जाडोयाम दीर्घरोगीलाई खतरा, कसरी बच्ने?
जाडोयाममा लाग्ने रोगले जुनसुकै उमेर समूहका मानिसलाई दुःख दिने भए पनि खासगरी दीर्घरोगीको स्वास्थ्यमा भने विभिन्न किसिमका समस्या आउन सक्ने त्रिवि शिक्षण अस्पतालका चिकित्सक डा. निरज बम बताउँछन्।
काठमाडौं, पुस १८ : आधा पुस बितिसक्दा शरीर कठ्यांग्रिने गरी चिसो बढेको छ। माघ अन्तिम सातातिर मात्रै जाडो ओरालो लाग्छ। अर्थात् अझै डेढ महिना चिसोको सामना गर्नुपर्ने अवस्था छ।
खासमा मंसिर आधाआधीदेखि माघ अन्त्यसम्मको समयलाई जाडोयाम मानिन्छ । यो याम स्वास्थ्यका दृष्टिले अत्यन्त प्रतिकूल रहने गर्छ। अत्यधिक जाडो हुने भएकाले यो अवधिमा मानिसले विभिन्न रोगको सामना गर्नुपर्ने हुन्छ। यतिबेला विशेषगरी श्वासप्रश्वाससम्बन्धी रोग निम्त्याउने भाइरस सक्रिय हुन्छन्। जसले गर्दा अन्य रोगभन्दा पनि श्वासप्रश्वाससम्बन्धी संक्रमण बढी देखा पर्छ।
जाडोयाममा लाग्ने रोगले जुनसुकै उमेर समूहका मानिसलाई दुःख दिने भए पनि खासगरी दीर्घरोगीको स्वास्थ्यमा भने विभिन्न किसिमका समस्या आउन सक्ने त्रिवि शिक्षण अस्पतालका चिकित्सक डा. निरज बम बताउँछन्। यो समयमा दीर्घरोगीहरूले आफ्नो स्वास्थ्यमा विशेष ध्यान दिनुपर्नेमा डा. बम जोड दिन्छन्।
दीर्घरोगी (दम, मधुमेह, क्यान्सर, मिर्गाैला, कलेजोका बिरामी) हरू, जसले लामो समयदेखि औषधि सेवन गरिरहेका छन्, उनीहरूमा चिसोका कारण विभिन्न किसिमका जटिलता आउन सक्ने डा. बमको भनाइ छ।
‘दीर्घरोगीहरूलाई चिसोले छातीमा संक्रमण गर्ने गरेको पाइन्छ। छातीको संक्रमणले श्वासनलीभित्र भित्तामा एलर्जी गराउने र सुक्खा पार्ने गर्छ । सुक्खापनका कारण घाँटी खसखस हुने, रुघा लाग्ने जस्ता समस्या निम्तिन्छन्। लामो समय रुघा लागिरहे छाती घ्यारघ्यार हुने, सास फेर्न गाह्रो हुने, धेरै खोक्दा खकारबाट रगत आाउनेजस्ता समस्या देखापर्छन्,’ डा. बम भन्छन्।
उनका अनुसार दीर्घरोगीमा उल्लिखित समस्याहरू बढ्दै गए फोक्सोमा तरल पदार्थ जम्मा हुन्छ र निमोनियाले संक्रमण गर्छ। फोक्सोको काम अक्सिजन लिने र कार्बनडाइअक्साइड फ्याँक्ने हो। केही गरी दीर्घरोगीमा निमोनिया भइहाल्यो भने फोक्सोको कार्य प्रक्रियामा अवरोध आउने र शरीरमा अक्सिजनको मात्रा कमी भई बिरामीको मृत्यु पनि हुन सक्ने उनी बताउँछन्।
