माइक्रोबायोटा र स्वास्थ्य
हाम्रो स्वास्थ्य र स्वस्थ गट माइक्रोबायोटाका लागि दैनिक १९–३० ग्राम जति फाइबर हामीले खाने खानाबाट प्राप्त गरेको हुनुपर्छ। हामीले खानामा जति धेरै विविधतापूर्ण ताजा फलफूल, तरकारी र गेडागुडी समावेश गर्छौं, त्यति नै हाम्रो गट माइक्रोबायोटा स्वस्थ र सन्तुलित रहन्छ।माइक्रोबायोटा
क्षयरोग, टाइफाइडलगायत अन्य सयौं रोगका लागि ब्याक्टेरिया जिम्मेवार छन् र ब्याक्टेरियाले सयौं वर्षदेखि मानवमाथि कहर बर्साइरहेका छन्। त्यसैले ब्याक्टेरिया बदनाम पनि भएका छन्। तर ब्याक्टेरिया र अन्य सूक्ष्म जीवाणु नहुने हो भने वनस्पति, मानव र अन्य प्राणिको अस्तित्व नै संकटमा पर्न सक्छ।
पृथ्वीमा अरू सबै जीवित प्राणीभन्दा धेरै ब्याक्टेरिया छन् र मानव शरीरमा आफ्ना कोषिकाभन्दा धेरै ब्याक्टेरिया छन्। औसत ७० केजी वजन भएको एउटा वयस्क मानिसको शरीरमा ३० ट्रिलियन कोषहरू हुन सक्ने वैज्ञानिक आकलन छ भने ३९ ट्रिलियन ब्याक्टेरिया हुने अनुमान गरिएको छ।
मानव शरीरमा ब्याक्टेरियाबाहेक फंगस, आर्किया, भाइरसलगायत अन्य सूक्ष्म जीवाणुहरू पनि पाइन्छन््। हाम्रो शरीरमा भएका ९९ प्रतिशत जिन सूक्ष्म जीवाणुहरूकै हुन्। धेरैजसो सूक्ष्म जीवाणु हाम्रो शरीरको छाला, मुख र आन्द्रामा हुन्छन्। लाखौंको संख्यामा हाम्रो शरीरमा रहेका ब्याक्टेरिया लगायत अन्य सूक्ष्मजिवाणुहरूलाई समग्रमा माइक्रोबायोटा भन्ने गरिन्छ।
छालामा रहेका सूक्ष्म जीवाणुहरूको समूहलाई ‘स्किन माइक्रोबायोटा’ भनिन्छ। मानव शरीरमा सूक्ष्म जीवाणुहरूको सबैभन्दा ठुलो संख्या भने पाचन प्रणालीमा हुन्छ र तिनीहरूलाई सामूहिक रूपमा ‘गट माइक्रोबायोटा’ भनिन्छ। गट माइक्रोबायोटाको मुख्य हिस्साचाहिँ ब्याक्टेरियाले लिएका हुन्छन्। माइक्रोबायोटामा हुने सूक्ष्म जीवाणुहरू लाभदायकदेखि हानिकारक सम्म हुन सक्छन्।
माइक्रोबायोटा र स्वास्थ्य
माइक्रोबायोटाले व्यक्तिको स्वास्थ्य सबलीकरण गर्नेदेखि अन्य विविध कार्यमा महत्वपूर्ण भूमिका निर्वाह गरेको हुन्छ। उदाहरणका लागि मुसामा गरिएको एक प्रयोगमा झन्डै २० प्रतिशत मानिसको छालामा पाइने स्टाफाइलोकोकस इपिडर्मिडिस नामको ब्याक्टेरियाले उत्पादन गर्ने एक रसायनले ट्युमरको वृद्धिलाई रोकिदिएको थियो। यसका साथै स्टाफाइलोकोकस इपिडर्मिडिसले उत्पादन गर्ने विशेष किसिमको प्रोटिनले हानिकारक ब्याक्टेरियालाई मारेर छालामा संक्रमण हुनबाट बचाउँछ।
