राजनीतिमा नन्दा गुरुङ : वडा सदस्यदेखि प्रथम महिला प्रदेश सभामुखसम्म
पतिवियोग बेहोर्न बाध्य उनका सामु चुनौतीको पहाड उभिदियो। उनले थप संघर्षशील बन्नुपर्ने परिस्थिति पैदा भयो। तीन छोराछोरीका लागि बुवा र आमा दुवैको भूमिका आफू एक्लैले निभाउनुपर्ने अवस्था आयो। उनी अलिअलि अत्तालिइन् तर कदाचित् विचलित भइनन्।काठमाडौं, माघ ८ : कर्णाली प्रदेशसभाकी सभामुख नन्दा गुरुङ यतिखेर चर्चाको शिखरमा छिन्। किनकि उनले उक्त प्रदेशसभाकी मात्र नभएर नेपालकै पहिलो महिला प्रदेश सभामुखका रूपमा इतिहास रचेकी छन्।
अहिलेसम्म सातै प्रदेशमा कुनै पनि महिलाले प्रदेश सभामुख बन्ने अवसर पाएका छैनन्। नेपालकै पहिलो प्रदेश महिला सभामुख हुन पाउँदा अत्यन्त गर्वको महसुस भएको र प्राप्त जिम्मेवारीलाई कुशलतापूर्वक निर्वाह गर्ने उनले काठमाडौं प्रेसलाई बताइन्। ‘यो मेरो लामो संघर्ष र प्रतीक्षाको फल हो,’ उनले भनिन्। यसअघि कर्णाली प्रदेशसभामा राजबहादुर शाही सभामुख थिए।
प्रदेशसभाको सभामुख चयनका लागि यही माघ १ निर्वाचन भएको थियो। नेकपा एमालेकी सांसद नन्दा कांग्रेसका खड्गबहादुर पोखरेललाई पराजित गरेर सभामुखमा विजयी भएकी हुन्। गत मंसिर ४ को आम निर्वाचनमा एमालेले उनलाई समानुपातिकबाट सांसद बनाएको थियो।
सभामुख चयनका लागि भएको निर्वाचनमा उनको पक्षमा २४ मत खसेको थियो। उक्त प्रदेशसभाका ४० सांसदमध्ये २४ जनाले उनको पक्षमा मत दिएका थिए। उनलाई सत्ता गठबन्धनमा रहेका दलहरू एमालेका १०, माओवादीका १३ र राप्रपाका एक सांसदले मत दिएका थिए। कांग्रेस उम्मेदवार पोखरेलको पक्षमा भने १४ मत परेको थियो।
कसरी आइन् राजनीतिमा?
२०२३ फागुन २ गते दैलेखको नारायण नगरपालिका–७ नयाँगाउँमा बुवा लालबहादुर गुरुङ र आमा लालकुमारी गुरुङको चौथो सन्तानका रूपमा नन्दा गुरुङको जन्म भएको हो। उनी चार-पाँच वर्षको हुँदा उनको परिवार बसाइँ सरेर बर्दियाको बढैयाताल गाउँपालिका–१ मा आएको थियो। जसका कारण उनको बाल्यकालको मुख्य हिस्सा बर्दियामै बित्यो। त्यही नै उनको शिक्षारम्भ पनि भयो।
उनका तीन दाजु र एक बहिनी छन्। उनका जेठा र माइला दाजुलाई राजनीतिमा खासै चासो थिएन तर कान्छा दाजु भने विद्यार्थी कालबाटै राजनीतिमा जोडिएका थिए। तिनै दाजुको पदचापलाई पछ्याउँदै नन्दाले राजनीतिमा पाइला चालेकी थिइन्। कक्षा ८ मा पढ्दै गर्दा उनमा राजनीतिप्रति तीव्र रुचि बढ्न थालेको थियो।
