पाठेघरको मुखको क्यान्सरबाट महिला जोखिममा, कसरी बच्ने ?
नेपालमा २० हजार ८०५ जना नयाँ क्यान्सरपीडितमध्ये २ हजार २४४ महिलामा पाठेघरको मुखको क्यान्सर देखिएको छ। यो क्रम बढ्दो छ। वार्षिक भन्डै १ हजार महिलाको मृत्यु पाठेघरको मुखको क्यान्सरकै कारण हुने गरेको पाइन्छ।क्यान्सर अरूलाई नसर्ने घातक रोग हो। यो बालबालिकादेखि वृद्धवृद्धासम्म जुनसुकै उमेरका मानिसलाई लाग्न सक्छ। क्यान्सरका कारण विश्वमा बर्सेनि लाखौं मानिसको ज्यान जाने गरेको छ। क्यान्सरले शरीरका जुनसुकै अंगलाई प्रभावित गर्न सक्छ।
हाम्रो शरीर असंख्य स–साना कोष र कोषिका मिलेर बनेको हुन्छ । कोषिकामध्ये कुनै समूहको अनियन्त्रित वृद्धि भएर वा सामान्यभन्दा धेरै फैलिएर अरू कोषिकाहरूलाई पनि क्षति पुर्याए क्यान्सर हुन्छ ।
क्यान्सरका विभिन्न प्रकार छन्- ब्लड क्यान्सर, फोक्सोको क्यान्सर, मुखको क्यान्सर, बे्रन क्यान्सर, स्तन क्यान्सर, गर्भाशयको क्यान्सर, पाठेघरको मुखको क्यान्सर आदि। विश्व स्वास्थ्य संगठनको तथ्यांकअनुसार प्रतिवर्ष विश्वमा करिब १ करोड २० लाख क्यान्सरका बिरामी थपिन्छन् भने जसमध्ये ६५ लाखको मृत्यु हुने गर्छ।
विश्वभरिका क्यान्सर रोगीको तथ्यांक राख्ने ग्लोबोक्यान नामक संस्थाले सार्वजनिक गरेको सन् २०२० को तथ्यांकअनुसार नेपालमा क्यान्सरको अवस्था प्रतिलाख ८१ जना र मृत्युदर लगभग ५५ जना रहेको छ। यसरी हेर्दा नेपालमा बर्सेनि सरदर २६ देखि ३० हजार मानिस क्यान्सरपीडित हुने गरेको तथ्यांक छ।
त्यसैगरी २०१९ मा नेपाल हेल्थ रिसर्च काउन्सिलले नेपाल सरकारको सहयोगमा नेपालका ९ जिल्ला काठमाडौं, ललितपुर, भक्तपुर, सिरहा, सप्तरी, धनुषा, महोत्तरी, पूर्वी रुकुम र पश्चिम रुकुममा क्यान्सरको बिरामी के–कति छन् भनेर तथ्यांक संकलन गरेको थियो। ती ९ जिल्लामा ३ हजार २९५ क्यान्सर रोगी फेला परेको काउन्सिले जनाएको छ।
महिलामा देखिने क्यान्सरमा स्तन क्यान्सर, गर्भाशयको क्यान्सर र पाठेघरको मुखको क्यान्सर प्रमुख हुन्। नेपालका महिलामा पाठेघरको मुखको क्यान्सर सबैभन्दा बढी हुने गर्छ।
के हो पाठेघरको मुखको क्यान्सर ?
पाठेघर महिलाको संवेदनशील अंग हो। पाठेघर चारओटा भाग मिलेर बनेको हुन्छ। अण्डाशय, वाहिनी नली, मुख्य पाठेघर र पाठेघरको मुख। पाठेघरका सबै भाग पेटभित्र हुन्छन् भने पाठेघरको मुख योनिसँग जोडिएको हुन्छ।
पाठेघरको मुखमा ‘ह्युमन प्यापिलोमा भाइरस’ रहेको हुन्छ। जब महिलाहरू यौन गतिविधिमा संलग्न हुन्छन्, तब सबै महिलामा यो भाइरसले संक्रमण गर्ने खतरा रहन्छ।
नेपालमा क्यान्सरबाट पीडित महिलामध्ये २० प्रतिशतमा पाठेघरको मुखको क्यान्सर हुने गरेको छ । ग्योबोक्यानले सन् २०२० मा निकालेको तथ्यांकअनुसार नेपालमा २० हजार ८०५ जना नयाँ क्यान्सरपीडितमध्ये २ हजार २४४ महिलामा पाठेघरको मुखको क्यान्सर देखिएको छ। यो क्रम बढ्दो छ। वार्षिक भन्डै १ हजार महिलाको मृत्यु पाठेघरको मुखको क्यान्सरकै कारण हुने गरेको पाइन्छ।
जुन महिलामा रोगसँग लड्ने प्रतिरोधात्मक क्षमता कमजोर हुन्छ त्यस्ता महिलामा ह्युमन प्यापिलोमा भाइरसले वर्षौंसम्म संक्रमण गरिरहन्छ। यसरी यो भाइरसको संक्रमण दीर्घकालीन रूपमा रहिरह्यो भने अन्तिममा पाठेघरको मुखको क्यान्सर हुने सम्भावना उच्च रहन्छ।
तर रोग प्रतिरोधी क्षमता बढी रहेका महिलामा भने पाठेघरको मुखको क्यान्सर हुने सम्भावना कम रहन्छ। विश्वको तथ्यांकअनुसार हेर्ने हो भने पाठेघरको मुखको क्यान्सरको जोखिम मुख्यतया २० देखि ३० र ४० देखि ५० वर्ष उमेर समूहका महिलामा रहेको पाइन्छ। तर नेपालको परिपे्रक्ष्यमा ४० देखि ६० वर्ष उमेर समूहका महिलामा पाठेघरको मुखको क्यान्सरको जोखिम बढी देखिने गरेको पाइएको छ।
कसरी हुन्छ पाठेघरको मुखको क्यान्सर ?
