यसकारण फेरि पनि देउवा नै प्रधानमन्त्री !
सस्तो लोकप्रियता र प्रचारमा पटक्कै विश्वास नगर्ने देउवामाथि तथ्यहीन लाञ्छना र आरोपहरू लगाउनेको कमी छैन। तर उनले गरेका राम्रा कामहरूको फेहरिस्त लामै देखिन्छ। वास्तवमा देउवा संकटका सारथि नै हुन्।नेपाली कांग्रेस संसदीय दलको नेतामा सभापति शेरबहादुर देउवा पुनः निर्वाचित भएका छन्। ८९ मध्ये ६४ सांसदको समर्थनमा देउवा संसदीय दलको नेता निर्वाचित भएका हुन्।
देउवा संसदीय दलको नेता चयन भएसँगै अब नयाँ सरकार निर्माणको माहोल तात्न थालेको छ। अन्य सहयोगी दलहरूको बहुमतसहित लोकतान्त्रिक वाम गठबन्धनकै सरकार बन्ने निश्चित छ। केन्द्रीय सरकार मात्र होइन, सातवटै प्रदेश सरकार पनि लोकतान्त्रिक वाम गठबन्धनकै बन्नेछ। बहुमत नरहेका तीन प्रदेशमा समेत लोकतान्त्रिक वाम गठबन्धनले सरकार निर्माणको पहल थाल्नेछ।
संसद्को सबैभन्दा ठुलो दलका सभापति तथा संसदीय दलको नेताको हैसियतले अब बन्ने सरकारको नेतृत्व देउवाले नै गर्ने निश्चित छ। महत्वपूर्ण राजकीय पदहरू लोकतान्त्रिक वाम गठबन्धनले आपसी सहमतिमा टुंगो लगाई राजनीतिक स्थायित्वको वातावरण तयार गर्ने र समुन्नत नेपाल निर्माणको न्यूनतम साझा कार्यक्रमसहित अगाडि बढ्नु आजको प्रमुख आवश्यकता हो।
आम निर्वाचन र ताजा जनादेशले पुनः सरकारको नेतृत्व गर्ने अभिभारा देउवाको काँधमा आइपुगेको छ। ‘पाँचपटक प्रधानमन्त्री भइसकेका देउवा फेरि पनि प्रधानमन्त्री किन?’ भन्नेहरू नभएका होइनन्। तर लोकतन्त्रको अभ्यासमा आफूलाई खरो प्रतिस्पर्धामा उतारेर पार्टी र संसदीय दलको विश्वास जित्ने नेतालाई ‘फेरि किन?’ भन्ने प्रश्न तेस्र्याउनु संसदीय प्रणाली र लोकतन्त्रकै हुर्मत लिनु हो।
विधि र प्रक्रियालाई नजरअन्दाज गर्दै सडक, सञ्चार र सञ्जालमा गरिएका विरोधको कुनै तुक देखिँदैन। बरु संसदमा बहस र छलफल गरेर राजकीय पदहरू जस्तै सांसद, सरकार प्रमुख र राष्ट्रप्रमुख कतिपटकसम्म बन्न पाउने या नपाउने प्रस्ट रूपमा उल्लेख गरी संविधान संशोधन गर्नेतर्फ अग्रसर हुनु सुल्टो बाटो हुनेछ।
वास्तवमा ‘पटकपटक देउवा नै किन?’ भन्नेहरूको मन शान्त पार्नु तथा लोकतन्त्र नै विधि र प्रक्रिया हो भन्ने बुझाउनु अहिलेको आवश्यकता देखिन्छ। देउवा ज्योतिषले भनेका भरमा या भाग्यमा लेखेका आधारमा छैटौंपटक प्रधानमन्त्री बन्न लागेका पक्कै होइनन्। उनी प्रधानमन्त्री बन्नपर्ने प्रस्ट ९ वटा कारण र आधार छन्।
१. संसदमा सबैभन्दा ठुलो दलको नेता