स्किन माइक्रोबायोटाको तुलनामा गट माइक्रोबायोटाको संरचना जटिल हुनुका साथै मानिसको स्वास्थ्यमा पनि झनै बढी महत्वपूर्ण भूमिका खेलेको हुन्छ। हाम्रो मस्तिष्कको तौल औसत १.४ किलोग्राम हुन्छ भने गट माइक्रोबायोटाको तौल झन्डै २ किलोग्राम अनुमान गरिएको छ। गट माइक्रोबायोटामा जति धेरै विविधतापूर्ण र जति धेरै फाइदाजनक ब्याक्टेरिया हुन्छन्, गट माइक्रोबायोटा पनि त्यति नै स्वस्थ मानिन्छ। व्यक्तिको आनुवंशिक संरचना, शिशु जन्मिएको तरिका, हुर्किएको वातावरण, खानपिन, औषधिको प्रयोगलगायत व्यक्तिको अन्य बाह्य र भित्री कुराले माइक्रोबायोटाको बनोटमा असर गर्ने भएकाले प्रत्येक मानिसमा गट माइक्रोबायोटाको बनोट फरकफरक हुन्छ।
गट माइक्रोबायोटाले हामीलाई संक्रमणबाट बचाउने, हाम्रो पाचन प्रणालीले पचाउन नसकेको खानालाई पचाउन मद्दत गर्ने र हाम्रो प्रतिरक्षा प्रणालीलाई सबलीकरण गर्नेलगायत अन्य धेरै काम गर्ने गर्छ। मानव शरीरलाई चाहिने ऊर्जाको ५–१० प्रतिशत ऊर्जा उत्पादनमा गट माइक्रोबायोटाको भूमिका रहेको हुन्छ। यसका साथै भिटामिन, एमिनो एसिड र हर्मोन संश्लेषण गर्ने कार्यमा पनि गट माइक्रोबायोटा समावेश हुन्छ। स्वस्थ गट माइक्रोबायोटाले हाम्रो मुड, व्यवहार र जीवनको गुणस्तरमा विभिन्न तरिकाले सकारात्मक प्रभाव पारिरहेको हुन्छ।
सेरोटोनिन नामको स्नायु सञ्चारक (न्युरो ट्रान्समिटर) संश्लेषण गर्ने कार्यमा गट माइक्रोबायोटाले महत्वपूर्ण भूमिका खेलेको हुन्छ। मुसामाथि गरिएको र प्रतिष्ठित जर्नल ‘सेल’मा प्रकाशित भएको अनुसन्धान नतिजाअनुसार गट माइक्रोबायोटारहितको मुसाले, गट माइक्रोबायोटासहितको मुसाले भन्दा ६० प्रतिशत कम सेरोटोनिन उत्पादन गरेका थिए।
त्यस्तै भर्खरै प्रकाशित मुसामाथि गरिएको अर्को अध्ययन नतिजाअनुसार गट माइक्रोबायोटाले शारीरिक व्यायामको इच्छालाई प्रोत्साहन गर्ने गरेको पाइएको छ। उक्त अनुसन्धान अनुसार गट माइक्रोबायोटाले शारीरिक गतिविधिको क्रममा मस्तिष्कमा डोपामाइन नामको स्नायुसञ्चारक रसायनको उत्पादनलाई बढाइदिएर शारीरिक गतिविधिमा लामो समय लागिरहन प्रेरणा दिएको थियो। डोपामाइन उत्पादनले कुनै पनि काममा लागिरहन प्रेरणा दिन्छ र काम गरिसकेपछि विजयी भावना जगाउँछ। गट माइक्रोबायोटाबिनाका मुसाहरू अल्छी थिए र शारीरिक गतिविधिमा कम समय बिताएका थिए। तिनीहरूको मस्तिष्कमा डोपामाइनको मात्रा पनि थोरै भेटिएको थियो।
विभिन्न वैज्ञानिक अनुसन्धानहरूले गट माइक्रोबायोटाको बनोट खलबलिँदा धेरै किसिमका स्वास्थ्य समस्याहरू जस्तैः डाइबिटिज, मोटोपना, इन्फ्लेमेटोरी बावल डिजिज, डिप्रेसन आदिको जोखिम बढ्ने देखाएका छन्। मुसाहरूमा गरिएका अध्ययनहरूले गट माइक्रोबायोटाले मोटोपनाको विकासमा भूमिका खेल्न सक्छन् भन्ने देखाएका छन्।