महिलाहरूमा पाठेघरको क्यान्सर हुनुका विभिन्न कारण छन्। सानै उमेरमा विवाह गरेर शारीरिक सम्बन्ध राखेमा पाठेघरको क्यान्सर हुने सम्भावना उच्च रहन्छ। धेरै बच्चा जन्माउने महिला पनि यस्तो क्यान्सरको उच्च जोखिममा रहन्छन् ।
धेरै धूमपान गर्ने महिलामा पनि पाठेघरको मुखको क्यान्सर हुने सम्भावना बढी हुन्छ । धेरै महिलासँग शारीरिक सम्बन्ध राख्ने पुरुषबाट महिला संक्रमित हुन सक्ने खतरा रहन्छ । त्यति मात्र नभएर धेरै पुरुषसँग यौन सम्पर्क राख्ने महिलाहरूमा पनि यो क्यान्सर हुने जोखिम हुन्छ । पिल्स तथा हर्मोन लिएका कारण पनि महिलामा पाठेघरको मुखको क्यान्सर हुने सम्भावना उच्च रहन्छ।
कस्ता हुन्छन् लक्षण ?
पाठेघरको मुखको क्यान्सर भइसकेपछि मात्र यसले लक्षण देखाउँछ। यो रोग पुष्टि हुनुअघि यसले लक्षण देखाउँदैन। त्यसकारण मम्तीमा ३÷३ बढीमा ५÷५ वर्षमा महिलाहरुले पाठेघरको मुखको पानीको जाँच (प्याप स्मेयर) गराउनु आवश्यक छ। यसलाई समयसमयमा जाँच गराइयो भने रोग फैलनुअघि नै क्यान्सरको निदान र उपचार गर्न पाइन्छ।
पाठेघरको मुखको क्यान्सर भएपछि विभिन्न लक्षण देखिन्छन्। महिनावारी नभएको समयमा पनि योनिबाट रगत बग्ने, पानी बग्ने, योनि चिलाउने, यौन सम्पर्कपछि योनिबाट रगत बग्ने, तल्लो पेट दुख्नेजस्ता लक्षण पाठेघरको मुखको क्यान्सर हुँदा देखिन्छन्।
अहिले धेरै महिलामा पाठेघर खस्ने समस्या तीव्र रूपमा बढिरहेको छ। तर पाठेघर खसेका सबै महिलामा पाठेघरको मुखको क्यान्सर हुने सम्भावना बढी रहन्छ भन्ने हुँदैन। पाठेघर खसेको या नखसेको महिलामा पाठेघरको मुखको क्यान्सर हुने सम्भावना समान रहन्छ।
यस्ताे छ उपचार विधि
रोग लागेर उपचारका लागि अस्पताल धाउनुभन्दा रोग लाग्न नदिनु नै बेस हुन्छ । त्यसकारण पाठेघरको मुखको क्यान्सरबाट बच्न समयसमयमा यसको जाँच गराउनु अत्यावश्यक छ।
पाठेघरको मुखको क्यान्सर भएका बिरामीको रोगको अवस्था हेरी अन्य शरीरमा फैलन नदिन शल्यक्रियामार्फत पाठेघर फाल्न सकिन्छ। यसका साथै केमोथेरापीलगायत उपचार पद्धतिबाट पनि पाठेघरको मुखको क्यान्सरको उपचार गर्ने गरिएको पाइन्छ।
यसरी बच्न सकिन्छ
विश्वभरि नै महिलामा पाठेघरको मुखको क्यान्सर बढ्दै गएपछि यसबाट बच्न विदेशतिर १३–१४ वर्षको किशोरी अवस्थामै ह्युमन प्यापिलोमा भाइरसविरुद्धको भ्याक्सिन दिने चलन छ।
नेपालमा पनि पाठेघरको मुखको क्यान्सरविरुद्ध दिइने भ्याक्सिन किनेर लगाउन मिल्छ। तर यसको प्रभावकारिताबारे नेपाल सरकारले सरकारी स्तरबाट गाउँगाउँसम्म सन्देश पु¥याउन सकेको छैन। त्यसकारण धेरै नेपाली यो भ्याक्सिनबारे बेखबर छन् ।
पाठेघरको क्यान्सरको न्यूनीकरणका लागि सरकारी स्तरबाट पहल हुनुपर्छ । हरेक महिलाले ह्युमन प्यापिलोमा भाइरसविरुद्धको खोपको प्रभावकारिताबारे बुझेर उपयुक्त समयमा भ्याक्सिन लगाउन सके धेरै हदसम्म पाठेघरको मुखको क्यान्सरबाट जोगिन सकिन्छ । त्यसैगरी समयसमयमा पाठेघरको मुखको पानीको जाँच (प्याप स्मेयर) गराए जटिल स्थिति आउनुअघि नै सर्तक रहन सकिन्छ।
(भेरी अस्पतालमा कार्यरत स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा. कीर्तिपाल सुवेदीसँग
काठमाडौं प्रेसकर्मी शलिना कुँवरले गरेको कुराकानीमा आधारित)