Kathmandu Press

‘धनुषावासीको मन जित्न वाचाअनुकूल काम गर्ने अठोट लिएकी छु’

देशमा संघीयता आएपछि तीन तहको सरकार विकासका लागि क्रियाशील छन्। तर जनताले चाहेजति, आफूले सोचेजति काम हुन नसकेको उनलाई लाग्छ। नीतिनियम तथा ऐनकानुनमा रहेका कमीकमजोरीका कारण विकासले फड्को मार्न नसकेको उनी ठान्छिन्। 
‘धनुषावासीको मन जित्न वाचाअनुकूल काम गर्ने अठोट लिएकी छु’

काठमाडौं, पुस ४ : धनुषा ३ की सांसद जुलीकुमारी महतो जनताले आफूलाई चुनाव जिताएकोमा खुसी छिन्। तर आफ्नो क्षेत्रको समुचित विकासको जिम्मेवारी काँधमा आएकोमा गम्भीर पनि बनेको उनी बताउँछिन्। 

‘मेरो जितलाई लिएर जनता धेरै खुसी भएका छन्, खुसीले उनीहरूका मुहार चम्किएको मैले राम्रोसँग महसुस गरेकी छु,’ उनी भन्छिन्, ‘उनीहरूमा पैदा भएको खुसीसँगै विकास र समृद्धिको चाहनालाई निराशामा परिणत हुन नदिने जिम्मेवारी महसुस भएकाले म गम्भीर भएकी हुँ।’ 

गत मंसिर ४ गते सम्पन्न आम निर्वाचनमा प्रतिनिधिसभा सदस्यमा प्रत्यक्षतर्फ नौ महिला निर्वाचित हुनेमा एमालेका चार जनामध्ये नेत्री महतो पनि एक हुन्। जनता समाजवादी पार्टी (जसपा) का उम्मेदवार अनिलकुमार झालाई पराजित गरेर उनले तेस्रो कार्यकालका लागि संसद् प्रवेशको ढोका उघारेकी हुन्।

Hardik ivf

उनले यसअघि २०६४ र २०७० सालमा सम्पन्न पहिलो र दोस्रो संविधानभामा समानुपातिकबाट सांसद बन्ने अवसर पाइसकेकी छन्। २०७८ सालमा उनी मन्त्री पनि भइन्। एमाले अध्यक्ष केपी ओली प्रधानमन्त्री हुँदा उनलाई महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय हाँक्ने जिम्मेवारी दिइएको थियो। 

केके छन् विकासे योजना?

‘जनताबाट सकारात्मक प्रतिक्रिया पाएकी छु, उनीहरूले मप्रति राखेको विश्वासलाई टुट्न नदिन सुरुदेखि नै वाचाअनुकूल काम गर्ने अठोट लिएकी छु,’ उनी भन्छिन्, ‘जसरी पनि जनताको मन जित्नेगरी काम गर्नु छ।’

त्यसका लागि आफ्नो क्षेत्रमा पर्ने जनकपुरधामलाई हरेक दृष्टिकोणले अगाडि बढाउनुका साथै आफ्नो क्षेत्रको समग्र विकासका लागि योजनाबद्ध ढंगले काम गर्ने संकल्प लिएको उनी बताउँछिन्।

जनकपुरधाम मधेस प्रदेशको राजधानी भए पनि विकासका दृष्टिले अझै पछि रहेको उनको भनाइ छ। ‘यो क्षेत्रमा अझै शिक्षा र स्वास्थ्यसम्बन्धी समस्या धेरै छन्। यहाँका जनतालाई शिक्षा र स्वास्थ्यको पहुँचमा पुर्‍याउनुलाई मैले आफ्नो पहिलो प्राथमिकता ठानेकी छु। धेरै युवाको पिरलो बनेर रहेको बेरोजगारी समस्या हल गर्नु छ,’ उनी भन्छिन्, ‘महिलाहरू आर्थिक–सामाजिक रूपमा निकै कमजोर छन्। उनीहरूको सशक्तीकरणका लागि आवश्यक कार्यक्रम ल्याउनु पनि प्रमुख दायित्व हो भन्ने सम्झेकी छु।’ 

उनका अनुसार धनुषाका जनताका प्रमुख चाहना विकास, समृद्धि र सुशासन हुन्। उक्त जनचाहना पूरा गर्न आफू हरतरहले लाग्ने प्रतिबद्धता उनले व्यक्त गरिन्। जनकपुरधाम सीताको जन्मभूमिसमेत भएकाले पौराणिक र धार्मिक सम्पदाको संरक्षण गरी पर्यटन प्रवर्धनमा टेवा पुर्‍याउने लक्ष्य पनि आफूले लिएको उनी सुनाउँछिन्। 

देशमा संघीयता आएपछि तीन तहको सरकार विकासका लागि क्रियाशील छन्। तर जनताले चाहेजति, आफूले सोचेजति काम हुन नसकेको उनलाई लाग्छ। नीतिनियम तथा ऐनकानुनमा रहेका कमीकमजोरीका कारण विकासले फड्को मार्न नसकेको उनी ठान्छिन्। 