समयमै निमोनियाको उपचार हुनु अत्यावश्यक छ। दम र मधुमेहबाट पीडित, मिर्गाैलाको डायलाइसिस सेवा लिइरहेका बिरामी, किमोथेरापी गराइरहेका क्यान्सर रोगी, मुटुरोगी, कलेजोका बिरामीलगायत अन्य विभिन्न रोगी, जसले नियमित रूपमा औषधी सेवन गरिरहेका छन्, उनीहरूमा रोग प्रतिरोधात्मक क्षमता कमजोर हुने भएकाले जाडोमा निमोनियाको संक्रमण बढ्ने सम्भावना उच्च हुने डा. बमको भनाइ छ।
उनी भन्छन्, ‘छातीको एक्सरे गर्दा छातीमा दागहरू देखापर्न सक्छ। यस्तो समयमा दीर्घरोगीहरूले समयमै उपचार गर्नु अत्यावश्यक छ। दीर्घरोगीहरूमा रोग प्रतिरोधात्मक क्षमता कमजोर हुने भएकाले समयमै निमोनियाको उपचार नगराइएको अवस्थामा जटिलता आई बिरामीको मृत्युसमेत हुन सक्छ।’
दीर्घरोगीमा जटिलता देखिनुका कारण
गर्मीको तुलनामा चिसोमा वायु प्रदूषण बढी हुने गर्छ। अनियन्त्रित जनसंख्या, भौतिक निर्माण, औद्योगिकीकरण, अव्यवस्थित सहरीकरण, पुराना मोटर, इन्जिनको धुवाँ र विनाश हुँदै गएको हरियाली इत्यादि कारणले जाडोमा प्रदूषण बढ्ने गरेको डा. बम बताउँछन्।
प्रदूषण बढेकै कारण छातीभित्र दूषित हावा प्रवेश गरेपछि विभिन्न किसिमका संक्रमणले प्रायः सबै उमेर समूहका मानिसमा असर गर्ने गरे पनि दीर्घरोगीलाई अझ बढी जोखिम सिर्जना गर्ने उनको भनाइ छ।
कसरी जाेगिने?
जाडोयाममा दीर्घरोगीहरूले स्वास्थ्यमा ध्यान दिन अत्यावश्यक छ। यसका लागि सबैभन्दा पहिले धूमपान, मद्यपानबाट टाढै बस्नुपर्ने डा. बम बताउँछन्। यसका साथै पोषणयुक्त आहार लिने, सागपात, फुलफूल, भिटामिन प्रशस्त भएका खानेकुराको मात्रा बढाउने, न्यानो लुगा लगाउने, मनतातो पानी पिउने गरे जाडोमा स्वास्थ्यमा देखिने जटिलतालाई न्यूनीकरण गर्न सकिने उनी बताउँछन्।
‘यसका साथै दमका बिरामीहरू, जो अक्सिजन लगेर घरमै बसिरहेका छन्, उनीहरूमा चिसोका कारण श्वासनलीहरू साँघुरिने समस्याहरू अहिले देखिँदै गएको छ,’ डा. बम भन्छन्, ‘त्यसैले दीर्घरोगीले जाडोमा स्वस्थ रहन माथि भनिएका कुरामा विशेष ध्यान दिनु आवश्यक छ।’









![काठमाडौंमा पहिलो हिउँदे वर्षा [फाेटाे फिचर]](https://kathmandupress.com/uploads/posts/550X700/cover-1769601740.jpg)
![हिउँले सेताम्मे कर्णाली [फोटो फिचर]](https://kathmandupress.com/uploads/posts/550X700/Untitled-2-1769229345.jpg)
![स्वयम्भूको सरस्वती मन्दिरमा अक्षरारम्भ गर्दै बालबालिका [फाेटाे फिचर]](https://kathmandupress.com/uploads/posts/550X700/cover-1769153505.jpg)
![चाकु बनाउने चटारो [फोटो फिचर]](https://kathmandupress.com/uploads/posts/550X700/cover-1767945774.jpg)