रकार छन्?
डा. रेग्मीकाअनुसार हृदयाघातका विभिन्न प्रकार छन्। साधारण भाषामा भन्दा पहिलो हो, ‘ठुलो हृदयाघात’ र दोस्रोमा पर्छ ‘सानो हृदयाघात’। ठुलो हृदयाघातले मुटुको धेरै भागको मांसेपेसी मार्छ। यो सबैभन्दा खतरनाक हुन्छ। सानो हृदयाघातले थोरै मांसेपेसीको मृत्यु गराउँछ। ठुलो हृदयाघात हुँदा बाँच्ने सम्भावना कम र सानो हृदयाघात हुँदा बाँच्ने सम्भावना बढी हुन्छ।
त्यस्तै, मुटुका अगाडि–पछाडि, दायाँ–बायाँ भित्ता हुन्छन्। कसैलाई मुटुको अगाडिको त कसैलाई मुटुको पछाडिको हृदयाघात पनि हुने गरेको पाइन्छ। दायाँबायाँ भित्तामा पनि हृदयाघात हुन सक्छ।समग्रमा ठुलो र सानो हृदयाघात भन्ने गरिन्छ।
कस्ता व्यक्ति बढी जोखिममा हुन्छन्?
हृदयाघातको जोखिम धूमपान गर्ने व्यक्तिमा अन्य व्यक्तिको तुलनामा दुई गुणा बढी हुने डा. रेग्मी बताउँछन्। उनका अनुसार उच्च रक्तचाप, मधुमेह, कोलेस्टोरल, मोटोपना, मानसिक तनाव, बढ्दो उमेर भएकालाई पनि हृदयाघात हुने गर्छ।
मानिसहरू अचनाक हृदयाघात भयो भन्छन् तर कसैलाई पनि यसरी हृदयाघात हुन्न। हृदयाघात हुन पहिलेदेखि नै पूर्वाधार तयार भएको हुनुपर्छ। जस्तो हृदयाघात त्यस्ता व्यक्तिलाई हुन्छ जो निन्तर रोगसँग लडिरहेको हुन्छ, जस्तो कि उच्च रक्तचाप, मधुमेह, मानसिक तनाव, कोलेस्टोर। यस्ता रोग भएका व्यक्तिमा बिस्तारैबिस्तारै मुटुमा असर पुगिरहेको हुन्छ। यी रोग हुनेहरूले समयसमयमा जाँच नगराए रोग बढ्दै गई हृदयाघात हुने गर्छ।
त्यसैगरी पुरुषलाई मात्र हृदयाघात हुन्छ, महिलालाई हुँदैन भन्ने आम बुझाइ छ। त्यसमा सत्यता नभएको डा. रेग्मी बताउँछन् । महिलालाई पनि हृदयाघात हुन्छ।
५० वर्षमुनिका महिलाहरू महिनावारी भइरहन्छ। त्यो समयमा महिलामा एस्ट्रोजेन हर्माेन अत्यधिक हुन्छ। उक्त हर्माेनका कारण महिलामा हृदयाघात हुने सम्भावना कम रहन्छ। तर उमेर बढ्दै जाँदा अर्थात् ५५ वर्षपछाडि भने महिलामा हृदयाघात हुने सम्भावना उच्च रहन्छ।
युवामा किन बढ्दैछ हृदयाघात?
अहिले हृदयाघात जवान भएको ठानिन्छ। अर्थात् अहिले हृदयाघात युवामा धेरै देखिन थालेको छ। युवाबाहेका समग्रतामा हेर्दा हृदयाघात विपन्न वर्ग, ग्रामीण भेगका मानिसमा बढी हुन थालेको देखिन्छ। यसो हुनुमा अव्यवस्थित जीवनशैली हो।
खास गरेर पुरुष वा महिलामा ५० वर्षपछि हृदयाघातको जोखिम उच्च रहने भए पनि अहिलेका युवापिँढीको जीवनशैली अत्यधिक बिग्रँदा पहिलाका भनाइहरू असत्य साबित हुँदै गएका हुन्। युवापिँढीले बढी तयारी खाना खान्छन्। चिल्लो खाना, तारेको खाना, धूमपान, मध्यपान अत्यधिक गर्ने गरेका कारण युवाहरूमा हृदयाघातको जोखिम बढी देखिएको हो।
यसका साथै खाना समयमै नखाने, शारीरिक व्यायाम नगर्ने, अनावश्यक मानसिक तनाव लिने कारणले पनि सबै युवा र माथिका उमेरसमूहमा हृदयाघातको प्रकोप बढ्दै गएको हो।
एकातिर हृदयाघात हुनुका उल्लिखित कारण त छँदैछन्, अर्कातिर हृदयाघात वंशाणुगत गुणबाट पनि सर्ने रोग हो। वंशमा कसैलाई हृृदयाघात भएको छ भने अर्थात् परिवारमा पुरुषका हकमा ५५ वर्षभन्दा कम उमेरमा र महिलाका हकमा ६० वर्ष कम उमेरमा हृदयाघात भएको छ भने वंशाणुगत हृदयाघात रहेको भनेर बुझ्नुपर्छ। वंशमा हृदयाघात छ भने सचेत रहन आवश्यक रहेको डा. रेग्मी बताउँछन्।
जाडो मौसममा किन धेरै हुन्छ हृदयाघात?
