Kathmandu Press

काभ्रेको अनैकोट भ्युटावर : पर्यटकका लागि जोखिमपूर्ण, स्थानीय सरकार बेखबर 

पाँचौं तलामा पुग्दा टावर हल्लिएजस्तो महसुस हुने भए पनि आन्तरिक पर्यटक भने रमाइरहेका भेटिन्छन्। तर कुनै पनि बेला अप्रिय घटना हुन सक्ने खतरा भने त्यहाँ रहेको देखिन्छ। तर त्यसबारे स्थानीय सरकारले कुनै चासो राखेको देखिन्न।
काभ्रेको अनैकोट भ्युटावर : पर्यटकका लागि जोखिमपूर्ण, स्थानीय सरकार बेखबर 

काठमाडौं, पुस १ : काभ्रेको पाँचखाल नगरपालिका–१ मा अवस्थित ‘अनैकोट भ्युटावर’मा आन्तरिक पर्यटकको घुइँचो लाग्छ। घना जंगलबीच उच्च स्थानमा रहेकाे उक्त पाँचतले भ्युटावर १० वर्षअघि नै बनेको हो, जतिखेर स्थानीय सरकारको अवधारणा लागु भइसकेको थिएन। तर टावर कमजोर हुँदै गएकाले र सबै संरचना बनिनसकेकाले त्यहाँ पुग्ने पर्यटकका लागि जोखिमको अवस्था सिर्जना भएको छ। 

दुई आर्थिक वर्ष २०६७/६८ र २०६८/६९ को बजेटबाट बनाइएको उक्त भ्युटावर वरपरका अन्य संरचना अहिलेसम्म अपूर्ण छ। टावर बनेको एक दशकसम्म पनि वरिपरिका संरचना बन्न नसक्दा टावरको माथिल्लो भागको डन्डी भाँचिएर पर्यटकका लागि जोखिमपूर्ण बनेको छ। 

अन्तरिम संविधान–२०६३ जारी भएपछि बनेको तत्कालीन सरकारको शान्ति तथा पुनर्निर्माण मन्त्रालयले द्वन्द्व्रकालमा पीडित बनेको बस्तीलाई नमुना गाउँ बनाउने योजना ल्याएको थियो। द्वन्द्व्रले बढी नै प्रभावित अनैकोटको प्रवर्धनका लागि बनाइएको भ्युटावरले एक दशक बित्दा पनि पूर्णता नपाउनु आफैंमा विडम्बनाको विषय बनेको  छ।

Hardik ivf

‘सुरुमा ३० लाख रुपैयाँ बजेट प्राप्त भएको थियो, सोही बजेटले भ्युटावर बनाएका हौं,’ इन्जिनियर श्याममणि काफ्ले भन्छन्, ‘सात हो कि नौ तला बनाउने डिजाइन थियो। बजेटले नधानेपछि पाँच तलाको मात्र बनाएका हौं।  प्रत्येक तलाको उचाइ ११ फिट छ।’ 

117606648_1670906773085875_3047791485812283584_n1671262077.jpg

हाल स्थानीय पूर्वाधार विभागमा कार्यरत काफ्ले त्यतिबेला काभ्रे जिल्लामा इन्जिनियर भएर खटिएका थिए। एक दशकपहिले केकसरी काम भएको भन्नबारे अहिले बिर्सिएको उनको भनाइ छ। 

त्यतिबेला उक्त स्थानलाई पिकनिक स्पटका रूपमा विकास गर्ने उद्देश्यले भ्युटावर बनाइएको थियो। तत्कालीन अनैकोट गाविसलाई द्वन्द्व प्रभावित क्षेत्रका रूपमा लिइन्थ्यो। त्यसकारण अन्य गाविसको तुलनामा अनैकोटमा ६०÷७० लाख रुपैयाँ बढी बजेट आउँथ्यो। स्थानीयले नै पिकनिक स्पटका लागि भ्युटावर बनाउन माग गरेपछि प्रक्रिया अघि बढेको इन्जिनियर काफ्लेको भनाइ छ। सोही बजेट भ्युटावर निर्माणमा सदुपयोग गरेको उनको भनाइ छ।

‘२०७९ सालमा पाँचतले भ्युटावर निर्माण भइसकेको थियो,’ उनले भने, ‘२०७२ सालको भूकम्पले भ्युटावर अलिकति कोल्टिएको छ, जुन अहिलेसम्म सुधारिएको छैन। डन्डी कहिले भाँचियो भन्नेचाहिँ जानकारी छैन।’