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा संसदमा सबैभन्दा ठुलो दलको संसदीय दलको नेता हुन्। संसदीय लोकतन्त्रमा ठुलो दलको नेता प्रधानमन्त्री बन्नु स्वाभाविक हो। ८९ सिटसहित संसदमा उपस्थित देउवा नै प्रधानमन्त्री बन्ने पहिलो र महत्वपूर्ण आधार नै दलको नेता हुनु हो।
२. लोकतान्त्रिक वाम गठबन्धनका नेता
निकट विगतलाई फर्केर हेर्दा पटकपटकको संसद् विघटन, संघीय लोकतान्त्रिक गणतन्त्रमाथि नै उठेका प्रश्नहरू तथा महामारीको समयमा समेत भएका अनियमितता, भ्रष्टाचार र अत्याचारविरुद्ध संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षाका निम्ति निर्माण भएको लोकतान्त्रिक वाम गठवन्धनका नेताका रूपमा देउवाले आफ्नो कार्यभार बुद्धिमतापूर्वक पूरा गरेका छन्।
गठबन्धन निर्माण गरेरै आम निर्वाचनमा जाने विषयमा देउवाको अडानमा कहीँकतै विचलन देखिएन। स्थानीय, प्रदेश र संघको चुनाव सम्पन्न गरेर नयाँ जनादेश प्राप्त गर्नु तथा लोकतान्त्रिक वाम गठबन्धनलाई लगभग बहुमतनिकट पु¥याउन देउवाको इमानदार र नेतृत्वदायी भूमिकालाई कोहीकसैले नजरअन्दाज गर्न सक्दैन, मिल्दैन। लोकतान्त्रिक वाम गठबन्धनका एक सफल नेताका रूपमा पुनः त्यही गठबन्धनको सरकारको नेतृत्व गर्ने पहिलो हकदार देउवा नै हुन्।
३. संकटका सारथि
देउवा जहिले पनि संकटको समयमा देशको नेतृत्व गर्ने नेता हुन्। छैटौंपटक प्रधानमन्त्री बन्न लागेका देउवाले समग्रमा पाँच वर्ष पनि मुलुकको नेतृत्व गर्ने अवसर पाएको देखिँदैन। छोटो समयमा अस्थिर राजनीतिलाई लिकमा ल्याउन विगतमा पनि उनले धेरै मेहनत गरेको इतिहास साक्षी छ।
सस्तो लोकप्रियता र प्रचारमा पटक्कै विश्वास नगर्ने देउवामाथि तथ्यहीन लाञ्छना र आरोपहरू लगाउनेको कमी छैन। तर उनले गरेका राम्रा कामहरूको फेहरिस्त लामै देखिन्छ। वास्तवमा देउवा संकटका सारथि नै हुन्। त्यसैले संघीय लोकतान्त्रिक गणतन्त्रविरुद्ध मडारिएका बादलहरू हटाउन अझै पनि देउवाको भूमिका अपेक्षित छ। यो देउवा प्रधानमन्त्री बन्नुपर्ने अर्को महत्वपूर्ण आधार हो।
४. लोकतन्त्र र स्वतन्त्रताविरुद्ध कसैसँग सम्झौता नगर्ने
लोकतन्त्र र व्यक्तिगत स्वतन्त्रका पक्षमा देउवा सधैं अविचलित रहेको देखिन्छ। विद्यार्थी जीवनदेखि नै लोकतन्त्रको आन्दोलनमा होमिएका देउवा स्वस्थ आलोचनालाई सम्मान गर्ने र सहजै स्वीकार गर्ने नेतासमेत हुन्।
५. संयुक्त सरकार सञ्चालनको अनुभव
नियति नै मान्नुपर्छ, अपवादबाहेक देउवाले सधैं संयुक्त सरकार सञ्चालनको अवसर पाएका छन्। तर देउवाको नेतृत्वप्रति सरकारमा सँगै बसेका कुनै पनि दलले गुनासो गरेको सुनिँदैन। यस्तो सहज र सरल नेता संयुक्त सरकार सञ्चालनका लागि उपयुक्त मानिन्छ। त्यसैले संयुक्त सरकार सञ्चालनको विगतको अनुभव भावी सरकार सञ्चालनका लागि उपयोगी हुन सक्ने देखिन्छ।
