बाराही सामुदायिक वन जडीबुटी तथा फलफूल खेतीमा अग्रसर
नुवाकाेट, मंसिर २७ : गएको जेठसम्म विदुर नगरपालिका–४ स्थित पदमखर्कलाई वनमाराले जेलिएको थियो । यस स्थानलाई विशेष गरी गाई, गोरु र बाख्रा चराउने चरण क्षेत्रको रुपमा लिने गरिन्थ्यो । एकान्त ठाउँ । त्यसमा पनि वनमारा घारीकै कारण गोठाला र पदमखर्क हुँदै आवतजावत गर्ने असुरक्षित महसुुस गर्थे तर अहिले उक्त स्थानमा ‘सिट्रोनेला’ नामक जडीबुटीले ढाकेको छ ।
बाराही सामुदायिक वनको ब्लक नम्बर ४ मा पर्ने पदमखर्कमा तेल उत्पादनको लागि गएको असारमा वनमारा फाडेर सिट्रोनेला रोपिएको थियो । बाराही सामुदायिक वन उपभोक्ता समूहले दुई वटा उपसमूह बनाएर सुरु गरिएको सिट्रोनेला खेतीको उत्पादन सुरु भएको छ ।
'बजार क्षेत्रमा बस्छु । घरको कामबाहेक अरु केही हुन्न । समय त्यतिकै खेर गइरहेको थियो । वनमा सिट्रोनेला लगाउने जानकारी पाए । बाराही सामुदायिक वन उपभोक्ता समूहले उपसमिति बनाएर हामीलाई यहाँ काम गर्ने अवसर दिएको छ,' मनकामना उपसमितिकी फूलमाया विष्टले भनिन, 'नाम मात्रको वन थियो । वनमारा र काँडाले ढाकेको । त्यसलाई हामीले पन्छायौँ । असारको अन्त्यतिर सबै प्रक्रिया पुर्याएर सिट्रोनेला रोप्यौँ । गोडमेल गर्यौँ, राम्रो भयो । पहिलोपटक सिट्रोनेला काटेर तेल निकाल्न पठाएका छौँ ।'
उपभोक्ताको आर्थिक उपार्जनसँग आधारित भएर बाराही सामुदायिक वन उपभोक्ता समूहले सिट्रोनेला खेतीको सुरुआत गरेको हो । आर्थिक स्थिति कमजोर भएका उपभोक्तालाई उक्त खेतीमा प्रत्यक्षरुपमा संलग्न गराइएको छ । जसले गर्दा उनीहरुलाई घरखर्च टार्न सहज हुने अपेक्षा गरिएको छ । 'पैसा कमाउने माध्यम छैन । घरखर्च टार्नै समस्या पर्ने गर्छ,' आइतबारे उपसमितिकी कृष्णमाया कुमालले भनिन, 'वनमा घाँस, दाउरा र काठ मात्रै पाइन्छ भन्ने बुझाइ थियो । वनको सदुपयोग गर्न सकियो भने पैसा कमाउन सकिँदो रहेछ भन्ने लागेको छ । हाम्रो खाली समयको सदुपयोगसँगै वनको समेत संरक्षण भएको छ।'
वनमारा फाड्ने, सिट्रोनेलाको बिरुवा खरिद गर्ने, रोप्नेलगायतको सुरुआती चरणको काम बाराही सामुदायिक वन उपभोक्ता समूहले गरेको थियो। त्यसपश्चात् रेखदेख, गोडमेल, पानीसहित उत्पादित सिट्रोनेला काटेर प्रशोधनको लागि ढुवानी गरी पठाउने कामको जिम्मेवारी उपसमितिलाई दिइएको छ। 'सामुदायिक वनको उपभोक्तालाई जीविकोपार्जनसँग जोड्नलाई सिट्रोनेलाको खेती सुरुआत गरेका हौँ । दुई वटा उपसमिति बनाएर काम गरिरहेका छौँ”, बाराही सामुदायिक वन उपभोक्ता समूहकी सचिव लक्ष्मी प्रधानले भनिन, 'हामीले पहिलो उत्पादन स्वरुप आठ सय ६० किलो सिट्रोनेलाको पात/घाँस प्रशोधनको लागि चितवन पठाएका छौँ । प्रशोधन भएको सिट्रोनेलाको तेल बिक्रीबाट प्राप्त आम्दानी श्रमिकको दिनको आधारमा गोडमेल र काट्दा लागेको खर्च कटाउँछौँ । बाँकी रहेको ५० प्रतिशत सामुदायिक वनलाई र ५० प्रतिशत उपसमूहलाई रहने गरी भाग लगाउँछौँ।'
बाराही सामुदायिक वन उपभोक्ता समूहले करिब रु छ लाखको लगानीमा सिट्रोनेला खेतीको सुरुआत गरेको हो । सिट्रोनेला खेतीलाई आवश्यक सिँचाइको सुविधा नहुँदा हुर्काउन समस्या रहेको छ । सिँचाइको सुविधा तत्काल पुर्याउन सकिएमा फागुनमा अर्को उत्पादन लिन सकिने उपभोक्ता समूहले जनाएको छ । त्यस्तै बर्सातको समयमा आँप, लिची, कटहर, कागतीलगायतका प्रजातिको फलफूलको बिरुवा रोपिएको सचिव प्रधानले बताए। उनको अनुसार पाँच सय फलफूलको बिरुवा रोपिएको थियो ।
डिभिजन वन कार्यलय नुवाकोटका प्रमुख दीर्घनारायण कोइरालाको अनुसार नुवाकोटको तीन सय ७७ वटा सामुदायिक वनमध्ये बाराही सामुदायिक वन उपभोक्ता समूहले मात्रै सिट्रोनेला खेतीको थालनी गरेको छ । प्रशोधनपश्चात् तेल निस्कने जडीबुटीको रुपमा सिट्रोनेलालाई लिने गरिन्छ। सिट्रोनेला तेल विशेष गरी कस्मेटिक सामग्रीलगायत अन्य औषधि निर्माणमा प्रयोग गर्ने गरिन्छ।