पाँचौं तलामा पुग्दा टावर हल्लिएजस्तो महसुस हुने भए पनि आन्तरिक पर्यटक भने रमाइरहेका भेटिन्छन्। तर कुनै पनि बेला अप्रिय घटना हुन सक्ने खतरा भने त्यहाँ रहेको देखिन्छ। तर त्यसबारे स्थानीय सरकारले कुनै चासो राखेको देखिन्न।

१० वर्षअघि जति संरचना बन्यो, अहिलेसम्म त्यहाँ खासै उल्लेखनीय काम केही हुन नसकेको पाँचखाल नगरपालिका–१ का पूर्ववडाध्यक्ष अष्ट लामा बताउँछन्। स्थानीय सरकार आएपछि पनि त्यहाँ कुनै भौतिक संरचना थप्ने कार्य नभएको उनको भनाइ छ।

‘भ्युटावर निर्माणका संरचना बनाउन २६ लाख रुपैयाँ बजेट प्राप्त भएको जानकारी मलाई छ,’ उनले भने, ‘स्थानीय सरकार बन्नुभन्दा पहिला चारवटा पिकनिक स्पट निर्माण गर्न पर्यटन परियोजनाअन्तर्गत छुट्टै ६ लाख रुपैयाँ बजेट प्राप्त भएको थियो। तर एउटा मात्र पिकनिक स्पट बन्न सक्यो।’ 

त्यतिबेला पर्यटन परियोजना तथा उपभोक्ता समिति गठन गरिएको थियो। सोही समितिलाई बजेट प्राप्त भएको थियो। पूर्ववडाध्यक्ष लामा नै उक्त समितिको अध्यक्ष थिए। ‘स्थानीय सरकार आएपछि थप संरचना बन्न सकेको छैन,’ उनले भने, ‘स्थानीय सरकार बनेपछि पहिलोपल्ट २०७८÷७९ को आर्थिक वर्षमा प्रदेश सरकारले पर्यटन पूर्वधारअन्तर्गत भ्युटावरको प्रवेशमा गेट र शौचालय बनाउन २० लाख रुपैयाँ बजेट विनियोजन गरेको थियो।’

उनले बजेट प्राप्त भए पनि काम गर्न नसकिएको स्वीकार गरे। ‘गत वर्ष ठेक्काका लागि विज्ञापन गरेका थियौं तर कसैले ठेक्का स्वीकार गरेनन्,’ उनले भने, ‘ठेक्का स्वीकार नहुँदा चुनावी माहोलले काम अझ पछाडि स¥यो। पछि त कामै हुन सकेन।’ 

उनी हालका वडाध्यक्षले भ्युटावरलाई पूर्णता दिने योजना बनाए सक्दो सहयोग गर्ने बताउँछन्। ‘कोरोनाका कारण योजना बनाएअनुसार काम गर्न सकिएन,’ उनले भने, ‘अनैकोटमा भ्युटावर योजनाअनुसारको संरचना बने आन्तरिक तथा बाह्य पर्यटक घुइँचो लाग्छ। त्यसो भएको अवस्थामा स्थानीयको आम्दानीको स्रोत पनि बढ्न सक्छ।’ 

vie1671262077.jpg

पाँचखाल बजारबाट करिब १४ किलोमिटर माथि रहेको भ्युटावरबाट वरिपरिका डाँडाकाँडा मात्र नभई धुलिखेल, मण्डनदेउपुर, कोसीपारि, तेमाल डाँडा, सिन्धुपाल्चोक, नगरकोटलगायत बस्ती सजिलै देख्न सकिने उनको भनाइ छ। ‘गौरीशंंकर, जुगल, गणेश हिमाल टावरबाट देखिन्छन्,’ उनले भने, ‘त्यहाँम्बाट बिहान सूर्याेदयको मनोरम दृश्य पनि हेर्न सकिन्छ।’ 

पूर्ववडाध्यक्ष लामाका अनुसार भ्युटावरको पुनर्निर्माण र प्रवर्धनले अनैकोटवासीको अर्थोपार्जनमा सहयोग पुग्छ। त्यसैले भ्युटावरलाई पूर्णता दिनु र पर्यटकका लागि सुरक्षित बनाउनु अत्यावश्यक रहेको उनी ठान्छन्। 

