चेतनाका संवाहक गुरुङ भाषाका आदिकवि हर्क
गुरुङ समुदायको संस्कार, संस्कृतिमा पनि सुधार ल्याउनुपर्ने धारणा उनले गीति कवितामार्फत आफ्नो धारणा राखेका छन्। त्यस्तै सांस्कृतिक जागरणका कुरा पनि उनको कवितामा पाइन्छ।गहना नमाग चेली हो
त्यो गहनाले घरखेत गैजान्छ
सुन लाएर राम्रो हुन्न, छोड सुन लाउन
इलम ठूलो लेखापढी, सिकाइदेऊ भन
गहना लगाई युग जान्न, गहना नलाइदेऊ
गहना नल्याई हुन्न भन्ने, बानी छोडिदेऊ
गहना नमाग चेली हो...
यो स्याङ्जाको फेदीखोला साल्मेगाउँका हर्कबहादुर गुरुङको २०१६ सालमा प्रकाशित कृति ‘गीति पुस्तक’मा समावेश गीति कवितामध्ये एउटा कविताको छाटो अंश हो। यस कवितामा उनले नारीहरूलाई गहना होइन शिक्षामा ध्यान दिन आग्रह गरेका छन्।
१९९३ माघ ११ गते स्याङ्जाको फेदीखोला गाउँपालिका वडा नं. १ साल्मे गाउँमा देवबहादुर गुरुङ र बुद्धिश्री गुरुङको माइला छोराका रूपमा जन्मिएका उनी गाउँघरमा ‘साल्मे माइला’ भनेर परिचित थिए। त्योबेला गुरुङ समुदायका सबैजसो युवाको एक मात्र लक्ष्य हुन्थ्यो, लाहुरे बन्ने। तर हर्कबहादुरले भने सानैदेखि पढाइमा रुचि राखे।
बाल्यकालमा अलिक चञ्चले स्वभावका उनी गीत गाउन सौखिन थिए। सानैदेखि पढाइमा लगनशील उनले २०११ सालमा पोखरामा अध्ययन गर्न थालेदेखि गुरुङ भाषामा गीत तथा कविता लेख्न तथा गाउन थाले। २०१६ सालमा त तत्कालीन मन्त्री नरबहादुर गुरुङलगायतको सहयोगमा गीति कविता संग्रह नै प्रकाशन गरे। माध्यमिक तहको अध्ययनका लागि काठमाडौँ आएका उनले २०१७ सालमा रेडियो नेपालमा गीत पनि रेकर्ड गराए।
२०१८ सालमा काठमाडौँको जुद्धोदय पब्लिक हाइस्कुलबाट एसएलसी उत्तीर्ण गरेपछि भने उनी गाउँ फर्किए र स्थानीय प्राथमिक विद्यालयमा प्रधानाध्यापक भए। चार वर्षपछि २०२२ सालमा शिक्षण पेशा छाडेर उनले भूमिसुधार कार्यालयमा खरिदारको जागिर सुरु गरे।
पोखरामा पढ्दा उनले पोखराका केही पढेलेखेका व्यक्ति तथा व्यापारीहरूले गाउँ–गाउँबाट ढुंगेसाँघुको मेला तथा अन्य हाटबजार भर्न आएका गुरुङ युवायुवतीलाई ‘पाखे’ भनेर हेयको व्यवहार गरेको अनुभूत गरेका थिए। त्यसैले उनले अर्को कविता रचना गरेका थिए। उनले कवितामार्फत सुझाव दिएका छन्,
गाउँभित्र जे भए’नि बजारमा नहोऊ
गाउँमा लाउने मैला लुगा बजारमा नलगाऊ
सिलाई धोई सफा लगाऊ, खिसी पात्र नहोऊ
हात समाई हिँड्न छोडिदेऊ...
