Kathmandu Press

नयाँ स्वादका लागि मिथिला थाली, जनकपुरपछि काठमाडौं ल्याउने तयारी 

मिथिला थालीमा १३ भन्दा बढी परिकार हुन्छन्। धेरैजसो परिकार नेपाली भान्सामा पाक्ने भए पनि मिथिला थालीमा केही नयाँ परिकार समेटिन्छन्। मिथिला थालीमा धेरै परिकारले सजाउनुपर्ने सञ्चालक साहको भनाइ छ।
नयाँ स्वादका लागि मिथिला थाली, जनकपुरपछि काठमाडौं ल्याउने तयारी 
Hardik ivfHardik ivf

काठमाडौं, पुस १६ : दैनिक एकैखालको स्वादमा हामी रमाइरहेका हुन्छौं। तर कहिलेकाहीँ स्वाद फेर्न चाहने हो भने जनकपुरको  जानकी चोकमा पाइने मिथिला थालीको रोजाइ उपयुक्त हुन सक्छ। व्यावसायिक रूपमा पहिलोपटक सञ्चालनमा ल्याइएको मिथिला थाली त्यति महँगो पनि छैन। केवल २०० रुपैयाँमै हामी त्यो नयाँ स्वादको अनुभन लिन सक्छौं। 

मिथिला क्षेत्रको भोजन संस्कृतिसँग जोडिएको परिकार मिथिला थालीको स्वाद सबै नेपालीलाई चखाउने उद्देश्यले ‘होटल भिवान’ले त्यसलाई व्यावसायिक रूप दिएको सञ्चालकमध्येका एक दीपेन्द्र साह बताउँछन्। उनी होटलका अध्यक्ष पनि हुन्।

जनकपुरको उपमहानगरपालिका–३, ४, ५, ६, १० र ११ को केन्द्रमा पर्छ जानकी चोक। जानकी चोक जनकपुरको मुख्य बजार हो, जहाँ जानकी मन्दिर पनि अवस्थित छ। सोही मन्दिरको पूर्वी गेटबाट ३० मिटरजति उत्तर लागेपछि भेटिन्छ ‘होटल भिवान’। त्यही होटेलले मिथिला थालीको स्वाद पस्कन थालेको जम्मा तीन महिना मात्र भएको छ। तर त्यसले परिकार जगत्मा राम्रो चर्चा कमाइरहेको छ।    

‘गत असोज १० गते (घटस्थापना) देखि सञ्चालनमा आएको होटल भिवानले ‘मिथिला थाली पस्किन थालेको हो,’ सञ्चालक साह भन्छन्।  जनकपुर–३ का वडाध्यक्ष दीपेन्द्र साह पनि उक्त होटलका लगानीकर्ता हुन्। उनका अलावा स्थानीय कृष्णमुरारी साहलगायत चार–पाँचजनाको समूह बनेको छ। सोहस् समूहले ७५ लाखको लगानीमा होटल सञ्चालनमा ल्याएको सञ्चालक साह बताउँछन्।

‘चर्चित नेपाली सेफ सन्तोष साहले मिथिला थालीलाई प्रवद्र्धन गर्ने सल्लाह दिएपछि व्यावसायिक रूपमै उक्त स्वाद पस्कने सोच आएको हो,’ उनी भन्छन्, ‘शाहाकारी खानाका रूपमा चिनिने मिथिला जनकपुरवासीले एकदम मन पराएका छन्। अब सबै नेपालीलाई चखाउने योजना हाम्रो छ।’ 

मिथिला थालीको स्वाद लिने भन्दै दैनिक ५० जनाको हाराहारीमा ग्राहक आउने गरेको उनी बताउँछन्। ‘अहिलेसम्म आउनुभएका ग्राहकले मिथिला थाली एकदम मन पराउनुभएको छ,’ उनी भन्छन्, ‘मिथिला थाली शाहाकारीका लागि एकदम उपयुक्त र स्वादिलो खाना मानिन्छ।’ 

मिथिला थाली विशेषगरी मैथिली समुदायका भान्सामा पाक्ने भोजन हो। मैथिलीले पाहुनालाई सत्कार गर्न मिथिला थाली पस्कन्छन्। यो नेपाली भोजन संस्कृतिको एउटा अभिन्न अंग हो। त्यसकारण सञ्चालक साहलाई लाग्छ, नेपाली खाना संस्कृति जोडिएकै कारण मिथिला थालीको प्रवर्धन गर्नुपर्ने आवश्यकता छ ।