‘जनताका लागि विकास र समृद्धिको खाँचो छ। विकासलाई तीव्रता दिन मौजुदा नीतिनियम तथा ऐनकानुन परिमार्जन गर्नुपर्ने आवश्यकता छ तर त्यसो हुन सकिरहेको छैन,’ उनी भन्छिन्। विकासका लागि छुट्याइएका बजेटको उचित कार्यान्वयनमा नहुँदा ‘विकासका लगानी बालुवामा पानी’ भनेझैं भएको उनको ठम्याइ छ। ‘नीति निर्माण गर्ने ठाउँमा पुगेकी छु, त्यसकारण अबको कार्यकालमा नीतिनियम र ऐनकानुन परिमार्जनमा विशेष जोड दिनेछु,’ उनले भनिन्। 

केकस्ता छन् धनुषामा समस्या ?

उनका अनुसार धनुषाको मुख्य समस्याका रूपमा स्तरीय सडक अभाव, फोहोर व्यवस्थापनमा कमजोरी, किसानलाई मलजल अपुग, युवा बेरोजगारी, महिलामाथि घरेलु हिंसालगायत छन्। 

‘शिक्षामा ठुलो लगानी भए पनि भौतिक संरचना र गुणस्तरीय शिक्षाको अभाव कायमै छ। धनुषावासीले स्वास्थ्योपचारको समस्या पनि भोग्दै आएका छन्,’ उनी भन्छिन्, ‘सामाजिक चेतनाका हिसाबले पनि केही समस्या छन्। त्यस्ता कुरा पनि विकास निर्माण र सामाजिक रूपान्तरणका बाधक हुन्।’ 

यी र यस्ता समस्याको समाधान नहुनुमा ऐनकानुनमा रहेका कमजोरी पनि हुन् भन्ने उनको बुझाइ छ। महिला हिंसा, बालबालिकाको सर्वाङ्गीण विकास, जातीय भेदभाव, दाइजो प्रथा, अपांगता भएका व्यक्तिलाई हेर्ने दृष्टिकोण र गरिने व्यवहार आदि विषयमा पनि सचेतना जगाउनुपर्ने आवश्यकता रहेको उनी बताउँछिन्। सबैखाले समस्यालाई निराकरण गर्दै मधेसलाई विकासको मार्गमा डोर्‍याउने लक्ष्य आफूले राखेको नेत्री महतोको भनाइ छ। 

‘महिलालाई उम्मेदवार बनाउनेमा एमाले उदार’ 

उनको विचारमा राजनीतिमा महिला सहभागिता कमजोर छ। निर्वाचनमा महिलालाई प्रत्यक्षतर्फ उम्मेदवार बनाउन नचाहने प्रवृत्ति अझै कायम रहेकाे उनी सुनाउँछिन्।

महिलाले प्रत्यक्षबाट चुनाव लड्ने अवसर पाए पनि विभिन्न किसिमको चुनौतीको सामना गर्नुपर्ने अवस्था पनि विद्यमान रहेको उनको भनाइ छ। त्यसकारण प्रत्यक्षतर्फ उम्मेदवार भएर चुनावी मैदानमा उत्रिन महिला स्वयं पनि हिच्किचाउने गरेको उनी बताउँछिन्। ‘यसले गर्दा पनि प्रत्यक्षतर्फ महिलालाई उम्मेदवार बन्नबाट वञ्चित गर्न राजनीतिक दलहरूलाई बल मिलेको छ,’ उनी भन्छिन्।

आफूसम्बद्ध दल एमालेको हकमा भने उनको धारण अलि फरक छ। अर्थात्, महिलालाई उम्मेदवार बनाउने मामिलामा एमाले उदार रहेको उनी दाबी गर्छिन्। प्रत्यक्षबाट चुनाव लड्ने आकांक्षा राख्ने महिला कसै लाई एमालेले नरोकेको उनको भनाइ छ। ‘प्रत्यक्षबाट लड्छु भन्ने महिलालाई एमालेले बिनाहिच्किचाहट टिकट दिने गरेको छ। यसपटकको निर्वाचनमा पनि अन्य पार्टीको तुलनामा एमालेले बढी नै महिला उम्मेदवार खडा गरेको सबैलाई थाहै छ,’ उनी भन्छिन्। त्यसैले पनि विजयी हुने महिला पनि एमालेकै बढी रहेको उनी बताउँछिन्। 

महिला भएकै कारण चुनाव लड्दा जनताबाट माया, सद्भाव, साथ र समर्थन पाइए पनि अन्य विरोधी दल र नेताकार्यकर्ताबाट राजनीतिकभन्दा पनि व्यक्तिगत कुरालाई लिएर गालीगलौजको सामना गर्नुपरेको र अपमानजनक शब्दहरू प्रयोग हुने गरेको तितो अनुभव उनले सुनाइन्।