एक प्रयोगमा सूक्ष्म जीवाणुरहित मुसामा मोटोपना भएको मानिसको गट माइक्रोबायोटा प्रत्यारोपण गर्दा मुसामा मोटोपना देखिएको थियो भने लिन (दुब्लो) मानिसको गट माइक्रोबायोटा प्रत्यारोपण गरेको मुसा दुब्लो नै रहेको थियो। अर्को प्रयोगमा मोटो मुसामा दुब्लो मुसाको माइक्रोबायोटा प्रत्यारोपण गर्दा मोटो मुसा पनि दुब्लो बनेको थियो।
वैज्ञानिकहरूका अनुसार गट माइक्रोबायोटाको संरचना र डिप्रेसनमा पनि सम्बन्ध रहेको हुन सक्छ। डिप्रेसन भएका मानिसहरूमा गट माइक्रोबायोटाको संरचनामा परिवर्तन आउने अध्ययनहरूबाट देखिएको छ। डिप्रेसन भएका व्यक्तिमा फाइदाजनक ब्याक्टेरियाको संख्या कम र हानिकारक ब्याक्टेरियाको संख्या ज्यादा हुने देखिएको छ्। एउटा प्रयोगमा स्वस्थ मुसामा डिप्रेसन भएका मानिसबाट फिकल माइक्रोबायोटा प्रत्यारोपण गर्दा डिप्रेसनका लक्षणहरू देखिए भने स्वस्थ मानिसबाट फिकल माइक्रोबायोटा प्रत्यारोपण गर्दा डिप्रेसनका लक्षणहरू हराएका थिए। गट माइक्रोबायोटाको बनोटले अल्जाइमर्स र अटिजमजस्ता रोगहरूमा कस्तो प्रभाव पार्न सक्छ भन्नेबारे पनि अध्ययनहरू जारी छन्।
यसका साथै गट माइक्रोबायोटाको संरचना उचित भएको खण्डमा क्यान्सरका बिरामीमा केमोथेरापीको प्रभावकारिता पनि बढी हुने अध्ययनहरूले देखाएका छन्।
वैज्ञानिक अनुसन्धानका प्रारम्भिक नतिजाहरू हेर्दा गट माइक्रोबायोटाको संरचनामा सकारात्मक परिवर्तन ल्याएर वा कुनै ब्याक्टेरियाको प्रयोग गरेर भविष्यमा मोटोपना, डाइबिटिज र डिप्रेसनजस्ता स्वास्थ्य समस्याहरूको व्यवस्थापन गर्न सकिने संकेत दिएका छन्।
फिकल (मानव मल) माइक्रोबायोटा प्रत्यारोपण
गट माइक्रोबायोटाको संरचनामा सुधार गरी विभिन्न रोगको उपचार गर्न फिकल माइक्रोबायोटा प्रत्यारोपण गर्ने गरिन्छ। फिकल माइक्रोबायोटा प्रत्यारोपणको पहिलो प्रयोग चौथो शताब्दीमा चीनमा झाडापखालाको उपचारका लागि गरिएको थियो र त्यस्तो अभ्यास शताब्दीऔंसम्म जारी रह्यो। अहिले फिकल माइक्रोबायोटा प्रत्यारोपणको प्रयोग क्लोस्ट्रिडिअम डिफिसाइलको संक्रमणका कारण ठुलो आन्द्रामा हुने खतरनाक समस्याको उपचारमा प्रयोग गरिन्छ। बिरामीको शरीरमा रहेका फाइदाजनक ब्याक्टेरिया एन्टिबायोटिक सेवनको कारण मरेपछि क्लोस्ट्रिडिअम डिफिसाइलले संक्रमण गर्ने गर्छ। फिकल माइक्रोबायोटा प्रत्यारोपणले हराएका ब्याक्टेरिया प्रतिस्थापन गरेर संक्रमणबाट छुटकारा पाउन सघाउँछ। यसका साथै इन्फ्लेमेटोरी बावल डिजिजको व्यवस्थापन गर्न पनि फिकल माइक्रोबायोटा प्रत्यारोपण गर्ने गरिएको छ।
गट माइक्रोबायोटालाई कसरी सन्तुलित राख्ने?