स्थानीय सरकार बनेपछिका दोस्रो अथवा हालका वडाध्यक्ष जयबहादुर तामाङ चालु आर्थिक वर्षमा वडामा कम बजेट विनियोजन भएकाले तत्काल कुनै संरचना बनाउन नसक्ने बताउँछन्। ‘चालु आर्थिक वर्षमा वडामा ३८ लाख रुपैयाँ बजेट विनियोजन भएको छ। उक्त बजेटले भ्युटावरको संरचना निर्माणको कुनै योजना छैन,’ उनले भने, ‘कार्यभार सम्हाल्नासाथ चुनावी माहोलले छोप्यो, पछिल्ला दिनमा टावर निर्माणका योजना बन्ला तर अहिले त्यस्तो केही छैन।’

उनी भ्युटावरबारे आफूलाई पूर्ण जानकारीसमेत नभएको बताउँछन्। ‘वडाको पूर्ण विवरण संकलनार्थ अध्ययन र अनुसन्धान भइरहेको छ। विस्तारै सबै पक्षलाई प्राथमिकता दिँदै लैजान्छु,’ उनले भने, ‘ वडाले पर्यटन प्रवर्धनमा चासो त दिएको छ तर अझ बढी चासो सडक, खानेपानी, शौचालय, विद्यालयको संरचना निर्माणतिर छ। ’ 

वडामा कम बजेट प्राप्त हुँदा अनैकोटले पनि धेरै कुराको अभाव झेलिरहेको छ। जसले गर्दा भ्युटावरको विकास ओझेलमा परेको छ। भ्युटावरसँगै अन्य पर्यटकीय संरचना बनाएर अनैकोटलाई अभावबाट मुक्त गर्दै लानुपर्ने उनको भनाइ छ। ‘तत्काल भने भ्युटावरको संरचना निर्माणका लागि बजेट र योजना दुवै छैन,’ उनले भने, ‘अति प्राथमिकतामा काम सकिएपछि भ्युटावर निर्माणमा लाग्छौं।’

भ्युटावर वरिपरि चारवटा पिकनिक स्पट, एउटा पोखरी, चौरको बीचको बाटो, चारवटा शौचालय, खानेपानी, गेटलगायत संरचना बनाउने योजना छ।  सोही योजनाअनुसार आगामी दिनमा भ्युटावरको विकासलाई पनि समेट्दै लैजान्छौं तर चालु आर्थिक वर्षमा उक्त कुरा समेटिएको छैन। अन्य भैतिक पूर्वाधारको योजनामा अल्मलिरहेको वडाध्यक्ष तामाङ बताउँछन्। ‘बिस्तारै अनैकोटवासीको अन्य समस्यालाई समेट्दै जान्छौं,’ उनले भने। 

उनी तत्काल भ्युटावरको अवस्था र जोखिमबारे समेत थाहा नभएको बताउँछन्। वडाध्यक्षलाई मात्र होइन, नगरपालिकालाई समेत भ्युटावरका डन्डी भाँचिएर पर्यटकका लागि जोखिम बनिरहेको दृश्यले छुन सकेको छैन।  

सडक निर्माणमा बढी जोड दिएका छौं : नगर प्रवक्ता 

बजेट कम भएकै कारण भ्युटावरको संरचना पुनर्निर्माण गर्न नसकिएकोबारे पाँचखाल नगरपालिकालाई कुनै जानकारी नभएको प्रवक्ता सञ्जय तामाङ बताउँछन्। ‘वडाबाट पुनर्निर्माणबारे जानकारी आए तत्काल जोखिमलाई न्यूनीकरण गर्छौं तर हामीलाई जानकारी नै आएको छैन,’ उनले भने, ‘नगरले भ्युटावरसम्म पुग्न सडक निर्माणलाई भने प्राथमिकता दिइरहेको छ।’ 

उनका अनुसार पर्यटकहरू पुग्ने माध्यम सडक हो। त्यसैले सडक ढलान तथा ढल व्यवस्थापनको काम भइरहेको छ। भ्युटावरको जोखिमबारे जानकारी थिएन। तत्काल अनुगमन गरेर बनाउनुपर्ने उनको भनाइ छ।

‘जोखिमपूर्ण पर्यटकीय स्थलले भोलि पर्यटकको ज्यान लिन सक्छ, त्यसैले हामी तत्काल भाँचिएको डन्डीचाहिँ बनाइहाल्छौं।’ उनी सडक निर्माण भइसकेपछि योजनाअनुसार भ्युटावर निर्माणमा लाग्ने धारणा व्यक्त गर्छन्।
 

प्रकाशित मिति: १३:११ बजे, शनिबार, पुस २, २०७९
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्