Kathmandu Press

किन घट्दैछ स्तनपान गराउने आमाको संख्या ?

स्तनपान नगराउँदा आमा र बच्चाको स्वास्थ्यमा कस्तो प्रभाव पर्छ ?   
किन घट्दैछ स्तनपान गराउने आमाको संख्या ?
Hardik ivfHardik ivf

काठमाडौं, पुस २२ : एउटा प्रचलित भनाइ छ, ‘स्तनपान अमृतसमान’। यो भनाइले बच्चाको स्वास्थ्यका लागि आमाको दुध अपरिहार्य रहेको देखाउँछ । तर पछिल्लो समय बच्चालाई स्तनपान गराउने आमाको संख्या घट्दो क्रममा छ। खासगरी महिलाहरू कामकाजी हुँदा बच्चासँग रहनै नपाउँदा र कतिपयका मनमा स्तनपान गराउँदा शारीरिक स्वरूप बिग्रन्छ भन्ने मनोविज्ञान पाल्दा स्तनपान गराउने महिलाको संख्यामा कमी आएको विज्ञहरू बताउँछन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गत मंसिर ८ गते सार्वजनिक गरेको नेपाल जनसांख्यिक तथा स्वास्थ्य सर्वेक्षण २०२२ अनुसार नेपालमा स्तनपान गराउने आमाको संख्या १० प्रतिशतले घटेको देखिएको छ। बच्चा जन्मेको दिनदेखि ६ महिना नहुँदासम्म बच्चालाई नियमित रूपमा आमाको दुध मात्रै खवाउनुपर्ने भए पनि स्तनपान गराउने महिलाको संख्या घटेको देख्दा चिकित्सकहरू चिन्ता व्यक्त गर्छन्। आमाको दुधमा बच्चालाई अत्यावश्यक पौष्टिक तत्व पाइन्छ। त्यसकारण नियमित ६ महिनासम्म आमाको दुध नै खुवाउनुपर्ने मत स्वास्थ्य विशेषज्ञहरूको छ।

नेपालमा स्तनपान गराउने आमाको संख्या १० प्रतिशतले घट्दा दूध ख्वाउन छाड्ने आमा र दूध खान नपाएका बच्चा दुवैको स्वास्थ्यमाथि खतरा हुन सक्ने चिकित्सकहरू बताउँछन्। सन् २०१६ मा गरिएको नेपाल जनसांख्यिक तथा स्वास्थ्य सर्वेक्षणको आँकडाअनुसार नेपालमा स्तनपान गराउने आमाको संख्या ६६ प्रतिशत थियो। सन् २०२२ मा आइपुग्दा उक्त आँकडा ५६ प्रतिशतमा झरेको छ। 

सन् २०१६ को तथ्यांकअनुसार नेपालमा ९९ प्रतिशत बालबालिकालाई कुनै न कुनै समयमा स्तनपान गराइएको थियो। ५५ प्रतिशत बालबालिकालाई जन्मेको एक घन्टाभित्रै स्तनपान गराइएको पनि सो तथ्यांकले देखाउँछ। सोही तथ्यांकले नेपालमा ६ महिनामुनिका दुई तिहाइ बालबालिकालाई पूर्ण रुपमा स्तनपान गराइएको र तीन वर्षभन्दा मुनिका बालबालिकालाई औसत ३०.५ महिनासम्म स्तनपान गराइएको स्पष्ट हुन्छ। सन् २०२२ को अध्ययनमा नेपालमा ५६ प्रतिशत महिलाले मात्र बच्चा जन्मेको पाँच महिनासम्म पूर्ण स्तनपान गराएको तथ्यांकमा उल्लेख छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सन् १०९६ देखि नेपालभर हरेक पाँचपाँच वर्षको अन्तरालमा नेपाल जनसांख्यिक तथा स्वास्थ्य सर्वेक्षण गर्ने गरेको छ। सन् २०२२ सम्म आइपुग्दा नेपालमा ६ पटक स्वास्थ्य सर्वेक्षण भइसकेको छ। ती सर्वेक्षणहरूका अनुसार नेपालमा स्तनपान गराउने आमाको संख्या क्रमशः घट्दो छ। 