जनावर र मानिसमा गरिएका अध्ययनहरूका अधारमा गट माइक्रोबायोटाको संरचना र कार्यलाई सबैभन्दा बढी हाम्रो खानेकुराले प्रभाव पार्छ। फाइबरको मात्रा उच्च भएका खानेकुराले फाइदाजनक ब्याक्टेरिया भएका स्वस्थ गट माइक्रोबायोटालाई बढावा दिन्छ भने पत्रु खानेकुराले हानिकारक ब्याक्टेरियाको वृद्धिलाई सघाउँछ। ‘नेचर मेडिसिन’ जर्नलमा प्रकाशित अनुसन्धान प्रतिवेदनअनुसार प्रशोधित खानेकुराहरू जस्तै आलु चिप्स, सफ्ट ड्रिङ्क्स, ससेज, पाउरोटी, कुकिजजस्ता फाइबरको मात्रा कम हुने खानेकुराको सेवन बढी गर्ने मानिसहरूमा फाइदाजनक ब्याक्टेरियाको तुलनामा खराब ब्याक्टेरिया बढी भेटिएका थिए।
हाम्रो स्वास्थ्य र स्वस्थ गट माइक्रोबायोटाका लागि दैनिक १९–३० ग्राम जति फाइबर हामीले खाने खानाबाट प्राप्त गरेको हुनुपर्छ। हामीले खानामा जति धेरै विविधतापूर्ण ताजा फलफूल, तरकारी र गेडागुडी समावेश गर्छौं, त्यति नै हाम्रो गट माइक्रोबायोटा स्वस्थ र सन्तुलित रहन्छ।
प्रोबायोटिक्सको सेवनले हानिकारक ब्याक्टेरियाको वृद्धिलाई रोकेर असन्तुलित भएको गट माइक्रोबायोटाको संरचनालाई पुनर्स्थापना गर्छ। प्रोबायोटिक्स भनेका हाम्रो स्वास्थ्यलाई फाइदा दिने जीवित ब्याक्टेरिया हुन्। फर्मेन्टेसन विधिमार्फत तयार गरिएका खानेकुरा जस्तैः दही, किम्ची, सावरक्राउटमा पनि प्रोबायोटिक्स हुन्छन्। त्यसैले त्यस्ता खानेकुराको सेवनले फाइदाजनक ब्याक्टेरिया बढाउने गरेको पाइन्छ।
एन्टिबायोटिकको सेवनले गट माइक्रोबायोटाको संरचना बिगार्न सक्ने हुँदा चिकित्सकको सल्लाहमा मात्र एन्टिबायोटिकको सेवन गर्नुपर्छ।
बालबालिकालाई प्राकृतिक वातावरणमा खेल्न दिनु फाइदाजनक मानिन्छ। भर्खरै प्रकाशित अनुसन्धान नतिजाअनुसार माटो र हिलोमा भएका ब्याक्टेरियाले बालबालिकाको स्वास्थ्यमा सकारात्मक प्रभाव पार्ने देखिएको छ। त्यस्तै अरू अनुसन्धानहरूले प्राकृतिक तरिकाले जन्मिएका बच्चाहरूमा, अप्रेसन गरेर जन्मिएका बच्चाहरूको तुलनामा फाइदाजनक ब्याक्टेरिया बढी हुने र भविष्यमा मोटोपना र डाइबेटिजको जोखिम पनि कम हुने देखाएका छन्।