‘सञ्चालनमा ल्याएको लामो समय नभए पनि सकारात्मक प्रतिक्रिया पाइरहेका छौं। धेरै नेपालीलले मिथिला थालीको परिकारको स्वाद लिन नपाएको भन्ने अनुभूति हामीलाई भएको छ,’ उनले भने, ‘अन्य परिकारजस्तो व्यावसायिक रूप यसले नलिएको पाइएपछि हामी त्यसतर्फ अग्रसर भएका हौं।’

hotel vivaan1672487095.jpg

उनका अनुसार पहाडी जिल्लाबाट कामका सिलसिलामा जनकपुर आएका, त्यसमा पनि जानकी मन्दिर घुम्न आएकाहरूले मिथिला थाली निकैै रुचाएका छन्। काठमाडौंबाट धेरै विद्यार्थी मिथिला थाली परीक्षणका लागि आइरहेको उनी बताउँछन्। ‘होटलमा आउने ग्राहकले सबैले सकारात्मक प्रतिक्रिया दिइरहेका छन्,’ उनले भने, ‘मैथिलीबाहेक अन्य समुदायका लागि यो बिल्कुलै नयाँ स्वाद हो, त्यसकारण पनि बढी रुचाइएको हो कि भन्ने हाम्रो ठम्याइ छ।’ 

होटलको माथिल्लो तलामा अन्य होटलमा जस्तै मासुका परिकार तथा खाजाखाना पनि राखिएका छन्। तर होटलको भुइँतलामा भने मिथिला थाली मात्र राखिएको उनी बताउँछन्। ‘मिथिला थाली शाहाकारी खाना भएकाले भान्सा नै फरक ठाउँमा राखेको छौं,’ उनले भने, ‘होटेलमा मिथिला थाली एकैपटक ४० जनालाई खुवाउन सक्ने क्षमता छ। मासु खाने ग्राहकलाई भने माथिल्लो तलामा एकपटकमा ३६ जनालाई सेवा दिन सक्ने अवस्था छ।’ 

उक्त होटलमा खाजाखाना मात्र नभई आवासको पनि व्यवस्था छ। गोष्ठी, छलफल, अन्तरक्रियाजस्ता कार्यक्रम गर्नुपर्दा पनि राम्रो सुविधा रहेको सञ्चालक साह बताउँछन्। ‘होटलामा एउटा ठुलो हल छ। बास चाहिनेका लागि १३ वटा कोठा छन् । जानकी मन्दिर घुम्न आउने पर्यटकले मिथिला थालीको स्वाद लिएर जानकी मन्दिरको दृश्य अवलोकन गर्दै होटलमा बस्न पाउँछन्,’ उनले भने, ‘होटलको माथिल्लो भागबाट जानकी मन्दिरलगायत वरिपरिको रमाइलो परिदृश्य देख्न सकिन्छ।’ 

मिथिला थालीमा केकस्ता परिकार हुन्छन् ? 

मिथिला थालीमा १३ भन्दा बढी परिकार हुन्छन्। धेरैजसो परिकार नेपाली भान्सामा पाक्ने भए पनि मिथिला थालीमा केही नयाँ परिकार समेटिन्छन्। मिथिला थालीमा धेरै परिकारले सजाउनुपर्ने सञ्चालक साहको भनाइ छ।

‘सामान्य भान्सामा मिथिला थालीको परिकार पुर्‍याउने गाह्रो पर्छ, त्यसैले पनि प्रवद्र्धन गर्न नसकिएको हुन सक्छ,’ उनले भने, ‘हामीले मिथिला थालीलाई पूर्णता दिन सकेका छैनौं, किनकि २०० रुपैयाँमा सबै परिकार राखेर बिक्री गर्न सकिँदैन।’ 