तथ्यांकअनुसार बच्चा जन्मेदेखि पाँच महिना उमेर समूहका बालबालिकालाई स्तनपान गराउने आमाको प्रतिशत सन् १९९६ मा ७५ प्रतिशत, २००१ मा ६८, २००६ मा ५३, २०११ मा ७०, २०१६ मा ६६ र २०२२ मा ५६ प्रतिशत रहेको देखिन्छ। यसरी नेपालमा स्तनपान गराउने आमाको संख्या १० प्रतिशतले घट्नु बच्चा र आमा दुवैको स्वास्थ्यका लागि राम्रो नभएको स्वास्थ्य विशेषज्ञहरू बताउँछन्।

जन्मेदेखि ६ महिनासम्म बच्चालाई आमाको दुध मात्रै खुवाउनुपर्ने कान्ति बाल अस्पतालका निर्देशक तथा बालरोग विशेषज्ञ डा. युवानिधि बसौला बताउँछन्। यसरी नेपालमा स्तनपान गराउने आमाको संख्यामा १० प्रतिशतले कमी आउनुमा विभिन्न कारण रहेका उनको भनाइ छ। 

डा. बसौलाका अनुसार अहिलेको शिक्षित समाजमा धेरै महिला रोजगारीमा जोडिएकाले पनि धेरै आमाले बच्चालाई पूर्ण रूपमा स्तनपान गराउन सकिरहेका हुँदैनन्। सरकारी, गैरसरकारी वा निजी संघसंस्थामा कार्यरत महिलाले सुत्केरी हुनुअघि र पछि कम्तीमा ९८ दिन तलबसहितको प्रसूति बिदा पाउने व्यवस्था छ तर कतिपय निजी संख्थामा कार्यरत महिला कर्मचारीहरूले दुई महिना पनि प्रसूति बिदा पाएका हँुदैनन्। यसरी जागिरे जीवनकै कारणले कतिपय महिलाले पूर्ण रूपमा स्तनपान गराउन नसकेको उनको भनाइ छ। 

त्यस्तै स्तनपान गराउने आमाको संख्यामा कमी आउनुको अर्काे कारण भनेको धेरै महिलाले आफ्नो सौन्दर्यमा कमी आउँछ भनेर प्रसूति हुँदा बच्चालाई स्तनपान गराउनुको साटो बट्टाको दूध वा लिटो खुवाउने भएकाले पनि स्तनपान गराउने आमाको संख्यामा कमी आएको हुन सक्ने उनी बताउँछन्। 

नेपालमा स्तनपान गराउने आमा संख्यामा कमी आउनुका कारणहरूमा स्त्रीरोग विशेषज्ञ डा. कीर्तिपाल सुवेदीको मत पनि डा. बसौलाको भन्दा फरक छैन। उनी भन्छन्, ‘पहिलेका महिलाहरू घरमै बस्थे, बाहिरी काममा कम जान्थे। अहिले धेरै आमाले आफू जागिरमा संलग्न हुनुपर्ने भएकाले पनि ६ महिना पूर्ण रूपमा बच्चालाई स्तनपान गराउन नसकेका हुन्।’ 

उनल थपे, ‘धेरै महिलामा स्तनपान गराउँदा शरीरको स्वरूप बिग्रन्छ, मोटोपना आउँछ भन्ने बुझाइ छ। त्यसैले हिजोआज स्तनपान गराउने आमाको संख्यामा कमी आएको हो।’ 