२०३९ सालमा १६ वर्षको उमेरमै सुर्खेतका धर्मबहादुर गुरुङसँग उनको मागी विवाह भयो। त्यतिखेर उनी कक्षा १० मा पढ्थिन्। छोरीलाई समेत पढाउने चलन नभएको त्यो समयमा बुहारीका रूपमा पढ्न पाउने भन्ने कल्पना पनि गरिन्नथ्यो। तर पनि विवाहपछि पनि पतिको घरबाट पढाइलाई निरन्तरता दिने एक खालको सहमति उनले गराएकी थिइन्। तर भनेजस्तो भएन। बुहारीका रूपमा घरधन्दा, चुलोकौकामै सीमित हुनुपर्दा उनको एसएलसीसम्म भए पनि दिने सपना दुर्घटनामा पर्यो।
पढाइलाई निरन्तरता दिन नसके पनि आफूमा पहिलादेखि रहेको राजनीतिप्रतिको रुचिलाई भने उनले दबाएर राख्न सकिनन्। फलस्वरूप उनी गाउँ आसपासमा हुने राजनितिक भेला, कार्यक्रममा लुकीलुकी सहभागी हुन थालिन्। तर त्यतिबेलासम्म उनले कुनै राजनीतिक दलमा आबद्धता जनाइसकेकी थिइनन्।
२०४८ सालमा भने उनले नेकपा एमालेको जनवर्गीय संगठन अखिल नेपाल महिला संघ (अनेमसंघ) को सदस्यता लिएर औपचारिक रूपमा राजनीतिमा यात्रा आरम्भ गरिन्। अनेमसंघको सदस्यता लिएपछि पार्टीका कार्यक्रमहरूमा उनको सहभागिता बाक्लिँदै गयो।
२०४९ सालमा पार्टीको प्रारम्भिक कमिटी, वडा, नगर, इलाका, क्षेत्रीय कमिटीहरूमा काम गर्दै अघि बढ्ने क्रममा उनले तीन कार्यकाल पार्टी जिल्ला कमिटी सदस्यको भूमिका निभाइन्। २०५४ सालको स्थानीय निकायको निर्वाचनमा नन्दा साबिकको उत्तगांगा गाउँ विकास समिति वडा नम्बर ४ (हालको वीरेन्द्रनगर नगरपालिका-२ मा पर्ने) मा एमालेबाट महिला वडा सदस्यमा निर्वाचित भइन्।
अहिले उनी अनेमसंघ जिल्लाको अध्यक्षका साथै केन्द्रीय सदस्य पनि छिन्। त्यसो उनी एमाले कर्णाली प्रदेश कमिटी सदस्य पनि हुन्। पार्टीमा अनवरत रूपमा सक्रिय रहिआएकै कारण एमालेले उनलाई समानुपातिकबाट कर्णाली प्रदेशसभा सदस्य बनाएको हो। त्यही अवसरले उनलाई देशकै पहिलो महिला प्रदेश सभामुख बन्ने ढोका उघारिदिएको हो।
पतिवियोगले वज्रपात
२०५४ वैशाखमा उनी साबिकको उत्तगंगा गाविस–४ मा महिला वडा सदस्य भएकी थिइन्। तर वडा सदस्य बनेको नौ महिना बित्दानबित्दै अर्थात् त्यही साल माघमा उनका पतिको असामयिक निधन भयो। परिवारबाट उनी अलग भइसकेकी थिइन्।
पतिवियोग बेहोर्न बाध्य उनका सामु चुनौतीको पहाड उभिदियो। उनले थप संघर्षशील बन्नुपर्ने परिस्थिति पैदा भयो। तीन छोराछोरीका लागि बुवा र आमा दुवैको भूमिका आफू एक्लैले निभाउनुपर्ने अवस्था आयो। उनी अलिअलि अत्तालिइन् तर कदाचित् विचलित भइनन्।
जसोतसो गरेर छोराछोरीलाई हुर्काउने, पढाउनेतिर उनी केन्द्रित भइन्। जस्तोसुकै कठिनाइ आए पनि आफूले अपनाएको राजनीतिक बाटोबाट बिच्किने काम उनले गरिनन्। तथापि बालबच्चालाई हुर्काउनु, घरव्यवहार चलाउनु र राजनितिलाई निरन्तरता दिनु उनका लागि सहज कार्य भने थिएन।
