Kathmandu Press

‘कोरोनाको नयाँ भेरियन्टले जटिलता ल्याउँदैन, सतर्कता भने अपनाऔं’

नयाँ भेरियन्टले जटिलता ल्याउन नदिन कोरोनाविरुद्धको पहिलो र दोस्रो मात्रा खोप लगाएकाहरूले ‘बुस्टर डोज’ लगाउनुपर्ने सुझाव स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. सञ्जयकुमार ठाकुरको छ।
‘कोरोनाको नयाँ भेरियन्टले जटिलता ल्याउँदैन, सतर्कता भने अपनाऔं’

काठमाडौं, पुस १३ : कोरोना संक्रमण मत्थर हुँदै गएको भनिए पनि चीनलगायत विभिन्न देशमा नयाँ भेरियन्ट देखा परेको छ । अहिले खासगरी छिमेकी राष्ट्र चीनमा कोरोनाको भयावह स्थिति सिर्जना भएको छ। त्यहाँ नयाँ भेरियन्ट बिएफ–७ तीव्र रूपमा फैलिरहँदा नेपालमा पनि सतर्कता अपनाउनुपर्ने अवस्था सिर्जना भएको छ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. सञ्जयकुमार ठाकुर चीनमा तीव्र रूपमा फैलिएको कोरोनाको नयाँ भेरियन्टले उत्पात मच्चाइरहेको सुन्नमा आए पनि सही सूचना भने प्राप्त हुन नसकेको बताउँछन्। चीनबाट धेरै सूचना नबाहिरिने भएकाले नयाँ भेरियन्टसम्बन्धी धेरै जानकारी पाउन नसकिए पनि नेपालमा पनि सतर्कता अपनाउन जरुरी रहेको उनको भनाइ छ।

प्रवक्ता डा. ठाकुरका अनुसार राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सञ्चारमाध्यम र विज्ञ चिकित्सकहरूको रिपोर्टका आधारमा कोरोनाको नयाँ भेरियन्ट बिएफ–७ अहिलेसम्मकै तिव्रगतिमा सर्ने भेरिन्ट हो। चीनमा पूर्वतयारी नहुँदा एक्कासि फैलिएको नयाँ भेरियन्टले तीव्र रूपमा संक्रमण बढाएको अनुमान गर्न सकिने उनी बताउँछन्।

कोरोनाको नयाँ भेरियन्ट चीनमा मात्र नभएर ब्राजिल, अमेरिका, जापान र भारतमा समेत देखा परेको छ। तर अन्य राष्ट्रहरूमा चीनमा संक्रमण नफैलिएको उनको भनाइ छ। ‘छिमेकी राष्ट्र भारतमा पनि कोरोनाको नयाँ भेरियन्ट देखापरेको छ,’ उनले भने।

sanjaya kumar thakur1672233727.jpg
डा. सञ्जयकुमार ठाकुर, प्रवक्ता, स्वास्थ्य मन्त्रालयका ।

उनका अनुसार नेपालका सन्दर्भमा कोरोनाका पुराना भेरियन्टबाट संक्रमण हुने दर निकै कम छ। तर छिमेकी राष्ट्र भारतमा समेत देखा परिसकेकाले खुला सिमाना र धेरै नेपाली रोजगारकै लागि भारतमा रहेको हुँदा नेपालमा पनि उक्त भेरियन्टको संक्रमण देखा पर्न सक्ने आकलन गरिएको छ। तथापि अहिलेसम्म नेपालमा उक्त भेरियन्ट देखा परिनसकेको मन्त्रालयको भनाइ छ।  

नेपालमा नयाँ भेरियन्ट देखा परिहाले पनि त्यसले खासै जटिलता नल्याउने उनको दाबी छ। विगतमा कोरोनाका विभिन्न भेरियन्टको संक्रमण बढ्दै गर्दा पूर्वतयारीका रूपमा काठमाडौंमा मात्र नभएर देशका सबै अस्पतालमा अक्सिजन, आइसियु, भेल्टिलेटरको व्यवस्था गरिएकाले नेपालमा कोरोनाको नयाँ भेरियन्ट बिएफ–७ ले जटिलता निम्त्याउन नसक्ने उनको दाबी छ।