कतिपय ग्राहकले पूर्ण परिकार राखेर शुल्क बढाउने सल्लाह दिएको पनि उनले सुनाए। ग्राहकको सल्लाहसुझावलाई समेट्नेबारे छलफल भइरहेको उनी बताउँछन्। ‘सादा दही, लस्सी, पानलाई अहिले समेट्न सकेका छैनौं। यी दुईलाई बिस्तारै जोड्दै लैजान्छौं,’ उनले भने, ‘मिथिला थालीलाई पूर्ण रूप दिने कोसिस भइरहेको छ।’

मिथिला खानामा समावेश हुने एक परिकार तिलौरी हो। यसलाई तिल र चामलको पीठोबाट तयार पारिन्छ। उमालेको तिल र चामलको मिठोलाई भुटेपछि तिलौरी तयार हुन्छ। यसबाट प्रशस्त मात्रामा ‘ओमेगा थ्री’ प्राप्त हुन्छ। तिलौरी मुटुका लागि निकै स्वस्थकर मानिन्छ। यो तिलौरी कमै नेपालीले मात्र स्वाद लिएको साहको भनाइ छ।

dipendra shah1672487385.jpg

‘होटलमा आउने धेरै ग्राहक तिलौरीको स्वाद र परिकारबारे अनजान रहेको बताउँछन्,’ साहले भने, ‘नेपालीले त स्वाद लिएका छैनन् भने विदेशी पर्यटकका लागि त यो अझै नयाँ परिकार हो, जसको प्रवद्र्धन गर्नु आवश्यक छ ।’ 

मिथिला थालीमा अर्काे मुख्य परिकार हो, तरुवा। यसलाई मौसमी तरकारीबाट तयारी पारिन्छ। पर्बल, आलु, गोभी, प्याजलगायत तरकारी यसका कच्चा पदार्थ हुन्। यो पकोडाजस्तै परिकार रहेको सञ्चालक साह बताउँछन्।

‘मिथिला परिकारमा आलुको भुजिया र पापड अनिवार्य हुन्छ,’ उनले भने, ‘यीबाहेक बास्मती चामलको भात, रहरी  र मुसुरा मिश्रित दाल, कर्कला गाभा, पकौंडा करी, साग, तेलमा भुटेर बनाइएको गोलभोडाको अचार, पिसेर बनाइएको अचार, हरियो सलाद, आलुको अचार, पान, लस्सी, कडीबडी (यो परिकार सोलारमा बेसन राखेर तयार पारिन्छ, सोलार भनेको तेलमा झानेको मोही हो) लगायत परिकार हुन्छन्,’ उनले भने, ‘दही र पानबाटबन्नेबाहेक सबै परिकार दिइरहेका छौं।’ 

मिथिला थालीको स्वाद आउने ग्राहकहरूले पूर्ण रूपमा मिथिला थाली दिन सल्लाहसुझाव दिइरहेका छन्। ग्राहकको सल्लाह, सुझावलाई ध्यानमा राख्दै मिथिला थालीलाई पूर्णता दिई शुल्क बढाउनेबारे छलफल भइरहेको उनको भनाइ छ। 

‘काठमाडौंमा पनि मिथिला थाली’

जनकपुरको सकारात्मक प्रतिक्रिया पाइएकाले काठमाडौंको गौशाला अथवा सुन्धरामा ‘मिथिला थाली’ पस्कने योजना बनाइएको सञ्चालक साह बताउँछन्। ‘ग्राहकको आवश्यकता र प्रवद्र्धन गर्न सहयोग पुग्ने भएकाले काठमाडौंमा शाखा खोल्ने योजना बनाएका हौं,’ उनले भने, ‘काठमाडौंमा सञ्चालन भए छिट्टै यो परिकारको प्रवद्र्धन चाँडै हुने विश्वास हामीले लिएका छौं।’ 

उनी आफ्नो टिम आएर ठाउँ अवलोकन गरेपछि यी दुई स्थानमध्ये एक स्थानमा छिट्टै मिथिला थाली सञ्चालनमा ल्याउने बताउँछन्। ‘शाहाकारी खाना र कम शुल्कमा दिइने भएकाले राम्रो चल्ने अपेक्षा छ,’ उनले भने, ‘संस्कृतिसँग पनि जोडिएकाले प्रवद्र्धनमा जोड दिएका हौं, आफ्नो संस्कृत हामीले जोगाउनु आवश्यक छ।’
 

प्रकाशित मिति: १७:१९ बजे, शनिबार, पुस १६, २०७९
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्