महिलाले चुलोचौकामै सीमित भएको हेर्न चाहने तत्कालीन सामाजिक परिवेशका कारण राजनीतिमा लागेको भन्दै आफूमाथि अनेकन् नकारात्मक टीकाटिप्पणी हुने गरेको उनी बताउँछिन्। त्यसमाथि एकल महिला भएकै कारण अन्यको तुलनामा उनको कथाव्यथा बेग्लै थियो।
राजनीतिक सक्रियताका कारण काम विशेषले राति अबेरसम्म घरबाहिर हुँदा समाजमा ‘फलानी त रातबिरात बाहिर हिँड्छे’, ‘पोथी बासेको सुहाउँदैन’ भन्नेजस्ता कठोर टिप्पणीहरू सुन्न र सहन बाध्य हुनुपरेको उनले सुनाउँछिन्। ‘त्यो समयमा अरू पुरुषसँग बोल्ने महिलालाई गलत दृष्टिकोणले हेर्ने गरिन्थ्यो,’ उनले भनिन्, ‘त्यसमाथि म एकल महिला थिएँ।’
नकारात्मक टीकाटिप्पणीका बाबजुद उनका पाइलाहरू डगमगाएनन्। उनी कसले के भन्यो भनेर पछाडि फर्केर हेर्नतिर लागिनन्। ‘परिवार, संघसंस्था र राजनीति सबैलाई सन्तुलन मिलाउँदै अघि बढ्दै गएँ। अहिले आएर सबैतिरबाट सफलता नै मिलेको अनुभूति भएको छ,’ उनले भनिन्, ‘राम्रोसँग लालनपालन गरेर छोराछोरीलाई असल संस्कार दिएकी छु भने जनसेवामा पनि जुटि नै रहेकी छु। त्यसैको परिणाम भन्नुपर्छ, आज म नेपालकै पहिलो महिला प्रदेश सभामुख जस्तो गरिमामय पदमा पुग्न सफल भएकी छु।’
एकल महिला संस्थाको स्थापना र स्नातकसम्म अध्ययन
पतिको निधन भएको एकदुई वर्षपछि अर्थात् २०५७ सालदेखि उनले गाउँमा एकल महिलाको समूह निर्माण गरिन्। घरपरिवारको दायित्व, राजनीतिक जिम्मेवारीलाई समेत न्याय गर्दै उनी सो समूहमार्फत एकल महिलालाई जागुरुक पार्ने अभियानमा पनि जुट्न थालिन्।
त्यो समयमा सुर्खेतमा ५० ओटा गाविस र एउटा नगरपालिका गरी ५१ वटा स्थानीय निकाय थिए। प्रत्येक स्थानीय निकाउमा पुगेर एकल महिलाको समूह स्थापना गर्ने कार्य उनले सम्पन्न गरिन्। अन्ततः नन्दालगायत अन्य एकल महिलाको सक्रियतामा २०६० सालमा एकल महिलाको संस्था स्थापना सम्भव भयो।
संस्था त स्थापना भयो तर त्यसका लागि कार्यक्रम भने पाइएन। कार्यक्रमका लागि निश्चित प्रक्रिया पुर्याउनुपर्ने, सर्र्वाेच्च अदालतसम्म पनि पुग्नुपर्ने, बोलेर मात्र नहुने, के बोल्ने र कसरी बोल्न भनेर निश्चित आधार चाहिने रहेछ भन्ने बोध भएपछि विवाहसँगै टुटेको एसएलसी दिने सपनालाई उनले ब्युँताइन्। उनले खुला शिक्षाबाट २०६५ सालमा एसएलसी उत्तीर्ण गरिन्। त्यसपछि २०६८ सालमा प्रवीणता प्रमाणपत्र तह पार गरेकी उनले २०७२ सालमा स्नातकसम्मको अध्ययन सम्पन्न गर्न उनी सफल भइन्।