बच्चालाई आमाको दुधको महत्व 

कान्ति बाल अस्पतालका निर्देशक डा. बसौलाका अनुसार बच्चाका लागि आमाको दुध खुवाउनु अत्यावश्यक छ। बच्चा ६ महिना नभएसम्म उसलाई आमाको दुधबाहेक पानी पनि खुवाउनुहँुदैन। ६ महिनासम्म पूर्ण रूपमा आमाको दुध खाएको बच्चाको मानसिक र शारीरिक वृद्धिविकास तीव्र रूपमा हुनुका साथै दुधमा रहेको प्रतिरोधात्मक तत्वले बालबालिकालाई रोगसँग लड्न सक्ने क्षमता बढाउने उनको भनाइ छ।

डा. बसौलाका अनुसार बच्चा ६ महिना पुग्नुअगावै अभिभावकले बच्चालाई बट्टाको दुध, लिटो, जाउलो, फलफूलको रस खुवाउने गरेको पाइन्छ। यस्तो गर्नु बच्चाको स्वास्थ्यका लागि हानिकारक हुन्छ। ६ महिनापछि भने बालकको शारीरिक विकास हँुदै जाने भएकाले बच्चालाई आमाको दुधसँगै अन्य पौष्टिक आहार खुवाउनुपर्नेमा उनी जोड दिन्छन्। 

‘६ महिनासम्म आमाको पूरा दुध नपाएका बच्चाहरूमा विभिन्न किसिमका स्वास्थ्य समस्या देखापर्छन्। आमाको दुध नपाएका बालबालिकामा रोगसँग लड्ने क्षमता कमजोर हुने भएकाले विभिन्न रोगको चाँडै आक्रमणमा पर्ने सम्भावना उच्च रहन्छ।’ पूर्ण स्तनपान नगरेका बालबालिकामा निमोनियाले चाँडै संक्रमण गर्ने, कुपोषित हुने, झाडापखला लाग्नेजस्ता समस्या देखिन्छन्। स्तानपान गर्न नपाएका बालबालिकाको शारीरिक, मानसिक वृद्धि विकास पनि कमजोर हुने डा. बसौलाको भनाइ छ। 

स्तनपान नगराउने आमामा कस्तो स्वास्थ्य जटिलता देखापर्छ? 

डा. कीर्तिपाल सुवेदीका अनुसार स्तनपान नगराउने आमामा पनि विभन्न स्वास्थ्य जटिलता देखा पर्छन्। उनी भन्छन्, ‘आमाले बच्चालाई स्तनपान गराउँदा बच्चाको स्वास्थ्यलाई मात्र फाइदा गर्दैन आमालाई पनि त्यतिकै फाइदा पुग्छ। स्तनपान गराउँदा आमा र बच्चाबीचको भावनात्मक सम्बन्ध राम्रो हुन्छ भन्ने अध्ययनले नै देखाएको छ।’

नियमित स्तनपान गराइरहेका आमाहरूले बच्चा जन्मेको केही महिनासम्म कुनै परिवार नियोजनका साधन प्रयोग नगर्दा पनि यसले गर्भ निरोधकको रूपमा काम गर्ने उनी बताउँछन्। बच्चा जन्मेको एक घन्टाभित्र बच्चालाई आमाको छातीमा टाँसी स्तनपान गराए पाठेघर खुम्चनुका साथै रक्तश्राव पनि कम हुने उनको भनाइ छ।

डा. सुवेदीका अनुसार स्तनपान नगराएका आमाहरूमा विभिन्न स्वास्थ्य जटिलता आउन सक्छन्। स्तनपान नगराउँदा मोटोपना देखापर्ने, पाठेघरमा संक्रमण हुने र डेलिभरी भइसकेको लामो समयसम्म रक्तश्राव नरोकिने जस्ता समस्या देखा पर्छन्। ‘त्यस्तै स्तनपान नगराउँदा धेरै महिलामा देखापर्ने सबैभन्दा ठुलो समस्या भनेको स्तन र पाठेघरको क्यान्सर हो,’ उनले भने।
 

प्रकाशित मिति: ११:१५ बजे, शुक्रबार, पुस २२, २०७९
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्