६. निजामती तथा सुरक्षा निकायहरूमा पकड
पटकपटक सरकार सञ्चालनको अनुभव हासिल गरेका देउवा निजामती कर्मचारी तथा चारवटै सुरक्षा अंगले विश्वास र भरोसा गर्ने नेता हुन्। गृहमन्त्री र पटकपटक प्रधानमन्त्री बनेका देउवासँग काम गर्न सबैले सहज महसुस गर्ने गरेको पाइन्छ। मुलुकको सुशासन र शान्ति–सुव्यवस्था कायम राख्न यसबाट मद्दत पुग्नेछ।
७. समकालीन नेताहरूमा सबैभन्दा सिनियर
नेपालका समकालीन राजनेताहरूमा सबैभन्दा सिनियर देउवा नै हुन्। उमेर र अनुभव दुवै हिसाबले देउवाको कद उच्च देखिन्छ। पहिलोपटक २०४८ सालको संसदीय निर्वाचनमा डडेलधुराबाट निर्वाचित देउवा त्यसपछि लगातार सातौंपटक एकै निर्वाचन क्षेत्रबाट निर्वाचित हुने एक मात्र नेता हुन्। पाँचपटक प्रधानमन्त्री बनिसकेका देउवा सातौंपटक संसद्मा पुग्ने नेता हुन्।
८. सबै नेतासँग समदूरीको सम्बन्ध
नेपालका सबै नेतासँग सौहार्द व्यक्तिगत सम्बन्ध भएका नेता हुन् देउवा। कसैलाई पनि अपशब्द प्रयोग नगर्ने, मनपरी नबोल्ने, शालीन र भद्र स्वभावका देउवाको सबै नेतासँग आत्मीय सम्बन्ध रहेको पाइन्छ। यत्रो प्रतिगमनको मतियार भनेर सर्वत्र आलोचित केपी शर्मा ओलीलाई समेत कुनै अराजनीतिक र अपशब्द देउवाले प्रयोग गरेको सुनिएको छैन। गाली गर्दा पनि आदरार्थी शब्दले नै सम्बोधन गर्ने देउवाको शैली प्रशंसनीय रहेको पाइन्छ।
९. अन्तर्राष्ट्रिय समुदायको भरपर्दो मित्र
देउवा छिमेकी मित्रराष्ट भारत र चीनका मात्र होइनन्, अमेरिका, बेलायतलगायत सबै अन्तर्राष्ट्रिय समुदायले विश्वास र भरोसा गरेका नेता हुन्। कूटनीतिक सन्तुलन कायम राख्न सक्ने र सबैको इच्छा आकांक्षालाई नेपालको स्वर्थअनुकूल पूरा गर्न सक्ने खुबी देउवामा रहेको देखिन्छ। वास्तवमा देउवा अन्तर्राष्ट्रिय समुदायको भरपर्दो मित्रका रूपमा चिनिन्छन्।
तसर्थ यिनै कारण र आधारमा देउवा नै पुनः प्रधानमन्त्री बन्न लागेको देखिन्छ। यी सबै तथ्यलाई नजरअन्दाज गरेर फेरि पनि ‘देउवा नै किन?’ भन्दै चिच्याउनु र उफ्रिनुको कुनै अर्थ र औचित्य हुन्न। बरु गठबन्धनलाई कायमै राखेर राजनीतिक स्थिरता र समृद्धिका लागि आलोपालोको सहमति र समग्र पावर सेयरिङको प्रारूप भने गोप्य नराखी आम जनताले स्पष्ट थाहा पाउने गरी गरिनु हितकर हुनेछ।
गणतन्त्रका नायक पुष्पकमल दाहाल ‘प्रचण्ड’को आत्मसम्मान र अपेक्षाको पनि ख्याल राख्नैपर्छ। साथमा माधव नेपाल, बाबुराम भट्टराई, महन्थ ठाकुर र चित्रबहादुर केसीको अनुभव र सल्लाह लोकतान्त्रिक वाम गठबन्धनका लागि सुनमा सुगन्ध नै हुनेछ।