गुरुङ समुदायको संस्कार, संस्कृतिमा पनि सुधार ल्याउनुपर्ने धारणा उनले गीति कवितामार्फत आफ्नो धारणा राखेका छन्। त्यस्तै सांस्कृतिक जागरणका कुरा पनि उनको कवितामा पाइन्छ। ल्होछार आएछ शीर्षकको कवितामा उनले लेखेका छन्,
ल्होछार आएछ, हामी गुरुङहरू वनभात खान जाऔँ
दसैँ, तिहार हाम्रा रहेनछन्, दसैँ तिहार त्यागौँ
राम्रा लगाऔँ मीठा खाऔँ ल्होछार आएछ जाऔँ
इष्टमित्र जम्मा भएर मीठा–मीठा खाऔँ
दशैँ तिहार हाम्रा रहेनछन्, ल्होछार रहेछ
कुरा नबुझेर बाटो नचिनेर अरुका पछि हिँडिएछ
उनका गीत तथा कवितामा समाज सुधारका सन्देश पाइन्छ। त्यसैले उहाँका गीतहरू कास्की, लमजुङ, स्याङ्जाका गाउँहरूमा तत्कालीन समयमा निकै चर्चित रहेको थियो। उनका चर्चित गीति कविता ‘क्युदे थुलेन...’ लगायत अन्य रचनाहरू सुनेर गाउँ–गाउँका मान्छेहरू भक्कानिएर रुन्थे रे।
पहिलोपटक २०१६ सालमा उनी आफैँले आफ्ना रचनाहरूको संग्रह प्रकाशन गरे। स्याङ्जा सिरुबारीका ईश्वरबहादुर गुरुङले २०२२ सालमा दोस्रो संस्करण प्रकाशन गरिदिए। त्यस्तै तेस्रो संस्करण चाहिँ तमू युवा सांस्कृतिक परिवार, पोखराले २०५८ साल पुस १५ गते प्रकाशन गरेको थियो।
तमू युवा सांस्कृतिक परिवार, पोखराले २०५८ असोज ६ गते एक कार्यक्रम गरी हर्कबहादुर गुरुङलाई पहिलो तमू कवि तथा गीतकारको रूपमा अभिनन्दनसमेत गरेको थियो। २०५९ सालमा काठमाडाैंमा बृहत कार्यक्रम गरी तमू सांस्कृतिक प्रतिष्ठानले ‘तमू आदिकवि’ घोषणा गरी नगदसहित सम्मान गरेपछि उनलाई सबैले तमू आदिकविका रूपमा सम्मान गर्दै सम्बोधन गर्न थालेको पाइन्छ।
२०६१ सालमा तमू युवा संघ, काठमाडौँले उनको परिचयात्मक वृत्तचित्र ‘ङ्योए, ओंसो क्वे प्रिव म्हि’ निर्माण गर्नुका साथै उनको जन्मदिन मनाइदिएको थियो। त्यस्तै तमू सञ्चारकर्मी संघले पनि २०६६ सालमा काठमाडौँमा उनको जन्मदिन धुमधामका साथ मनाइदिएको थियो। २०६७ साल साउन १ गते उनले काठमाडौँको नर्भिक अस्पतालमा उपचारका क्रममा देह त्याग गरे।
नेपाल सरकारले गुरुङ भाषाको पाठ्यक्रमअन्तर्गत कक्षा ४ मा उनको जीवनी समावेश गरेको छ भने भारतको सिक्किम सरकारले पनि कक्षा ९ को पाठ्यपुस्तकमा उनको जीवनी खेमा लिपीमा समावेश गरेको छ। त्यस्तै फेदीखोला गाउँपालिकाले आफ्नो स्थानीय पाठ्यक्रमअन्तर्गत कक्षा ८ को पुस्तकमा उनको जीवनी समेटेको छ।
उनको सम्मानार्थ गाउँपालिकाले वडा नं. १, रामकोट, देउरालीमा एक रोपनी क्षेत्रफलको जग्गा छुट्याई आदिकवि हर्कबहादुर गुरुङ स्मृति पार्क पनि निर्माण गरेको छ। जहाँ उनको अर्धकदको शालिक निर्माण गरिएको छ।
उनका छोरा अर्जुन गुरुङ गुरुङको सक्रियतामा तमू आदिकवि हर्कबहादुर गुरुङ स्मृति प्रतिष्ठान पनि पालिकामा दर्ता भइसकेको छ। त्यस्तै गाउँपालिका र प्रतिष्ठानको सहकार्यमा कविता प्रतियोगितालगायत विभिन्न कार्यक्रम सञ्चालन गरिँदै आएको छ।
गुरुङ भाषामा रहेको उनका रचनाहरूको संरक्षण गर्दै अझ धेरै पाठकसम्म पु¥याउन प्रतिष्ठानले हालै मात्र नेपाली भाषामा भावानुवाद र खेमा लिपीमा समेत प्रकाशन गरेको छ। जुन पुस्तक आदिकवि हर्कबहादुर गुरुङको ८६औँ जन्मजयन्तीको अवसरमा आदिकवि हर्कबहादुर गुरुङ स्मृति पार्क, रामकोटमा लोकार्पण गरिएको छ।
मान्छेको भौतिक शरीर नष्ट भए पनि कृति कहिल्यै मर्दैन। सर्जकहरू आफ्नो सिर्जनामा बाँचिरहेको हुन्छ। आदिकवि हर्कबहादुर गुरुङ पनि आफ्नो सिर्जनामा बाँचिरहेका छन्।