जनसंख्या वृद्धिसँगै वातावरण पनि बिस्तारै बिग्रँदै गएको छ। अहिले वातावरण निकै प्रदूषित भएको छ। यसरी प्रदूषित वातावरणले गर्दा उच्च रक्तचाप बढ्ने समस्या निम्तिन्छ।
अर्कातिर चिसोयाममा धेरैलाई हृदयाघात हुने पनि गर्छ।
चिसोका कारण रक्तनली खुम्चिने भएकाले रक्तचाप बढ्छ। जसले गर्दा मुटुमा दबाब बढी पर्छ र हृदयाघात हुन सक्छ। अर्काे कारण चिसोको अत्यधिक प्रभाव प¥यो भने रक्तनली भित्र जमेको बोसो च्यातिन्छ र हृदयाघातको सम्भावना उच्च बन्न पुगछ ।
त्यसैले जोखिम वर्ग जसले अत्यधिक मात्रामा धूमपान, मध्यपान गर्ने गरेका छन्, जसमा उच्च रक्तचाप, मधुमेह, मोटोपना छ, त्यस्ता व्याक्तिहरूमा जाडोमा हृदयाघात हुने सम्भावना बढी रहन्छ। यस्तो जोखिम वर्गमा पर्नेले जाडोमा हिँड्डुल कम गर्नु आवश्यक छ।
डा. रेग्मीका अनुसार ठुलो हृदयाघात हो भने त्यस्ता व्यक्तिमध्ये ५० प्रतिशतको हृदयाघात भएकै स्थलमा मृत्यु हुन्छ भने बाँकी १० प्रतिशतको अस्पताल लग्दै गर्दा र ३० प्रतिशतको अस्पताल पु¥याइसकेपछि मृत्यु हुन्छ। बाँकी १० प्रतिशत व्यक्तिलाई मात्र अस्पताल पु¥याइसकेपछि बचाइएको देखिन्छ।
कस्ता लक्षणहरू हुन्छन्?
हृदयाघात हुँदा छातीको मध्यभागमा अत्यधिक मात्रामा पीडा हुने डा. रेग्मी बताउँछन्। यो पीडा करिब ३० मिनेटसम्म भइरह्यो भने हार्टअट्र्याक भएको मान्न सकिने उनको भनाइ छ।
महिला र पुरुषमा हृदयाघातको फरकफरक लक्षण देखापर्ने उनी बताउँछन्। ‘पुरुषमा छातीको मध्यभागमा अत्यधिक दुख्ने, दुखाइ बायाँ हाततिर हँुदै पछाडि पातातिर सर्ने, एकाएक सास फेर्ने गाह्रो हुने, खलखलती पसिना जस्ता लक्षण देखापर्छ,’ उनी भन्छन्, ‘धेरैजसो महिलाका हकमा छातीभन्दा तल पेटभन्दा माथिको भाग ग्यास्टिक भएजस्तै दुख्ने, पोल्ने, वाकवाक लाग्ने, दुखाइ ढाडको तल्लो भागतिर सर्नेजस्ता लक्षण देखापर्छन्।’
हृदयाघातले कहिलेदेखि लक्षण देखाउँछ भनेर यसै भन्न नसकिने डा. रेग्मी बताउँछन्। कसैलाई केही वर्षदेखि लक्षण देखा पर्दै आएको हुन्छ भने कतिपयमा कुनै लक्षण नै देखिन्न र मृत्यु हुन्छ। कुनै लक्षण नदेखिई मृत्यु हुनुलाई ‘साइलेन्स हार्ट अट्याक’ भनिन्छ।
कसरी हुन्छ उपचार ?
अहिले प्रविधिसँगै उपचार विधिहरू पनि पत्ता लागेको छ। सुविधा सम्पन्न अस्पतालमा पुग्न सके हृदयाघात भएको एक घन्टाभित्र ‘एन्जियो प्लास्टिक’ गर्ने चलन रहेको छ, जसलाई गोल्डेन आवर भनिन्छ। यो एक घन्टाभित्र बिरामीलाई अस्पताल पु¥याएर उपचार गर्न सके ९० प्रतिशतलाई बचाउन सकिन्छ। जति ढिलो भयो त्यति मुटुको मांसपेसी मर्दै जान्छ र बचाउने सम्भावना घट्दै जान्छ।
ध्यान दिनुपर्ने कुरा
हृदयाघात हुन नदिन आहार, विहार, विचार र व्यवहारमा ध्यान दिनु आवश्यक रहेको डा. रेग्मी बताउँछन्। यो जीवनशैलीसँग सम्बन्धित रोग भएकाले मुटुमैत्री आहार खानु अत्यावश्यक रहेको उनी बताउँछन्।
धेरै चिल्लो खानेकुरा नखाने, नियमित व्यायाम गर्ने, हरियो सागपात, गेडागुडीको झोल खाने, मानसिक तनाव कम लिने, उत्तेजना नियन्त्रण गर्ने, चुरोट, सुर्ती र रक्सी नखाने। योगमा पनि विशेष ध्यान दिन सके अझै स्वस्थ रहन सकिने उनले बताए।
जीवनशैली बिग्रिने हृदयाघात हुने भएकाले जीवनशैली सुधार गर्न आवश्यक रहेको उनी बताउँछन्। हृदयाघात हुन यसको पूर्वाधारहरू पहिलेदेखि नै बनिरहने भएकाले १८ वर्षमाथिका हरेक मानिसले वर्षमा एकपटक नियमित स्वास्थ्य परीक्षण गराउनु आवश्यक छ।
यदि स्वास्थ्य परीक्षणका क्रममा उच्च रक्तचाप, मधुमेह, कोलेस्टोरल बढेको देखियो र उपचार गरियो भने हृदयाघात हुने सम्भावना एकदमै कम भएर जान्छ। धेरै मोटो मान्छेलाई पनि हृदयाघात हुने सम्भावना उच्च रहने भएकाले मोटोपन घटाउने उपायतिर लाग्नु जरुरी छ।