‘एउटा राजनीतिकर्मीले अर्काे राजनीतिकर्मीसँग गर्ने व्यवहार राम्रो हुनुपर्छ,’ उनले भनिन्, ‘एउटाले जित्दा अरूले हार्नुलाई स्वाभाविक रूपमा लिनुपर्छ।’ चुनावी माहोलमा आएका असहज परिस्थितिलाई पनि सहज रूपमा लिएर अघि बढ्दा चुनौतीलाइ चिर्न सफल भएको र अलोकतान्त्रिक तत्वलाई जनताले नै जवाफ दिएको उनी सुनाउँछिन्। 

राजनीतिक पृष्ठभूमि

नेत्री जुलीकुमारी महतो २०३३ सालमा सिराहको कर्जन्हामा जन्मेकी हुन्। उनी रामआशिष र फूलकुमारीकी सन्तान हुन्। उनका बुवा किसान हुनुका साथै राजनीतिमा पनि जोडिएका थिए। त्यसकारण पनि सानैमा राजनीतिबारे थारबहुत जान्ने अवसर मिल्यो। 

उनी कक्षा ८ मा पढ्दा किसान आन्दोलन चलिरहको थियो। त्यतिबेला किसानलगायत सर्वसाधारण जनतामाथि हुने दमनविरुद्ध उक्त आन्दोलनले तराईमा आँधीबेहरी ल्याएको स्मृति उनको मानसपटलमा अझै ताजा छ।

त्यस्तै खालका आन्दोलनहरूको जगमा २०४६ सालको जन आन्दोलन सफल भएको थियो। उक्त आन्दोलनको सफलतासँगै नेपालमा पञ्चायती व्यवस्था ढलेर बहुदलीय व्यवस्था लागु भयो। उक्त राजनीतिक परिवर्तनअघि बहुदल आएपछि जनताको राज हुन्छ, जनताले दमनमा बाँच्नुपर्दैन भन्ने पाठ उनले पनि आन्दोलनबाट पढिसकेकी थिइन्। त्यसैबाट प्रेरित भएर कक्षा ८ मा पढ्दै गर्दा उनी कम्युनिस्ट पार्टीको विद्यार्थी संगठन अनेरास्ववियुमा आबद्ध भएकी थिइन्। आफ्नो औपचारिक राजनीतिक यात्राको प्रस्थान बिन्दुका रूपमा अनेरास्ववियुको सदस्यता लिएको क्षणलाई उनी लिन्छिन्। 

२०४८ सालमा एसएलसी उत्तीर्ण भएपछि उनी काठमाडौं आएर पद्मकन्या क्याम्पस पढ्न थालिन्। उच्च शिक्षा अध्ययनसँगै उनले अनेरास्ववियुमार्फत राजनीतिक गतिविधिमा पनि सक्रियतापूर्वक लागिरहिन्। 

२०५२ सालमा धनुषाका रघुवीर महासेठसँग जुलीकुमारीको मागी विवाह भयो। रघुवीरको पनि त्यतिबेला अनेरास्ववियुमै सक्रिय आबद्धता थियो। राजनीति बुझेका पति भएका कारण उनलाई राजनीतिमा अझ घनीभूत ढंगले लाग्ने सुअवसर प्राप्त भयो। विवाहपछि धनुषालाई नै उनले आफ्नो राजनीतिको भूगोल बनाइन्। 

२०६४ सालको पहिलो संविधानसभामा उनी समानुपातिकबाट सांसद बनिन्। संसदीय यात्राको पहिलो पाइला थियो त्यो उनका लागि। २०७० सालमा भएको दोस्रो संविधानसभाको निर्वाचनमा उनी एमालेबाट धनुषा–३ बाट उम्मेदवार बनेर चुनाव लडिन्। तर उक्त निर्वाचनमा उनले कांग्रेस उपसभापति विमलेन्द्र निधीसँग हार बेहोर्नुपर्‍यो। २०७४ सालको आम निर्वाचनमा पनि उनका लागि समानुपातिकबाटै सांसद बन्ने अवसर मिल्यो। 

पार्टीगत राजनीतितर्फ हेर्दा उनी २०४६ देखि २०४८ सालसम्म सिरहाको जनसेवा मावि अनेरास्ववियु सचिव, २०५७ सालमा धनुषा जिल्ला कमिटी सदस्य भइन्। त्यसपछि एमाले राष्ट्रिय प्रतिनिधि परिषद् सदस्य, एमाले जनकपुर अञ्चल कमिटी सदस्य हुँदै उनी २०७४ सालमा एमाले केन्द्रीय सदस्य भएकी हुन्। 

उनी २०७६ सालमा एमालेको धनुषा सहइन्चार्ज बन्ने मौका पनि उनले पाइन्। २०७८ सालमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रीजस्तो कायएकारी जिम्मेवारीमा हुँदा आफूले महिलाको सुरक्षाका लागि सरकारबाटै कडा कानुन बन्नुपर्ने भनेर जोडदारका साथ आवाज उठाएको उनले बताइन्। 

प्रकाशित मिति: १५:४२ बजे, सोमबार, पुस ४, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्