बिएफ–७ भेरियन्ट नेपालमा चीनमा जति जोखिमपूर्ण साबित नभए पनि रोग लाग्नुभन्दा लाग्न नदिनु नै बेस भएकाले पूर्वतयारी अपनाउनुपर्नेमा उनी जोड दिन्छन् । विगतमा देखिएका कोरोनाका भेरियन्टको संक्रमणमा कमी आउँदै गर्दा अहिले धेरैले मास्क लगाउन छाडेका छन्। कोरोना संक्रमण हुन नदिन अनिवार्य रूपमा मास्क लगाउनुपर्नेसुझाव दिन्छन्। त्यसैगरी भिडभाडमा नजाने, स्यानिटाइजरको प्रयोग गर्नेे र साबुनपानीले हात धुने गरे जटिलताबाट बच्न सकिने उनको भनाइ छ।

बुस्टर डोज लगाउन स्वास्थ्य मन्त्रालयको आग्रह

बिएफ–७ भेरियन्ट नयाँ हो तर कोरोना भने पुरानै रोग हो। नयाँ भेरियन्टले जटिलता ल्याउन नदिन कोरोनाविरुद्धको पहिलो र दोस्रो मात्रा खोप लगाएकाहरूले ‘बुस्टर डोज’ लगाउनुपर्ने सुझाव डा. ठाकुरको छ।

कोरोनाको नयाँ भेरियन्ट बिएफ–७ को मिल्दोजिल्दो भेरियन्ट विगतका दिनमा नेपालमा फैलिएर धेरै जना संक्रमित भइसकेकाले नयाँ भेरियन्ट बिएफ–७ ले नेपालमा संक्रमण गरिहाले पनि यसले खासै जोखिम निम्त्याउन नसक्ने सरुवा रोग विशेषज्ञ डा. अनुप सुवेदीले काठमाडौं प्रेसलाई बताए।

dr-anup-subedi1672233727.jpg
डा. अनुप सुवेदी, सरुवा रोग विशेषज्ञ ।

नेपालमा लगाइएका कोरोनाविरुद्धका खोप चीनको तुलनामा राम्रो भएकाले नयाँ भेरियन्टको संक्रमण भइहाले पनि खासै जोखिम ननिम्तिने डा. सुवेदीको दाबी छ। यसरी नेपालमा बिएफ–७ को जोखिम नभए पनि आगामी दिनमा कोरोनाको फरक भेरियन्ट आएर जोखिम निम्त्याउन सक्ने सम्भावना उच्च रहेको हुँदा कोरोनाविरुद्ध खोप लगाउन छुटेका सबैले पहिलो र दोस्रो मात्रा खोप लगाउन उनी सुझाउँछन्।

सरुवा रोग डा. सुवेदी भन्छन्, ‘पहिलो र दोस्रो खोप लगाएका सबैले प्रतिरोधात्मक क्षमता बढाउन बुस्टर डोज लिनुपर्छ भने ज्येष्ठ नागरिक, दीर्घरोगी र स्वास्थ्यकर्मीहरूले पनि नबिराई बुस्टर डोज लगाए जटिलता आउनुअगावै सतर्कता अपनाउन सकिन्छ।’   

नेपालमा नयाँ भेरियन्टको संक्रमण हुन नदिन जुनजुन देश बिएफ–७ बाट संक्रमित भएका छन्, ती देशबाट फर्केका मानिसमा पिसिआर गरेर मात्र आउन दिने व्यवस्था गरे नयाँ भेरियन्ट बिएफ–७ को संक्रमणबाट नेपाल बच्न सक्ने डा. सुवेदीको भनाइ छ।

 

प्रकाशित मिति: १९:०० बजे, बुधबार, पुस १३, २०७९
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्